सेयर बजारमा आपुर्ति बन्द नगरे लगानीकर्ताले अकल्पनीय क्षति ब्यहोर्नपर्ने खतरा

Dec 28, 2016 Merolagani



तिलक कोइराला
सेयर बजारमा लगातारको गिरावटले झण्डै पाँच खर्ब रुपैयाँ बराबरले समग्र बजार पूँजीकरण घट्दा अब बैंक तथा बित्तीय संस्थाहरुले आफुबाट सेयर धितो कर्जा लैजानेहरुलाई धमाधम फोन गर्न थालेका छन् । मार्जिन कल भनिने यस्ता फोनका घण्टीहरु लगानीकर्ताको मोबाईलमा बज्दै गर्दा लगानीकर्ताले अकल्पनीय आर्थिक क्षति ब्यहोर्न पर्ने खतरा उत्पन्न भईसकेको छ ।

सेयरको मुल्य कर्जा राख्दाको बेलाको भन्दा घटेर त्यसले कर्जाको भार नथाम्ने भएपछि बैंकहरुले यसरी लगानीकर्तालाई फोन गर्ने गर्छन । बैंकहरुले यसरी फोन गरेपछि लगानीकर्ताले कि थप सेयर धितो राख्नुपर्नेछ कि बैंकले मागे अनुसारको रकम बुझाउनुपर्छ । दुबै काम गर्न नसकेमा बैंकले सेयर बेचेर आफ्नो पैसा असुल गर्छ । सेयरको मूल्य घट्दै गएको बेला कर्जा तिर्न सेयर बेच्नु वा थप ऋण काढ्नुको विकल्प हुँदैन ।

सेयरको मूल्य घट्दै गएर मार्जिन कल आउने क्रम रोक्न सकिएन भने हजारौ लगानीकर्ताको अर्बौ रुपैयाँ डुब्ने छ । यस्तो बेलामा थप क्षति हुनबाट बच्ने र बचाउने भनेको बजारमा बिक्रीमा थप सेयर पठाउन बन्द गरी सेयर मूल्यलाई थप तल जानबाट रोक्ने नै हो । यसरी बजारमा आपुर्ति हुने सेयरलाई रोकेर माग र आपुर्तिबीच सन्तुलन कायम गर्न सकिएन भने नेप्से कतिसम्म झर्ला भन्ने कल्पनाकै कुरा हो ।लगानीकर्ता आफै संयमित नभएर सेयर बिक्रीमा चाप कम गरे तत्कालका लागि हजारौलाई राहत पुग्ने छ । तर यसमा के कुरा चाँही बिर्सनुहुन्न भने केही समूहहरु बजारमा सकेसम्म अत्याँसलाग्दो अबस्था सिर्जना गरेर बजारलाई क्रयासकै अबस्थामा पुर्याउन उद्यत छन् र केही नियमनकारी निकायका पदाधिकारी र पूँजीबजार बिरोधी चरित्र बोकेका ब्यक्तिहरु पनि उत्तिकै सक्रिय छन् ।

केही ठूला घराना र संस्थागत लगानीकर्ताहरु पनि यो बजार घटाइबाट आँत्तिएर झन् घटाउन सहयोग पुग्ने गरी सेयर आपुर्ति बढाईरहेको सूचना मेरोलगानी डटकमले प्राप्त गरेको छ । यसरी आफ्नै खुट्टामा बन्चरो हान्नेहरु रोकिएनन् भने कति क्षति होला, अहिल्यै आँकलन गर्न नसकिने कुरा हो ।

बैंक तथा बित्तीय संस्थाहरुको पूँजी बढाउने नाममा बजारले थाम्नै नसक्ने गरी हकप्रद र नयाँ साधारण सेयरको बाढी ल्याउने तर बजार बिस्तार तथा सुधारका लागि अपेक्षित कदम नचाल्दा सेयर बजारमा त्रासद अबस्था सिर्जना भएको हो । बजारमा कम्पनी र सेयरको संख्या थपिदै जाँदा बजारलाई फैलाउने र नयाँ लगानीकर्ता भित्र्याउने हैन, भएकालाई पनि सेयर बजारबाट बाहिर जान बाध्य पार्ने निराशाको अबस्था सिर्जना गरिएको छ, त्यो खतरनाक छ । नियमनकारी निकायहरु बहानाबाजी र आरोप प्रत्यारोप गरिरहेको र सेयर बजार गंभीर मोडतर्फ गईरहेको यस्तो बेलामा साधारण लगानीकर्ता आफै संयमित र सचेत नभए ठूलो क्षति ब्यहोर्नपर्ने अबस्था आएको छ ।

अघिल्लो दिन झण्डै ४३ अंकले तल झरेको सेयर बजार दोस्रो दिन  २५ अंक भन्दा बढीले तल झरेपछि आम लगानीकर्ताहरुका बीचमा त्रासद वातावरण बनेको छ । एकैदिन ३० अर्ब भन्दा बढीले सेयर बजार पूँजीकरण घट्नु निकै ठूलो चिन्ताको बिषय हो । यस्तो बेलामा धैर्यतासहित सेयर बिक्री कम नगरेमा लगानीकर्ताहरुले थप क्षति ब्यहोर्नपर्ने हुन्छ ।

नियमनकारी निकायहरु आपसमा बाझाबाझ गरिरहँदा दश गाउँ डुबेको कथा जस्तै हुन लागेको छ । काठमाडौ खाल्टो भित्र मात्र सेयर दलाललाई सिमित गर्ने, सेयर बजारलाई स्वचालित गर्ने अनलाईन कारोबार प्रणाली स्थापना नगर्ने, बजारमा तरलता अभाव हुने गरी राष्ट्र बैंकले बैंक बित्तीय संस्थाहरुबाट पैसा खिचिरहने, घरजग्गा र गाडी खरिद कर्जा सस्तो बनाएर अनुत्पादक क्षेत्रमा पैसा परिचालन बढाईरहने, सरकारले खर्च नगरी पैसा ढुकुटीमा थुपारिरहने, दलहरु अन्योल बढाईरहने लगायतका कुराहरु भईरहदा मुलुकको पूँजी बजार केही हल्लावाजहरुले भने जस्तै धरासायी दिशातर्फ अग्रसर भएको छ ।

अरुलाई मात्र दोष दिएर हुन्न, हकप्रदको हल्लामा मूल्य उचालिएर सेयर किन्ने र बुझ्दै नुबझी खराब कम्पनीहरुमा लगानी गर्ने अनि सेयरको मूल्य घट्यो भन्दै घाटा खाएर बेच्नेहरु पनि अहिलेको त्रासद अबस्था ल्याउन उत्तिकै जिम्मेवार छन् । बजार बढ्दा जुन किसिमको लहडमा लगानी गर्नेहरु बजारमा छिरे, अहिलेको घटाईका लागि उनीहरुको पनि हिस्सेदारी रहेको मान्नुपर्छ । त्यसमाथि सामाजिक संजाल र समूह बनाएर अनेक खाले हल्ला गर्नेहरुको हात पनि बजार घटाईमा सहायक बनेको छ । एक बर्ष पहिले नै राम्रा सेयरमा लगानी गरेर बसेकाहरुलाई भने अहिलेको बजार घटाईले कत्ति पनि अत्याएको छैन किनभने अहिले पनि उनीहरुलाई सेयरको बढेको मूल्य र गत बर्षको बोनसले पालिरहेको छ ।

नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, बिमा समिति लगायतका जिम्मेबार नियमनकारी निकायहरुबीच आपसी समन्वय नभएको र बजारको संबेदनशील अबस्थाप्रति मुकःदर्शक बनिरहेकाले आगामी दिनमा सेयर बजार के होला भन्न सकिने अबस्था छैन । परिस्थिति अत्यन्त त्रासद् बन्दै गएर १८८८ को बिन्दुमा नेप्से पुग्दा सेयर किनेका लगानीकर्ताले अप्रिय निर्णय गरे भने अहिलेका यी नियमनकारी निकायहरुप्रति कस्तो आक्रोश पैदा होला ? कल्पना बाहिरको कुरा हो ।
 
यी निकायहरुहरु संबेदनहिन बन्दै मुलुकको पूँजीबजारप्रति अनुदारपूर्ण ब्यवहार गरिरहे अकल्पनीय क्षति लगानीकर्ताले भोग्नुपर्छ । त्यस्तो क्षति नहोस् भन्ने कुरालाई हेक्का राख्दै लगानीकर्ता आफै संयमित बनेर सेयर बिक्री बन्द गर्नु नै थप क्षतिबाट जोगिने अहिले एकमात्र उपाय हो । अहिलेको अबस्था केही दिन मात्र देखिने हुँदा बजारको डरलाग्दो घटाईबाट नआत्तिई धैर्यता लिनसक्नुपर्छ । दीर्घकालीन लगानी गर्नेहरु आत्तिनुपर्ने कुनै कारण छैन । आजको भोलि दोब्बर नाफा गर्छु भन्दै सेयर बजारमा हाम्फालेका ब्यापारीहरु घटाईको भागदौडमा किचिएर मरे भने अर्कै कुरा हो ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।