नेपाल बैंकले एफपिओलाई लाभांश वितरण गर्ला कि नगर्ला ?

Jul 23, 2018 Merolagani

नेपाल बैंक (NBL) ले गत आर्थिक वर्षमा झण्डै साढे ३ अर्ब रुपैयाँ खुद नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । योसँगै बैंकले अहिले निष्काशन गरिरहेको एफपिओलाई समेत लाभांश दिनसक्ने आधार तयार गरेको तथ्यलाई घुमाउरो शैलीमा छिट्टै वित्तीय विवरण निकालेर प्रष्ट्याएको छ । यस्तो नगर्ने हो भने बैंकको एफपिओ बिक्री हुने आधार देखिँदैन ।

गत आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा २८ करोडले बढेको वित्तीय विवरणमा देखिन्छ ।

अघिल्लाे आर्थिक वर्षमा ३ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले असार मसान्तसम्ममा ३ अर्ब ३९ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

मेरोलगानीले यस अघि नेपाल बैंकले ३ अर्ब २० करोड माथि खुद नाफा कमाउने आंकलन गरेको थियो । त्यसै गरी मेरोलगानी डाटा एनालिटिक्सले ३ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा कमाउने फोरकाष्ट गरेको थियो । तर बैंकको गैर सञ्चालन मुनाफामा आएको झण्डै ५० प्रतिशतको गिरावटले डाटा एनालिटिक्स फोरकाष्टमा केही अन्तर देखिएको हो ।

बैंकको जगेडा कोषको आकार समीक्षा अवधिमा ३ अर्ब ४० करोडबाट ६ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । उक्त जगेडाबाट अहिलेको अवस्थामा बैंकले कम्तीमा २ अर्ब ४० करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्न सक्ने आधार बनाएको देखिन्छ ।

केही दिन अघि एनएमबि बैंकले अघिल्लो आर्थिक वर्षको कमाईबाट १५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गर्दै एफपिओ बिक्री गराएको थियो । नेपाल बैंकले पनि अब एफपिओ बिक्री गर्नका लागि लगानीकर्तालाई आकर्षक बोनस वितरण गर्नैपर्ने हुन्छ । पूँजी वृद्धिलाई निरन्तर बनाउने उद्घोष नेपाल बैंकले गरे पनि पछिल्ला दिनमा बजारमा चलेका हल्लाले एफपिओलाई प्रभावित पार्नुका साथै दोस्रो बजारमा सेयर मूल्य पनि प्रभावित बनेको छ ।

यस्तो अवस्थामो बैंकले बोनस बितरण गर्न सक्ने सन्देश प्रवाह गर्नका लागि नै छिट्टै वित्तीय विवरण निकालेको प्रष्ट हुन्छ । एफपिओ बिक्री गर्न केही दिन मात्र बाँकी हुँदा बैंकले निकालेको वित्तीय विवरणबाट लगानीकर्ताले कति लाभांश पाउन सक्छन् भन्ने सन्देश दिन खोजिएको देखिन्छ ।

बैंकले लाभांश वितरण गर्ने योजना बनाएमा एफपिओ निष्काशन पश्चात ९ अर्ब ८१ करोड रुपैयाँको चुक्ता पूँजीमा लाभांश वितरण गर्नु पर्ने हुन्छ । बैंकको अघिल्लो आर्थिक वर्षमा सञ्चित नोक्सानी २०३ करोड रुपैयाँ रहेकोमा असार मसान्तसम्ममा आईपुग्दा १ अर्ब ७० करोड बढीले धनात्मक बनेको छ ।

यो खाल्डो पुर्नका लागि बैंकले विशेष जगेडामा रहेको १ अर्ब १९ करोड रुपैयाँ रकमलाई सञ्चित नोक्सानीमा समायोजन गर्न राष्ट्र बैंकबाट स्वीकृती लिइसकेको छ । अरु सबै किसिमका नोक्सानलाई समेत समायोजन गरेर बैंकले सञ्चित नाफाको आकार १ अर्ब ७० करोड रुपैयाँ माथि पुर्याएको छ ।

बैंकले पूँजीगत जगेडामा सञ्चित २६ करोड, पूँजी समायोजन कोषमा सञ्चित ३८ करोड र हकप्रद लिलामीबाट संकलित सेयर प्रिमियम वापतको १३ करोड गरी ७७ करोड रुपैयाँलाई अनिवार्य रुपमा बोनस मात्र वितरण गर्नुपर्ने हुन्छ । असार मसान्तसम्मको वित्तीय अवस्थाका आधारमा १ अर्ब ६५ करोड बढी रकम नगद वा बोनसका रुपमा बैंकले लगानीकर्तालाई वितरण गर्न पाउँछ ।

उल्लेखित आधारमा बैंकले कम्तीमा पनि २ अर्ब ४० करोडको लाभांश वितरण गर्न सक्छ । बैंकले हतार गरेर वित्तीय विवरण निकाल्नुको मुख्य सन्देश पनि यही नै हुनुपर्छ जसले एफपिओ सहज रुपमा बिक्री होस् ।

९ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पूँजीका आधारमा उल्लेखित लाभांश क्षमता २४ प्रतिशत हाराहारी हुन आउँछ । तर एफपिओ निष्काशन अवधि केही दिन मात्र बाँकी हुँदा बैंकले परिष्कृत वित्तीय विवरण तयार गर्न नसक्ने भएकाले आधिकारिक रुपमा कुनै निर्णय तत्काल गर्न सक्दैन ।

निक्षेप तथा कर्जाको आकारमा सामान्य बढोत्तरी गरेको बैंकले पौने ५ अर्बको खुद व्याज आम्दानीलाई साढे ६ अर्ब माथि पुर्याएको छ । कर्मचारी खर्च र अन्य सञ्चालन खर्चलाई अघिल्लो वर्षको आकारमा नै सन्तुलन प्रयास गरेको बैंकले प्रोभिजन रकममा भारी कटौती गर्दै सञ्चालन मुनाफाको आकार अढाई अर्बबाट सवा ४ अर्ब नजिक पुर्याएको छ ।

यद्यपी राइटव्याक देखिएको सुस्तताले बैंकको खुद नाफा वृद्धिमा केहि अवरोध देखिएको छ । डेटा एनालिटिक्समा पनि यसै कारणले खुद नाफाको फोरकाष्टमा केही अन्तर देखिएको हो ।

४२ रुपैयाँ २७ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको मूल्य आम्दानी अनुपात ६.६५ गुणाले बढी छ । बैंकको प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ६० पैसा छ ।

comments powered by Disqus