मैले पाँच लाख तिरेर किनेको शेयरको भाऊ अब कति बढ्ला बाबु ?

Jul 28, 2016 Merolagani

तिलक कोइराला
साताको अन्तिम दिन शेयर बजारको भ्रमण गर्ने क्रममा कमलादी मोडको  शेयर दलालको कार्यालयमा पुगिएको थियो । खचाखच भीडमा चिने जानेका लगानीकर्ताहरुसँग भला कुसारी गर्दै गर्दा एकजना अद्र्धबैंसे नजिकै आए । शेयर बजार बढेको कुरा चल्दै गर्दा उनले हामीसँग जिज्ञासा राख्दै भने - मैले पाँच लाख रुपैयाँ तिरेर पाँच हजार कित्ता शेयर किनेको छु । यसको भाऊ अब कति बढ्ला बाबु ?

हामीहरुले आफ्ना कुरा रोकेर ती महानुभावको जिज्ञासा शान्त पार्ने प्रयास गर्ने क्रममा सोध्यौं - कुन कम्पनीको शेयर किन्नुभएको हो, हेरौ त ? उनले झोलाबाट एउटा जलबिद्युत आयोजनाको नाम लेखिएको प्रमाण पत्र देखाए । रंगिन कागजमा फोटोकपी गरिएको त्यो शेयर प्रमाण पत्र जस्तो छदै थिएन तर शेयर प्रमाणपत्र भनेर चाँही लेखिएको थियो ।

हामीले उनलाई भन्यौं, तपाईले जुन शेयर किन्नुभएको छ, त्यो अहिले यहाँ बिक्री हुँदैन । कागजी प्रमाणपत्रको जमाना सकियो, त्यसमाथि झन् तपाइँको त्यो कम्पनी शेयर बजारमा दर्ता नै भएको छैन ।  जलबिद्युत आयोजना बनेर सर्वसाधारणमा शेयर जारी गरेको तीन बर्षपछि मात्र बेच्न सकिन्छ । त्यो बेलासम्म कुर्नुपर्छ । यो प्रमाणपत्र राखेर ऋण पनि पाईन्न र बेच्न पनि सकिन्न ।

हाम्रो कुरा सुनेर उनी अलि झस्किए -पाँच लाख रुपैयाँ थियो, शेयर हाल्ने भनेर बुझाईहालियो ।

उनले बोल्दैगर्दा हामीले बीचमै रोकेर भन्यौ - तपाइँले बुझेर नै त्यो जलबिद्युत कम्पनीको संस्थापक शेयरमा लगानी गर्नुभएको होला । तपाइँले अब पर्खनुपर्छ । आयोजना बनाउने कम्पनी र त्यसका संचालकहरु कस्ता छन् ? आयोजनाको लाईसेन्स प्राप्त भएको छ कि छैन, बिद्युत प्राधिकरणसँग बिद्युत किनबेच सम्झौता भएको छ कि छैन र बैंकहरुले त्यो आयोजनामा लगानी गर्ने ऋण सम्झौता भएको छ कि छैन ? बुझ्नुभयो ?

उनी अक्मकिए तर हामीले उनलाई अझै संझाउन खोज्यौं । हामीले भनेको कुरा बुझेपछि उनी आफै बोल्न थाले - बेलैमा बुझिएन, शेयर किन्ने भनेर पैसा दिईहालियो । अब के गर्नु ?

नेपालको शेयर बजार बढेको हल्ला चारैतिर फैलिएपछि शेयर दलालहरुको कार्यालयमा बुझेका र केही नबुझेका दुबैथरी लगानीकर्ताहरुको भीड बढेको छ । घरघरमा बिजुली, जनजनमा शेयरको नारा नै सरकारले अघि सारेपछि शहर बजार, गाउँ घर, चोक, चियापसल सबैतिर शेयरकै चर्चा छ । अझ एकजना लेखकले त शेयरबाट करोडपति भन्ने शीर्षक नै राखेर पुस्तक प्रकाशन गरेपछि त्यसले लोकप्रियता हासिल गर्दा शेयर बजारमा तानिनेहरु बढेका छन् । फलानोले यत्ति कमायो रे भन्दै त्यसले भन्दा बढी कमाउन शेयर बजारमा बुझ्दै नबुझी हाम्फाल्नेहरु पनि छन् । 

शेयर दलालहरुको कार्यालयमा पाईला राख्ने ठाउँ देखिन्न तर जाने बुझे लगानी गर्नेहरुको संख्या निकै कम हुँदा जस्तो पायो त्यस्तो र अरुको लहैलहैमा शेयरमा लगानी गर्नेहरु जोखिममा परेका छन् । ती अद्र्धबैसेले त जसोतसो पाँच लाख लगानी गरेर पाँच बर्ष कुर्न सक्लान तर त्यो धैर्यता तपाइँ लिनसक्नुहुन्छ ?

नेपाल धितोपत्र बोर्डले बजार बढ्दै जाँदा साना र नयाँ लगानीकर्ताहरु जोखिममा पर्नसक्ने भनी सचेत गराएको कुरा निकै सान्दर्भिक देखिन्छ । कुन कम्पनीको शेयर बजारमा सुचिकृत छ, कसको अबस्था कस्तो छ, कति लाभांश दिनसक्छ भन्ने आधारभुत कुराहरु पनि थाहा नपाईकन लगानी गर्नेहरु बजारमा ओईरिदा भोलि शेयर बजार खस्कियो भने सबैभन्दा धेरै मार तिनैले ब्यहोर्नुपर्ने देखिएको छ । 

शेयर बजार सधै बढिरहदैन र घटि पनि रहदैन । बजार उच्चतम बिन्दुमा पुगेपछि स्थिर हुन्छ वा तल झर्छ, त्यो बेलासम्म जान्नेबुझ्ने लगानीकर्ताहरु शेयर बेचेर बाहिर निस्किसकेका हुन्छन् । धितोपत्र बोर्डका अध्यक्ष डा. रेबतबहादुर कार्कीले धेरै लगानी गर्ने र ठुला लगानसकिर्ताहरु शेयर बेचेर बाहिर निस्किरहेको र साना र नयाँ लगानीकर्ताहरुले चाँही धमाधम शेयर उठाईरहेको कुरा बुझ्दै नबुझी बोले भनेर भन्न सकिन्न । 

नेपालको शेयर बजार आधुनिकीकरण हुँदै गएको, अरु धेरै लगानीकर्ताहरु बजारमा आउनै बाँकी रहेको, कम्पनीहरुको खुद नाफा बढेर राम्रो प्रतिफल दिनसक्ने अबस्थामा पुगेको, पर्याप्त तरलता रहेको, सस्तोमा शेयर धितो कर्जा पाईने गरेको, अरु क्षेत्रमा लगानी जानसक्ने अबस्था नरहेको लगायतका कारणहरुले नेपालको शेयर बजारमा लगानी गर्दा कमाउन सकिने संभावना पनि धेरै छ तर तपाइँको लगानी राम्रो कम्पनीमा भएको अबस्थामा मात्र  । अहिले शेयर बजार बढेको बेलामा जुनसुकै कम्पनीको शेयर किन्दा पनि फाईदा नै भएको होला तर शेयर बजारले करेक्शनको बाटो लिएमा राम्रो कम्पनीमा लगानी गर्नुपर्दो रहेछ भन्ने कुराको महत्व स्पष्ट हुनेछ । 

अरुको लहैलहैमा लाग्नु भन्दा शेयर बजारमा सुचिकृत कम्पनीको आधारभुत अबस्था र आफ्नो जोखिम बहन क्षमता हेरी राम्रो कम्पनीको सस्तो मूल्यको शेयरमा लगानी गरेमा पछुताउनुपर्ने अबस्था छैन तर त्यो कौशल कत्तिमा छ भन्ने प्रश्न स्वभाविक रुपमा उठेको छ ।

जगेडा कोष समेत घाटामा रहेका, कुनै लाभांश दिन नसक्ने, हकप्रदको भारी मात्र बोकाउने र मूल्य उचालिएर आकाशमा पुगेका कम्पनीहरुबाट साना र नयाँ लगानीकर्ताहरु सावधान भएनन् र शेयरमा लगानी गर्दा मालामाल भईन्छ भन्ने मात्र सोचियो भने फोटोकपी गर्ने कागजलाई शेयर प्रमाणपत्र भन्दै पाँच बर्ष कुर्नुपरे जस्तै नाफाको सट्टा लगानी उठाउँनै बर्षौ कुर्नुपर्ने निश्चित छ ।

(ब्यक्तिको गोपनियतालाई ध्यान दिदै जलबिद्युत कम्पनीको कागजी शेयर प्रमाणपत्र देखाउँने ब्यक्तिको नाम यहाँ उल्लेख गरिएको छैन  । स्केच ईन्टरनेटबाट लिईएको हो । )

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।