कैलाश विकास बैंकको २० प्रतिशत हकप्रद खुल्यो

Feb 17, 2017 merolagani

कैलाश विकास बैंक (KBBL)को शुक्रबारबाट चुक्ता पूँजीको २० प्रतिशत हकप्रदको बिक्री खुला गरेको छ । बैंकले एक सय रुपैंया अंकित ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

बैंकको पाँच सेयर भएका शेयरधनीले एक कित्ताको लागि आवेदन गर्न सक्नेछन् । बैंकको हकप्रदमा गत पुस १३ गतेसम्ममा सेयर खरिद गरेका सेयरधनीले मात्र आवेदन गर्न पाउनेछन् । फागुन छ गतेदेखि खुला भएको हकप्रद निष्काशन चैत १० गते बन्द हुनेछ ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । हकप्रदमा आवेदन दिन शेयरधनीले क्यापिटलको कार्यालय जमल तथा कैलाश विकास बैंकका सबै शाखाहरुमा चैत १० गतेसम्म हकप्रद भर्न सक्नेछन् ।

बैंकले धितोपत्र बोर्डबाट निष्काशनको स्वीकृति पाएको लामो समयपछि हकप्रद शुक्रबारबाट बेच्न लागेको हो । एक अर्ब ५८ करोड तीन लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले ३१ करोड ६० लाख रुपैंयाको हकप्रद बिक्री गरी पूँजी थप गर्न लागेको हो । हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब ३० करोडको हाराहारीमा पुग्नेछ ।

चालु आर्थिक बर्षको छ महिनाको अवधिमा कैलाश विकास बैंकले २६ करोड ३८ लाख ६३ हजार रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी आम्दानी २६ रुपैयाँ ७१ पैसा कायम गरेको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई २५ प्रतिशत बोनस समेत बितरण गरेको छ । धितोपत्र बजारमा कैलाशको शेयर प्रतिकित्ता विहीबार ३०७ रुपँयामा कारोबार भएको छ ।

comments powered by Disqus