सेयर बजार धेरै घटेर मूल्य तल आएको बेला राम्रा कम्पनीको सेयर किनेर दीर्घकालीन लगानी गर्नु राम्रो कुरा हो । नयाँ लगानीकर्ताहरु पनि यसैगरी सेयर बजार धेरै घटेको बेला बजार प्रबेश गर्दा फाईदाजनक हुनसक्छ । तर जोखिमका पाटाहरु भने आफैले केलाएर लगानी गर्नु उत्तम विकल्प हो ।
नेपाल स्टक एक्सचेन्जमा सेयर मूल्य थामिनसक्नु गरी घट्दा आज सोमबार दुई पटक सर्किट ब्रेक लगाउनु परेको थियो । कारोबार सुरु भएको ४० मिनेटमा नेप्से तीन प्रतिशत अर्थात ४४ अंकले घटेर १४२५ मा झर्दा पहिलो सर्किट ब्रेक लगाउनु परेको थियो भने त्यसको १५ मिनेटपछि खुलेको बजारमा सेयर मूल्य झन् घट्ने क्रम तीब्र भएर १२ बजेर १२ मिनेटमा समग्र बजार चार प्रतिशत अर्थात ५९.८० अंकले बजार घटेपछि दोस्रो सर्किट ब्रेक लगाएर ३० मिनेटका लागि कारोबार रोक्नु परेको थियो । त्यस पछि बजार केही घटे पनि घट्ने क्रम कम भएर सुधारिएर गएको छ ।
आज दोस्रो सर्किट लाग्नुअघि नेप्से १४०९ मा झरेको छ भने कारोबार रकम २४ करोड ७० लाख मात्र भएको छ ।
यसरी दिनदिनै सेयर बजारमा आत्तिएर सेयर बेच्नेहरु बढेका कारण नेप्सेको घटाईमा अरु जोड परेको हो । सेयर बजार घट्यो भन्दैमा राम्रा कम्पनीको सेयर पनि घाटा खाएर बेच्नु झन् खतरनाक हुने जानकारहरु बताउँछन् । लगानीकर्ताहरुमा आत्मबल निकै कमजोर हुँदा बजारमा जत्ति मूल्यमा पाए पनि सेयर बेच्ने प्रबृत्ति (फ्रि फल) को अबस्था देखिएको सेयर दलालहरु बताउँछन् ।
आईतबार नेप्सेमा सेयर कारोबार सुरु भएको ४७ मिनेटमा साढे ४६ अंकले सेयर बजार खस्किएपछि सर्किट ब्रेक लगाउनु परेको थियो । त्यसको १५ मिनेटपछि खुलेको सेयर बजार अन्तिममा झण्डै ६५ अंकले घटेर बन्द भएको थियो ।
दिनदिनै सेयर बजार तीब्र रुपमा घट्ने क्रम नरोकिएपछि आत्तिएर सेयर बेच्नेहरुको ओईरो लागे पनि यसरी आत्तिएर सेयर बेच्नुपर्ने बस्तुगत कारण भने केही छैन । नेपाल स्टक एक्सचेन्जले आईतबार तीब्र रुपमा सेयर बजार झरेपछि नआत्तिन लगानीकर्ताहरुलाई आग्रह गरेको थियो तर सोमबार बजार खुलेपछि त्यस प्रकारको आग्रहको प्रभाव देखिएन । नियमनकारी निकायका अधिकारीहरु अर्थतन्त्रमा खासै नराम्रा कुराहरु नभएको र सेयर बजारलाई प्रभावित पार्ने गरी कुनै निर्णय नगरेको बताईदा रहँदा पनि नेप्सेमा लगातार भारी गिरावट आउनु संदेहपूर्ण देखियो ।
सेयर बजार लगातार झर्दा लगानीकर्ताहरुको मनोवल कमजोर बनेको मौकामा चलाईएका अनेक हल्लाले बजारलाई थप घटाउन सहयोग गरेको देखिएको छ ।तर यसलाई चिर्ने र लगानीकर्ताहरुलाई आश्वस्त पार्ने गरी सरकार र नियमनकारी निकायहरुबाट ठोस निर्णयहरु सार्वजनिक हुन ढिलाई हुँदा अन्योल बढ्दै गएको अबस्था छ ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
....................................................................................................................................................................