केही समय अघि एक लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गरेको महुली सामुदायिक लघुवित्तले गत
आर्थिक वर्षमा चुक्ता पूँजीभन्दा धेरै खुद नाफा कमाएको हो । चार करोड रुपैंया चुक्ता पूँजी रहेको लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासमा चार करोड ३१ लाख ६९ हजार रुपैंया खुद नाफा कमाएको हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा केही घटेको हो । साधारण सेयर निष्काशनले पूँजी बढ्दा नाफामा आएको गिरावटका बिच पनि लघुवित्तको वित्तीय अवस्था राम्रो देखिएको हो । अघिल्लो आर्थिक वर्षमा लघुवित्तको प्रतिसेयर आम्दानी दुई सय तीन रुपैंया ६८ पैसा थियो ।
निक्षेप तथा कर्जाको आकार बढाएर खुद व्याज आम्दानीमा उल्लेख्य सुधार गरेको लघुवित्तले एक करोड ६४ लाख रुपैंया सम्भावित जोखिमका लागि छुट्याएको छ । कर्मचारी बोनस तथा करको आकार अधिक बढेका कारण लघुवित्तको खुद नाफा अघिल्लो वर्षको तुलनामा केही घटेको हो ।
समिक्षा अवधिमा लघुवित्तको निष्कृय कर्जा अनुपात ०.५२ प्रतिशतबाट बढेर १.८२ प्रतिशत पुगेको छ । लघुवित्तको जेगा कोष अघिल्लो आर्थिक वर्षमा नौ करोड ५० लाख रुपैंया रहेकोमा गत आर्थिक वर्षमा १३ करोड ८४ लाख रुपैंया पुगेको छ । कोषको यो आकार चुक्ता पूँजीभन्दा तीन गुणाभन्दा बढी हो ।