ब्राेकर मार्फत प्रवाह हुने मार्जिन कारोबारमा अन्यौलता किन ? - श्रृङखला १

May 24, 2018 Merolagani

- परमेश्वर अधिकारी
लगानीकर्ताले ब्यग्र प्रतिक्षा गरिरहेको मार्जिन कारोबार सुविधा सम्बद्ध पक्षहरुको कार्यशैलीका कारण कहिले आउँछ भन्ने चासो आम लगानीकर्तामा परिरहेको छ । सेयर दलालहरु यसको प्रकृया र आफ्नो भूमिकाका बारेमा अन्यौलमा छन् भने नियामक निकायहरु कुनै समस्या नरहेकाले तत्काल मार्जिन सेवा सुरु हुने बताउँछन् । सम्बद्ध पक्षको फरक फरक मतले लगानीकर्ता भने अन्यौलमा परेका छन् ।

बजारमा सबै तिर मार्जिन कारोबारका सम्बन्धमा चर्चा भइरहे पनि यस सम्बन्धमा ठोस धारणा कसैले दिन नसकिरहेको अवस्था छ । लगानीकर्ता मार्जिन कारोबारले बजार बढ्ने भयो भन्दै दौडिरहेको अवस्था छ । तर उनीहरु मार्जिन कारोबार भित्र के के कुराहरु पर्छन् ? त्यसको प्रारुप कस्तो हुनेछ भन्नेमा जानकार हुन सकिरहेका छैनन् ।

मार्जिन कारोबार नेपालको पूँजी बजार विकासका लागि महत्वपूर्ण कदम मानिएको छ । यसले कम्पनीहरुलाई समेत तिब्र प्रतिस्पर्धामा अघि बढ्न दवाब दिने अपेक्षा गरिएको छ । यसका लागि नेपाल स्टक एक्सचेञ्ज र धितोपत्र बोर्डले चालेको कदम लगानीकर्ता एवं बजारका लागि महत्वपूर्ण सावित हुने देखिन्छ ।

मार्जिन कारोबारको चर्चा र परिचर्चा भएको लामो समय पछि यसको अन्तिम प्रारुप तयार भएको हो । कार्यविधि नअार्इ गरिएको प्रचारबाजी होस्, वा कार्यविधि बनाउने समयमा भएको हानाथाप अनि कामको जस लिने होडबाजी । अन्तत नेपाली पूँजी बजारका लगानीकर्ताले मार्जिन कारोबारको अनुभव बटुल्दै बजारको भविष्य सुनौलो बनाउने अवसर पाउने वाताबरण बनेको छ ।

सन्दर्भ समन्वय अभावको

हामीकहाँ निर्णय गर्नु वा कार्यान्वायनमा जानु अघि समन्वयकारी निकायसँग परामर्श र सल्लाह गर्ने चलन नरहेको विषय मार्जिन कारोबार कार्यान्वायन चरणमा देखिएको छ । कार्यविधि पारित गराउँदै गर्दा सेयर दलाल मार्फत हुने कर्जा प्रवाहका सम्बन्धमा समन्वयकारी निकायका विचमा तालमेल नमिलेकाे प्रष्ट भयाे । जसले कार्यविधि पारित भएर पनि कार्यान्वायनमा आउन ढिलाई भइरहेको छ ।

कुनै पनि संस्था वा व्यक्तिले कुनै पनि किसिमको कर्जा प्रवाह गर्नका लागि केन्द्रयि बैंकको स्वीकृति लिनु पर्ने हुन्छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ ले गरेको व्यवस्था अनुसार केन्द्रीय बैंकको स्वीकृति नलिई व्यक्ति वा कुनै पनि संस्थाले अन्य संस्था वा व्यक्तिलाई कर्जा परिचालन तथा निक्षेप संकलन गर्न पाउँदैनन् ।

यस सम्बन्धमा कार्यविधि पारित भएको ५ दिन पछि मात्र प्रकृया अघि बढेको छ । यसमा केन्द्रिय बैंक जानकार छ वा छैन भन्ने चासो बढ्नु स्वभाविक हो । कारण, कार्यविधिको मस्यौदा तयार हुँदै गर्दा सम्बद्ध पक्षहरुले केन्द्रिय बैंकलाई यस सम्बन्धमा कति जानकारी गराउन सके वा सकेनन् भन्ने हो ।

यदि यस्तो जानकारी बेलैमा गराइएको हुन्थ्यो भने राष्ट्र बैंकले सेयर दलालहरुमार्फत लगानीकर्तालाई कर्जा प्रवाह गर्न बाटो खोल्ने सम्बन्धमा गृहकार्य गरिसकेको हुन सक्थ्यो । जसको नतिजा स्वरुप कार्यविधि पारित हुँदा नै राष्ट्र बैंकले ऐनमा भएको व्यवस्था अनुसार सेयर दलालहरूलार्इ कर्जा प्रवाह गनेे बाटाे खाेलिदिसकेकाे हुन्थ्याे ।  

मार्जिन कारोबार सुविधा सम्बन्धि कार्यविधि पारित गर्दै नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई सम्बद्ध सबै निकायबाट सेवा सुचारु गराउन अनुमति लिएर तत्काल सेवा सुरु गराउन भनेको छ । माथि भन्न खोजिएको विषय यहाँ सान्दर्भिक हुन आउँछ । बोर्डमा नेप्सेले कार्यविधिको मस्यौदा पठाए लगत्तै बोर्डले यस सम्बन्धमा प्रकृया अघि बढाउन नेप्सेलाई निर्देशन दिएको भए सायद आज एउटा नतिजा बाहिर आईसकेको हुने थियो ।

बोर्डको निर्देशन अनुसार नेपाल स्टक एक्स्चेञ्जले गत मंगलबार सेयर दलालमार्फत मार्जिन कारोबार सेवा दिनका लागि बाटो खेलिदिन राष्ट्र बैकलार्इ अाग्रह गरेको छ । अघिल्लो बिहीबार बोर्डले कार्यविधि पारित गरेकोमा त्यसको झण्डै एक साता पछि मात्र केन्द्रीय बैंकलाई सेयर दलाल मार्फत कर्जा प्रवाह गराउने बाटो खोलिदिन आग्रह गरिएको हो ।

मेरोलगानीसँगको कुराकानीमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने, ‘राष्ट्र बैंकले “गो अहेड” भने पछि तत्काल यो सेवा सुरु हुन्छ ।'

तर केन्द्रीय बैंकले नेप्सेको अनुरोध अनुसार प्रकृया कहिले अघि बढाउँछ अहिले नै भन्न सक्ने अवस्था छैन ।

राष्ट्र बैंकले नेप्सेले पठाएको पत्रको व्यहोरा प्राप्त भएको पुष्टि गरेको छ । सेयर दलालहरुलाई कर्जा प्रवाह गर्ने बाटो खोल्न अब राष्ट्र बैंकले केही समय लगाउने छ । राष्ट्र बैंकका डेपुटी गभर्नरको अध्यक्षतामा रहेको नियमन समितिले सबैभन्दा पहिले नेप्सेको अनुरोध उपर छलफल गर्नेछ । त्यस पछि उक्त समितिले नेप्सेको अनुरोधका सम्बन्धमा थप निर्णय गर्नका लागि गभर्नर वा राष्ट्र बैंक सञ्चालक समितिलाई सिफारिस गर्नेछ ।

नियमन समितिले गरेको सिफरिसका आधारमा गर्भनरले नेप्सेको प्रस्तावलाई स्वीकृत गर्नेछन् । ‘समितिले पठाएको सिफरिसका सम्बन्धमा राष्ट्र बैंक सञ्चालक समितिमा पनि छलफल  हुन सक्छ ।’ राष्ट्र बैंक प्रवक्ता नारायणप्रसाद पौडेल भन्छन् । गभर्नर वा राष्ट्र बैंक सञ्चालक समितिले निर्णय गरे पछि बल्ल सेयर दलालहरुमार्फत कर्जा प्रवाह गर्ने बाटो खुल्ला हुनेछ । 

यसका अलावा मार्जिन कारोबारका लागि स्रोत व्यवस्थापनको विषयमा दलाल व्यवसायीहरु अन्यौलमा पर्दा लगानीकर्ता आशावादी बन्न सकिरहेका छैनन् । सेयर दलाल आफैंले स्रोतको व्यवस्थापन गर्नु पर्ने व्यवस्थाले कतिपय लगानीकर्ता संकुचित समेत बनेका छन् । तर हरेक नयाँ कामको सुरुवात राम्रोका लागि हुन्छ भन्ने कुरा यहाँ पनि उत्तिकै सान्दर्भिक हुन्छ ।

अहिले सेयर दलाल व्यवसायीले लगानीकर्तालाई मार्जिन कर्जा प्रवाह गर्नका लागि कुनै पनि बैंक, वित्तीय संस्थाबाट ऋण लिने वा आफुसँग भएको स्रोत समेत परिचालन गर्ने भन्ने व्यवस्था कार्यविधिले गरेको छ ।

अहिले सेयर दलालहरुले बैंकहरुबाट ५ करोड रुपैयाँको आेभरड्राफ्ट कर्जा नियमित रुपमा चलाईरहेका छन् । अब मार्जिन कर्जा सुरु भए पछि भने उनीहरुले बैंकहरुसँग कुन मोडलमा काम गर्लान भन्ने चासो बढ्ने देखिन्छ ।

लगानीकर्तालाई मार्जिन दिन कर्जा लिने क्रममा के कस्ता उपकरण र आधारको आवश्यक्ता पर्न सक्छ भन्ने सम्बन्धमा बैंक तथा दलाल व्यवसायीले पनि गृहकार्य गर्ने समय नजिकिँदै छ ।

मार्जिन कर्जाबाट आम लगानीकर्ता लाभान्वित हुने छन् । यद्यपि उल्लेखित विषयमा समयसापेक्ष रुपमा  सुधार गर्दै लैजानु पर्ने टडकारो आवश्यक्तालाई अहिलेदेखि नै बिचार पुर्याउनु पर्ने देखिन्छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।