वेष्टर्नको खुद नाफा झण्डै सय प्रतिशतले बढ्दा जगेडा कोषमा के भयो ?

Jan 30, 2017 Merolagani

वेस्टर्न डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई करोड ६४ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा एक करोड ३६ लाख ७८ हजार रुपैंया मात्र खुद नाफा कमाएको बैंकले यस पटक ९३ प्रतिशतले खुद नाफा बढाएको हो । यसरी कमाई बढाउँदा बैंकको प्रतिसेयर आम्दानी १६ रुपैंया ८६ पैसा कायम भएको छ । गत वर्षको यसै अवधिमा उसको प्रतिसेयर आम्दानी आठ रुपैंया ७१ पैसा मात्र थियो ।

बैंकले समिक्षा अवधिमा एक करोड २७ लाख ८० हजार रुपैयाँले खुद नाफा बढाएर प्रतिसेयर आम्दानी पनि आठ रुपैंया १५ पैसाले बढाएको हो । चार करोड ८४ लाख ५९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । समिक्षा अवधिमा दुई करोड ४७ लाख रुपैंयाको खुद ब्याज आम्दानी दोब्बरले बढेका कारण नै उसको खुद नाफा पनि झण्डै दोब्बरले बढेको हो ।

दुई अर्ब २९ करोड ९३ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले छ महिनाको अवधिमा एक अर्ब ७३ करोड ८१ लाख ८५ हजार रुपैयाँ ऋण प्रवाह गरेको छ । सम्भावित जोखिमको लागि एक करोड २६ लाख ७० हजार रुपैयाँ छुट्याएको बैंकको खराब कर्जा अनुपात शुन्य दशमलव ७१ प्रतिशत छ ।

समिक्षा अवधिमा चुक्ता पूँजी जहाँको त्यहि अर्थात १५ करोड ६९ लाख ६० हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषको आकार फराकिलो अन्तरले बढेको छ । समिक्षा अवधिमा बैंकको जगेडा कोष दुई करोड ४४ लाख ३९ हजार रुपैंयाबाट नौ करोड ११ लाख ५६ हजार रुपैंया पुगेको छ । समिक्षा अवधिमा बैंकको जगेडा कोषको आकार दुई सय ७२ प्रतिशतले बढेको हो । बैंकको प्रतिसेयर नेटवर्थ एक सय ७४ रुपैयाँ ९३ पैसा छ ।

comments powered by Disqus