कस्तो होला दसैं पछिको सेयर बजार ?

Oct 09, 2016 Merolagani

तिलक कोइराला
दसैं  अघिको अन्तिम कारोबारमा सेयर बजारले लगानीकर्तामा उत्साह भरे जस्तै दसैपछि लगत्तै खुल्ने सेयर बजारमा पनि त्यही प्रबृत्ति कायम रहला ? धेरैको प्रश्न यही हुनसक्छ तर सेयर बजारका बारेमा यसै हुन्छ भनी आँकलन गर्नु मुस्किलको कुरा हो । यसमा मै हुँ ठूलो बिश्लेषक भन्नेहरु समेत फेल खाने गरेका छन् । केही आधारभुत पक्षहरुको बिश्लेषण गरी दसैपछिको बजारबारे आँकलन मात्र गर्न सकिन्छ ।


बिक्रेताको अभावले खरिदमा चाप देखिनसक्छ



दसैपछि खुल्ने पहिलो दिनको सेयर कारोबारमा सेयर बिक्रेताको संख्या न्युन हुँदा खरिदमा चाप परेको देखिनसक्छ । दसै मनाउन जिल्ला र आफन्त कहाँ गएका धेरै लगानीकर्ताहरु बजारमा नफर्किईसकेको अबस्था हुने हुँदा त्यसको असर देखिनसक्छ । माग र आपुर्तिको नियमले बजारलाई सधै प्रभावित पारिरहने हुँदा केही हदसम्म सेयरको भाऊ बढ्न सक्छ र समग्र बजार बढेको देखिनसक्छ तर कारोबार रकम दसै अघिका दिनहरुको भन्दा बढी होला भन्न सकिन्न ।


बेचेकाले पनि फेरि किन्छन्
असोज मसान्तमा बैंकको कर्जा र ब्याज तिर्न सेयर बेचेकाहरुले फेरि किन्न थाल्ने छन् भने नाफा सुरक्षित गरेर बसेकाहरुले पनि फेरि आफुसँग रहेको रकम बजारमा फर्काउने क्रम सुरु गर्नसक्छन् । यस्तो अबस्थामा बजारमा खरिदकै चाप पर्नसक्ने अर्को आधार छ ।


जसले भदौको सुरुदेखि असोजको मध्यसम्म सेयर बेचेर नाफा सुरक्षित गरे, उनीहरु सधै बजारबाट बाहिरिने ब्यक्तिहरु हैनन् । केहीले घर, गाडी किन्न रकम प्रयोग गरे । एउटै सामान्य लगानीकर्ताले ७, ८ करोड रुपैयाँको सेयर बेचेर नाफा सुरक्षित गरेका अबस्थालाई सामान्य मान्न पनि सकिदैन तर उसले सबै पैसा अर्कै ठाउँमा लगानी गरिसक्यो, अब बजारमा फर्केर आउँदैन भन्ने हैन, फर्केर आउँछ । बरु पहिले बेचेको कम्पनीको सेयर नकिन्ला तर अरु कम्पनीको सेयर किन्न अबश्य पैैसा बजारमा परिचालन गर्नेछ ।


पहिलो त्रैमासिक प्रतिबेदनको आँकलन


असोज मसान्तको अन्तिम दिन अर्थात ३० गते हुने कारोबारमै पहिलो त्रैमासिक प्रतिबेदनको आँकलनले केही काम गर्न थाल्नेछ भने कार्तिक लागेपछि बजार तताउने भनेकै फलानो कम्पनीले यत्ति कमायो भन्ने कुराले हो । कम्पनीको सूचनामा भित्री पहुँच पुर्याउन सक्नेले हल्ला गर्न थालिहाल्छ । तर यसरी चलाईने हल्लामा बहकिनु कत्ति पनि आबश्यक छैन किनभने कम्पनीले पहिलो त्रैमासमा कमाएर पनि दोस्रो त्रैमासमा त्यही कमाईको दर कायम गर्ला भन्न सकिन्न । अरु तीन वटा त्रैमासिक प्रतिबेदन यस्तै आउँछन् भनेर ठोकुवा पनि गर्न सकिन्न । तर बिहानीले दिउँसोको संकेत गर्छ भने झै कम्पनीको प्रगतिको प्रारम्भिक संकेत चाँही यसबाट मिल्दछ ।
केही कम्पनीको सबालमा पहिलो त्रैमासिक प्रतिबेदनलाई निकै महत्वका साथ लिनुुपर्छ, त्यस्ता कम्पनीहरु जसले पूँजी बृद्धिको बाध्यताले गत आर्थिक बर्षको खुद नाफाबाट सकेसम्मको बोनस र हकप्रद सेयर जारी गरी उल्लेखनीय रुपमा पूँजी बढाएका छन् । उनीहरुले पूँजी बढाएको अनुपातमा कमाई पनि बढाउन सके कि सकेनन् ? त्यो महत्वपूर्ण कुरा हो । कम्पनीको प्रगति जाँच्ने यो बलियो औजार पनि हो ।


पूँजी बढाएको अनुपातमा प्रगति गर्न सकेको देखिएमा ती कम्पनीको सेयर अझै किन्नु उचित हो भने पूँजी बढाएको अनुपातमा प्रतिसेयर आम्दानी खुम्चिएको, निक्षेप र कर्जा बिस्तार गर्न नसकेको, समग्र ब्यापार खुम्चिएको, निस्क्रिय कर्जा बढेको, मूल्य आम्दानी अनुपात बढेको रहेछ भने त्यस्ता कम्पनीको सेयर नकिन्नु राम्रो हुनेछ । कम्पनीका अघिल्ला सुचकहरुको तुलना गरेर हेर्दा क्रमबद्ध प्रगति गर्दै गएको कम्पनीमै लगानी गर्नु बढी फाईदाजनक हुनेछ ।


हकप्रदको बाढीले पार्ने प्रभाव


बैंक तथा बित्तीय संस्थाहरुलाई हकप्रद जारी गर्ने चाप अझै पर्नेछ । धितोपत्र बोर्डबाट स्वीकृति पाईसकेकाहरुले धमाधम सेयर बिक्रीको सूचना निकालेका छन् र ठूलो परिमाणमा जारी भएका हकप्रद किन्नलाई पनि लगानीकर्ताले रकमको जोहो गर्नुपर्नेछ । त्यसले पनि सेयर बिक्रीमा केही दबाब पार्नेछ किनभने हकप्रद सेयर वापतको रकम लगानीकर्ताले आफुसँग भएको पहिलेको सेयर बेचेरै जोहो गर्ने हो, सापटी र कर्जा लिएर कमैले हकप्रद भर्लान । महंगो रहेको सेयर बेचेर एक सय रुपैयाँ प्रति कित्तामा पाईने हकप्रद भर्ने नै उत्तम उपाय हो ।
हकप्रद जारी हुने भयो भन्दैमा उचालिएर सेयर किन्नु भने घातक हुनसक्छ । हकप्रदको बाढी आउँदा अहिले भन्दा सस्तोमा सेयर किन्न सकिने संभावना पनि रहन्छ ।


ठूला कम्पनीले के गर्लान् भन्ने चासो


दसैपछि धेरै लगानीकर्तामा एउटा चासो भने समान ढंगको हुनसक्छ, त्यो हो ठूला र नाम चलेका कमपनीले के गर्लान् भन्ने कुरा । खास गरी एभरेष्ट बैंक, स्टान्डर्ड चार्टर्ड र नेपाल एसबीआई बैंकले गर्ने बोनस, हकप्रद, थप साधारण सेयर जारी गर्ने लगायतका कुराहरुले लगानीकर्ताको ध्यान तान्ने छ र बजारमा तरंग सिर्जना गर्नेछ ।

एभरेष्ट बैंकले राष्ट्र बैंकसँग मोलमोलाई गरेर लाभांश घोषणामा उत्पन्न समस्या मिलाउन खोजेकाले लगानीकर्ताको अपेक्षा अनुसार नै होला भन्न सकिन्न । बिदेशी लगानी भएका अरु बैंक पनि एभरेष्टले के गर्छ भनेर मुख ताकेर बसेका छन् । 


मर्जर र एक्विजिशन अझै तीब्र हुँदाको प्रभाव


नेपाल राष्ट्रबैंकले बैंक तथा बित्तीय संस्थाहरुलाई चुक्ता पूँजीको सिमा कायम गर्न दिएको २०७४ असार मसान्त आउन अब ९ महिना मात्र बाँकी छ । यो बीचमा चुक्ता पूँजी कायम गर्न नसके कारबाहीमा पर्ने भयले बैंक तथा बित्तीय संस्थाहरुलाई हदैसम्मको चटारो पर्नेवाला छ । बोनस र हकप्रदबाट आफैले चुक्ता पूँजी पुर्याउन नसक्नेहरु गाभिने र बेचिने प्रक्रियामा जानेछन् । गाभिने र बेचिने प्रक्रिया पुरा गर्न ९ महिनाको अबधि निकै छोटो हो । कतिपय संस्थाको मर्जर प्रक्रिया दुई बर्षसम्म पनि पुरा नभएको देखेका बैंकरले अबका दिनमा तीब्र दौडधुप गर्नुपर्ने अबस्था बुझेर कदम चाल्दा गाभ्ने, गाभिने र बेचिने संस्थाहरुको संख्या बढ्नसक्छ । अल्पकालिन लगानी गरेकाहरुले त्यस्ता संस्थाहरुको सेयर सकेसम्म बेच्ने हुँदा बिक्रीमा चाप पर्नसक्छ ।


संस्थापक सेयरधनीले हकप्रदको रकम हाल्दा स्रोतको प्रामाणिक आधार कम्पनीमा पेश गर्नुपर्ने भएकाले पनि मर्जर र एक्विजिशनको बाध्यता बढ्ने अपेक्षा गर्नु सान्दर्भिक हुन आएको छ ।

 

बिमा कम्पनीहरुको बहार सुरु


कात्तिक लाग्दा नलाग्दै अब बिमा कम्पनीहरुको बोनस र हकप्रद घोषणाले बजारलाई तताउने छ । केही कम्पनीले बोनस र हकप्रद घोषणा गरेर यसको संकेत पनि गरिसकेका छन् । हरेक बिमा कम्पनीको सकेसम्मको बोनस सेयर र हकप्रद सेयर आउने छ । पुस मसान्त भित्रमा बिमा कम्पनीहरुले साधारणसभा गरिसक्नुपर्ने भएकाले अबको तीन महिना उनीहरुकै बढी चर्चा हुनु स्वभाविक छ । नेपाल लाईफले जारी गर्ने ३१ लाख एफपीओले पनि बजारबाट धेरै रकम संकलन गर्ने आँकलन गरिएको छ ।


१५ वटा निर्जिवन बिमा कम्पनीहरुको चुक्ता पूँजी पाँच अर्ब अर्थात एउटा बाणिज्य बैंक बराबर हुनु, त्यसको ७० प्रतिशत संस्थापक सेयर रहनु र बजारमा भएका साधारण सेयर पनि कतिपय संस्थागत लगानीकर्ताले हात पारिसकेको हुनुले आपुर्तिमा कमी आईरहेको छ । यस्तो अबस्था हुँदा बिमा कम्पनीहरु सेयरमा थोरै खरिद माग हुँदा पनि मूल्य उचालिएर माथि गएको छ र त्यो क्रमले निरन्तरता पाईरहने देखिन्छ । यद्यपि बिमा कमपनीहरुको सेयर मूल्य महंगो भन्ने कुरा पहिले नै आईसकेको छ । अर्को तर्फ प्रस्ताबित बिमा ऐन र पूँजी बृद्धिको अनिबार्य आबश्यकता पनि छदैछ ।


आईपीओहरु पनि आउँदाको प्रभाव


केही कम्पनीहरुले सर्बसाधारणमा साधारण सेयर (आईपीओ) पनि जारी गर्दैछन् । तिनीहरुले पनि बजारबाट धेरै पैसा उठाउँने छन् । साना र कमजोर कम्पनीको आईपीओमा लगानी गरेर अन्त्यमा रित्तै हात वा कम उपलब्धि हासिल हुनु भन्दा दोस्रो बजारमै लगानी गर्दा बढी फाईदा लिनसकिने संभावनालाई पनि बिचार गर्नु पर्छ ।


संस्थागत लगानीकर्ताको बढ्दो उपस्थिति


सेयर बजारमा संस्थागत लगानीकर्ता अर्थात सामुहिक लगानी कोषहरुको उपस्थिति बढ्दो छ । नबिल ईन्भेष्टमेन्ट र एनएमबी क्यापिटलले पछिल्लो पल्ट जारी गरेका दुई अर्ब भन्दा बढी रकमको कोष मध्येबाट ठूलो रकम सेयर बजारमा सेयर किन्नमै खर्च गर्दैछन् भने झण्डै तीन अर्बका सामुहिक लगानी कोषका ईकाईहरु जारी गर्न धितोपत्र बोर्डमा आबेदन परेर बिचाराधिन अबस्था रहेको छ ।


ब्याज दरमा परिबर्तनले पार्ने असर


सेयर धितो कर्जा लिएर लगानी गरिरहेकाहरुलाई बैंकहरुले बचत र कर्जामा दिने ब्याज दर परिबर्तनले पनि असर पार्नेछ । दसैपछि बैंकहरुले निक्षेप महंगोमा लिने र कर्जाको ब्याज दर पनि बढाएमा सेयर बजारमा आउने लगानी प्रभावित हुनसक्छ । केही बैंकहरुले निक्षेप र कर्जाको ब्याज दर दसै अघि नै बढाईसकेको अबस्था पनि छ । दसै मनाउन बिदेशबाट पठाईएको रकम अर्थात रेमिट्यान्सले सिर्जना गरेको तरलताको अबस्थामा दसैपछि संकुचन आएमा त्यसको पनि असर पर्नेछ । तर अन्य क्षेत्रमा बैंक, बित्तीय संस्थाको ठूलो लगानी जान सक्ने अबस्था छैन । घरजग्गा र सुनमा लगानीको अबस्था आँकलन एउटा पक्ष हो । कतिपय बैंक, बित्तीय संस्थाहरुले धेरै रकम सेयर धितो कर्जामा परिचालन गर्नै बाँकी छ ।


अन्य कुराहरु पनि हुन्छन्


सेयर बजारमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा प्रभाव पार्ने अन्य कुराहरु पनि हुन्छन् । यसमा नियमनकारी निकायहरुबाट जारी हुने निर्देशन र बजार बिस्तार तथा सुधारका कदमहरुले झन् ठूलो असर पार्नसक्छ तर सेयर बजारलाई कायापलट गर्ने खालको यस्ता नीतिगत कुराहरु तत्कालै आउने संभावना देखिन्न । लगानीकर्ताको मनस्थिति, राजनीतिक तथा आर्थिक परिवर्तनहरु, ठूला खाले घटनाहरुले पनि सेयर बजारमा एक हदसम्म बलियो प्रभाव छाड्छन् । तर सबैभन्दा ठूलो कुरा कम्पनीको आधारभुत अबस्था र लगानीकर्ताको जोखिम बहन क्षमता नै हो ।

अन्त्यमा,
यी सबै आधारहरुको बस्तुपरक आँकलन गरी आफ्नो जोखिम बहन क्षमता अनुसार दीर्घकालीन हिसाबले सुरक्षित लगानी गरेमा दसैपछिको सेयर बजारबाट राम्रै लाभ लिनसकिन्छ ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।