हकप्रदको हल्ला चलाएर रिलायवलले अर्कै बाटो रोज्दा आक्रोशित भएका लगानीकर्ताले अब के गर्ने ?

Oct 02, 2016 Merolagani



तिलक कोइराला
ग्लोबल आईएमई बैंक(GBIME)ले यही शुक्रबार रिलायबल डेभलपमेन्ट बैंक(REDBL)लाई किन्ने सम्झौता भएको समाचार बाहिर आउनासाथ एकथरी लगानीकर्तामा आक्रोश पैदा भएको देखिएको छ । कतिपय लगानीकर्ताले त भावाबेशमा आएर रिलायवलको साधारणसभाबाट एक्विजिशन प्रस्ताबै फेल गराउनुपर्ने आब्हान समेत गरेका छन् ।


 यस्तो आक्रोशको भाव ग्लोबल आईएमई बैंकको सेयर किनेका लगानीकर्तामा नभए पनि अब आफ्नो सेयरको मूल्य घट्ने भयो भन्दै चिन्ता ब्यक्त गर्न भने थालिएको छ । कतिपय लगानीकर्ताले ग्लोबल आईएमईले रिलायबल लिनुलाई स्वागत पनि गरेका छन् । 

लगानीकर्ता आत्तिनुको कारण के होला ?

मर्ज र एक्विजिशनले कम्पनीहरुलाई बलियो बनाउने र लगानीकर्ताको हित झन्् सुरक्षित हुने बिस्वास गरिन्छ र राष्ट्र बैंकले पनि बैंक तथा बित्तीय संस्थाहरुको संख्या घटाई यस क्षेत्रमा रहेको जोखिम कम गर्ने उद्धेश्यले यसलाई प्रोत्साहित गरेको बुझ्न सकिन्छ । तर ग्लोबल आईएमईले रिलायबललाई किन्दा किन लगानीकर्ताहरु आत्तिए भन्ने कुरा भने गहन बिवेचनाको बिषय बनेको छ ।


मेरोलगानी डटकमको समाचारमा आएका प्रतिक्रिया र अन्य सामाजिक संजालहरुमा ब्यक्त गरिएका कुराहरु हेर्दा पछिल्लो समयमा रिलायबल डेभ्लपमेन्ट बैंकको सेयर महंगोमा किनेका लगानीकर्ताहरुको आक्रोश बढी ब्यक्त भएको अनुमान लगाउन सकिन्छ । रिलायबलले नेपाल बंगलादेश बैंकसँग मर्जमा जाने हल्ला चलाएकोमा त्यो सफल नभएपछि आफैले साढे दुई अर्ब पुर्याउने भन्दै सय प्रतिशत हकप्रद प्रस्ताव गरेको थियो ।

हकप्रदको हल्ला चलाएर लगानीकर्तालाई गुमराहमा पारी अर्कै बाटो हिड्ने कम्पनी संचालकहरुको रबैया परिवर्तन नभएसम्म यस्तै आक्रोश सिर्जना भईरहन्छ ।

संस्थापकले नै हातखुट्टा छाडेपछि कस्को के लाग्छ ?

रिलायवलले अहिले हकप्रद जारी गरेर चुक्ता पूँजी आफै पुर्याउने नाममा लगानीकर्ताबाट पैसा उठाएर गएको भए उसले राम्रै गर्नसक्थ्यो भन्ने आधार कमजोर देखियो । रिलायबलमा धेरै जसो मारबाही समुदायको बाहुल्यता रहेको छ र उनीहरुले अब आफैले रकम थपेर बिकास बैंक संचालन गर्न सकिन्न भन्ने निष्कर्ष निकालिसकेका थिए । यही निष्कर्षका साथ उनीहरुले नेपाल बंगलादेश बैंकसँग कुरा चलाएका थिए तर बिदेशी लगानीको हिस्सामा असर पर्ने भएपछि बंगलादेश बैंकले रिलायबललाई आफुमा गाभ्न चासो दिएन । अहिले ग्लोबल आईएमईबाट आएको प्रस्तावको माौकालाई उनीहरुले चुकाउन चाहेनन् । जब बैंकमा ५१ प्रतिशत स्वामित्व भएका संस्थापकहरुले नै हातखुट्टा छाडछन् भने दुई चार हजार कित्ता सेयर किनेका साधारण लगानीकर्ताले यसो गर्छु र उसो गर्छु भनेर केही हुने थिएन ।

महंगोमा सेयर किनेका रिलायबलका लगानीकर्ताले अहिले आक्रोश शान्त पारेर आफ्नो लगानीलाई दीर्घकालीन लगानीमा रुपान्तरण गर्नैपर्छ र उनीहरुको लगानी झन् सुरक्षित हुनेछ । आज सेयर किनेर भोलि दोब्बर नाफा हुन्छ भन्ने सोचाई बनाएर हकप्रदको हल्लामा उचालिने र कम्पनीको आधारभुत अबस्था नबुझी लगानी गर्नेहरुलाई अहिले घाटा अबश्य भएको छ तर ग्लोबल आईएमईमा सम्मिलित हुने प्रक्रिया पुरा भएपछि आफु पनि सुरक्षित भएको उनीहरुले ठान्नेछन् ।

हकप्रदको हल्लामा उचालिनु बेठिक

हकप्रदको हल्लामा लागेर जो लगानीकर्ताहरुले उचालिएर महंगो अर्थात प्रतिकित्ता ६०० रुपैयाँ हाराहारीमा रिलायवलको सेयर किने, उनीहरु अहिले बढी आक्रोशित हुनु स्वभाविक छ । रिलायबलले हकप्रद दिने भनेर आफुहरुलाई झुक्याएको उनीहरुको गुनासो देखिन्छ र अब ग्लोबल आईएमईसँग बेचिदा कम स्वाप रेसियो पाएर झन् घाटा हुने उनीहरुको ठम्याई हुनसक्छ । ग्लोबल आईएमईको सेयर मूल्य रिलायबलको भन्दा कम रहेको अहिलेको अबस्थामा उनीहरुले चिन्ता गर्नु जायज पनि छ । तर यहाँ यहाँ के स्मरण गर्नु आबश्यक छ भने हकप्रदको हल्लामा कम्पनीको आधारभुत अबस्था बिचार नगरी सेयर मूल्यमा उचालिएर लगानी गर्दा धोका हुनसक्छ भन्ने कुरामा मेरोलगानी डटकमले सदैब लगानीकर्ताहरुलाई सजग गराउँदै आएको छ । जसले उचालिएर लगानी गरे, अहिले धोका पाए । यो अरु कम्पनीका लगानीकर्ताहरुका लागि पनि शिक्षा हो ।

हकप्रद धान्न सकिन्थ्यो ?

शत प्रतिशत हकप्रद जारी भएको भए लगानीकर्ताले प्रति कित्ता थप एकसय रुपैयाँ बैंकलाई दिनुपर्ने थियो, जसले सेयरको मूल्यलाई आधा घटाउँथ्यो । शत प्रतिशत हकप्रद जारी गरेपछि पनि रिलायबलको चुक्ता पूँजी एक अर्ब ५६ करोडको हाराहारीमा पुग्थ्यो । गत बर्षको खुद नाफाबाट २४ करोड र चालु आर्थिक बर्षको खुद नाफाबाट ३० करोड नै पूँजीकृत गर्न सकिन्थ्यो होला तर फेरि पनि साढे दुई अर्ब पुर्याउन ४० करोड कहाँबाट ल्याउने ? अबश्य नै अरु संस्था किन्ने वा फेरि हकप्रदकै बाटो लिनु पर्दथ्यो । त्यसो नगरी बलियो बाणिज्य बैंकसँग मिसिने नै निर्णय संचालक समितिले लियो, जसलाई बुद्धिमत्तापूर्ण भन्नेपर्छ । हकप्रदकै बाटोमा गएको भए दर्जनौ कम्पनीहरुले जारी गर्ने हकप्रदको बाढी आउँदा सबैभन्दा धेरै समस्या एकसय प्रतिशत हकप्रद भर्ने लगानीकर्ताहरुलाई पर्नसक्ने संभावना पनि थियो किनभने हकप्रद भर्ने पैसा जुटाउन नसक्दा रिलायबलको पुरै हकप्रद बिक्री नहुनसक्ने संभावनालाई नकार्न पनि सकिन्न । यस्तो बेलामा बिक्रीमा चाप परी सेयर मूल्य घटेर झन् घाटा खानुपर्ने जोखिम पनि हुन्थ्यो ।

 बल्ल तल्ल रिलायबलले साढे दुई अर्ब पूँजी पुर्याएको थियो भने पनि त्यही अनुसार कमाई बढाएर आज महंगो मुल्यमा सेयर किनकाहरुलाई सन्तुष्ट पार्न सक्थ्यो होला त ? अर्को गंभीर प्रश्न हो । त्यसमाथि एकैखाले समुदायको बाहुल्यता रहेको संस्थामा कुनै सुशासनसम्बन्धी समस्या आउथ्यो भने के हुन्थ्यो होला ? यस्ता धेरै जोखिमको पाटो हुन्थ्यो । उसो भए ग्लोबल आईएमईमा जोखिमै छैन त ? भन्ने पनि प्रश्न उठ्ला, अबश्य छ । तर कम ।

अहिले ग्लोबल आईएमईले किन्ने भएपछि पनि गत बर्षको खुद नाफाबाट आकर्षक बोनस सेयर लगानीकर्ताले पाउने नै छन् । अब त्यो बोनस पनि पाउने र बलियो बाणिज्य बैंकका सेयरधनी पनि बन्ने अवसर रिलायबलका लगानीकर्ताले पाएका छन्, यसलाई दुबै हातमा लड्डु भन्न सकिन्छ । यद्यपी ग्लोबलले रिलायबललाई दिने स्वाप रेसियो सार्वजनिक नगरिएकाले अहिले नै कसलाई कत्ति फाईदा भयो भन्ने  यकिन  गर्न सकिन्न । तर यहाँ दुबै बैंकको अबस्था र लगानीकर्ताको हितमा स्वाप रेसियो तय हुनैपर्छ ।

दीर्घकालीन लगानी नै सुरक्षित

सेयर बजारमा लगानी गर्दा क्षणिक लाभ हानी भन्दा पनि कम्पनीको समग्र अबस्था अध्ययन गरी दीर्घकालीन लगानी नै गर्नुपर्छ । कम्तिमा तीन बर्षका लागि गरिएको लगानी हो भने आत्तिनु पर्दैन तर आजको भोलि दोब्बर नाफा गर्छु भनेर सेयर बजारमा लगानी गर्ने हो भने यस्तै धोका पाउन सकिन्छ । रिलायबलले एकसय प्रतिशत हकप्रद जारी गर्छु भनेर त्यससम्बन्धी प्रक्रिया अगाडि नबढाई एकाएक ग्लोबल आईएमईसँग बिक्रीमा गएको अबस्थामा केही हदसम्म उसको बदमासी पनि मान्न सकिएला तर हकप्रदको बाटो भन्दा बलियो कम्पनीसँग मिसिने निर्णय गरेर उसले दीर्घकालीन हिसाबले ठीक काम गरेको छ ।

जसले ग्लोबल आईएमई र रिलायबलको सेयर आईपीओ पारेका थिए वा दोस्रो बजारबाटै किन्दा पनि सस्तोमा किनेर बसेका छन्, संभवतः उनीहरुलाई झन् उत्साह बढेको हुनुपर्छ । जसले पछिल्ला दिनमा उचालिएर सेयर किने उनीहरुमा छटपटीको अबस्था उत्पन्न भएको छ । लगानीकर्ताले रिलायबलको सेयर महंगोमा किनेर बसेको अबस्थामा आईतबारदेखि सेयर कारोबार बन्द हुँदा त्यसलाई बिक्री गर्न नपाई आर्थिक गर्जो टार्ने काममा बाधा पर्नसक्छ । रिलायबलको सेयर बेचेर सेयर बजारमा भईरहने उतार चढावबाट फाईदा लिनसक्ने अवसर कम्तिमा तीन महिनासम्म बन्द भयो तर दीर्घकालीन हिसावले सोच्ने हो भने उनीहरुलाई पनि फाईदा नै भएको छ ।
रिलायबलको चुक्ता पूँजी ७८ करोड ८५ लाख रहेकोमा उसले गत बर्ष २६ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेर प्रति सेयर आम्दानी ३४ रुपैयाँ कायम गरेको थियो । निस्क्रिय कर्जा अनुपातको आधारमा हेर्दा पनि उसको अबस्था त्यति खराब छैन । लगानीकर्ताले ३० प्रतिशत बोनस पाउन सकिन्छ र शतप्रतिशत हकप्रद त छदैछ भन्ने आधारमा उसको सेयर किन्नु गल्ती थिएन तर उचालिएर सेयर किन्न चाँही हुँदेनथ्यो ।

ग्लोबल आईएमईको सेयर मूल्य बढ्दैन भन्ने चिन्ता

ग्लोबल आईएमईको सेयर मूल्य खासै बढ्दैन भन्ने सवालमा रिलायबलका लगानीकर्ताको चिन्ता हो भने त्यो एक हदसम्म सत्य हो । अरु बाणिज्य बैंकको सेयर मूल्य एक बर्षमा दोब्बर भएको हिसाब गर्ने हो भने ग्लोबलको झन् घटेको छ । पूँजी पर्याप्त भएको र सर्बसाधारणमा धेरै सेयर जारी गरिएको ठूलो बैंकको अबस्था यस्तै नै हुने हो । अलिकति सेयरमूल्य बढ्नासाथ धेरै सेयर बिक्रीमा आउँछ, मूल्य बढ्दैन ।

ग्लोबल आईएमईसँग अहिले ६ अर्व १६ करोड रुपैयाँको चुक्ता पुँजी छ । साथै बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ। लाभांस वितरणपछि बैंकको चुक्तापुँजी ७ अर्व १५ करोड रुपैयाँ हाराहारीमा पुग्नेछ। १६ प्रतिशत बोनस बितरण गरेपछि जगेडा कोषमा रहेको २ अर्ब ५४ करोड रकममा भने कमी आउने छ ।

मर्जर र एक्विजिशनमा उदाहरण

प्यासिफिक डेभपलपेन्ट बैंक र रिलायबल डेभलपमेन्ट बैंकलाई एक्विजिसन गरेपछि बैंकको पूँजी आठ अर्ब नाघ्ने तथा निक्षेप ८८ अर्व, कर्जा लगानी ७४ अर्व र १११ वटा शाखा कार्यालय पुग्ने छ । यत्ति बलियो बैंक बनेपछि त्यसका लगानीकर्ताको लगानी सुरक्षित हुने मात्रै हैन बैंकले आगामी बर्षहरुमा राम्रो प्रगति गरेर निरन्तर प्रतिफल दिईरहनसक्छ । पीई रेसियो २२.८९ गुणा, पूँजी कोष अनुपात १२.४१ र प्रति सेयर नेटवर्थ १४१ भएको आधारमा हेर्दा ग्लोबल आईएमई को आधारभुत अबस्था ठीकै छ ।

रिलायवल डेभलपमेन्ट बैंकसँग ७८ करोड ८० लाख रुपैयाँ चुक्ता पुँजी छ भने जगेडामा ३७ करोड रुपैयाँ छ। गत आर्थिक वर्षमा रिलायवलले २६ करोड ९० लाख रुपैयाँ खुद मुनाफा गरेको थियो। रिलायवलसँग १७ वटा शाखा छन्। रिलायवलसँग आठ अर्व २१ करोड रुपैयाँको निक्षेप र ६ अर्व ९४ करोड रुपैयाँको कर्जा लगानी छ ।

यस भन्दा पहिला कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाईनान्ससंग मर्जर गरेर ग्लोबल आइएमई बैंक बनेको हो । रिलायबल फाइनान्स लि, शुभ लक्ष्मी फाइनान्स, नेपाल कञ्जुमर डेभलपमेण्ट बैंक लि।सँग मर्जर भै रिलायबल डेभलपमेण्ट बैंक लिमिटेड बनेको हो । यो एक्विजिसन सम्पन्न भए पछि १० वटा बैंक वित्तीय संस्था मर्जररएक्विजिसन भै बनेको पहिलो बैंक हुने छ ।

भोलि राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई चुक्ता पूँजी १५ अर्ब बनाउ भन्यो भने पनि ग्लोबल आईएमई बैंकका लगानीकर्ताले सेयर बेचेर भाग्नु पर्नेछैन । बैंकको १० अर्बको कर्जा फस्यो भने पनि ग्लोबल आईएमई बैंकका लगानकिर्ताहरु ग्राण्ड बैंकका लगानीकर्ता जस्तै गरी रुदै हिड्नु पर्देन किनभने जोखिम बहन क्षमता ग्लोबल आईएमई बैंकसँग धेरै नै हुनेछ ।

अब नाफा बढाउने चुनौति 

सेयर पूँजी धेरै हुँदा आम्दानी र खुद नाफा पनि त्यही अनुपातमा बढाएर लगानीकर्तालाई आकर्षक लाभांश खुवाउनुपर्ने चुनौति भने अब ग्लोबल आईएमईलाई बढेको छ । अहिले शंकाको नजरले हेरिरहेका लगानीकर्ताले चन्द्र ढकाल नेतृत्वको ब्यवस्थापनबाट अपेक्षा गरेको मुख्य कुरा पनि यही नै हो । 

यो सामाग्रीलाई मेरोलगानी डटकमको अनुमति बिना अन्य मिडियाहरुले प्रयोग नगर्नुहोला । 

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




मेयर बालेनले ‘स्टण्ट’ गर्न असम्वन्धित व्यक्तिलाई पत्र काटेको ठहरसहित निर्मल निवासले जवाफ नदिने, जरिवाना पनि नतिर्ने !

Mar 29, 2025 06:54 PM

तीनकुनेमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना भन्दै महानगरपालिकाले पत्र काटेपनि पूर्वराजाले भने त्यो जरिवाना नतिर्ने भएका छन् । ‘महानगरपालिकाले आइतबार बुझाउने भनेकोमा जुनसुकै कारण देखाएपनि उक्त जरिवाना श्री ५ बाट तिर्ने कुरै हुँदैन’ पूर्वराजा ज्ञानेन्द्र शाह निकट स्रोतले मेरो लगानीसंग भन्यो ।