३४ हजार कित्ता सेयर कारोबार हुँदा किन १० प्रतिशतले मूल्य बढ्यो भन्ने प्रश्न आम लगानीकर्तामा उत्पन्न भएको छ । उच्च अदालत पाटनले दिएको आदेशले कम्पनीको सेयरमूल्यमा उछाल आएको हो । यद्यपी उक्त आदेश अनुसार कम्पनी अघि बढ्दा पनि अवस्था के हुन्छ भन्नेमा लगानीकर्ताले आँखा चिम्म गरेको देखिन्छ ।

सिजी इलोट्रोनिक्सले नैकापमा आफ्नो गोदाममा भएको दावी वापत लगेको २५ करोड रुपैयाँ बीमा कम्पनीलाई फिर्ता गर्न आदेश दिएको छ । अदालतको आदेश अनुसार युनाइटेडले सीजी इलेक्ट्रोनिक्सबाट २५ करोड रुपैंया रकम फिर्ता लैजानेछ । यो समाचारको असरले बजारमा बिहीबार युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले बढेको हो । यस क्रममा उसको प्रतिकित्ता सेयर मूल्य १२२ रुपैंयाले महँगिएको छ । १ हजार ३ सय ४७ रुपैंयामा अन्तिम पटक कम्पनीको कारोबार भएको छ । बिहीबार अधिक कारोबार भएको कम्पनीको मात्र ४ करोड ५५ लाख रुपैंयाको सेयर किनबेच भएको छ ।

अर्बपति विनोद चौधरीको चौधरी ग्रुप अन्तरगत सीजी इलेक्ट्रोनिक्स तथा युनाइटेड इन्स्योरेन्स सञ्चालित छन् । ५ वर्ष पहिले नैकापस्थित सीजी इलेक्ट्रोनिक्सको ४ वटा गोदाममा आगलागी भएपछि युनाइटेड इन्स्योरेन्सबाट आंसिक रुपमा २५ करोड रुपैयाँ दावी भुक्तानी संकलन गरेको थियो । आगलागीमा ५८ करोड रुपैंयाको क्षती भएको विबरण सर्भेयरले निकालेका थिए ।

उच्च अदालतको आदेश पछि २५ करोड रुपैंया बीमा कम्पनीलाई फिर्ता गर्नुको साटो चौधरी ग्रुप सर्वोच्च अदालतको शरणमा जाने बुझिएको छ ।
भूकम्पका बेला अपार्टमेण्ट काण्डमा पुनरबीमा कम्पनीबाट पनि युनाइटेडले रकम पाउन सकेको छैन । अपार्टमेण्टको बीमा प्रकृया फरक शैलीको भएका कारण त्यसलाई पुनरबीमा कम्पनीले स्वीकृत नगरेका कारण युनाइटेड अहिले समस्याबाट गुज्रिरहेको छ । २५ करोड फिर्ता हुने आशमा बिहीबार नै बजारमा करोडौं रुपैंयाको पूँजीकरण बढेको छ । यसले लगानीकर्तालाई झनै जोखिममा पारेको छ । भोलि सर्वोच्चले विषय उल्ट्याएको खण्डमा अहिले उचालिएर सेयर किन्नेहरु जिल खाने निश्चित छ ।