बेचिने र मर्ज भए बाणिज्य बैंकसँग हो - सन्तोष निरौला, प्रमुख कार्यकारी, मन्जुश्री फाईनान्स

Jun 12, 2016 Merolagani

मन्जुश्री फाईनान्सियल ईन्ष्टिच्युशन लिमिटेड(MFIL)ले राष्ट्रबैंकले तोकेको चुक्ता पूँजी पुर्याउन १७५ प्रतिशत अर्थात पुरानो १ कित्ता शेयर बराबर नयाँ १.७५ कित्ता शेयर हकप्रद जारी गर्ने निर्णय गत साता साधारणसभाबाट पारित गराएको छ । यसअघि खासै चर्चामा नआउने गरेको मन्जुश्रीलाई यही निर्णयले चर्चामा ल्याईदिएको छ । प्रस्तुत छ लामो समय एनआईसी बैंकमा काम गरेर दुई बर्ष अघि मन्जुश्रीको प्रमुख कार्यकारी हुनु भएका संतोष निरौलासंगको मेरोलगानी वार्तालाप ।

 

बाफ रे बाफ । एकसय ७५ प्रतिशत हकप्रद जारी गर्ने निर्णय साधारणसभाबाट गर्नुभएछ, तपाइँको फाईनान्सका संस्थापकले यत्ति धेरै रकम हाल्नसक्छन् त ?

हेर्नुस, पूँजी बृद्धिको निर्णय हाम्रो रहर हैन, बाध्यता हो । २५ करोडको चुक्ता पूँजीलाई ८० करोड बनाउँन यो भन्दा अर्को विकल्प भएन । यसरी हेर्दा हाम्रा संस्थापकहरुले हाल्नसक्छौ भनेर नै निर्णय गर्नुभएको हो र उहाँहरुले हाल्नुहुन्छ । संस्थापकले नहाली त हकप्रद शेयर जारी गर्ने कुरै आउँदन नि । धेरैले हाल्नुहुन्छ, कसैकसैले हाल्नु भएन भने पनि त्यसको पनि समाधान छ । फेरि हकप्रद शेयर बिकेन भने पनि लिलाममा जाँदा त सजिलै बिक्छ । संस्थापक वा साधारण जसले हकप्रद किन्नुहुन्छ, फाईदा लिनुहुन्छ । त्यसैले हाम्रो हकप्रद बिक्छ ।

मर्ज र प्राप्तिको प्रक्रियामा जाने पनि विकल्प थियो नि । हैन र ?

हो, मर्जमा जाने, प्राप्ति प्रक्रियामा सामेल हुने पनि विकल्प त थिए तर हामीले के देख्यौ भने बाणिज्य बैंकसँग बाहेक अरुसँग मर्जमा गएर खासै उपलब्धि हुने स्थिति छैन । ख र ग बर्गका कम्पनीहरुसँग मिसिदा न त हामीले आफ्नो अस्तित्व जोगाउँन सक्छौ, न त अर्को संस्थाबाट आउने कर्मचारी र संचालक मिलानमै सहज अबस्था हुन्छ । मर्जमा गएका ख र ग बर्गका संस्थाहरुको स्थिति अध्ययन गरेर हामीले यो निश्कर्ष निकालेका हौ । मर्जमा गएका समानस्तरका संस्थाहरुमा पनि ईगो प्रोब्लेम, कर्मचारी मिलान, ब्यापार बिस्तार लगायतका समस्याहरु हेर्दा खेरी दुई तीन बर्ष त त्यसकै ब्यवस्थापनमा लाग्नुपर्ने अबस्था देखियो । ब्यापार पनि खासै बढेको देखिएन र फेरि अर्को मर्जरमा जानुपर्ने बाध्यता आईलाग्यो ।  मर्ज र एक्विजिशनको सवालमा बी र सीको नामै सुन्न चाहन्नौ ।

पहिले लुम्बिनी बैंकसँग कुरा चलेको हो नि । के भएर भाँडियो  ?

त्यो बेला म आईसकेको थिईन तर मैले कुरा बुझ्दा स्वाप रेसियो मै कुरा अडकिएको रहेछ । लुम्बिनीले पहिले जुन स्वाप रेसियो दिन्छु भनेको थियो, पछि केही निस्क्रिय कर्जा थपिएपछि कुरा फेरिएछ । हामी तल गिरेर नजाने भन्ने निर्णय लिईयो । त्यसपछि हाम्रो अरु बाणिज्य बैंकसँग चाँही कुरा भएको छैन ।

उसो भए सधैं फाईनान्स नै भएर बस्ने  ?

हैन । हामीले अहिले पूँजी बृद्धि गरेर जान्छौ । हकप्रद र बोनसबाट ८० करोड चुक्ता पूँजी पुर्याएपछि हामीलाई कारोबार गर्न सहज हुन्छ । अबस्था अरु सुदृढ हुन्छ । बिकशित देशमा पनि यस्ता फाईनान्स कम्पनीहरु थुप्रै हुन्छन् । साना कारोबार गर्न यस्ता कम्पनीहरु आबश्यक पनि हुन्छ । अहिले राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुको लाईसेन्स बितरण नै बन्द गरेको हुँदा अब चाहेर पनि कसैले कम्पनी स्थापना गर्नसक्दैन, त्यसैले संचालन भईरहेका कम्पनीहरुको महत्व बढ्दै गएको छ ।

तपाइँले सधै फाईनान्स नै भएर बस्ने कि भनेर सोध्नुभयो । त्यस्तो नहुनसक्छ । कुनै बाणिज्य बैंकले मर्ज वा एक्विजिशनको राम्रो प्रस्ताव ल्यायो भने हाम्रो बिकल्प त्यो पनि हो । आफु राम्रो बन्यो भने त्यस्ता प्रस्तावहरु अबश्य नै आउलान्, राम्रो स्वाप रेसियो आउला तर अहिले हाम्रो मुख्य ध्यान चाँही हकप्रदबाट नै चुक्ता पूँजी बृद्धि गर्नेमा छ ।

हकप्रद कहिलेसम्म जारी होला  ?

अब हामीले साधारणसभाबाट पारित गरेर राष्ट्र बैंकमा पठाएका छौ । त्यहाँबाट स्वीकृत भएर आईसकेपछि धितोपत्र बोर्ड जान्छौ । अहिले त सबै प्रक्रिया १५ दिनमै सकिन्छ भनेर धितोपत्र बोर्डले भनेको छ । हाम्रो कम्पनीको आन्तरिक तयारी पनि यसबीचमा चल्दै जान्छ । जतिसक्दो छिटो प्रक्रिया पुरा गरेर आन्तरिक तयारी सकेपछि हकप्रद जारी हुन्छ । यसबीचमा कस्तो घटनाक्रम बिकास हुन्छ, त्यसले पनि हकप्रद चाँडो वा ढिलो भन्ने कुरा निर्धारण गर्छ ।

फाईनान्सको अहिलेको अबस्था चाँही कस्तो छ त ?

म आएको दुई बर्ष मात्र भयो । यसअघि एनआईसी एशिया बैंकमा थिएँ । म आउनुभन्दा अगाडि ८० करोडको हाराहारीमा निक्षेप रहेछ, म आएपछि दुई अर्ब ३२ करोडको हाराहारीमा निक्षेप पुगेको छ भने कर्जा दुई अर्ब ८ करोडको हाराहारीमा छ । २५ करोड पूँजी छ र जगेडा कोष हिसाव गर्दा अहिलेसम्म हामी लगानीको अधिकतम सिमासम्म पुगिसकेका छौ । पूँजी बढाएर आक्रामक प्रगति गर्ने हो । 

कसरी गर्ने त आक्रामक प्रगति ?

पहिले त पूँजी बढाउने नै हो, त्यसपछि लगानी पनि बढाउने हो र खुद नाफा पनि बढाउने हो । हामीले पूँजी तीन गुणा बढाउँदा आम्दानी त त्यसरी नै नबढ्ला तर ब्यापार बढाएर क्रमश प्रगति गर्दै जाने हो । बाणिज्य बैंकसँग सहबित्तीयकरण कर्जा परिचालन गरेर जाने हो । ठूलो कर्जा परिचालन गर्ने हो । जलबिद्युत, पर्यटन, ब्यापार लगायतका क्षेत्रमा कर्जा परिचालन बढाउने हो । रिफाईनान्सिड. गर्न पाउने क्षेत्रमा लगानी बढाउने हो । हाम्रो ८० करोडको चुक्ता पूँजीलाई जष्टिफाई गर्न,१५ प्रतिशत लाभांश दिन ६ अर्ब जत्तिको ब्यापार चाहिन्छ नै । राष्ट्र बैंकबाट ४ प्रतिशतमा लिएर हामी कर्जा बिस्तार गर्छौ । हाम्रो अहिले ३ वटा शाखा छ, अब हामी थप पाँच वटा शाखा बिस्तार गर्ने योजनामा अगाडि बढेका छौ ।

मुख्य प्रश्न हामी कत्ति चाँडै पूँजी बृद्धि गर्छौ भन्ने पनि छ । हामीले चाँडै पूँजी बृद्धि गर्नसक्यौ भने आउने बर्षभरि ब्यापार गर्नसक्छौ । त्यसबाट लगानीकर्तालाई राम्रो प्रतिफल दिन सकिन्छ ।

आक्रामक प्रगतिको कुरा गर्नुहुन्छ, निस्क्रिय कर्जा साढे चार प्रतिशत नाघेर खतराको घण्टी बजाईरहेको देखिन्छ । कुरा अलि मिलेन नि । 

हो , हामी यसप्रति गंभीर छौ । निस्क्रिय कर्जा अनुपातलाई घटाउने रणनीति हामीले अख्तियार गरिसकेका छौ । कतिपय कर्जाहरुको धितो लिलामीको सूचना जारी भएको छ । धितो लिलामी कति हुन्छ भन्ने कुरा पनि छ । १०० प्रतिशत प्रोभिजन गरिएका कर्जाहरु कि राईट अफ गर्छौ कि नन् बैंकिड. एसेष्टतिर सार्छौ । जसो गरे पनि त्यस्ता कर्जाको भार कम गर्ने त होे ।


निस्क्रिय कर्जा असुलीलाई हामीले कडा रुपमा लिएका छौ । केही कर्जाहरु यसै महिना उठ्दै छ भने केही असार मसान्त भित्र उठ्छ, केही लिलाम हुन्छन् । संस्थाले त्यस्ता कर्जा निमर्मतापूर्वक असुली गर्छ, निस्क्रिय कर्जा घटाएर यो आििर्थक बर्षको चौथो त्रैमासिक प्रतिबेदनमा हामी त्यसको परिणाम देखाउँछौ । असारमा हाम्रो बित्तीय बिबरण अरु राम्रो हुनेछ ।

१७५ प्रतिशत हकप्रद दिएर पूँजी बृद्धि गरेपछि कत्ति लाभांश बाड्न सक्नुहोला ?

यो अहिले ठ्याक्कै यत्ति नै बाड्छौ भन्नु एउटा कल्पना मात्रै हुनसक्ला तर हामीले ब्यापार बिस्तार गरेर त्यसपछिको पहिलो बर्षमा नै १०, दोस्रो बर्षमा १२ र तेस्रो बर्षमा १५ प्रतिशत लाभांश खुवाउन सक्ने अबस्थामा पुग्नुपर्छ भन्ने योजना छ । कम्तिमा १० प्रतिशत चाँही लगानीकर्ताको भागमा पर्नेपर्छ भनेर अहिलेदेखि नै योजना निर्माण र कार्यान्वयनमा लागेका छौ ।

त्यो त भयो भबिष्यको कुरा । यस बर्षको खुद नाफाबाट चाँही कति बोनस शेयर बाड्न सक्नुहोला ?

गत बर्ष नबाडेर राखेको एक करोड रुपैयाँ कोषमा छदैछ । त्यो नै ४ प्रतिशत जत्ति हुन्छ । यस बर्षको खुद नाफाबाट कम्तिमा १५ देखि २० प्रतिशत दिनसक्नुपर्छ । चौथो चैमास सकिन बाँकी नै छ । त्यसको प्रतिबेदन आएपछि यकिन गरेर भन्न सकिन्छ तर म के भन्छु भने १५ प्रतिशत भन्दा तल हुँदैन ।

हकप्रदको हल्लामा लगानीकर्ता फस्ने त हैनन् ?

अहिलेको बजार मूल्यमा शेयर किनेर एकसय ७५ प्रतिशत हकप्रद खाएपछि पनि १० प्रतिशत लाभांश नघटाउने गरी काम गरिरहेका छौ भने यस बर्षको प्रगति बिबरण हेर्दा लगानीकर्ता निराश हुनुपर्दैन, उत्साहित नै पार्ने गरी लाभांश बितरण गर्नसक्छौ भन्ने बिस्वास छ । बजारमा शेयर मूल्य कति हुनुपर्छ भन्ने कुरा हामीले भन्ने कुरा भएन, बजारले निर्धारण गर्ने कुरा हो । म कार्यकारी प्रमुखको हैसियतले भन्दा हाम्रो कम्पनी लगानीका हिसावले सुरक्षित छ ।

फाईनान्स कम्पनीहरुमा संस्थागत सुशासन कमजोर हुन्छ भन्ने कुरा एक दर्जन कम्पनीहरु राष्ट्र बेंकको कारबाहीमा परेर कष्टसाध्य पीडा भोगिरहेकोबाट प्रष्ट हुन्छ तर मन्जुश्री फाईनान्समा चाँही त्यो घटना दोहोरिदैन भन्ने आधार के छ ?

हाम्रो कम्पनीको संस्थागत सुशासनको पक्ष सुदृढ पार्दै लगेका छौ । हिजो भएका कमजोरी पनि सुधारेका छौ । लुम्बिनी बैंकसँग मर्जको कुरा चल्दा जुन अबस्था थियो, त्यो भन्दा धेरै सुधार भएको छ । तर संस्थागत सुशासनको समस्या फाईनान्स कम्पनीमा मात्रै हुने, बाणिज्य बैंकमा नहुने हैन ।

केही बर्ष यता बैंकमा गडबडी गर्नेहरु कारबाहीको दायरामा आउनै पर्ने रहेछ, बैंक ठगी गरेर भाग्न सकिदैन, ढिलो चाँडो कारबाहीको दायरामा आउनैपर्छ भन्ने तथ्य जसरी स्थापित भएको छ, त्यसले पनि अब समस्या धेरै आउँदैन भन्ने पुष्टि गर्छ । कर्जा तिरीएन भने समस्यामा परिन्छ भन्ने कुरा धेरै ऋणीले बुझेका छन् ।

धेरै बैंक बित्तीय संस्थाको लगानी अनुत्पादक क्षेत्रमा गयो, उत्पादनमुलक क्षेत्रमा गएन भन्ने चिन्ता राष्ट्र बैंकको छ । तपाइँको कम्पनीको पनि अबस्था त्यस्तै हो ? 

हामीले बाणिज्य बैंकसँग प्रतिस्पर्धा गर्नसक्ने अबस्था छैन । बाणिज्य बैंकको निक्षेप लागत कम हुन्छ । बाणिज्य बैंकहरुले जुन ब्याजदरमा कर्जा लगानी गरिरहेका हुन्छन् हामी जस्ता साना कम्पनीले त्यही दरमा निक्षेप लिईरहेका हुन्छौ । त्यसैले उनीहरुले जसरी सस्तोमा कर्जा परिचालन गर्न सक्दैनौ । यसो हुनाले बढी ब्याज जुन क्षेत्रमा पाईन्छ, बाणिज्य बैंकले नहरेका क्षेत्रमा हामीले लगानी गर्नुपर्छ ।

बाणिज्य बैंकहरुले ठूला कर्जाहरु परिचालन गर्छन तर हामी चाँही दुई चार लाख वाला खुद्रा ब्यवसायमा गईरहेका हुन्छौ । हाम्रो कर्जा परिचालनको प्रशासनिक खर्च पनि बढी हुन्छ । माईक्रोफाईनान्सले निकै तल्लो बर्गमा सिमित कर्जा परिचालन गर्ने भएकाले बीचको कारोबार हामीले गर्ने हो । हामीले ट्रयाक्टर लोन स्किम ल्याएका छौ । यो प्रोडक्टिभ क्षेत्र हो । रिटेल क्षेत्रका प्रोडक्टिभ लोनहरु बढाउने तयारीमा छौ ।

तपाईहरुको पनि मुख्य जोड घरजग्गा र शेयर धितो कर्जा नै हो  ?

अरु क्षेत्रमा कर्जा बिस्तार हुन नसकेको अबस्थामा यही नै हो तर यसको एउटा सिमा तोकेर काम गरेका छौ । एउटा ब्यक्ति वा फर्मलाई शेयर धितो कर्जा ५० लाख भन्दा बढी नहुने गरी कर्जा परिचालन गरेका छौ ।

घरजग्गा कर्जामा धेरै जोखिम हुन्न र ?

बैंकिड. क्षेत्रमा १२, १३ बर्षको अनुभव हासिल गरेको ब्यक्ति हुनाले मैले चाँही यस क्षेत्रलाई अलि फरक ढंगले बुझेको छ । ब्यक्तिगत घर कर्जा र ब्यवसायिक अपार्टमेन्ट र ब्यापारिक भवनहरुको कर्जामा भिन्नता छ भनेर बुझ्नै पर्छ । ब्यक्तिगत घर कर्जा भनेको बेतन र आम्दानीको आधारमा दिईन्छ र जोखिम कम हुन्छ तर ठूला ब्यापारिक भवन र अपार्टमन्ट बनाउने रियलस्टेट लोनमा अलि बढी जोखिम हुन्छ ।

यही जोखिम हुन्छ भनेर हामीले एउटा सिलिड. गरेका छौ । निश्चित रकम भन्दा बढी एउटा ब्यक्ति र फर्मलाई दिन्नौ । वेतन र कमाई हेरेर कर्जा दिन्छौ । जोखिमपूर्ण अबस्था आए पनि हामी समस्यामा पर्दैनौ किनभने सानो सानो परिमाणमा कर्जा दिएका छौ ।

प्रसंग फेरि मर्ज र एक्विजिशनतिरै मोडौ , तपाइँहरु पनि मर्ज र एक्विशिजनमा तत्काल नजाने, धेरै संस्थाहरु बरु आफैले पूँजी पुर्याउने भनेर लागेपछि त संस्थाहरुको संख्या राष्ट्र बैंकले चाहे अनुसार नहुने भयो हैन ?

मर्ज भने पनि, एक्विजिशन भने पनि कुरो एउटै हो । पैसा दिएर कम्पनी किन्ने ब्यवस्था हुन्छ भनिएको थियो, त्यो त अहिलेसम्म लागु भएको छैन । शेयरको बदला शेयर दिने भएपछि जे भने पनि भयो ।

अब कति वटा संस्था रहला त भन्दा पहिले के सोचिएको थियो भने दुई तीन बटा बाणिज्य बैंक आपसमा मिलेर १५, १६ वटा रहलान् तर पछिल्लो अबस्था हेर्दा त्यो देखिएन । आफै ८ अर्ब पूँजी पुर्याउँछु भनेर लाग्नेहरुको लहर हेर्दा २५, २६ वटा बाणिज्य बैंक रहने स्थिति देखियो । बिकास बेंक पनि २५ वटा जत्ति रहन्छन् कि भन्ने लागेको छ । हाम्रा फाईनान्स कम्पनीहरुका साथीहरुको कुरा सुन्दा १५, १६ वटा फाईनान्सहरु त रहलान् नै ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

 १५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।