शेयर बजारमा अझै लागेन साउन, वित्तीय विवरणले पनि तानेन लगानीकर्ता

Jul 31, 2018 Merolagani

चालु आर्थिक बर्षको मध्य साउन लागे पनि शेयर बजार भने राताम्मे नै रहेको छ। साउन महिनालाई शेयर बजारको सिजन भनिँदै आएपनि यसपालि भने त्यस्तो कुनै रौनक देखिएन्। सूचीकृत कम्पनीहरुले गत बर्षको वित्तीय विवरण धमाधम प्रकाशन गर्न थालेपनि ति विवरणले समेत लगानीकर्ताको ध्यान तान्न सकेको छैन ।

मंगलबार मात्रै एक वाणिज्य बैंक सहित १७ विकास बैंक र केही फाइनान्स कम्पनीहरुले गत बर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

एनआईसी एशिया बैंकले डेढ अर्ब बढीको खुद नाफा गरेको विवरण सार्वजनिक गरेको छ ।

१७ विकास बैंक मध्ये चार बाहेक अन्य सबै विकास बैंकको नाफा बढेको छ । फाइनान्स कम्पनीहरुको वित्तीय विवरण पनि मिश्रित प्रकारको आएको छ । 

हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश कम्पनीहरुले प्रगति उन्मुख वित्तीय विवरण प्रस्तुत गरेका छन् । तर शेयर बजारका लगानीकर्ता कम्पनीहरुको वित्तीय विवरणमा खासै आर्कषित देखिएनन् । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गरेको अवस्थामा आगामी दिनमा कम्पनीहरुले कसरी लाभांश वितरण गर्लान भन्ने अन्याैलता पनि लगानीकर्तामा देखिएको छ ।

वित्तीय क्षेत्रमा तरलताको अवस्था सहज हुँदै गएपनि बैंक ब्याजदर घट्न सकेको छैन । दिनप्रतिदिन शेयर बजारमा विगतमा कम्पनीहरुले प्रदान गरेका बोनस र हकप्रद शेयर थपिने क्रम जारी छ भने उतिनै मात्रामा प्राथमिक निष्काशनहरु पनि भईरहेका छन् । हकप्रद र लिलामी पनि खुलिनै रहेका छन् । दोस्रो बजारमा सोझै हुने लगानी अन्यत्र क्षेत्रमा तानेको अवस्थामा कारोबारमा चमक आउन सकेको छैन । जसले गर्दा शेयरबजार समेत अस्थिर देखिएको छ ।

मंगलबार नेप्से परिसूचक २.९१ अंकले घटेर ११९१.४७ बिन्दुमा झरेको छ । दिनभर बजारमा १६३ कम्पनीको १६ करोड ७७ लाख बराबरको शेयर किनबेच भयो । अघिल्लो दिनको तुलनामा कारोबार रकम १३ करोड कम हो ।

यसदिन कारोबारमा आएका दश उप-समूहमध्ये तीनको बाहेक सबैको सूचक घटेको छ । विकास बैंक, जलविद्युत र वित्त समूहको सकारात्मक रहँदा अन्य सबै समूहको सूचक नकारात्मक रहेको छ ।

मंगलबारको बजारमा सबैभन्दा धेरै कारोबार हुने एनएमबि बैंकको ७८ लाख बराबरको मात्र शेयर किनबेच भयो । इन्भेष्टमेन्ट बैंकको ७१ लाख बराबरको कारोबार भयो ।

यसदिन सिद्धार्थ ओरेन्टेड इक्वीटी स्किमको इकाई मूल्य सबैभन्दा धेरै चार प्रतिशतले बढेको छ । सहयोगी विकास बैंक, सृजना फाइनान्स, लुम्बिनी विकास बैंक तथा पोखरा फाइनान्स लगायतको शेयरमूल्य सामान्य बढेको छ ।

सिटी एक्सप्रेस फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै झण्डै दश प्रतिशतले गुमाएको बजारमा निर्धन उत्थान लघुवित्त, सूर्या लाइफ, एनएलजि इन्स्योरेन्स तथा किसान माइक्रो लगायतको शेयरमूल्य धेरै घटेको छ ।

comments powered by Disqus