लौ हेर्नुस, कहाँ खर्च हुन्छ बिदेशमा रगत पसिना बगाएर पठाएको पैसा ?

Oct 14, 2016 Merolagani



तिलक कोइराला

लाखौं नेपालीहरु अहिले बैदेशिक रोजगारीमा छन् । खाडीका मरुभुमिमा टन्टलापुर घाम होस वा मलेशियाका कारखाना र खेतबारी नै किन नहुन, नेपालीको रगत पसिना बगेकै छ । त्यसरी दुख गरेर नेपाल पठाएको अर्बौ रकम बराबरको रेमिट्यान्स अर्थात विप्रेषण कहाँ खर्च भईरहेको होला ? पढ्नुहोस् नेपाल राष्ट्र बैंकको अध्ययनबाट निस्किएको तथ्य बिबरणः

विश्व बैंकका अनुसार सन् २०१५ मा विप्रेषण रकम भित्र्याउने प्रमुख ३ मुलुकमा भारत, चीन तथा फिलिपिन्स रहेका छन्। यस अनुसार सन् २०१५ मा भारतमा युएस डलर ७२.२ अर्ब, चीनमा ६३.९ अर्व तथा फिलिपिन्समा २९.७ अर्ब विप्रेषण आप्रवाह भएको पाइन्छ । उक्त समूहमा नेपाल युएस डलर ६.६ अर्ब बराबरको विप्रेषण भित्र्याई २३ औं स्थानमा रहेको छ । त्यसैगरी, कुल गार्हस्थ्य उत्पादनसँग विप्रेषण आम्दानीको अनुपात उच्च हुने प्रमुख ३ मुलुकहरू ताजिकिस्तान ४१.७ प्रतिशत, किर्गिज रिपब्लिक ३०.३ प्रतिशत र नेपाल २९.२ प्रतिशत रहेका छन्।

विगत डेढ दशकको अवधिमा कुल गार्हस्थ्य आयको तुलनामा विप्रेषण आयले उल्लेख्य आकार ग्रहण गरेको मात्र नभई अर्थतन्त्र धान्ने प्रमुख स्रोतको रूपमा विप्रेषण देखा परेको छ । सो अनुसार, आर्थिक वर्ष २०५७,०५८ मा औपचारिक माध्यमबाट नेपालमा ४७ अर्ब रुपैयाँ बराबरको विप्रेषण प्राप्त भएकोमा त्यसको १५ वर्षको अन्तरालमा यस्तो आय करिव १३ गुणाले उल्लेख्य वृद्धि भई आर्थिक वर्ष २०७१,०७२ मा उक्त रकम ६१७ अर्ब रुपैयाँ पुगेको छ ।

                                 अध्ययन प्रतिबेदन पुरा पढ्न यहाँ जानुहोस् ।

बिप्रेषण प्राप्त गर्ने घरपरिवारको बचत तथा लगानी प्रबृत्ति नामक अध्ययनले घरपरिवारको दैनिक घर खर्चमा विप्रेषण आयको महत्वपूर्ण भूमिका रहेको देखाएको छ । ८०.८ प्रतिशत घरपरिवारले विप्रेषण बाहेक घरपरिवारको आयको अन्य स्रोतहरूबाट घर खर्च धान्न नपुग्ने उल्लेख गरेका छन् भने १९.२ प्रतिशत घरपरिवारले मात्र दैनिक खर्च धान्न विप्रेषण आयमा भर पर्नु नपर्ने बताएका छन्। तर १८.८ प्रतिशत घरपरिवारले आफ्नो दैनिक उपभोग लगायत अन्य सम्पूर्ण खर्चको लागि पूर्ण रूपमा विप्रेषण आयमा भर पर्ने उल्लेख गरेका छन्। घरपरिवारले घर खर्चको लागि समेत विप्रेषण आयमा नै भर पर्नु पर्ने कारण उनीहरूको बचत तथा लगानी गर्ने क्षमता कमजोर रहेको देखिन्छ ।

विप्रेषणबाट प्राप्त अधिकांश रकम घरपरिवारले दैनिक उपभोग लगायतका अनुत्पादक क्षेत्रमा खर्च गर्ने कारण बचत तथा लगानीयोग्य रकम कम हुने एवम् लगानी गर्दा समेत घर,जग्गा लगायतका स्थिर सम्पत्ति खरिद गर्ने गरेको देखिन्छ । यसका साथै वैदेशिक रोजगारीमा जाँदा लाग्ने खर्च उच्च हुने तथा पुरानो ऋणका कारण घरपरिवार ऋणग्रस्त हुने हुँदा विप्रेषणबाट प्राप्त रकमको ठूलो अंश ऋणको साँवा तथा व्याज तिर्नको लागि खर्च भएको देखिन्छ । अध्ययनमा समेटिएका कुल ३२० घरपरिवारले विगत एक वर्षमा प्राप्त विप्रेषण मध्ये २५.३ प्रतिशत अंश ऋण तिर्नको लागि प्रयोग गरेको देखिएको छ । यसरी हेर्दा, रोजगारीमा जाने सिलसिलामा र जानु भन्दा अघिदेखि नै ऋणग्रस्त हुने तथा विप्रेषण प्राप्त गर्ने अधिकांश घरपरिवारले घर, जग्गा लगायतका स्थिर सम्पत्ति खरिद गर्न ऋण लिने कारण विप्रेषण आयको सबैभन्दा ठूलो अंश ऋण तिर्नको लागि प्रयोग हुने गरेको छ ।

कुल ग्रार्हस्थ्य उत्पादनमा राष्ट्रिय बचतको अंश करिव ४६ प्रतिशतको हाराहारी रहेको भए तापनि विप्रेषण प्राप्त गर्ने घरपरिवारले विप्रेषण रकमको २८ प्रतिशत मात्र बचत गर्न सकेको देखिन्छ । घरपरिवारको विप्रेषण आय न्यून बचत हुनुमा घरपरिवारको आम्दानीको अन्य स्रोत नहुनु वा स्रोत भरपर्दो हुन नसक्नु तथा विप्रेषणको आय नै न्यून हुनु देखिएको छ । यसको अलावा उच्च महँगी, बचतमा न्यून व्याजदर, ग्रामीण क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहनु लगायतका कारणहरूले समेत बचत प्रोत्साहित हुन नसकेको देखिएको छ ।

विप्रेषण आय उपभोग, बालबालिकाको शिक्षा तथा स्वास्थ्य एवं चल–अचल सम्पत्तिको खरिदमा खर्च हुने गरेबाट विप्रेषण आयले घरपरिवारको पुँजीको सीमाको अवरोधलाई सहज गरे तापनि यसले लगानी अभिवृद्धि गरेको भने पाइँदैन ।

स्थलगत सर्वेक्षणमा विप्रेषण प्राप्त गर्ने घरपरिवारले प्राप्त आम्दानीको १.१ प्रतिशत मात्र व्यापार,व्यवसाय जस्ता उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने गरेको पाइएको छ । अर्थात, विप्रेषणबाट प्राप्त आम्दानीको ज्यादै
न्यून अंश मात्र उत्पादनमूलक क्षेत्रमा उपयोग हुने गरेको तथ्यलाई अध्ययनले पुष्टि गरेको छ ।

नेपाल जीवनस्तर सर्वेक्षण २००८ का अनुसार विप्रेषण प्राप्त गर्ने परिवारको कुल आम्दानीको ३१ प्रतिशत हिस्सा विप्रेषणले ओगटेको छ भने ७९ प्रतिशत घरपरिवारले विप्रेषणलाई मुख्य रूपमा घरायसी उपभोगमा खर्च गर्ने गरेका छन्। त्यसैगरी, ७ प्रतिशतले ऋण तिर्न, शिक्षा र घरायसी सम्पत्तिमा ४,४ प्रतिशतले विप्रेषणलाई मुख्य रूपमा प्रयोग गर्ने गरेको उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले २००४ मा गरेको ‘वैदेशिक रोजगार, रेमिट्यान्स र नेपाल’ नामक एक अध्ययन अनुसार करिव ८० प्रतिशतले विदेशमा आर्जन गरेको रकम घरजग्गा किन्ने वा बनाउने, घरखर्च चलाउने लगायतका अनुत्पादक क्षेत्रमा खर्च गर्ने गरेको देखिएको छ भने ३.९ प्रतिशतले मात्र विप्रेषणबाट प्राप्त रकमलाई बचतको रूपमा बैंकमा राख्ने गरेका छन् । त्यसैगरी, नेपाल राष्ट्र बैंकले सन् २०१२ मा गरेको अर्को अध्ययनका अनुसार विप्रेषण प्राप्त गर्ने घरपरिवारले आम्दानीको ३१ प्रतिशत खाद्यान्न खरिदमा मात्र खर्च गर्ने गरेका छन् भने विप्रेषण प्राप्त नगर्ने घरपरिवारको सन्दर्भमा उक्त शीर्षकमा भएको खर्चको अंश ४४ प्रतिशत रहेको छ ।

नेपालमा मात्र नभएर अन्य मुलुकहरूमा समेत विप्रेषण आयको ठूलो हिस्सा उपभोगमा खर्च हुनेगरेको देखिएको छ । इजिप्टबाट वैदेशिक रोजगारीमा जाने घर परिवारमध्ये ८० प्रतिशतले विप्रेषण रकमलाई मूलतः दैनिक उपभोगमा खर्च गर्ने गरेको देखिएको छ ।

विप्रेषणबाट प्राप्त आम्दानीलाई घरपरिवारबाट उत्पादनमूलक क्षेत्रमा लगानी हुन्छ या हुँदैन भन्ने सन्दर्भमा नीति निर्माता, विज्ञ एवम् अनुसन्धानकर्ता बीच मतभेद रहेको छ । यसको विपक्षमा तर्क राख्नेहरूका अनुसार विप्रेषण आम्दानीका कारण सीमित आम्दानी भएका घरपरिवारलाई केही हदसम्म खर्च गर्न सक्ने घरपरिवारमा बदल्न सहायता गरे तापनि विप्रेषण रकम मूलतः दैनिक उपभोगजस्ता क्षेत्रमा खर्च गर्ने तथा बाँकी रकमसमेत अनौपचारिक क्षेत्रमा लगानी गर्ने वा आफूसँगै राख्ने भएका कारण मुलुकले खासै फाइदा लिन नसकेकोतर्क राख्ने गरेका छन्। बैंक तथा वित्तीय संस्थाहरूको बाक्लो उपस्थिति रहेको सहरी क्षेत्रहरूमा समेत घरपरिवारहरूले बचत रकमलाई अनौपचारिक क्षेत्रमा परिचालन गर्नु पक्कै पनि मुलुकको लागि राम्रो होइन । बचत रकम औपचारिक क्षेत्रमा नआई स्थानीय स्तरमा नै विभिन्न तबरबाट परिचालन हुने कारण विप्रेषणबाट प्राप्त हुने ठूलो रकमलाई औपचारिक क्षेत्रमा ल्याई प्रभावकारी रूपमा उपयोग गर्ने कार्य थप चुनौतीपूर्ण रहेको राष्ट्र बैंकको अध्ययन प्रतिबेदनमा उल्लेख गरिएको छ ।

ग्राफ राष्ट्र बैंकको प्रतिबेदनबाट र फोटो nepaldispatch.com बाट लिईएको हो ।

यो समाचार अन्य मिडियाहरुले मेरोलगानी डटकमको अनुमति बिना प्रयोग नगर्नुहोला । 

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




हकप्रद घोषणा गर्दै मूल्य बढाउँदै कम्पनीहरु

Apr 02, 2025 06:07 AM

बाबुकृष्ण महर्जन

नेप्सेमा हालै लघु बीमा कम्पनीअन्तर्गतको पहिलो कम्पनी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स सूचीकृत भयो । हालै आइपीओ जारी भएर सूचीकृत भएको गार्डियन माइक्रो लाइफको शेयर मूल्य २३ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको थियो ।