भदौ २७ गते साधारण सभा बोलाएको इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस बोनस बितरण गर्न लागेको हो । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको कमाईबाट उक्त बोनस बितरण गर्ने प्रस्ताव गरेको हो । हाल इन्स्योरेन्सको चुक्ता पूँजी ६५ करोड ६२ लाख ५० हजार रुपैंया छ । साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्सले भदौ नौगतेदेखि सेयरधनी पुस्तिका बन्द गर्दैछ । भदौ आठ गतेसम्म सेयर किन्ने लगानीकर्ताले इन्स्योरेन्सको प्रस्तावित बोनस पाउने छन् ।
बोनस बितरण पश्चात कायम हुने ७२ करोड १८ लाख ७५ हजार रुपैंयाको ४० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव पनि सोही साधारण सभाले पारित गर्दैछ । प्रस्तावित हकप्रद निष्काशन पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब एक करोड छ लाख २५ हजार रुपैंया पुग्नेछ ।
गत आर्थिक वर्षमा इन्स्योरेन्सले कमाईमा सामान्य सुधार गरेको वित्तीय विबरण निकालेको छ । बीमाङ्कीय मूल्याङ्कन समावेश नभएको अपरिष्कृत वित्तीय विबरण आएका कारण खुद नाफालाई वास्तविक मान्न सकिन्न । गत आर्थिक वर्षमा इन्स्योरेन्सले नौ करोड ६९ लाख ८४ हजार रुपैंया खुद नाफा गरेको वित्तीय विबरण निकालेको छ । यो विबरण परिष्कृत भएर आउँदा कमाईको आकार बढ्नेछ ।
अहिले १४ रुपैंया ७८ पैसा प्रतिसेयर आम्दानी देखाइएको भए पनि परिष्कृत विबरणमा यो मात्रा अझै बढ्ने छ । प्रस्तावित हकप्रद पूँजीकरण पश्चात पनि बीमा समितिले तोकेको दुई अर्ब पूँजी पुर्याउने क्रममा इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाईबाट राम्रो प्रतिफल दिन सक्ने देखिन्छ । अहिले उसको जगेडा कोषमा ३२ करोड ४६ लाख छ हजार रुपैंया सञ्चित छ । वित्तीय विबरण परिष्कृत हुँदा यो आकार अझै बढ्नेछ ।
इन्स्योरेन्सले गत आर्थिक वर्षमा ८९४ वटा बीमा दाबी वापत १५ करोड १९ लाख सात हजार रुपैंया भुक्तानी गरेको छ । उसले गत आर्थिक वर्षको २०७ वटा बीमा दाबी वापत ३२ लाख २६ हजार रुपैंया भुक्तानी गर्न बाँकी छ ।