आम लगानीकर्ताको हित भन्दा अर्को विकल्प छैन

Aug 31, 2016 Mero Lagani

मेरोलगानी डटकमको सुरुवात भएको साढे दुई बर्षको अवधिमा दैनिक लाखौले हेर्ने, पढ्ने देशको अग्रणी आर्थिक समाचार पोर्टलको रुपमा स्थापित हुन पाउँदा हामी हाम्रा सम्पूर्ण पाठक, दर्शकहरुमा खुशियाली बाड्न चाहन्छौ । यो आम लगानीकर्ता, पाठक, दर्शकहरुले नै बनाएको हो ।  निर्भय र निष्पक्षताका साथ आम लगानीकर्ताहरुका लागि आर्थिक क्षेत्रका तथ्यपूर्ण सूचनाहरु पस्कने हाम्रो प्रयासमा साथ दिनुहुने सबैमा हामी आभार ब्यक्त गर्दछौ ।

हामीले सुरुवाती दिनदेखि नै आम लगानीकर्ताहरुको हित संरक्षण र आर्थिक सचेतना भन्दा अर्को कुनै विकल्पका बारेमा सोचेनौ र सोच्दैनौ पनि । सही र तथ्यपूर्ण समाचारहरु लेख्दा कहिले हामीले गाली र आलोचना पायौं, त कहिले ताली । लाखौं पाठक र दर्शकहरुको यही गाली र तालीले हामीलाई मार्गदर्शन गरिरहेको छ । त्यसैको बलमा हामी अझ परिस्कृत हुँदै गएका छौ र कमीकमजोरीहरु सुधार गर्दै जानेछौ । डिजिटल युगको पत्रकारिताको अभ्यासमा अग्रणी रहँदै देश बिदेशका नेपाली माझ हामी अझै खरो उत्रने अभ्यासमा छौ ।

कतिपय बेलामा हामीले शेयर बजारका आम लगानीकर्ताहरुलाई अनाबश्यक रुपमा उत्तेजित भएर लगानी नगर्न सतर्क गराएका हुन्छौ, त्यस्तो बेलामा शेयर मूल्य घटाएर किन्न खोज्यो भन्ने आरोप हामीमाथि लगाईएको पाउँछौ भने कतिपय बेलामा लगानीकर्ताहरुलाई यसरी सुरक्षित लगानी गर्न सकिन्छ भनेर कम्पनीहरुको आधार प्रस्तुत गर्दै सुझाव पनि पस्कने गरेका छौ, त्यस्तो बेलामा शेयर बजारलाई उचाल्न खोज्यो भन्ने अर्को आरोप लाग्ने गरेको छ ।

हामी स्पष्ट गर्न चाहन्छौ, हामी शेयर बजारलाई तलमाथि गराउने शक्ति हैनौ र कुनै शेयरमा लगानी गरेर आफुले कमाउने ब्यापारी पनि हैनौ । हामी त आम लगानीकर्ताको सारथी हौ, लगानीकर्ता र आम पाठक, दर्शककै साथमा रहनेछौ । आम लगानीकर्ताको पहुँच नपुग्ने सूचनाहरु खोजी गरी हामी त्यसलाई उनीहरुको पहुँचमा ल्याउँछौ र शेयर बजारमा चलाईने हल्लाहरुको चिरफार गरी तथ्यहरु प्रस्तुत गरिदिन्छौ । गत आर्थिक बर्षको खुद नाफा कमाईमा बाणिज्य बैंकहरुको अबस्था सबैभन्दा पहिले  पस्केर आम लगानीकर्ताको सूचनामा पहुँच हामीले नै कायम गरेका हौ । यस्ता धेरै काम गरेका छौ, जसबाट आम लगानीकर्ताले लाभ लिएकै होलान् । हामीले त्यो नगरेको भए केही सिमित ब्यक्तिहरुले बजारमा अनाबश्यक हल्ला चलाएर बजारलाई प्रभावित पारिरहेका हुन्थे, सर्वसाधारण लगानीकर्ता कुहिराको काग बनिरहनु पर्ने हुन्थ्यो ।

नेपालको शेयर बजार अति संबेदनशील छ, धेरै नयाँ र साना लगानीकर्ताहरु थपिएका छन्, उनीहरुलाई सचेतना र अुनभवको खाँचो छ भन्ने कुरालाई बुझेर नै हामीले पछिल्ला दिनहरुमा बैंक, बित्तीय संस्था, बिमा, जलबिद्युत लगायतका पब्लिक कम्पनीहरुको बारेमा लेख्दा निकै गंभीर भएर समाचार पस्कने गरेका छौ ता कि लगानीकर्ताहरु हाम्रै समाचारबाट आत्तिने र मात्तिने अबस्था नआओस । हामी लगानीकर्ताहरुलाई आब्हान गर्छौ, हाम्रै समाचारमा मात्र बिस्वास गरेर लगानी नगर्नुहोस् आफैले तथ्यहरुको परख गरी जिम्मेवार लगानीकर्ता भएर लगानी गर्नुहोस् । यसो भन्दा पाठ पढाउन खोज्यो भन्ने आरोप लाग्छ, त्यसलाई पनि पचाउँछौ किनभने हामी सही कुरा लेख्छौ ।

हामीले कुनै कम्पनी वा ब्यक्तिहरुका बिरुद्ध कुनै पनि प्रकारको शत्रुता साँध्नुपर्ने आबश्यकता छैन तर आम लगानीकर्ताको हित बिपरित लगानीको दुरुपयोग भईरहेको छ, सिमित ब्यक्तिहरुले चलखेल गरेर बैंक, बित्तीय संस्था, पब्लिक कम्पनी र शेयर बजारबाट नाजायज फाईदा लिईरहेका छन्, आम लगानीकर्ता पीडित बनिरहेका छन् भने त्यस्तो कामको भण्डाफोर गर्नबाट हामीलाई कसैले पनि रोक्न सक्दैन । हाम्रो प्रयासलाई रोक्न आर्थिक प्रलोभन देखाईला, धम्की दिईएला, शक्ति केन्द्रहरुको प्रयोग गरिएला तर ती सबैलाई हामी तुच्छ ठान्छौ, प्रतिरोध गर्छौ र कर्तब्यबाट च्युत हुने छैनौ ।

नेपालको आर्थिक क्षेत्रको एक जिम्मेवार समाचार पोर्टल भएको हुनाले हामीले प्रेस काउन्सिल, सूचना बिभाग, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, स्टक एक्सेचन्ज, सीडीएससी, बिमा समितिलगायतका नियमनकारी निकायहरुको निर्णयहरुको कार्यान्वयनमा सदैब सहयोगात्मक भुमिका खेल्दै आएका छौ र खेलिरहने छौ । नियमनकारी निकायहरुहरुको आदेशको कहिल्यै अबज्ञा गर्दैनौ तर आम लगानीकर्ताको अहितमा भएका कुराहरुको स्वस्थ आलोचना गर्न पनि चुक्दैनौ । पब्लिक कम्पनीहरुले असल नियतले पारदर्शिता अपनाएर गर्ने कामको हामी सदैब समर्थन गर्छौ तर बदमासी भए त्यसका दोषीहरुको बिरुद्धमा कलम चलाउन रोक्दैनौ । हामी बिकाऊ माल हैनौ, कसैले हाम्रो कलमलाई किन्न नखोजोस् । बार्गेनिड. आर्थिक पत्रकारिताको परिभाषा भित्र पर्दैन भन्ने तथ्यलाई स्थापित गर्न प्रतिबद्ध छौ ।

ऐष्ट्रिक टेक्नोलोजी प्रा. लि.को अंगको रुपमा संचालन भईरहेको यस अनलाईनका सबै संचालक, पत्रकार, कर्मचारीहरुको अद्यावधिक बिबरण भिडाएर हाम्रो बारेमा जानकारी हासिल गर्न चाहने महानुभावहरुलाई जहिल्यै पनि हाम्रो कार्यालयमा स्वागत गर्दछौ । यसको मतलब, हामी प्रमाणित गर्न चाहन्छौ कि कुनै पनि अदृश्य आर्थिक स्रोत र पर्दा पछाडिका लगानीबाट  संचालित छैनौ । जे छ, हाम्रो परिचय खुल्ला छ । हाम्रो ब्यवस्थापकीय र सम्पादकीय टोलीको आर्थिक हैसियत, कारोबार, शेयर बजारमा उपस्थिति, बैंक खाता नियमनकारी निकायले चाहेमा हेर्न सक्छ । लगानीकर्ताको हित संरक्षणमा लेख्दा कुनै कम्पनीका संचालक र ब्यवस्थापकले रुष्ट भएर  हाम्रा बारेमा चलाईने गलत हल्लाहरुको कुनै तुक छैन ।

हाम्रो आर्थिक स्रोत भनेको अनलाईनमा प्राप्त हुने बिज्ञापन, पोर्टफोलियो म्यानेजमेन्ट, लगानीकर्ताहरुलाई दिईने तालिम नै मुख्य हुन् । यसबाहेक कुनै अन्य स्रोतबाट हामीले रकम प्राप्त गरेका छैनौ । पत्रकार तथा कर्मचारीले सरकारले तोकेको न्युनतम पारिश्रमिक पाएका छन् भने कसैलाई तिर्नू, बुझाउनु लामो समयसम्म बाँकी छैन् ।

नेपालको अर्थतन्त्र, बैंकिड., बिमा र शेयर बजारले आधुनिक फड्को मार्दै गरेको अबस्थामा हामी जस्ता अनलाईनहरुले आम जनताको चेतना बिस्तार र प्रबिधिमैत्री वातावरण तयार पार्न भुमिका खेल्नु अपरिहार्य छ । यसैका लागि पोर्टफोलियो ब्यवस्थापन सफटवेयरको प्रयोग, तालिम, कम्पनीहरुको सूचना बैंक, शेयर बजारको प्रत्यक्ष जानकारी लगायतका उपकरणहरु आम लगानीकर्ताहरुको पहुँचमा ल्याएका छौ ।

आर्थिक क्षेत्रका बिकृति, शेयर बजारमा हुने ईन्साईडर ट्रेडिड., गलत हल्ला फैलाएर शेयरको भाऊ बढाउने, साधारण लगानीकर्तालाई उत्तेजित र आतंकित पार्ने जस्ता गलत कामहरुको हामी सधैं विपक्षमा रहन्छौ । यसो गर्दा कुनै लगानीकर्ता, शेयर दलाल, धितोपत्र निश्काशन कम्पनी, सामुहिक लगानीकोष वा अरु कुनै कम्पनी, ब्यक्तिसँग दुश्मनी मोल्नु नपरोस भन्ने कुरातर्फ पनि हामी सचेत छौ । सबै समाचार सकारात्मक हुँदैन र नकारात्मक समाचारले पनि सकारात्मक परिणाम दिन्छ भन्ने कुरालाई हामीले मनन् गरेका छौ ।

हाम्रो समाचारको प्रभावले नेपालको आर्थिक क्षेत्र र शेयर बजारको सुधारमा सकारात्मक परिणामहरु दिएका छन् र यसमा हामीलाई सन्तोष मिलेको अबस्था छ । हाम्रो प्रयासलाई नियमनकारी निकायहरुले पनि सकारात्मक रुपमा लिएर  लगानीकर्ताको हित संरक्षणमा अरु धेरै क्रियाशिलता देखाएका छन् । खासगरी नेपाल धितोपत्र बोर्डको ऐतिहासिक सुधार अभियानबाट हामीलाई आम लगानीकर्ताको हितमा अझै धेरै राम्रो काम गर्ने उर्जा प्राप्त भएको छ ।

मेरोलगानी डटकममा प्रकाशित, प्रसारित भएका समाचारका आधारमा नियमनकारी निकायहरुले कारबाही गरी सर्वसााधारण लगानीकर्ताको हित संरक्षणको थप कदम चालेको दृष्टान्त पनि छ । यस अर्थमा भन्दा, हामी नियमनकारी निकायको सहयोगी पनि हौ  । 

सुरुवाती चरणहरुमा गर्नुपरेको संघर्षको जगमा केही सफलता हासिल भए पनि यात्रा निकै लामो छ । हामीले थालेको प्रयास बर्षौबर्षसम्म अझै परिस्कृत भएर जाने प्रक्रिया हो । बाटामा काँडा पनि हुन्छन्, फुलैफूलको संसार पनि भेटिन्छ । फूलले सुगन्ध दिन्छ तर काँडाले कोतर्छ भन्ने ख्याल गरेरै अगाडि बढिएको हुँदा साथ, सहयोग दिने, सतर्क गराउने, अझै अगाडि जान प्रेरित गर्ने, अझै राम्रो भईदिए हुन्थ्यो भन्ने सबैमा आभार ब्यक्त गर्दछौ । नराम्रो काम गरे गाली त नभनौ स्वस्थ आलोचना र राम्रो काम भए तालीको क्रम जारी नै रहने आशा गर्दछौ किनभने हामीलाई अझै राम्रो गर्न झक्झाईरहने कुराहरु यिनै हुन् ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।