एनआइसी एशिया बैंकको १५ प्रतिशत हकप्रद खुल्यो, यी ठाउँबाट गर्न सकिन्छ आवेदन

Mar 29, 2017 merolagani

एनआइसी एशिया बैंक (NICA) ले चैत १६ गत बुधबारदेखि १० बराबर १.५० कित्ता हकप्रद सेयर निष्कासन खुला गरेको छ । बैंकले चुक्ता पूँजीको १५ प्रतिशतको दरले हुन आउने ८७ करोड २९ लाख ४७ हजार पाँच सय रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँ दरले ८७ लाख २९ हजार ४७५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

बैंकले हकप्रदका लागि बैकले चैत ७ गते सेयरधनी दर्ता किताब बन्द गरेकाले चैत ६ गते आईतबारसम्म बैंकको सेयरमा स्वामित्व प्राप्त गरेका सेयरधनीले १५ प्रतिशत हकप्रद भर्न पाउनेछन् । 

एनआइसीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । हकप्रद सेयरमा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट सिटिसी मलको छैटौं तल्ला सुन्धारा  तथा एनआइसी एशिया बैंकको मुख्य कार्यालय थापाथली तथा अधिकांश शाखा कार्यालयबाट आवेदन गर्न सकिन्छ । चैत १६ गते खुला भएको बैंकको हकप्रद वैशाख १९ गते बन्द हुनेछ ।

एनआइसी एसियाले राष्ट्र बैंकले तोेकेको आठ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन १५ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । हाल बैंकको चुक्ता पुँजी पाँच अर्ब ८१ करोड ९६ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि बैंकको चुक्ता पूँजी छ अर्ब ६९ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक बर्षको अर्धबार्षिक अवधिमा बैंकले ७२ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८० पैसा कायम गरेको छ । धितोपत्र बजारमा बैंकको सेयर मंगलबार प्रतिकित्ता ४७७ रुपैँयामा कारोबार भएको थियो ।

comments powered by Disqus