ठूला संस्थागत लगानीकर्ताले रुची नदेखाउँदा नेपाल बैंकको एफपिओको बिजोग, कति पर्यो आवेदन ?

Jul 01, 2018 Merolagani

दोस्रो बजार निरन्तर तल झरिरहेका बेला निष्काशन भएको नेपाल बैंकको एफपिओ अहिलेसम्मकै सुस्त निष्काशन बनेको छ। बैंकका कर्मचारी विदाईमा एफपीओको पैसा खर्च हुने डर र लगानीकर्ताले प्रतिफल नपाउने सम्भावना रहेको भन्दै लगानीकर्ता बैंकको एफपिओबाट पछि सरे पछि एफपिओ बिक्री नहुने अवस्था उत्पन्न भएको हो ।

 अझ ठूला संस्थागत लगानीकर्ताहरुले नेपाल बैंकको एफपिओमा लगानी गर्न इच्छा नदेखाए पछि एफपिओ बिक्री हुन नसक्ने अवस्था देखिएको छ ।

एकै समयमा ठुलो संख्यामा सेयर निष्काशन भैरहनु, नेपाल बैंकमा सरकारको एकछत्र राज हुनु, कर्मचारी विदाईको संघारमा बैंक हुनु लगायत कारणले लगानीकर्ता बैंकको एफपिओमा आशावादी हुन नसके पछि एफपिओ बिक्रीमा समस्या देखिएको हो ।

कति पर्यो आवेदन ?

पछिल्ला दिनहरुमा थप प्राथमिक निष्काशन (एफपिओ) सेयर बजारमा सबैभन्दा अरुचीको विषय बन्दै गएको छ । बुटबल पावर कम्पनीको एफपिओबाट सुरु भएको अरुचिको यो क्रम नेपाल बैंकको एफपिओसम्म आईपुग्दा चरम उत्कर्षमा पुगेको छ ।

जसका कारण बैंकको एफपिओमा सिमित मात्रामा आवेदन परेको छ । अझ ठूला संस्थागत लगानीकर्ताले बैंकको एफपिओमा आवेदन नगर्ने भनाई सार्वजनिक गर्न थालेका छन् । अहिलेको अवस्थामा दोस्रो बजारबाट सेयर खरिद गर्नु र एफपिओ आवेदन गर्नुमा कुनै फरक नरहेको भन्दै संस्थागत लगानीकर्ता पन्छिन थालेका हुन् ।

यसै बिच एनएमबी बैंकले निष्काशन गरिरहेको एफपिओ बिक्री हुन नसकिरहेका बेला नेपाल बैंकको एफपिओलाई लगानीकर्ताले विश्वास गर्न नसकेका हुन् । दोस्रो बजारमा नै २९० रुपैंयाको हाराहारीमा नेपाल बैंकको सेयर मागेजति पाइने अवस्था छ । यसले गर्दा बैंकको सेयरमा २ कार्यदिनमा परेको आवेदन अहिलेसम्मकै थोरै हुन पुगेको छ ।

यस अघिका निष्काशनमा आवेदकको संख्या सामान्य हुने गरे पनि नेपाल बैंकको एफपिओमा २ दिनमा जम्मा ४ हजार ६ सय ३६ वटा आवेदन परेको छ । उल्लेखित आवेदकबाट जम्मा १४ करोड ३ लाख ६४ हजार रुपैंयाको मात्र आवेदन परेको बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

यो तथ्यांकका आधारमा २ दिनमा नेपाल बैंकको ५ लाख १ हजार ३ सय कित्ता मात्र एफपिओ बिक्री भएको छ । शुक्रबारदेखि खुलेको एफपीओका लागि पहिलो दिन १ लाख कित्ताका लागि मात्र आवेदन परेको थियो । अहिलेकै गतिमा बजार तल झरिरहेको खण्डमा लगानीकर्ताले अनेक उपाय लगाएर आवेदन रद्ध गराउने अवस्था आउन सक्छ ।

नेपाल बैंकले प्रतिकित्ता २८० रुपैयाँको दरमा १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ निष्काशन गरेको हो । माथि उल्लेखित तथ्यांकका आधारमा बैंकको सेयर २.८५ प्रतिशत मात्र बिक्री भएको हो । यहि गतिमा बैंकको एफपिओ बिक्री हुँदै जाने हो भने ३ महिनामा बल्ल सेयर बिक्री भैसक्ने देखिन्छ । जुन कुरा सम्भव छैन । लगानीकर्ताको नेपाल बैंकको एफपिओमा उत्साह घट्दै जानु, संस्थागत लगानीकर्ताले रुची नदेखाउनु लगायत कारणले बैंकलाई एफपिओ बिक्री गर्न समस्या पर्ने देखिन्छ । बैंकले असार १५ देखि १९ सम्मका लागि सेयर निष्काशन गरेकोमा १ महिना समय थप गरेर पर्खिनु पर्ने कुरालाई उल्लेखित तथ्यांकले प्रष्ट पारेको छ ।

संस्थागत लगानीकर्ताले देखाएनन् एफपिओमा रुचि

पछिल्लो समय निष्काशन भैरहेका सेयरमा संस्थागत लगानीकर्ताले ठुलो संख्याको आवेदन गर्दैछन् भन्ने गलत हल्ला फैलाउने क्रम बढ्दो छ । एनएमबि बैंकको एफपिओमा चलाइएको यस्तो हल्ला अहिले नेपाल बैंकको एफपिओमा पनि उत्तिकै चलाईएको छ । केही व्यक्तिका माध्यमबाट यस्तो हल्ला फैलाएर आम लगानीकर्तालाई भुङग्रोमा हाल्ने काम अहिले तिब्र बनेको छ । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष लगायतका संस्थाले बैंकको एफपिओमा ठुलो रकम लगानी गर्दै छन् भन्दै नेपाल बैंकको सेयर वाणिज्य बैंकहरुमा सबैभन्दा उत्कृष्ट हुने हल्ला फैलाउने गिरोह अहिले बजारमा सक्रिय छ ।

बजारमा जसरी पनि बैंकको एफपिओ बेचाउनु पर्छ भन्दै यस्तो हल्ला चलाइए पनि संकेत भने राम्रो देखिएको छैन । संस्थामा पनि आम नागरिकको पैसा जम्मा हुने भएकाले कुनै पनि निर्णय गर्दा त्यस संस्थामा आबद्ध सेवाग्राही तथा नागरिकप्रति संस्था जिम्मेवार हुनु पर्छ । यस सम्बन्धमा नागरिक लगानी कोषले नेपाल बैंकको एफपिओमा लगानी गर्ने सम्बन्धमा कुनै निर्णय नभएको प्रष्ट पारेको छ । मेरोलगानीसँगको कुराकानीमा कोषका एक उच्च अधिकारीले भने, 'हामी हाम्रा बचतकर्ताप्रति जिम्मेवार छैनौ र बजारमा चलेका हल्ला अनुसार लगानी गर्दै जानलाई ? अहिलेसम्म नेपाल बैंकको सेयरमा लगानी गर्ने सम्बन्धमा कुनै निर्णय भएको छैन । हाम्रो नाम कसैले जोडेर लगानीकर्तालाई अलमल्याई रहेको भए त्यो सरासर गलत हो ।'

उता कर्मचारी सञ्चय कोषले पनि हल्लाका सम्बन्धमा जानकारी पाएको तर त्यो सत्य नरहेको प्रष्ट पारेको छ । कर्मचारी सञ्चय कोषका एक उच्च अधिकारीले मेरोलगानीसँग कुरा गर्दै भने, 'कोषले नेपाल बैंकको एफपिओमा लगानी गर्ने सम्बन्धमा एक पटक समेत छलफल गरेको छैन । अब बजारमा चलेको हल्लालाई कसरी व्याख्या गर्नु ?'

ठुलो आकारको कोष बनाएका उल्लेखित २ संस्थाले समेत चासो नदेखाएको नेपाल बैंकको एफपिओमा अरु संस्थागत लगानीकर्ताले पनि सामान्य लगानी गर्नेभन्दा माथिको सोच बनाउन नसक्ने देखिन्छ । नाफा नोक्सानमा नै विषय केन्द्रित हुने भएकाले अरु लगानीकर्ताले कति जोखिम लिएर बैंकको सेयरबाट कति प्रतिफलको अपेक्षा गर्न सक्लान ? यो विषयले नै संस्थागत लगानीकर्ताले गर्ने लगानीको आकार निक्र्यौल गर्छ ।

संस्थागत लगानीकर्ताले आँखा चिम्लेर गर्दैनन् लगानी

संस्थागत लगानीकर्ताले कुनै पनि संस्थाको सेयरमा लगानी गर्दा आफ्नो क्षमतालाई पहिलो प्राथमिकतामा राख्छन् । यसले नेपाल बैंकको एफपिओका सम्बन्धमा चलाइएको हल्ला अनुसार ठुलो रकम एकै पटक एकै संस्थामा लगानी गर्ने अवस्था संस्थागत लगानीकर्तासँग हुन्न । उसले कम्पनी अनुसार संस्थाले गर्ने लगानीको प्रतिशत मिलाउँछ भने क्षेत्रगत आधारमा गर्ने लगानीको प्रतिशतलाई पनि मिलाउनु पर्ने हुन्छ । यसका अलावा आफ्नो पार्टफोलियोको अवस्थालाई हेरेर मात्र संस्थागत लगानीकर्ताले कुनै पनि संस्थामा गर्ने लगानीको निर्णय लिन्छन् ।

यस आधारमा एनएमबि वा नेपाल बैंकको एफपिओमा कुनै एउटा संस्थाले मात्र ठुलो लगानी गर्छ भन्ने अवस्था रहँदैन । अझ दोस्रो बजारको तुलनामा एफपिओको मूल्य ११ रुपैंया हाराहारी मात्र सस्तो हुनुले संस्थागत लगानीकर्ताले पनि जोखिम लिने अवस्था नरहन सक्छ । किनकी उसले लगानी गर्दा नाफा नोक्सानको पनि उचित आँकलन गर्ने कुरामा दुईमत छैन ।

कर्मचारी बोनसमा ठुलो खर्चको डर

अर्कातिर बैंकमा अहिले रहेका पुरानो पुस्ताका ठुलो संख्याका कर्मचारी अवकास नजिक पुगेका छन् । उनीहरुलाई विदाई गर्ने समयमा बैंकले गतिलो उपहार स्वरुप बोनस बितरण गर्ने चर्चाले लगानीकर्ताको एफपिओ लगानी त्यसमा खर्च हुने डर लगानीकर्तामा व्याप्त छ ।

बैंकले अहिलेको अवस्थामा लगानीकर्तालाई आकर्षक बोनस बितरणको क्षमता तयार भएको दाबी गर्दै आए पनि सञ्चालक समिति अर्थात सरकारले गर्ने निर्णय के हुन्छ ? बैंक व्यवस्थापनले भने जसरी नै लगानीकर्ताले बोनस पाउने आधार कति छन् भन्ने विषयमा पनि लगानीकर्ता अन्यौलमा छन् । कर्मचारी अवकास तथा विविध शिर्षकमा हुने खर्चलाई हेर्दै बैंकले लगानीकर्तालाई नाम मात्रको लाभांस खुवाउने त हैन ? भन्ने प्रश्नले पनि लगानीकर्तालाई घच्घच्याई रहेको छ ।

comments powered by Disqus