सेयर बजारका लगानीकर्तामा कम्पनी सम्बन्धि ज्ञानको स्तर

Aug 13, 2017 Raj Kumar Pokhrel

- राजकुमार पोखरेल
केही समय अघि काम विशेषले म एउटा सेयर दलालकोमा पुगेको थिँए । राफसाफ कक्षमा काम परेकोले कारोबार कक्षबाहिर बसेर हल्ला गरिरहेका लगानीकर्तालाई छिचोलेर म भित्र जानु पर्ने थियो । तर, कारोवार कक्षको ढोका मै रहेका  तीनजना अधवैशेंको समूहले मेरो ध्यान तान्यो ।  ...

छड्के झोला भिरेको पहिलो व्यक्ति अनि उसको पछि पछि लागेर आएका जस्तो लाग्ने अरु दुईजना भीडबाट केही अलग थिए । सेयर किन्नकालागि त्यहाँ आएको कुरा उनीहरुको सम्वादले पनि प्रष्ट हुन्थ्यो । 

शेयर बजार तलमाथि भईरहन्छ । बजार बढ्नु र घट्नु सेयर बजारको नियम नै हो । सामान्यतय जब बजार हरियो हुन्छ, बजारमा उत्साह हुन्छ । एउटाको उत्साह, अर्कोको उत्साह हुँदै त्यो लगानीको वाताबरणमा परिवर्तन हुन्छ । यसो हुँदा भखैृरै बजार प्रवेश गरेका लगानीकर्ताले पनि दीर्घकालीन विश्लेषण नगरी विना कुनै योजना सेयरमा भएभरको लगानी खन्याउने गरेका पनि पाइएको छ ।

बजारको राम्रो बिश्लेषण नगरी सेयर किन्ने होडमा लाग्ने लगानीकर्ता बजार सुस्ताउँदा समस्यामा पर्ने गरेका छन् । हल्लाको भरमा मात्र सेयर किन्ने लगानीकर्ताले नाफा भन्दा नोक्सान व्यहोर्न बाध्य छन् । कतिपय नयाँ लगानीकर्तालाई लगानी गर्ने कम्पनीको राम्रोसँग नाम समेत थाहा भएको पाइदैन । कम्पनीको वित्तीय बिवरण बुझ्नु त परको कुरा वैंक हो या बीमा कम्पनी हो भन्ने समेतमा झुक्किने लगानीकर्ता हल्लाकै आधारमा शेयर बजारमा प्रवेश गर्दा बजारबाट फलिफाप भएको पाँइदैन ।

हल्लाको भरमा सेयर किन्ने तर सेयर बेच्ने समय थाहा नहुँदा त्यस्ता लगानीकर्ताहरु नराम्ररी फस्ने गरेका छन । बजारमा सेयर किन्ने बेलामा लगानीकर्तामा हल्लाखल्ला भएपनि वेच्ने बेलामा त्यसो हुने गरेको पाँइदैन । किन्दा हल्ला फैलाउने समूह उपयुक्त समयमा सुटुक्क शेयर बेचेर मालामाल हुने गरेका छन तर हल्ला कै भरमा बढीमा शेयर किन्नेहरु किनेको मूल्य नपाएर हिस्रिक परिरहेका पनि भेटिन्छन । 

‘खै के किन्ने ? हिजोको दाईले भने अनुसार त इआईसी किन्यो भने मालामाल हुइन्छ रे ।’ एक जनाले सँगैको अर्को साथीसँग  सहमति जनाएकाे शैलीमा भन्यो  ‘ठीक भनिस,यहाँ अघि धमाधम त्यही किन्ने भनेर आका छन् । उनीहरुले भन्दा पहिले हामी किन्नु पर्छ हिँड् ।’

तीनजना सहमत भएर भित्र पट्टि कारोबार कक्षतर्फ लागे । त्यहाँ भएका अन्य लगानीकर्ताको तुलनामा मलाई उनीहरुको व्यवहारले कौतुहल बनाइरहेको थियो । आफुपनि भित्र जानु पर्ने भए पछि उनीहरुको पछि लागेँ । केहीभित्रपुगे पछि सेयर खरिदबिक्री आदेश दिने स्थानमा पुगेर हतारिँदै एक जनाले भने ‘सर हामीलाई इआईसी बैंकको सेयर किनिदिनुु्स न । राम्रो फाइदा हुन्छ भन्नु भा को छ दाईले ।’

उनले त्यसो भन्दा म पनि त्यहाँ पुगिसकेको थिए । कारोबार आदेश प्रविष्ट गर्ने कमर्चारी मुसुक्कहाँसे मात्र । ‘उ त्यो कागज भरेर हस्ताक्षर गर्नुहोस् । कतिको किन्ने हो ,चेक पनि ठीक बनाउनुस्,एक छिनमा पल्लो कोठामा लैजानु पर्छ ।’ती कर्मचारीले आदेशको शैलीमा भने ।

एभरेष्ट इन्स्योरेन्सले छ सय प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरे पछिको पहिलो कारोबार दिन अर्थात आइतबारको दिन थियो त्यो । मैले पनि पटक पटक तीनसयदेखि चारसयप्रतिशतसम्म हकप्रद आउँछ रे भन्ने हल्ला यस अघि नै सुनेको थिएँ । केही साथीहरुले पनि भन्ने गरेका थिएकी ‘एभरेष्टले धमाका पिट्दैछ रे’ । बजारको जानकारी केही हद सम्म हुने भएकाले त्यस्ता हल्लाले आफुलाई डर लाग्थ्यो ।

‘मेरो नाम फलानो छिट्टो दुई सय कित्ता किनिदिनु पर्यो ।' खरिद आदेश फारम भरीसक्ने बित्तिकै खाली चेक अघिल्तिर तेस्र्याएर उनीहरुले आग्रह गरे । ती कर्मचारीले पनि उनीहरुको भनाई अनुसार बजारबाट ३१०० रुपैंया आसपासमा सेयर किनिदिए । म पनि आफ्नो काममा राफसाफ कक्षतिर लम्किएँ । बेलुका नेप्सेको वेबसाइटमा हेर्दा एभरेष्ट इन्स्योरेन्सको सेयर अन्तिम पटक २९०० को नजिक कारोबार भएको थियो ।

यो देखेर मनमा केहीप्रश्न खड्किरहे, ती व्यक्तिले एभरेष्ट बैंकको सेयर किन्न चाहेका थिए अथवा एभरेष्ट इन्स्योरेन्सको ?वा उनलाई सेयर भनेको बैंकको मात्र हुन्छ भन्ने परेको थियो ? नत्र ‘इआईसी बैंक’ कुनकम्पनी हो, किन यसको सेयर किन्नु पर्ने  ?भन्ने नजानी कसरी छ लाख बढी रकमको सेयर किन्नआए ? यो प्रश्न अहिलेसम्म पनि मेरो मनमा खड्किरहेको छ ।

सेयर बजारले लगानीकर्तालाई अवसर दिइरहेको हुन्छ । त्यस्तो अवसरको सही समयमा सदुपयोग गर्न नसक्दा कमाई हुनुको साटो नोक्सान व्यहोर्नु पर्ने हुन्छ । माथि उल्लेखित व्यक्ति शेयर बजारमा त आए, एभरेष्ट इन्स्योरेन्सको सेयर खरिद गर्दा नाफा नै कमाए पनि होलान तर आजका दिनमा उनी त्यो कम्पनी बैंक हो वा बीमा कम्पनी प्रष्ट भए कि भएनन, मुख्य कुरा त्यो हो । उनले त्यो सेयर कहिले बेच्ने, हकप्रद कति आउँछ, भर्दा कति पैसा थप्नु पर्छ भन्ने जानकारी संकलन गर्न सके या सकेनन्, यी जानकारी राखेरमात्र अर्को पटक शेयर बजार आउन भन्ने आशा मात्र हो मेरो ।

पछिल्लो समय छाेटो समयमा नाफा कमाउनेहरुले नै बजारमा हल्ला चलाउने गरेका छन । जसले गर्दा नव प्रवेशी लगानीकर्ता अलमलिने गरेका छन । सेयर किन्ने अनि हल्ला फिँजाउन थाल्ने, केही नाफा आयो कि सबै सेयर बेच्ने । यस्तो हुँदा हल्लाको भरमा लगानी गर्ने सामान्य लगानीकर्ताले वेच्ने अनुकूल समय थाहा नपाउदा नोक्सान व्यहोर्ने गरेका छन् ।

दीर्घकालीन लगानीकालागि आएका लगानीकर्ताहरुले यस्ता घटनाहरुमा फस्दापनि नाफा राख्न सकेका छन् । तर, त्यही पूँजीले घर खर्च र पकेट खर्च पनि बनाउने सोचका साथ अल्पकालीन लगानी गर्न आएका लगानीकर्ता भने यस्ता गतिविधिकबाट फस्ने गरेका छन । नेपालको पूँजीबजार बढ्न र घट्नलाई कुनै ठोस कारण नचाहिने हुनाले पनि सामान्य हल्लाले नै बजारमा उतार चढाव आउने गरेको छ ।

अहिले गत आर्थिक वर्षको चौथो त्रैमासिकको वित्तीय विबरण धमाधम आइरहेका छन् । नयाँ लगानीकर्ताले बजार प्रबेश गर्नु पहिले आफूलेले किन्न चाहेको सेयरको विश्लेषण गर्नु जरुरी छ । कम्पनीको समग्र अवस्था, सञ्चालक तथा प्रवद्र्धकलगायतको विबरण अध्ययन गरेर लगानीगर्दा पछुताउनु पर्दैन । शेयरमा लगानी गर्दा समय, पैसा र धैर्य तिनैवटा कुरालाई ध्यानदिनु उत्तिकै जरुरी छ । सुझबुझपूर्ण तरीकाले गरिएको सानो या ठूलो कारोबारले नै भोलि तपाईलाई सफल अनि कुशल लगानीकर्ताको परिचय दिन्छ ।

- लेखक एक क्यापिटलमा कार्यरत छन् । 

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।