एनएमबि बैंकको एफपिओ तीन दिनमा २०% बिक्यो, ७७ करोडको आवेदन

Jun 15, 2018 Merolagani



एनएमबि बैंक (NMB) ले जेठ ३० गतेदेखि निष्काशन गरेको थप सार्वजनिक निष्काशन (एफपिओ) मा तीन दिनमा २० प्रतिशत विक्री भएको छ । बैंकले एक करोड १४ लाख १५ हजार १६३ कित्ता थप सार्वजनिक निष्काशन गरेकोमा २३ लाख १२ हजार कित्ता विक्री भएको हो । तथ्याङ्क संकलन गर्ने क्रम जारी भएकाले याे नै अन्तिम नभएकाे विक्री प्रबन्धकले जनाएकाे छ ।

निष्काशन भएको कित्तामध्ये अझै ९१ लाख कित्ता एफपिओ विक्री हुन बाँकी छ । एफपिओ विक्री बन्द हुने छिटो मिति असार ३ गते तोकिएको छ । अझै ८० प्रतिशत एफपिओ विक्री हुन नसकेका अवस्थामा अाइतबार सबै सेयर विक्री हुन सक्ने अवस्था देखिन्न । सर्वसाधारणहरुबाट सबै सेयर माग नभए आगामी सोमबारदेखि संस्थागत लगानीकर्ताहरुलाई समेत आवेदन खुला हुनेछ ।

बैंकको एफपिओ बिक्री प्रबन्धकको जिम्मेवारी पाएको नागरिक लगानी कोषले दिएको जानकारी अनुसार साढे २८ हजार आवेदकबाट २३ लाख १२ हजार कित्ता सेयर मात्र माग भएको छ । सेयर बजारमा देखिएको अस्थिरता र पछिल्लो समय बैंकको सेयरमूल्यमा आएको गिरावटका कारण एफपिओमा आकर्षण घटेको हो ।

एनएमबि बैंकले २३३ रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता ३३३ रुपैयाँ दरको एक करोड १४ लाख १५ हजार १६३ कित्ता थप सार्वजनिक निष्काशन गरेको हो । इच्छुक लगानीकर्ताले एफपिओमा न्युनतम १० कित्ता र अधिकतम ५७ हजार ०७० कित्तासम्म आवेदन दिन सक्नेछन् । एपपिओमा ढिलोमा असार २८ गतेसम्म आवेदन गर्न पाईनेछ ।

कम्पनीको एफपीओको बिक्रीको प्रत्याभुतिको काम नागरिक लगानी कोष लगायत एनआइबिएल एस क्यापिटल, नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग, प्रभु क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमीटेडले गरेका छन् । सबै सेयर विक्री नभएको खण्डमा प्रत्याभुतिकर्ताले सेयर किन्नुपर्ने हुन्छ ।

एफपिओ बिक्रीबाट बैंकको चुक्ता पूँजी एक अर्ब १४ करोड बढेर ७ करोड ६० लाख पुग्नेछ भने संस्थापक साधारण सेयर अनुपात ५१४९ कायम हुनेछ ।

राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्ता पूँजी बैंकले गत आर्थिक बर्षको नाफाबाट बोनस वितरण गरेर पुर्याउनेछ । एफपिओबाट बैंकले दुई अर्ब ६६ करोड रुपैयाँ प्रिमियम बापत संकलन गर्नेछ । जसले बैंकको जगेडा कोष थप मजबुत बन्नेछ ।

इक्रा नेपालले बैंकको एफपिओलाई इक्रा एनपी आइपीओ ग्रेड ३ रेटिङ दिएको छ । जसले औसत अवस्था जनाउँछ ।