किन रोकियो अरुण काबेलीको सेयर कारोबार ?

Apr 19, 2017 merolagani

सेयर कारोबार सुरु गरेपछि दुईदिनसम्म १० १० प्रतिशतले सेयर मूल्य बढेको अरुण काबेली पावर लिमिटेड (AKPL) को कारोबार नेपाल स्टक एक्सचेन्जले एक्कासी रोकेको छ । यसै साता आईतबारदेखि सेयर खुला गरेको अरुण काबेली पावर लिमिटेडको कारोबार   सिडिएससीको पत्रअनुसार  रोकिएको नेप्सेले जनाएको हो ।

कम्पनीको केही लगानीकर्तालाई डिम्याटमा सेयर पठाएपनि केहीलाई भने हालसम्म पनि  खातामा पठाएको छैन ।

अरुण काबेलीको सेयर लगानीकर्ताको खातामा नहाल्दै नेप्सेमा कारोबार किन खोलियो ?

आफै सेयर रजिष्टार रहेको कम्पनीले केही लगानीकर्ताको खातामा दोहोरिएर सेयर गएको कारणले सेयर कारोबार रोक्न अनुरोध गरेको र सिडिएससीको पत्रअनुसार सेयर कारोबार रोकिएको नेप्सेका प्रबक्ता मुराहरी पराजुलीले मेरोलगानीलाई जानकारी दिए । अरुण काबेलीको सेयर निश्काशन सिद्धार्थ क्यापिटलले गरे पनि सेयर बाँडफाँडपछि सेयर रजिष्ट्रार अर्थात आरटीएसको काम भने अरुण काबेली आफैले गर्दै आएको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबार मूल्यका लागि प्रारम्भिक सेयर मूल्य प्रतिकित्ता ९९.०७ रुपैँया देखि २९७ रुपैँया सम्म तोकेको थियो । आइतबार र मंगलबार दुई दिन कारोबार भएको कम्पनीको दुवै दिन दश प्रतिशतको हाराहारीमा सेयर मूल्य बढेर प्रतिकित्ता ३९३ रुपैयाँ पुगेको छ ।

कम्पनीले १ करोड ५० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत गराएपनि सर्वसाधरणका लागि वितरण गरेको २९ लाख १० हजार कित्ता सेयरको मात्र नेप्सेमा कारोबार खुलेको थियो ।

कम्पनीको कारोबार खुलेपनि अधिकांस लगानीकर्ताको सेयर डिम्याट खातामा नआउदा कारोबारबाट बञ्चित रहेका थिए । जसका कारण सेयरबजारमा कम्पनीको सेयरमूल्य बढाउन चलखेल गरिएको आरोप समेत लागेको छ ।

सर्वसाधारणमा ३० करोड रुपैयाँको शेयर बाँडफाँड पश्चात चुक्तापूँजी १ अर्ब ५० करोड पुगेको छ । अरुण काबेली अरुण भ्याली हाइड्रो पावरको सहायक कम्पनी हो । कम्पनीले पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने काबेली नदीमा २५ मेगावाट क्षमताको काबेली बी वान जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

 

 

comments powered by Disqus