पुस मसान्तको अन्तिम कारोबार दिन चिलिमेको सेयरमूल्य यसरी बढाईयो

Jan 15, 2018 merolagani



चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अन्तिम कारोबार दिन आइतबार चिलिमे हाइड्रो पावर कम्पनी (CHCL) को सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । चिलिमेको सेयरमूल्य यसदिन करिब ७ प्रतिशतले बढेर प्रतिकित्ता ९५४ रुपैयाँ पुगेको छ । कारोबार विवरण हेर्दा चिलमेको सेयरमूल्य सामान्य रुपमा बढेको भन्दा पनि चलखेल मार्फत बढाइएको देखिन्छ ।

आइतबार चिलिमेको कारोबार प्रतिकित्ता ८९२ रुपैयाँमा खुलेको थियो । कारोबार खुलेको केहीबेरमै समग्र बजार ओरालो लाग्दै जादा चिलिमेको सेयरमूल्य पनि प्रतिकित्ता ८८० रुपैयाँसम्म झरको थियो । तर बजार बन्द हुने समयसम्म आइपुग्दा नेप्सेमा झण्डै दोहोरो अंकको गिरावट आएपनि चिलिमेको सेयरमूल्य भने सबैभन्दा बढी करिब ७ प्रतिशतले बढेर प्रतिकित्ता ९५४ रुपैयाँ पुगेको छ ।

आइतबारको बजारमा मात्रै चिलिमेको सेयरमूल्य ६.९५ प्रतिशत अर्थात प्रतिकित्ता ६२ रुपैयाँले बढेको छ । कम्पनीकाे बजार बन्द हुनै लाग्दा अन्तिम कारोबारमै प्रतिकित्ता १८ रुपैयाँ बढाएर ४४ कित्ता सेयर किनबेच भएको देखिन्छ । जसको सेयर ब्रोकर नं ३ ले २९ कित्ता तथा ४३ ले १५ कित्ता बिक्री गरेको छ भने दुवै सेयर ब्रोकर नं ३६ ले किनेको देखिन्छ । एकाएक मूल्य बढाएर अन्तिम कारोबार हुँदा आइतबारको बजारमा केही चलखेल गरेको देखिन्छ ।

 

 

आखिर किन बढाइयो शेयरमूल्य

हुनत: आइतबारको बजारमा समग्र हाइड्रोपावर कम्पनीको सूचक नै ५५ अंकले बढेको छ । सरसर्ती हेर्दा चिलिमेको मूल्य स्वभाविक रुपमा बढेको देखिन्छ । तर सेयरबजारमा खेलाडीहरुले भने चिलिमेको सेयरमूल्य सामान्य रुपमा बढेको भन्दा पनि बढाइएको बताएका छन् । 

सेयरबजारमा सूचीकृत हाइड्रो पावर कम्पनीहरुमध्ये चिलिमे लगानीकर्ताको पहिलो रोजाईमा पर्ने कम्पनी हो। यो कम्पनीमा ठुला संस्थागत लगानीकर्ता, म्युचुअल फण्डदेखि बैंक तथा वित्तीय संस्थाहरुले धेरै संख्यामा सेयर लिएका छन् ।

विशेष गरी बैंक तथा वित्तीय संस्थाहरुले यसको सेयर धेरै लिएका छन् । दोस्रो त्रैमासको अन्तिम दिन चिलिमेको सेयरमूल्य बढाउँदा बैंकहरुले दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्दा जोखिम व्यवस्था बापतको रकम कम गर्दा हुने भएपछि चिलिमेको सेयरमूल्य बढाएको एक लगानीकर्ताको विश्लेषण छ । जसले गर्दा चिलिमेको सेयर लिएका बैंकहरुलाई आफ्नो नाफा केही भएपनि बढाउन सहयोग पुग्छ ।

अर्काेतर्फ बैंकहरुले धमाधम मार्जिन कल गरिरहेका बेला चिलिमेको सेयरमूल्य बढाएर लगानीकर्ता र ब्रोकरहरुले चलाखी गरेको पनि अर्काथरीको भनाई छ । सेयरमूल्य उच्च बनाउँदा मार्जिन कर्जामा सहजता हुनेछ ।

केही विलेश्षकहरुले भने चिलिमेको सहायक कम्पनीहरुमा रसुवागढी हाइड्रोपावरमध्ये भोटेकोशी जलविद्युतको निमार्ण दुई बर्षभित्र पुरा गर्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दिएको निर्देशन र आयोजनाको निमार्ण कार्यले गति लिएको खबरले पनि चिलिमेको सेयरमूल्य बढाउन टेवा पुगेको आँकलन गर्नेहरु पनि छन् । मध्येभोटेकोशीको निमार्ण कार्य ४० प्रतिशत सम्पन्न भईसकेको छ ।

त्यस्तै,सान्जेन जलविद्युत कम्पनीले आइपीओ निष्कासनको तयारी गरेकाले पनि कम्पनीको सेयरमूल्य बढ्न सहयोग पुगेको समेत विश्लेषण गरिएको छ । सान्जेनले संस्थापक सेयरधनी संस्थाका कर्मचारी, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका संचयकर्ता कर्मचारी र ऋण दाता संस्थाका कर्मचारीलाई साढे ८७ करोड बराबरको आइपीओ निष्कासन गर्देछ । 

यसमा नेपाल विद्युत प्राधिकरणको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत हिस्सा रहेको छ । जसमध्ये १० प्रतिशत स्वामित्व स्थानियको रहेको छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स




माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा

Aug 29, 2025 06:52 PM

माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ । आज बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेकाे छ ।