निरन्तर ओरालो लागेर दोहोरो अंकले बाउन्स व्याक भएको बजारमा आइतबार ४० करोड ७ लाख १० हजार रुपैयाँको सेयर कारोबार भएको छ । बजार सुचक नेप्से १६.४१ अंकले बढेर १४७७.१४ अंकमा पुगेको छ । यस क्रममा १५९ कम्पनीका ११ लाख २० हजार ६६० कित्ता सेयरहरु ४ हजार ३ सय ७५ पटक किनबेच भएका छन् ।

बजार खुले पछि ओरालो लाग्ने क्रम सुरु भएको थियो । केही बेरमा नै खरिदकर्ताको चाप बढेपछि उकालो लाग्न थालेको बजारमा अधिकांश उपसुचकमा सुधार देखिएको छ । व्यापार समुह बाहेकका सबै उपसुचक उकालो लागेपछि नेप्सेमा दोहोरो अंकको सुधार देखिएको हो । यसमा वाणिज्य बैंक उपसमुहको बढोत्तरी मुख्य कारक बनेको छ ।
चिलिमे जलविद्युत तथा वाणिज्य बैंकहरुको सेयरमा अधिक कारोबार चाप देखिएको छ । बैंक अफ काठमाण्डूको संस्थापक सेयर, प्रभु बैंकको संस्थापक, स्टाण्डर्ड चार्टड बैंक, इन्भेष्टमेण्ट बैंक, प्रभु बैंक, शिखर इन्स्योरेन्स लगायत कम्पनीको सेयरमा अधिक कारोबार चाप देखिएको हो ।

बजार बढेसँगै सेयर मूल्य बढ्ने कम्पनीको संख्या पनि बढेको छ । केही बीमा कम्पनी सहित साना तथा मझौला कम्पनीहरुको सेयर मूल्य धेरै बढेको छ ।

त्यसै गरी धेरै सेयर मूल्य घट्ने कम्पनीको सूचीमा लघुवित्त, विकास बैंक लगायतका मझौला कम्पनीहरु परेका छन् ।

एकै दिन ३० अर्बसम्मले पूँजीकरण घटेको बजारमा आइतबार झण्डै २० अर्बको सुधार देखिएको छ । गत बिहीबार १६ खर्ब ९५ अर्ब रुपैयाँमा झरेको बजार पूँजीकरण १७ खर्ब १४ अर्ब रुपैयाँमा उक्लिएको छ ।
-----------------------------------------------------------------------------------------------------------------------
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................