यस्तो बेलामा सेयर बेचेर भाग्ने कि आफ्नो अबस्था अझै बलियो पारेर सुनौलो युगको हिस्सेदार बन्ने ?
जबरजस्ति लादिएका कृत्रिम अन्योल,अस्थिरता, उतारचढाव र ब्यवधान
नेपालको सेयर बजारमा ठूला खाले सुधार तथा परिवर्तन भएपछि गत बर्ष नेप्से परिसूचकले १८८८ को बिन्दु
छोएर फर्किएपछि केहीलाई चिन्ता लाग्यो । उनीहरुले बजार धेरै बढ्यो भन्ने हल्ला फैलाउन थाले । त्यही पृष्ठभुमिमा अहिले जबरजस्ति सेयर बजारमा अफवाह फैलाउने, अस्थिरता ल्याउने, बजारलाई तीब्र उतार चढावको अबस्थामा लैजाने र अनेक बाधा ब्यवधानहरु सिर्जना गर्ने कोशिश गरियो । बजार बिस्तार तथा स्थायित्व प्राप्त भएको देख्न नचाहनेहरुले यस्तो परिणाम ल्याउन खोजे, जसबाट बजारमा भयंकर अन्योल सिर्जना होस् ।
यसका सहायक केही प्रबृत्तिहरु बारे यहाँ चर्चा गरिन्छः
१. सेयर दलाल , ठूला लगानीकर्ता तथा संस्थागत लगानीकर्ता
सामुहिक लगानी कोषहरुको बढ्दो उपस्थितिले नेपालको सेयर बजारलाई पछिल्ला बर्षहरुमा दह्रो आड दिएको यथार्थ हो । उनीहरुकै उपस्थिति र भुमिकाले बजार सकारात्मक दिशातिर अगाडि बढिरहेको अनुभुति सर्बत्र गरिएकै हो । तर पछिल्ला दिनहरुमा सामुहिक लगानी कोष ठूला लगानीकर्ता, र संस्थागत लगानीकर्ताहरु बजारमा अस्थिरता सिर्जना गर्नतिर लागे भन्ने जुन आरोप लागेको छ, त्यो दुर्भाग्यपूर्ण छ । केही सेयर दलाल, केही ठूला लगानीकर्ता र संस्थागत लगानीकर्ताहरुको मिलेमतोमा सर्बसाधारण लगानीकर्तालाई त्रसित पारेर सेयर बजारलाई झार्ने र सस्तोमा सेयर उठाउने षडयन्त्र रचे । सामुहिक लगानी कोषहरुले सुबिधाको रुपमा पाएको आईपीओको सेयर समेत बेचेर बजारमा आपुर्ति बढाए भन्ने कुरा आएको छ । सर्वसाधारण लगानीकर्ताको मनोबल खस्काउने र सेयर बेचेको पैसा थन्काएर बसी बजारलाई जबरजस्ति नियन्त्रणमा लिन खोजे भन्ने कुरा पनि उठ्यो । यस पटकको बजार घटाईको तातो बहसको बिषय यो पनि हो ।
केही सेयर दलालहरुको भुमिका के रह्यो भन्ने कुरा पनि बिबेचनाको पक्ष बनेको छ । माग र आपुर्तिको प्राकृतिक नियम अनुसार बजार चल्न नदिई कृत्रिम रुपमा माग र आपुर्तिको असन्तुलनको अबस्था सिर्जना गरेर बजारलाई तीब्र उतार चढावपूर्ण बनाईयो भन्ने आरोप लागेको छ । सेयर किन्न खोज्दा किन्न दिईएन, अर्डर पोष्टिड. गरिएन भन्ने गुनासो आयो भने वास्तबै गंभीर रुपमा लिनुपर्छ ।
घट्नु र बढ्नु नै सेयर बजारको सुन्दरतम पक्ष हो । बजारलाई माग र आपुर्तिको नियमले सधै डोर्याईरहेको हुन्छ भन्ने कुरा बुझेर पनि बुझ पचाउनु र आफ्नो चाहना अनुसार बजारलाई डोर्याउन खोज्ने मुर्खता ठूला, साना वा संस्थागत लगानीकर्ता कसैले पनि गर्नु हुँदैन ।
ठूला लगानीकर्ता भन्नाले केही यस्ता ब्यक्तिहरु छन् जसले नेप्से एउटा बिन्दुमा हुँदा नै धेरै पहिले सेयर बेचेर पैसा मुठ्याएर बसेका थिए । बजार माथि गयो, आफुले सेयर किन्न पाएनन् र बजारबाट फाईदा लिन पाएनन् । अहिले जबरजस्ति अन्योल, अस्थिरता सिर्जना गर्ने र सर्वसाधारण लगानीकर्तालाई छिटो सेयर बेचेर भाग भन्ने शैली कसैले पनि अपनाउनु हुँदैन । यो एक किसिमको आर्थिक र नैतिक अपराध हो, जुन दण्डनीय छ ।
यहाँ सबैभन्दा बढी जिम्मेबार बन्न पर्ने सेयर दलालहरु नै हुन् किनभने लगानीकर्तासँग उनीहरुको दैनिक भेट, सम्पर्क हुन्छ र सेयर किनबेचको आदेश लिँदा उनीहरुले लगानीकर्तालाई राम्रो सल्लाह र सुझाव दिनसक्छन् ।
२. सेयर बजारलाई जबरजस्ति उचाल्न खोज्ने प्रबृत्ति
यस्ता समूहहरु अहिलेको सेयर बजार र त्यसबारे हल्ला फैलाउने सामाजिक संजालमा छन् जो बजार सधैं हरियो भएको मात्र देख्न चाहन्छन् । सेयर बजार सधैं हरियो हुनुपर्छ, हरियो बाहेक केही पनि हैन, उनीहरुको दिमागमा यही छ । नेप्सेको भित्ता हरियो नदेखेपनि कहिले हरियो तरकाली त कहिले हरियो कपडा लगाएकी भारतीय चलचित्रकी नायिकाको फोटो सामाजिक संजालमा भाईरल बनाईन्छ । घटबढ भईरहने सेयर बजारको चरित्र नै हो, कहिले हरियो हुन्छ, कहिले रातो । बजार कहिले घट्छ, कहिले बढ्छ, उतार चढाव नियमित प्रक्रिया हुन् भनेर बुझ्न नसक्नेहरु सेयर बजारको नियमलाई आफ्नो अनुकल ब्याख्या गर्न, अरु लगानीकर्तामा भ्रम छर्न र बजारबाट नाजायज फाईदा लिन प्रयास गरिरहेका हुन्छन् । यो पनि बजारको स्थायित्व बिरोधी घातक प्रबृत्तिहरु हुन् ।
३. बजार सधै घटिरहोस् भन्ने प्रबृत्ति
सेयर बजारमा यस्तो प्रबृत्ति पनि सक्रिय छ, जो बजार सधै रातो होस् भन्ने चाहना ब्यक्त गरिरहन्छ । यस्ता प्रबृत्ति भएकाहरुले जनावर वा मानिस उत्तानो परेको फोटोहरु पोष्ट गर्छन् । यिनीहरु बजार र लगानीकर्तालाई गलत दिशातिर जान बाध्य पार्ने धृष्टता गर्छन, घाटा खाएर सस्तोमा सेयर बेचेर साधारण लगानीकर्ताहरु बाहिर निस्किदिउन् भन्ने उनीहरुको चाहना हुन्छ । यो पनि अहिलेको बजारमा अस्थिरता ल्याउन परिचालित घातक प्रबृत्ति हो ।
यो सन्की प्रबृत्ति हो वा अरुबाट यसै गर्न परिचालित भएका हुन् भनेर बुझ्न कठिन छ । यस्ता फाल्तु काममा लाग्नु भन्दा सिर्जनात्मक काममा लागे धेरै धन, सम्पति कमाईन्थ्यो होला तर बेतुकको हल्ला फैलाएर उनीहरु पाप मात्र गरिरहेका छन् । म त उनीहरुलाई भन्छु, यस्ता वाहियात कुरा छाडिदिनोस र हामी सबै मिलेर नेपालको सेयर बजारलाई राम्रो बनाउन हातेमालो गरौं ।
४. रमिता हेर्नेहरु
यी दुई बर्गको बीचमा अर्को एउटा बर्ग वा समूह छ । यो समूह कहिले सेयर बजार घटाउँन मात्र खोज्नेहरु तिर जान्छ त कहिले उचाल्न मात्र खोज्नेहरुतिर जान्छ । दुई ध्रुबीय खेलमा रमाउदा नै यो समूहलाई मज्जा आईरहेको देखिन्छ । उनीहरु रमिता हेर्नलाई समय ब्यतित गरिरहेका छन् । यो समूहलाई पनि म भन्न चाहन्छु, अब वीचमा बसेर लडाउने हैन, अतिबादीहरुसँगको सम्पर्क नै बिच्छेद गर्नुपर्छ र बजारको नियम अनुसार चल्ने प्रयास गर्नुपर्छ ।
५. प्राबिधिक बिश्लेषकहरु
सेयर बजारको प्राबिधिक बिश्लेषण गर्ने, त्यस सम्बन्धी तालिम दिनेहरुको गतिविधि पछिल्ला दिनहरुमा ह्वात्तै बढेको छ । सेयर बजारबारे लगानीकर्ताहरुलाई प्रशिक्षित गर्न उनीहरुले राम्रै भुमिका खेलेका छन् । आधारभुत र प्राबिधिक बिश्लेषण गरी सेयर बजारमा लगानी गर्नु अति आबश्यक पनि छ । लगानीकर्ताहरुलाई कक्षा कोठामा पढाउनु र पत्रपत्रिकामा कुनै एउटा कम्पनीको प्राबिधिक बिश्लेषण पस्केर बजारलाई टेवा दिने काम भईरहेको थियो, यसको म प्रशंसा नै गर्छु ।
अब समस्या कहाँनिर आईदियो भने जब प्राबिधिक बिश्लेषकहरु अलि अगाडि बढेर नेप्से यत्ति घट्छ, फलानो सूचक यत्ति तल जान्छ, माथि जान्छ भनेर खुल्लम खुल्ला भन्न थाले, त्यसले पनि लगानीकर्तामा मनोबैज्ञानिक असर पार्यो । सेयर बजारको प्राबिधिक बिश्लेषणको पाटो एकदमै महत्वपूर्ण, सम्मानित, बिस्वसनीय हुनुपर्नेमा पछिल्लो समय स्तर खस्केर ज्योतिषको रुपमा देखिनु विडम्बना हो । प्राबिधिक बिश्लेषकहरुले तयार गरेका सामाग्रीलाई बजार घटाउन वा बढाउन चाहनेहरुले मुख्य औजारको रुपमा प्रयोग गरेर आम लगानीकर्तामा भ्रम सिर्जना गरिदिएका छन्, जसलाई प्राबिधिक बिश्लेषण गर्ने, गराउने गुरुहरुले सच्याउनु र सावधानी अपनाउनु अति आबश्यक भईसकेको छ ।
६. केही अनलाईन पोर्टलहरु पनि उत्तिकै जिम्मेबार
केही अनलाईन पोर्टलहरु पनि बजारलाई अस्थिर बनाउन परिचालित भए । तथ्य र आधार नभएका कुराहरुलाइ सनसनीपुर्ण समाचार बनाउने र सेयर बजार बढाउँन र घटाउन भुमिका खेल्ने गरी उनीहरुले जुन खाले रिपोर्टहरु सार्वजनिक गरेका छन् त्यसले पनि एउटा आफरी ताफरीको स्थिति ल्याएको छ ।
७. सामाजिक संजालका फोरम र समूह
सेयर बजारमा भ्रम फैलाउन केही सेयर दलाल कम्पनी र लगानीकर्ताहरुले सामाजिक संजालमा खोलेका फोरम र समूहहरु पनि जिम्मेवार छन् । कतिपय नक्कली नाममा खोलिएका फेसबुक आईडी र समूहहरु पनि छन् । नक्कली नाम राखे पनि राम्रै कुरा लेख्छन् तर त्यस्ता नक्कलीहरुको बिस्वसनियता छैन । कतिपय पेशा र ब्यवसायमा संलग्न ब्यक्तिहरुले आफ्नो परिचय खोल्दा जागिर र ब्यवसाय नैै छाड्नु पर्ने बाध्यताले नक्कली नाम राखेर सेयर बजारसम्बन्धी फोरम तथा समूहहरुमा संलग्न भएको बुझिन आएको छ । यसरी नक्कली नाम राख्नु उनीहरुको अरु केही बाध्यता पनि होला । फोरम र समूहको एडमिनिष्ट्रेशनले जथाभावी पोष्ट गर्न नदिने नीति अबलम्बन गर्नु जरुरी भईसकेको छ । समूहका सदस्यहरुले सही वा गलत नछुट्याई जथाभावी सेयर र कमेन्ट गर्ने गर्नाले पनि अन्योल बढाउँदै लगेको छ । यस्ता समूहहरुले आपसमा समझदारी गरेर आचारसंहित बनाउने, जथाभावी र जे पायो त्यही पोष्ट गर्न नदिने हो भने सामाजिक संजालबाट सिर्जना गरिएका आतंक धेरै हदसम्म नियन्त्रण हुनसक्छ ।
८. लगानीकर्ता आफै जिम्मेवार हुनुपर्यो
सबै ठूला, साना र परिपक्व लगानीकर्ताले पुष्टि नभएका कुरा, हल्ला वा नकारात्मक प्रचारबाजीहरुलाई अरुसँगको चर्चामा नलैजाने, त्यस्तो हल्ला गर्नेहरुलाई अनफ्रेण्ड र ब्लक गर्ने अभियान चलाउने हो भने आफै नियन्त्रण गर्न सकिन्छ । हाम्रो पनि नैतिक दायित्व हुन्छ कि कुनै पनि अप्रमाणित कुरा र मसला राखिएका समाचारहरुलाई कुनै पनि फोरमहरुमा प्रचार नगरी बजारलाई स्वस्थ राख्न भुुमिका खेल्ने । मौखिक प्रचारबाजीमा पनि जानुहुन्न ।
९. सेबोन, नेप्से, बिमा समिति र राष्ट्र बैंक
धितोपत्र बोर्ड, नेप्से र राष्ट्र बैंकले नेपालको पूँजी बजारको बिस्तार र सुधारमा यसअघि धेरै राम्रो भुमिका खेलेर सबै लगानीकर्ताको तर्फबाट प्रशंसा कमाएकै हु्न् । अहिले अन्योल र अराजकता बढ्नुमा नियमनकारी निकायहरुले थप राम्रो काम गर्नमा गरेको ढिलाईले पनि सघाउ पुर्याईरहेको छ ।
धितोपत्र बोर्ड र नेप्सेले अहिले भएका सेयर दलाललाई नै पचहत्तरै जिल्ला पठाउने, एउटा बाणिज्य बैंकलाई मात्र क्लियरिड. बैंकको राज गर्न दिनुको सट्टा अरुलाई पनि त्यसमा सहभागी गराउने, अनलाईन कारोबार प्रणाली तत्काल ल्याउने काम गर्नु पर्दछ । बजार अत्याधुनिक र पूर्ण रुपमा स्वचालित हुँदा त्यसबाट लाखौं लगानीकर्ता लाभान्वित हुन्छन् । अहिलेसम्म बाणिज्य बैंकहरुलाई ब्रोकर लाईसेन्स दिईसकेको भए बजारको आकार ब्यापक रुपमा बढ्थ्योे ।
बिमा समितिले बिमा कम्पनीहरुको चुक्ता पूँजी कत्ति हुनुपर्ने हो भन्ने कुरा बेलैमा स्पष्ट गरिदिएको भए अहिलेसम्म बिमा क्षेत्रले फड्को मारिसक्थ्यो ।
यसरी अहिलेको स्थिति चित्रण गरिसकेपछि अब सेयर बजारको भबिष्यबारे केही कुराको चर्चा गरौं ।
१. नयाँ तथा अन्तर्राष्ट्रिय मापदण्डको अनलाईन कारोबार प्रणाली निकट भबिष्यमै आउँदैछ जसले बजारलाई अरु सजिलो, बिस्वासिलो र पारदर्शी बनाईदिनेछ ।
२. सेयर बजारमा गैरआवासीय नेपालीको लगानी भित्र्याउने कुरामा सबैको सहमतिका साथ कामहरु अन्तिम चरणमा छ, यसबाट सेयर बजारमा उल्लेखनीय परिवर्तन हुनेछ ।
३. बाणिज्य बैंकहरुलाई सेयर दलालको रुपमा काम गर्न दिने कुरामा सबैको सहमति छ र यो पनि निकट भबिष्यमा हुने नै छ ।
४. मार्जिन कर्जा पनि सेयर दलाल मार्फत नै प्रबाह हुने कुरामा पहल भईरहेको छ । यसबाट पनि बजारको आकार बढ्न गई हामी लगानीकर्तालाई नै फाईदा पुग्ने छ ।
५. नागरिक लगानी कोष र कर्मचारी संचय कोष सेयर बजारमा प्रबेश गरी उनीहरुसँग रहेको ठूलो पूँजी यहाँ परिचालन भएमा सेयर बजारकै आधार बलियो हुने छ । मार्केट मेकरको रुपमा उनीहरुले भुमिका खेलेमा बजारको डरलाग्दो उतार चढावको खतरामा कमी आई स्थायित्व प्राप्त हुने छ ।
६. लगानीकर्ता पहिचान कार्ड बितरण प्रक्रिया अन्तिम चरणमा छ । यसले पनि हाम्रो सुरक्षा प्रत्याभुति र बजारमा आउनेहरुको पहिचान गराई अझै बिस्वसनीय वातावरण तयार पार्नेछ ।
७. अहिलेका सेयर दलालले राजधानीमा मात्र केन्द्रित नभई पचहत्तरै जिल्ला जान पाउने र उनीहरुको कार्य क्षेत्र बिस्तार हुने नै छ । जिल्ला सदरमुकाममा मात्रै हैन संभावित सबै शहरहरुमा सेयर दलालको कार्यालय बिस्तार भएमा धेरै लगानीकर्ताको संख्या थपिने र सेबा सुबिधा सहज रुपमा लगानीकर्ताले पाउने छन् ।
८. क्लियरिड. बैंकको संख्या बृद्धिबाट छिटो छरितो रुपमा राफसाफ हुन गई हामी लगानीकर्ताहरुलाई नै सुबिधा पुग्ने छ ।
९. बाणिज्य बैंक तथा अन्य बित्तीय संस्थाहरुको शाखा संजाल बृद्धि, लगानी बिस्तार र ठूला पुर्वाधार तथा जलबिद्युत आयोजनाहरुमा लगानी बढ्नु पनि लगानीकर्ताहरुलाई उत्साहित पार्ने कुरा हुन् ।
१०. राष्ट्र बैंकको पूँजी बृद्धि योजना अहिले चालु रहेको अबस्थामा हरेक बाणिज्य बैंकले २०७४ असार मसान्त भित्र आठ अर्ब पुर्याउनै पर्छ । अरु बैंक तथा बित्तीय संस्थाहरुले पनि धमाधम पूँजी बृद्धि गरिरहेका छन् । लौ अब पूँजी बढेपछि सबै कुरा सकियो भन्ने हैन, बल्ल प्रगतिको चरण सुरु भयो भन्ने हो । बैंक तथा बित्तीय संख्याहरुले यसपछि पनि पूँजी बढाउँदै लगानी बिस्तार गर्दै जानुपर्ने कुरामा गभर्नरले संकेत गरिसकेका छन् । आठ अर्बपछि सकिन्छ हैन, यो क्रम जारी नै रहन्छ ।
११. २०७२,०७३ असार मसान्तको बित्तीय बिबरण हेर्दा २८ वटा बाणिज्य बैंकहरुले सबै क्षेत्रमा धेरै राम्रो प्रगति गरेका देखिन्छ । निक्षेपमा २१, कर्जा बिस्तारमा २७, खुद ब्याज आम्दानीमा २५, संचालन नाफामा ६० प्रतिशत बृद्धि भएको समग्र अबस्थामा खुद नाफा ३६ प्रतिशतले बढ्नु भनेकोे धेरै उत्साह ल्याउने सूचकहरु हुन । चालु आर्थिक बर्षको पहिलो त्रैमासको बित्तीय बिबरण पनि धेरै उत्साहित पार्ने खालका देखिएको छ र बाणिज्य बैंकहरु दीर्घकालीन लगानीका हिसाबले सुरक्षित र उपयुक्त क्षेत्र हुन भन्ने प्रष्ट भएको छ ।
१२. बोनस सेयर, नगद लाभांश बितरण, हकप्रद बितरण, एफपीओ जारी गर्ने प्रक्रिया र सूचिकरणसम्बन्धी झंझटहरु समाप्त भई सजिलो र छिटो लगानीकर्ताले प्राप्त गर्नसक्ने भएको छ, अझै सरलीकृत र ब्यवस्थित हुने क्रम जारी नै छ ।
१३. धितोपत्र बोर्डको निर्देशन पछि मर्ज र एक्विजिशनमा गएका कम्पनीले प्रक्रिया पुरा गरेर संयुक्त बित्तीय कारोबार गर्दा नै सेयर कारोबार थाल्नुपर्ने भएको छ र यसबाट पनि हामीलाई अझै सहज भएको छ ।
१४. बिमा कम्पनीहरुका लागि पूजी बृद्धि योजना अब चाँडै आउनेवाला छ । बिमा समितिले यसमाथि बिचार बिमर्श गरिरहेकाले चाँडै नै निर्णय आउला भन्ने बिस्वास जागेको छ । बिमा समितिका अध्यक्ष डा. फत्तबहादुर केसीले पूँजी बृद्धिका लागि अर्थमन्त्रालय र अरु निकायको स्वीकृति लिनु नपर्ने र अर्थ मन्त्रालयलगायत सबैको प्रतिनिधित्व रहेको बिमा समितिको बोर्डले नै गर्नसक्ने खुलासा गरेर यसमा आफुहरु गंभीर रहेको बताईसक्नु भएको छ ।
१५. सुरुमा नेपालको सेयर बजारमा केही सिमित लगानीकर्ता थिए तर अहिले लाखौं पुगिसकेको अबस्था छ र निकट भबिष्यमै अरु कयौं थपिने छन् । बजारमा जत्ति धेरै लगानीकर्ता थपिने छन् बजारको आकार र स्थायित्वको आधार अरु मजबुत हुने छ ।
१६. नेपाल अल्पविकशित देशहरु (एलडीसी)को सदस्य र दुई बिशाल र आर्थिक रुपमा छिटो बिकशित हुँदै गरेका देशहरु चीन र भारतको बीचमा रहेकाले उनीहरुको संगतले यहाँको पनि बिकास छिटो हुने र अर्थतन्त्र बढ्ने निश्चित छ । अर्थतन्त्र फैलिदै गएपछि पूँजी बजार पनि निश्चित रुपमा बढ्छ ।
१७. सार्क देशहरुको सेयर बजार सूचक हेर्ने हो भने धेरै देशको सेयर बजार नेपालको भन्दा बिकशित, आधुनिक र कयौं माथि पुगिसकेको छ । बंगलादेश र श्रीलंकाकै उदाहरण हेर्नुहोस् उनीहरु कहाँ पुगिसके, हामी कहाँ छौ ? प्राबिधिक र आधारभुत कुराहरु बिश्लेषण गरेर भन्ने हो भने नेपालको सेयर बजार पनि निकट भबिष्यमै अत्याधुनिक हुने, अरु सबल हुने र धेरै माथि पुग्ने निश्चित छ ।
यी त भए सकारात्मक पक्षहरु । अब केही नकारात्मक पक्ष र अफ्ठेराहरुको बारेमा पनि चर्चा गरौं ।
१. सेयर बजार आफैमा जोखिमको क्षेत्र हो । यहाँ फाईदै फाईदा मात्रै हुनसक्छ भन्ने हैन, घाटा पनि लाग्नसक्छ । तर राम्रा, बलिया कम्पनीहरुमा लगानी गरेको अबस्थामा त्यस्तो जोखिमलाई धेरै न्युनिकरण गर्न सकिन्छ ।
२. कतिपय सुचिकृत कम्पनीहरु लगानीकर्ताहरु प्रति जिम्मेबार छैनन् र उनीहरुको संस्थागत सुशासनको पाटो अझै शंकाष्पद अबस्थामा छ । नियमनकारी निकायहरुको सक्रियता र कडाईले पहिले जस्तो बैंक, बित्तीय संस्था र बिमा कम्पनीहरु धरासायी भएर जाने क्रम बन्द भएको छ ।
३. लगानीकर्ताहरु पनि अनुभवी र परिपक्व भईसकेका छैनन् । आफैले तथ्य बिश्लेषण गरेर लगानी गर्ने हैन, हल्ला र अफवाहको पछि लाग्ने र हतारिएर सेयर किनबेच गर्नेहरु छन् । अब बिगतका घटनाबाट पाठ सिकेर लगानीकर्ताहरु जिम्मेबार बन्नेछन् भन्ने आशा गर्न सकिन्छ ।
४. जिम्मेवार संस्थागत लगानीकर्ताहरुको संख्या निकै कम छ । केही सामुहिक लगानी कोषहरु पनि आफ्नो कर्तब्य निर्बाहमा भन्दा नाफामा बढी केन्द्रित छन् । तर उनीहरुले पनि आफ्नो कमजोरी सुर्धालान् ।
५. बजार अस्थिर छ र यस्तो अस्थिर बजारमा गुमाउने संभावना पनि उत्तिकै हुन्छ । बजार सधै अस्थिर भई रहँदैन । बजार घटेर न्युन बिन्दुमा आएको बेला राम्रा र बलिया कम्पनीको सेयर सस्तोमा किन्ने र दीर्घकालीन लगानी गर्ने गर्नुपर्छ ।
६. नेपालको सेयर बजारमा संरचनागत र प्रक्रियागत सुधारहरु धेरै हुनुपर्ने अबस्था छ । नियमनकारी निकायहरुले भने अनुसार गरिरहेका छैनन् र उनीहरुवीचमा समन्वय र सहकार्यको अभाव खट्किएको छ । यो कमजोरी पनि बिस्तारै सुधार होला ।
७. बजारमा रियल सेक्टरका कम्पनीहरुको सुचकिरण नभएकाले बैंक, बिमाकै हालीमुहाली छ । लगानी बिबिधिकरण गर्न चाहने लगानीकर्ताहरुका लागि सिमित विकल्प छन् । हालै धितोपत्र निश्काशन नियमावलीमा भएको संशोधनले अब रियल सेक्टरका कम्पनीहरुलाई सेयर बजारमा आउने बाटो सजिलो बनाएको मात्रै हैन, प्रोत्साहित नै गरेको छ ।
८. बजारमा हकप्रद र बोनस सेयर, एफपीओको आपुर्ति बढी छ । हकप्रद आबेदन गर्नलाई लगानीकर्तासँग रकम अभाव भएपछि सेयर बेच्ने प्रबृत्ति बढेको छ र यसले सेयर मूल्यलाई उल्लेखनीय रुपमा घटाईदिएको अबस्था छ ।
यो अस्थायी प्रभाव मात्रै हो । यही पुस माघ पछि हकप्रद, बोनस र एफपीओका कारण बजारमा बढेको आपुर्ति नियन्त्रण हुन्छ । बजारमा माग र आपुर्तिको निकै राम्रो सन्तुलन कायम हुँदा राम्रो सेयर अहिले जसरी सस्तो भाऊमा नपाईला कि भन्ने लाग्छ ।
९. संसदको अर्थ समितिले बाफिया पारित गरेर संसदमा पठाएको छ । बाफियाले अब माफियाहरुलाई भने सिध्याईदिएको अनुभुति भएको छ । त्यसमा बैंक स्थापना भएको १० बर्षमा बैंक बित्तीय संस्थाको संस्थापक सेयर साधारण हुने भन्ने प्राबधान राखिएकोले त्यसलाई लिएर लगानीकर्तामा जबरजस्ति भ्रम छर्ने प्रयास भएको पाईन्छ । त्यो संस्थापक सेयर एकैपटक स्वतः साधारण हुने कदापी हैन । त्यतिखेरको बजारको अबस्था हेरेर बजारलाई असर नपर्ने गरी चरणबद्ध रुपमा राष्ट्र बैंकले स्वीकृति दिएपछि मात्र हुने हो । त्यो प्रावधान लागु हुँदा सबै संस्थापकले सेयर बेचेर भाग्छन् भन्ने पनि हैन । राम्रा कम्पनीमा त संस्थापकहरुले आफ्नो पकड अझ बलियो बनाउँन चाहन्छन् । त्यसैले लौ अब साधारण सेयर बजारमा धेरै हुने भो भनेर हल्ला चलाउनुको कुनै तुक छैन । आम लगानीकर्ताहरु बाफियाको नयाँ प्राबधानबाट आत्तिनु पर्दैन । नेपालको सेयर बजारलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने क्रममा यो पनि एउटा कदम हो, लगानीको पक्षमा सकारात्मक परिवर्तन हो ।
अब के गर्ने ?
यी कुराहरुको बारेमा चर्चा गरिसकेपछि अब लगानीकर्ताले के गर्ने भन्ने कुरा पनि आउँछ । अहिले बजार एकदम अस्थिर भएकाले केही समय पर्ख र हेरको अबस्थाम रहनु नै उचित देख्छु । जब बजार सम्हालिएर स्थिर हुन्छ, राम्रो, बलियो र भबिष्यमा धेरै प्रतिफल दिन सक्ने, धेरै मूल्य घटेर सस्तिएको सेयरहरुमा लगानी गर्नु बेश हुने ठान्दछु । अहिले हतारिएर राम्रो कम्पनीको सेयर बेच्नलाई भने बन्दै गर्नुपर्छ ।
मूल्य र भबिष्यको संभावना बिचार गर्दा मध्यम खालका बाणिज्य बैंकहरु बढी उपयुक्त र सुरक्षित छन् भन्ने लाग्छ र केही जीवन र निर्जिबन बिमाको सेयरमा लगानी पनि उपयुक्त हो । म त खास गरी पाँच सय रुपैयाँदेखि सात सय रुपैयाँसम्म मूल्य भएका बाणिज्य बैंक रोज्नलाई सल्लाह दिन्छु ।
यसै क्रममा एउटा रोचक पक्षको ध्यानाकर्षण गराउन चाहन्छु ।
दुई मेगावाट बिजुली निकाल्ने आयोजना र एक, दुई करोड चुक्ता पूँजी भएको लघुबित्तले साधारण सेयर निकाल्दा कयौं गुणा आबेदन पर्छ, । लाख, दुई लाख लगानीकर्ताले आबेदन गर्छन, सेयर पर्ने बेलामा मुस्किलले एक चौथाई आबेदकले लगभग १० कित्ताको दरले सेयर पाउँछन्, अरुको हात चिल्लै हुन्छ । यसरी आबेदन गरेर १० कित्ता सेयर पर्यो भने पनि त्यसको प्रति कित्ता लागत ३०० रुपैयाँ भन्दा माथि परिसकेको हुन्छ । तर अहिले हामीले त अघिल्लै बर्षको खुद नाफाबाट १५ देखि २० प्रतिशत बोनस सेयर बाड्न बाँकी कम्पनीकै सेयर सबैखाले मूल्य समायोजन हुँदा ३०० देखि ६०० रुपैयाँमा पाईरहेका छौ । उनीहरुले चालु आर्थिक बर्षको बोनस पनि त्यही अनुपात वा त्यो भन्दा बढी दिनसक्छन् । चालु आर्थिक बर्षमा साना तथा मध्यम खालका बाणिज्य बैंक, बिकास बैंक र फाईनान्सहरुको प्रगति र लाभांशको तुलना गर्नुभयो भने आईपीओ हाल्नु भन्दा पनि सस्तोमा हामीले सेयर किन्न सक्छौ । जलबिद्युत कम्पनीको आईपीओ हालेर सेयर पार्दा नै कम्तिमा तीन बर्षसम्म केही नपाई कुर्नुपर्ने अबस्थामा आजको भोलि नै लाभांश पाउने कम्पनीको सेयर सस्तोमा किन्न सकिने यस्तो अबसर सधै रहिरहँदैन ।
सेयर किन्ने मामिलामा पनि म केही भन्छु । पीई रेसियो ३० गुणा भन्दा कम छ, प्रति सेयर आम्दानी १५ रुपैयाँ भन्दा माथि छ, बर्षेनी लाभांश दर बढाउँदै लगेको , चुक्ता पूँजी र जगेडा कोष बढाउँदै लगेको , निस्क्रिय कर्जा दुई प्रतिशत भन्दा तल छ, निक्षेप संकलन र कर्जा परिचालन बढाउँदै लगेको , पूँजी कोष १२ प्रतिशत भन्दा माथि , प्रति सेयर मूल्य सबैभन्दा धेरै घटेको , संचालकहरु राम्रा , आन्तरिक सुशासन राम्रो भएको कम्पनी छान्नुहोस् । । यस्ता कम्पनीहरुको सेयर ४०० रुपैयाँदेखि ७०० रुपैयाँ छन् भने सेयर बजार स्थिर हुन लागेको बेलामा मज्जाले दीर्घकालीन लगानीको रुपमा किने हुन्छ । क्षणिक रुपमा सेयरको भाऊ घट्यो भनेर नआत्तिनुस ।
जे गर्ने हो आफ्नै अध्ययन, बिश्लेषण र ठम्याईबाट गर्नुहोस्, अरुको लहै लहैमा लाग्दै नलाग्नुहोस् । मेरो कुरालाई पनि जोख्नुहोस्, मनन् गर्नुहोस् । तर म स्पष्ट गर्दछु कि कसैलाई भ्रममा पार्न, कुनै सेयर किनाउन, बेचाउन मैले भनिरहेको छैन । मैले माथि औल्याएका प्रबृत्ति भएका ब्यक्ति, संस्थासँग कुनै रीस र प्रतिशोध साँध्न खोजेको पनि हैन । एकजना जिम्मेबार लगानीकर्ता र बजार बिश्लेषण गर्ने ब्यक्तिको हिसाबले मात्र मेरोलगानी डटकममार्फत आफ्नो कुरा राखेको हुँ ।
अन्त्यमा, म एउटा आग्रह गर्न चाहन्छु, शेयर बजार हाम्रो खाना खाने थाल हो, प्वाल नपारौ, फोहर नगरौ, सफा राखौ ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
....................................................................................................................................................................