साउनदेखि आइपिओको शेयर परे पछि मात्र पैसा तिर्नुपर्ने, के हो एएसबीए प्रणाली ?

Mar 24, 2016 Mero Lagani

नेपाल धितोपत्र बोर्डले साधारण शेयर आवेदनका दौरान शेयर बाँडफाँड पछि मात्र आवेदकको खाताबाट रकम खिच्ने व्यवस्था लागू गर्ने भएको छ । आगामी साउनदेखि धितोपत्र बोर्डले आवेदन फारममा नै बैंक खाता राख्न लगाएर शेयर माग गरेको रकम रोक्ने प्रणाली एएसबीए अर्थात एप्लिकेशन सपोर्टेड बाई ब्लक्ड एमाउण्ट प्रणाली कार्यान्वायनमा ल्याउन लागेको हो ।

अहिले शेयर आवेदकले आफ्नो खाता भएको बैंकको चेक बुझाउनुपर्ने नियम थियो । एएसबीए प्रणाली लागू भए पछि आवेदकको बैंक खातामा पैसा ब्लक गरिने भए पछि आवेदन फारम मात्र बुझाउँदा हुन्छ ।

बोर्डले बैंकको चेक जम्मा गर्ने, शेयर बाडँफाटँ भएपछि शेयर नपरेको रकम फेरि बिक्री प्रवन्धकमार्फत चेकबाटै फिर्ता गर्नुपर्ने प्रकृया लामो र झण्झटिलो भएको भन्दै यस्तो व्यवस्था  गर्न लागेको हो । नयाँ व्यवस्था लागू गरे पछि साधारण शेयर आवेदन प्रकृया छिटो र सहज हुनुका साथै आइपिओ निष्काशनका दौरान हुने अनियमितता नियन्त्रण हुने धितोपत्र बोर्डको बुझाई छ ।

मेरोलगानीसंग कुरा गर्दै धितोपत्र बोर्डको प्रवक्ता निरज गिरीले भने ‘साउनदेखि निष्काशन हुने साधारण शेयरमा यो व्यवस्था अनिवार्य गराउने गरि गृहकार्य भैरहेको छ । यस सम्बन्धमा राष्ट्र बैंक लगायतका निकायसंग छलफल चलिरहेको छ ।’

एएसबीए प्रणाली भनेको बैंक तथा वित्तीय संस्थामा निक्षेप रहेका लगानीकर्ताहरूले शेयरमा आवेदन दिंदा शेयर बाँडफाँटपछि आफूलाई शेयर परे बराबरको रकममात्र निक्षेप खाताबाट भुक्तान गरिदिने व्यवस्था सहितको बैंकिङ सेवा हो ।

यो प्रणाली लागू भए पछि आफूले मागे जति शेयर नपरेमा शेयर नपरेको रकम फिर्ता लिन फेरी आवेदन बुझाएको स्थानबाट चेक लिने तथा बैंकमा फेरी चेक जम्मा गर्न जानुपर्ने झण्झटको अन्त्य हुन्छ । यसका साथै शेयर निष्काशन गर्ने कम्पनीको चेक व्यवस्थापनमा हुने खर्च पनि कटौती हुन्छ ।

एएसबीए प्रणाली यस अघि नै सुरु गर्ने भनिए पनि साधारण शेयरमा डिम्याट अनिवार्य नगरी प्रणाली कार्यान्वायन हुन नसक्ने तर्फ मर्चेण्ट बैंकरहरुले बोर्डको ध्यानाकर्षण गराउँदै आएका थिए । अहिले सबै प्रकृया अघि बढिसकेको अवस्थामा एएसबीए प्रणाली लागू गराउन बोर्डले अग्रसरता देखाएको हो ।

बोर्ड प्रवक्ता गिरी भन्छन् ‘साउनदेखि साधारण शेयरका लागि डिम्याट खाता पनि अनिवार्य गरिएको अवस्थामा यो व्यवस्था पनि लागू भए पछि शेयर निष्काशन प्रकृया पारदर्शी हुनेमा हामी विश्वस्त छौं ।’

गिरीका अनुसार साधारण शेयर निष्काशन प्रकृया सहज बनाउँदै गर्दा त्यसको बाँडफाँड अवधि पनि छोट्याउने तयारीमा बोर्डले गृहकार्य गरिरहेको छ । साधारण शेयर निष्काशन तथा बाँडफाँडको अवधि छोट्याउँदा लगानीकर्ताको लगानी लामो समयसम्म बन्धक नहुने पक्का छ ।

तर बैंकहरु रियल टाइम ग्रस सेटलमेण्ट अर्थात आरटीजीएस प्रक्रियामा नजाँदासम्म भने एएसबीए प्रक्रिया लागू गर्न कठिनाइ हुने देखिन्छ । यो अवस्थालाई समाधान गर्न राष्ट्र बैंकले भुक्तानी तथा राफसाफ विभाग खडा गरेर आरटीजीएसलाई कार्यान्वयन गर्ने प्रकृया अघि बढाएकाले त्यस पछि मात्र यो व्यवस्था सहज रुपमा लागू हुने देखिन्छ ।

एएसबीए प्रणालीमा बैंकहरुको भुमिका महत्वपुर्ण हुने भएका कारण नियमकले बैंकहरुले गर्न सक्ने अनियमिततालाई भने नजिकबाट नियमन गरिरहनु पर्ने हुन्छ । लगानीकर्ताले लगानी गर्न चाहेको शेयर बराबरको रकम बैंकले आवेदकको निक्षेप खातामा रोक्का गरिदिन्छ । यसरी रोक्का गरिएको रकम फुकुवा नहुन्जेल लगानीकर्ताले चलाउन पाउने छैनन् ।

शेयर बाँडफाँटपछि लगानीकर्तालाई परेको शेयर बराबरको रकम बैंकले भुक्तानी गरिदिन्छ भने बाँकी रकम खातामा नै रहन्छ । यो प्रकृयामा बैंकसँग राम्रो पहिचान बनाएका आवेदकहरुले आफ्नो खातामा भएको रकमभन्दा बढी रकमका लागि पनि आवेदन दिन सक्ने भएकाले त्यसमा बोर्डले आँखा पुर्याउनै पर्ने हुन्छ । यो प्रणाली लागू भए पछि ओभरड्राफ्ट लोन तथा अरु विभिन्न किसिमका ऋणका आधारमा आवेदन दिन पाउने वा नपाउने भन्ने विषय अर्को बहसको विषय हुने देखिन्छ ।

एएसबीए सुविधा दिए वापत बैंकले महशुल लिने कि निशुल्क रुपमा यो सेवा दिने भन्ने सम्बन्धमा केही पनि उल्लेख छैन ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

सवा दश लाख कित्ता साधारण शेयर निष्काशन गर्दे राधी हाइड्रो

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।