नवलपुरको गैंडाकोटमा रहेको उत्पादन प्लाण्टबाट निस्किने फोहोरजन्य पानी तथा वायू प्रशोधन गर्न ब्रुअरीले यस्तो प्लाण्ट जडान गरेको हो । अहिले सञ्चालमा रहेका अधिकांश उद्योगहरुले उद्योगबाट निस्किने फोहोरजन्य पानीलाई खुल्ला रूपमा छाड्ने गरेका छन् । त्यस्ता उद्योगमा जडान हुने चिम्नीबाट धुँवाको कालो मुस्लो निस्किने गरेका छन् ।
गोर्खा ब्रुअरीले भने जलचर प्राणी बाँच्न सक्नेगरि फोहोर पानीको ट्रिटमेण्ट गरी सफा पानी बाहिर निकासा गरेको छ । औद्योगिक उत्पादनको क्रममा निस्किने फोहोरजन्य पानी तथा दूषित धूँवालाई प्रशोधन गरी नदी र हावासम्म पुग्दा वातावरणमा नकरात्मक असर नपरोस् भन्ने उदेश्यले उद्योगले यस्तो प्लाण्ट जडान गरेको जनाएकाे छ ।
१० विगाहा क्षेत्रफलमा फैलिएको ब्रुअरीको उद्याेग परिसरमा अत्याधुनिक ट्रिटमेन्ट र वेस्ट वाटर प्लान्ट जडान गरिएको छ । बियर उत्पादनको क्रममा निस्किने पानीजन्य फोहोरलाई पूर्ण रुपमा जोखिमरहित बनाउनका लागि विश्वमै उत्कृष्ट मानिने अत्याधुनिक प्रक्रिया उद्योगले अपनाएको देखिएको छ ।
ब्रुअरीको यो उद्योगले शुन्य प्रदूषणमा उद्योगबाट निस्कने बिकार नजिकैको नारायणी नदीमा निकासा गर्दै आएको छ । उद्योगले उक्त निकासास्थल नजिकै माछा पालन गर्ने योजना अगाडि सारेको हो । माछा पालन गर्ने स्थानबाट मात्र पानीलाई नारायणी नदीमा निकास गर्ने योजना ब्रुअरीको छ ।
उद्योगले प्रदूषित पानीजन्य फोहोर प्रशोधन गरेर नदीमा मिसाउँदा जोखिमरहित बनाउन एरोबिक र एनएरोबिक प्रणाली जडान गरेको छ । यस अघि ट्रिटमेन्ट प्लान्टले ४०० किलोलिटर फोहोरजन्य पानी प्रशोधन गर्दै आएकोमा क्षमता बिस्तारपछि प्लाण्टले दैनिक ७५० किलोलिटर पानी शुद्धीकरण गर्न थालेको हो ।
उद्योगबाट निस्किने वायुजन्य प्रदुषण नियन्त्रणका लागि ५ टन क्षमताका २ वटा डस्क बोइलर प्लान्ट समेत स्थापना गरेको छ । बोइलरमा जडान गरिएको साईकोलोन, एपिएच र ब्याक फिल्टरले वायुमा जाने कालो धुवालाई रोक्न सहयोग गर्छ ।
उद्योगको स्थलगत अनुुगमनका क्रममा ट्रिटमेण्ट प्लाण्ट तथा ल्याबले नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको प्यारामिटर देखाएको छ ।
सरकारले उद्योगबाट निस्किने फोहोरजन्य पानीमा केमिकल अक्सिजन डिमाण्ड (सीओडी) २५० मिलिग्राम प्रतिलिटर सम्म हुनुुपर्ने व्यवस्था गरेको छ । ब्रुअरीको उत्पादन युनिटबाट निस्किने फोहोरजन्य पानीमा सीओडीको मात्रा ११० भन्दा नबढेको देखिएको छ । यस्तै, बायोलोजिकल अक्सिजन डिमाण्ड (बीओडी) ३० भन्दा कम हुनुुपर्ने भन्ने प्रावधान रहेकोमा ब्रुअरीको प्लाण्टमा २१ को हाराहारीमा रहेको देखिएको छ ।
पानीमा कति धेरै प्रदूूषणयुक्त ठोस वस्तुु छ भन्ने जाँच गर्न आवश्यक टोटल सस्पेन्डेड सोलिड (टिएसएस) १०० प्रतिशत वा त्यो भन्दा कम हुनुपर्ने व्यवस्था गरेकोमा उद्योगले यसलाई ६० प्रतिशतमा सीमित गराउन सकेको छ । पानीमा हुने पावर अफ हार्इड्रोजन (पिएच) को सरकारी मापदण्ड ५.९ देखि ९ को बीचमा रहनु पर्नेमा उद्योगले ८.६ प्रतिशत कायम गरेको देखिएको छ ।
यस्ता उद्योगबाट निस्किने फोहोरजन्य पानीमा अक्सिजनको मात्र १ देखि ३ को बीचमा हुनुपर्ने सरकारी मापदण्ड छ । उद्योगको उत्पादन प्लान्टले यो अनुपात १.५ कायम गरेको छ । धेरै मुलुकहरुमा खाद्य वस्तु उत्पादन गर्ने उद्योगमा एकनासको प्यारामिटर निर्धारण गरिएको देखिन्छ । यस सन्दर्भमा नेपाल सरकाले तोकेको मापदण्ड अन्य मुलुकसँग मिल्दो छ ।
गोर्खा ब्रुअरीले भारत ब्रुअरीले निर्धारण गरेको मापदण्डलाई पनि अनुशरण गर्दै आएको छ । यो मापदण्ड खाद्य पदार्थ उत्पादन गर्ने अन्य उद्योगको भन्दा परिष्कृत रहेको उद्योगको भनाई छ । उद्योगले भनेको छ, ‘खाद्य सुरक्षाको हिसाबले विश्वमै उत्कृष्ट मानिने प्रविधिको प्रयोग गरि हामीले बियर उत्पादनको क्रममा निस्किने फोहोरको व्यवस्थित ढंगले प्रशोधन र व्यवस्थापन गरेका छौ ।’
टूबोर्ग वियरको मुख्य कार्यालय रहेको डेनमार्कको मापदण्ड पनि नेपालको जस्तै छ । जसले गर्दा नेपालमा रहेको ब्रुअरको उद्योग पनि डेनिस मापदण्ड अनुकुल रहेको देखिन्छ । वियर उत्पादन गर्ने क्रममा वातावरणमा पर्नसक्ने नकरात्मक असरलाई मध्यनजर गर्दै यस किसिमका प्लाण्ट तथा प्रविधिको प्रयोग गरिएको उद्योगले जनाएको छ । आगामी दिनमा यसलाई अझै परिष्कृत गर्दै लैजाने योजना उद्योगकाे छ ।
पूर्ण रुपमा सञ्चालन हुँदा उद्योगले दैनिक २ हजार हेक्टोलिटर वियर उत्पादन गर्ने गरेको छ । उद्योगले टुबोर्ग, काल्र्सवर्ग, गोर्खा बियरका साथै एप्पल साइडर सोमर्सबी उत्पादन गर्दै आएको छ ।
६०० जनालाई रोजगारी दिँदै आएको उद्योगले वियर उत्पादनका लागि आउने गहुँ छनौट पश्चात उद्योगमा प्रयोगमा नआउने वस्तु स्थानीयलाई केही मूल्य लिएर बितरण गर्दै आएको छ । उद्योगले बितरण गर्ने प्रोटिनयुक्त पदार्थ स्थानीयले गाईलाई खुवाउने गरेका छन् ।