हल्ला र लह-लहैमा सेयर किनबेच नगरौं, तेश्राे त्रैमासकाे वित्तीय विवरण राम्ररी पढाैं

Apr 27, 2018 merolagani

-छोटेलाल रौनियार, बिश्लेषक तथा सेयरलगानीकर्ता
बजारमा कसैले घट्छ र बढ्छ भन्दैमा लगानीकर्ता त्यसैको पछाडि लाग्नु अचम्मको कुरा हो । एकथरी छन् सेयर बेचिसकेर बजार घटाउन खोज्छन्, अर्काथरी छन् सेयर किनिसकेपछि बजार बढाउन खोज्छन् । तर यी दुबै अतिबादीको चेपुवामा सर्बसाधारणलगानीकर्ता पर्ने गरेका छन् ।

बजार यसरी बढ्छ र घट्छ भनेर मिडियाबाट हल्ला गर्नु आर्थिक अपराध नै हो । म्यानुपुलेशनलाई अरु देशमा ठूलो अपराध नै मान्ने गरिएको छ र दण्ड सजाय दिईन्छ । तर यहाँ नचाहिँदो हल्ला गर्नेहरुलाई साईबर क्राईमको मुद्धा किन लगाइँदैन ? नियमनकारी निकायहरुले किन नियम बनाएर कारबाही गर्दैनन् ?

कसैले भनेको आधारमा लाग्ने हो भने हामी लगानीकर्ता हुँदै हैनौं ।सेयर बजारलाई हल्लैहल्लाको बजार नबनाउँ । एक, दुईजनाले बजार तलमाथि हुन्छ भन्दैमा सेयर किन्न जाने र बेच्न दौडिने नगरौं। कम्पनीको गुण र दोष हेरेर लगानी गरौं । हामी लगानीकर्तामा दृढता, धैर्यता र शान्त स्वभाव अति आवश्यक छ ।

 रत्नपार्कमा सुगा हेर्नेहरुको लह-लहैमा हामी किन लागिरहेका छौ भनेर गम्भीर मन्थन गर्नैपर्ने भएको छ । हामीले मेहनतले कमाएको रकम सेयर बजारमा लगानी गरेका छौं भने धेरै कुरा बिचार गरेर चल्नुपर्छ ।

 अब यी कुरामा बिचार गरौंः

 बैंक तथा बित्तीय संस्थाहरुले तेस्रो त्रैमाससम्ममा गरेको प्रगति विवरण पस्कदै गर्दा आगामी दिनहरु अरु उत्साहप्रद हुने देखिएका छन् । अहिलेसम्म बित्तीय विवरण प्रकाशित गरेका बाणिज्य बैंकहरु मध्ये धेरैले चौथो त्रैमासमा अरु प्रगति गर्नसक्ने सम्भावना बलियो देखिएको छ ।

बैंकहरुले कठिन प्रयास गरेर भरखरै चुक्ता पूँजी आठ अर्ब बनाएकाछन् र त्यसको नकारात्मक प्रभाव हटाएर प्रगति गर्नलाई केही समयलाग्ने हो तर कतिपय बैंकहरुले त अहिले नै लगानीकर्तालाई आशा जगाईसकेका छन् कि पूँजी बृद्धिको सकारात्मक परिणाम अर्को बर्ष झन् ब्यापक रुपमा सार्वजनिक हुने छ । तरलता समस्या हुँदासमेत बैंकहरुले यस्तो प्रगति गर्न सकेका छन् भने सबै कुरा ठीक भएको अबस्थामा अरु राम्रो हुनेमा शंका गर्नै पर्दैन ।

दुई अर्बबाट आठ अर्ब पुर्याउँन तीन बर्ष लाग्यो भने हामी लगानीकर्ताले पनि आजको भोलि धेरै नाफाको अपेक्षा गर्नु अलिकति ब्यवहारिक पनि हैन कि जस्तो लाग्छ ।

मैले अहिले नै अनुमान लगाईसकेको छु कि एनआईसी एशिया बैंकसबैभन्दा धेरै निक्षेप र शाखा भएको बैंक बनेकोले यसपालि उसको नाफा कम देखिए पनि आगामी दिनमा धेरै राम्रो प्रगति भएको हामीले पाउने छौ । एक खर्ब ३४ अर्बको निक्षेप र १९६ वटा शाखाले कमाउन थाल्दा अर्को बर्ष अहिलेको भन्दा धेरै राम्रो अबस्था हुनेछ ।त्यस्तै नेदरल्याडको कर्पोरेट बैंक एफएमओले एनएमबी बैंकलाईकर्पोरेट ढाँचामा बदलेर आगामी दिनमा झन् सबल र सक्षम बनाउने पक्का छ । हिजोसम्म कसैले वास्ता नगर्ने प्राईम कमर्शिल बैंककोप्रगति देखेर आज नै धेरै चकित हुन थालिसके, सेन्चुरी बैंकलेलगानीकर्ताको ध्यान तानिसक्यो । केही बर्ष अघि धरासायी बनेको नेपाल बैंक सबल र सक्षब बैंक बन्दै अब नियमित आम्दानीबाटैअर्को बर्ष राम्रो लाभांश खुवाउनसक्ने भईसक्यो । कृषि बिकास बैंक त झन् झन् राम्रो र सबल बन्दै अगाडि बढेको छ । सबैभन्दा खत्तम भनिएको जनता र सिभिल बैंक पनि क्रमशः आफुलाई सुधार्दैगएका छन् भने केही ब्यक्तिहरुको बदमासीले समस्यामा परेको एनसीसी बैंकमा पनि कानुनी कारबाही सुरु भएपछि चौथोत्रैमाससम्ममा राम्रो नतिजा आउँछ भन्ने विश्वास बढेर गएको छ । मैले नबिल, स्टान्डर्ड चार्टर्ड, एभरेष्ट, एनआईबी जस्ता स्थापित बैंकहरुको बारेमा केही भनिरहनु परेन ।

 त्यस्तै बीमा कम्पनीहरुमा हुने गरेको बदमासी नियन्त्रण भएपछि उनीहरु पनि राम्ररी सुध्रिन बाध्य भएका छन् । अब बीमा कम्पनीका सेयरधनी पनि डुब्दैनन् भन्ने देखिएको छ तर अनाबश्यक बढी मूल्यतिरेर खराब कम्पनीहरुको सेयर किन्न भने हुँदैन् ।

 अबको बढीमा दुई महिना भित्रमा पूर्ण अनलाईन कारोबार प्रणाली लागु हुँदैछ । यो नयाँ प्रणाली नेपालको सेयर बजार बिकासमा कोसेढुंगा सावित हुने नै छ । यो आएपछि अहिले सेयर बजारमादेखिएका कयौं समस्याहरु स्वतः समाधान भएर जानेछन् ।लगानीकर्ताहरु सेयर दलालको कार्यालयमा जानुपर्ने, अनेक कागजी झंझट ब्यहोर्नपर्ने, पैसा बुझाउन र चेक लिन जानुपर्नेलगायतका समस्याहरु स्वतः समाधान हुनेछन् । हामी लगानीकर्ताहरुले जीवनमै नपाएको अत्याधुनिक सेवा पाउने छौ ।घरैमा बसेर सेयर किन्ने र बेच्ने गर्न पाउँदा सबैभन्दा बढी सुबिधा हुने हामीलाई नै हो । अनलाईनको कारणले भारत, पाकिस्तान, बंगलादेश लगायतका अरु देशमा सेयर बजारको ठूलो बिकास र बिस्तार भयो भन्ने कुरा हामीले थाहा पाएका छौ । यहाँ त त्यो भन्दाचाँडै बिस्तारको संभावना मैले देखेको छु ।

 अहिले काठमाडौ उपत्यका भित्र, त्यसमा पनि चक्रपथ भित्रको खासगरी पुतलीसडक, अनामनगर, कमलपोखरी र न्युरोड क्षेत्रमामात्रै दलालहरु केन्द्रित छन् तर अनलाईन आएपछि देशभरका लगानाीकर्ताहरुको पहुँच पूँजी बजारमा हुनेछ । विदेशबाट समेत सेयर किनबेच गर्न संभव हुनेछ ।

 पूर्ण अनलाईनको सफ्टवेयर निर्माण गर्दा ईन्ट्रा डे र सर्ट सेलिड.को बिशेषता पनि राखिएको बुझिएको छ । यसले पूँजी बजारलाई अरु चलायमान बनाई दिन्छ । नेप्से र सेबोनले आबश्यक नीति बनाएर लागु गर्नुपर्छ ।

अहिले दैनिक एक अर्बको कारोबार रकम हुँदा के के न भयो भन्छौ, अनलाईन कारोबार प्रणालीले दिनहुँ अर्बौे कारोबारको ढोका खुल्नेछ । पूर्ण अनलाईन लागु सँगै लगानीकर्ताको ढाड सेक्ने, बजार बिस्तारको बाधक, दोहोरो महंगो कमिशन दर घटाउनैपर्छ र त्योघटेको अबस्थामा लाभ प्राप्त गर्ने सबैले हो ।

हाम्रो सेयर बजारमा अनिबार्य पूँजी बृद्धिको कारणले आएको हकप्रद र बोनसको बाढी लगभग समाप्त भईसकेको छ, अब केही नयाँ कम्पनीको साधारण सेयर आईपीओ र अहिलेका केहीको एफपीओ आउला, त्यो भन्दा धेरै गुणा माग सिर्जना हुनेछ । त्यसैले अधिक आपुर्तिको अहिलेको समस्या निकट भबिष्यमा नै हटेर गई एकादेशको कथा जस्तै बन्ने पक्का छ ।

देशमा राजनीतिक आन्दोलन र उथल पुथलको अध्याय समाप्त भएर आर्थिक बिकासको मुद्धा मुख्य बन्न थालेको छ । स्थायी सरकार गठन हुनु, बिज्ञ अर्थमन्त्री देशले पाउनु, आर्थिक उन्नति रपूँजी बजारमैत्री नीति निर्माणमा सरकारले ध्यान केन्द्रित गर्न थाल्नु, चाँडै नै नयाँ सरकारको नीति तथा कार्यक्रम र बजेट आउने अबस्था हुनुले एकपछि अर्को सकारात्मक वातावरण बन्नेवाला छ । तरलता समस्या समाधानतिर जाने संकेत मिल्नु, विदेशबाट ऋण ल्याउनराष्ट्र बैंकले ढोका खोल्नु लगायतका अरु धेरै सकारात्मक परिवर्तनहरु हुँदैछन् ।

सी आश्वाको सफल कार्यान्वयनले साधारण सेयर र हकप्रद आबेदनमा हामीलाई धेरै सुबिधा भएकै छ । अब सेयरदलालमार्फत मार्जिन लेण्डिड. आउने पक्का छ । हाम्रो ईन्भेष्टर्सफोरम र अन्य लगानीकर्ता संघहरुले उठाएकां मागहरु पुरा गर्न सरकारलाई दबाब पनि परेकै छ । अब बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स दिने, नेपाल भरि अरु नयाँ ब्रोकर थप्ने, नेप्सेको पुनर्सरचनागर्ने, मार्केट डिलर ल्याउने, एनआरएन भित्र्याउने जस्ता दुरगामी प्रभाव पार्ने कामहरु अनलाईनसँगै तत्काल गर्नैपर्छ ।

यसो हुँदा नेपालको पूँजी बजार आगामी दिनमा धेरै राम्रो भएरजान्छ । त्यसैले कसैको बहकाउ वा लहैलहैमा सेयर किनबेच नगरौं। ढुक्क भएर राम्रा राम्रा कम्पनी छानेर, उनीहरुको अबस्थाबिश्लेषण गरेर लामो समयसम्मका लागि लगानी गरौं ।

(लेखक नेपाल ईन्भेष्टर्स फोरमका उपाध्यक्ष हुनुहुन्छ ।)

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।