तरलताको समस्या छैनः राष्ट्र बैंक
केही वाणिज्य बैंकहरुले तरलताको अभावमा ठूला कर्जा परिचालनमा कठिनाई भइरहेको बताइरहेको बेला नेपाल राष्ट्र बैंकले भने बजारमा हल्ला गरिए जस्तो तरलताको अभाव नरहेको दाबी गरेको छ ।
नेपाल राष्ट्र बैंकका प्रबक्ता नारायणप्रसाद पौडेलले भने -बजारमा चर्चा गरिएजस्तो तरलताको अभाव छैन ।
उनले अगाडि भने - हाम्रो तरलता प्रक्षेपण तथा संरचना प्रणालीले अझै १३ अर्ब रुपैयाँ तरलता रहेको देखाएको छ । यो बैंक तथा वित्तीय संस्थाहरुको अनिवार्य नगद मौज्दात बाहेकको रकम हो । यसैले बजारमा भने जस्तो स्थिति होईन । २८ वाणिज्य बैंकमा एकाधमा अभाव हुन सक्ला यसको अर्थ समग्र प्रणालीमै अभाव भन्न मिल्दैन ।
राष्ट्र बैंकले ९० दिने अबधिका लागि बिहीबार पाँच अर्बको निक्षेप बोलकबोलबाट लिदैछ ।
रकम अभाव भएपछि ठूला कर्जा प्रवाहमा कठिनाईः बाणिज्य बैंक
बैंक तथा वित्तीय संस्थाका अधिकारीहरुले तत्काल लगानी गर्न मिल्ने रकम (तरलता) अभाव हुन थालेपछि ठूला कर्जा परिचालनमा कठिनाई हुन थालेको बताएका छन् । रकम अभाव भएपछि एक आपसमा हुने अन्तर बैंक कारोबारसँगै बचतकर्तालाई दिने ब्याज समेत बढाउनु परेको उनीहरुको भनाई छ ।
लगानी योग्य पुँजी अभाव हुँदा ठूला कर्जा रोक्ने अवस्थामा बैंकहरु पुगेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भूवन दाहालले मेरोलगानी डटकमलाई बताए ।
बैंकहरु तरलता विहिन अवस्थामै पुगेको भन्न मिल्दैन, मात्र ठूला कर्जाहरु परिचालन गर्न नसक्ने अवस्था आएको हो - दाहालले भने ।
दाहालले भने -अहिले कर्जा परिचालन नै ठप्प भएको अवस्था चाहि होईन, हामीले एक करोड रुपैयाँ सम्मको कर्जा भने सहज रुपमा प्रदान गरेका छौ । निक्षेपको भन्दा कर्जाको वृद्धि बढी भएकाले यस्तो अवस्था आएको हो । सरकारी ढुकुटीमा थुप्रिएको दुई सय अर्ब भन्दा बढी रकम खर्च गर्ने अवस्था आए यसले थप एक सय अर्ब तरलता पैदा गर्छ र यो अवस्थाको अन्त्य हुन्छ ।
दाहालका अनुसार निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ८० प्रतिशत पुग्ने अवस्थामा बैंकहरु पुगेका छन् ।
रकम अभाव भएपछि बैंकहरुको अन्तर बैंक कारोबार भने बढ्न थालेको छ । गत आर्थिक बर्षको पहिलो चार महिनाको तुलनामा चालु आर्थिक बर्षको पहिलो चार महिनामा वाणिज्य बैंकहरूबीच एक आपसमा हुने अन्तरबैंक कारोबार दोब्बरले बढेको छ ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको पहिलो चार महिना अर्थात कात्तिक मसान्तसम्ममा ४ खर्ब ३३ करोड रुपैयाँको अन्तरबैंक कारोबार गरेका छन् । यसअवधिमा अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) ले १ खर्ब २० अर्ब ७५ करोडको अन्तर–बैंक कारोबार गरेका छन् ।
अघिल्लो वर्षको कात्तिकसम्ममा वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाहरूले क्रमशः २ खर्ब ३१ अर्ब ५० करोड र २३ अर्ब ७० करोडको यस्तो कारोबार गरेका थिए ।
एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावसँगै अन्तर बैंक कारोबारमा वृद्धि हुने बताउँछन् ।
तरलता व्यवस्थापन गर्नका लागि अन्तरबैंक कारोबारको माग बढ्ने गर्छ । तरलता हुँदा माग हुँदैन र कारोबार हुँदैन,-ढुंगानाले भने ।
वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७२ कात्तिकको ०.३६ प्रतिशतको तुलनामा २०७३ कार्तिकमा ३.५९ प्रतिशत रहेको छ । कात्तिकमा वाणिज्य बैंकहरुबीच ३.५९ प्रतिशतसम्म ब्याजदरमा अन्तर बैंक कारोबार भएको भएपनि मंसिरमा भने त्यस्तो ब्याजदर निकै तल रहेको ढुङनाले बताए ।
बैंकहरुमा निक्षेप अभाव हुन थालेपछि यसको प्रभाव बैंकहरुको व्याजदरमा पनि देखिन थालिसकेको छ । अहिले बैंक तथा वित्तीय संस्थाले एकवर्षे मुद्दती खातामा साढे ८ प्रतिशतसम्म ब्याज दिएका छन् । अझ कतिपय विकास बैंकहरुले साढे ९ प्रतिशतसम्म पनि ब्याज दिने गरेका छन् ।
कर्जा प्रवाह वृद्धिको तुलनामा निक्षेपको वृद्धिदर कम रहेको र सरकारी खर्च नबढेकाले बैंक तथा वित्तीय संस्थामा तरलता कम भएको र सर्वसाधारण तथा संस्थाहरुसँग रहेको निक्षेप तान्न बैंकहरू ब्याज बढाउन बाध्य भएको ढुगानाले बताए ।