लगानीकर्ताको निर्णयमा मनोवैज्ञानिक तत्वको प्रभाव

Aug 06, 2018 Merolagani

- आनन्द कुमार भट्टराई : उपसचिव, अर्थ मन्त्रालय
परम्परागत ब्यवहारले,शेयर बजारमा लगानीकर्ताहरु आफ्नो जोखिम बहन क्षमताअनुसार लगानीमा प्रतिफल प्राप्त गर्ने मामलामा निर्णय गर्दा तार्किक (Rational) हुन्छन्, भन्ने कुरामा प्रकाश पारेको छ। यद्यपी ब्यवहारिक वित्तीय विज्ञान (Behavioral Finance)काे अध्ययनले मानव जातीले अर्थशास्त्रीले जस्तै तार्किक निर्णय गर्दैनन् ।

किनकी तिनको निर्णयमा विभिन्न मनोवैज्ञानिक तत्वहरुको प्रभाव परिरहेको हुन्छ भन्ने कुरामा प्रकाश पारेको छ । यस्ता तत्वहरु देहाय बमोजिम छन् ।

यस्ता तत्वहरु देहाय बमोजिम छन्:-

१. अत्यधिक आत्मविश्वास (Over confidence )
२.  परम्परावादी पूर्वाग्रह (Conservatism bias) 
३.   उपलब्धता आधारित पूर्वाग्रह  (Availability bias) र
४. अरुलाई पछ्याउने ब्यवहार  (Herding behavior )

 

मनोवैज्ञानिक तत्वको प्रभाव बारेमा गरिएको विभिन्न अध्ययनले के देखाएको छ भने शेयर बजारमा लगानी गर्ने सन्दर्भमा गरिने निर्णय र मनोवैज्ञानिक तत्वको बीच गहिरो सम्बन्ध हुन्छ ।

त्यस्ता तत्वहरुले निर्णय प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । लगानीकर्ताको मस्तिष्कमा यी माथिका तत्वहरुमध्ये कुनको बढी प्रभाव छ त्यसै अनुकूल उ बजारप्रति प्रतिक्रिया ब्यक्त गरिरहेको हुन्छ ।

विदेशमा गरिएको यस सम्बन्धी विभिन्न अध्ययनले अत्यधिक आत्मविश्वास, परम्परावादी पूर्वाग्रह र  उपलब्धता आधारित पूर्वाग्रह जस्ता तत्वको निर्णय प्रक्रियामा महत्वपूर्ण प्रभाव परिरहेको हुन्छ भने अरुलाई पछ्याउने ब्यवहारको खासै प्रभाव परेको हुँदैन ।

यद्यपी हरेक देशमा यो समान किसिमले लागू हुन सक्दैन । कुनै देशमा कुनै तत्वको प्रभाव बढी हुन्छ भने अर्को देशमा अर्कै तत्वको प्रभाव बढी हुन सक्छ । यसमा उक्त देशको बजारको आकार , जनसंख्याको बनौट, लगानी सम्बन्धी ज्ञानको मात्रा आदीले आ-आफ्नै किसिमले प्रभाव पारि रहेको हुन्छ ।

विगतमा धेरै समयसम्म शेयर बजारमा गरिने लगानीप्रति लगानीकर्ताहरु  टिपिकल (Typical) र संम्वेदनशील हुने कारणले जोखिम बहन क्षमता अनुसार लगानीमा प्रतिफल प्राप्त गर्ने मामलामा निष्कृय हुन्थे भन्ने कुरामा परम्परागत वित्तीय ब्यवहार विज्ञानले विश्वास राखेको थियो ।

त्यसैले तिनीहरुले उपलब्ध सबै आवश्यक सूचनाहरुको आधारमा निर्णय लिन्थे र कम्पनीको विश्लेषण र राम्रो कम्पनीको छनौटमा तथस्थ रहन्थे भन्ने मान्यतामा परम्परागत वित्तीय ब्यवहार विज्ञान चलेको थियो ।

मनोवैज्ञानिक वेत्ताले के पत्ता लगाएका छन् भने आम व्यक्त्ति अर्थविज्ञ जस्तो तार्किक किसिमले निर्णय गर्दैनन् । ब्यवहारिक वित्तले मनाेवैज्ञानिक (Psychological)  तत्वहरुले कसरी लगानीकर्ता, विज्ञ तथा पोर्टफोलियो मेनेजरको रुपमा काम गर्ने व्यक्त्ति  तथा समूहको निर्णयमा प्रभाव पारिरहेको हुन्छ भन्ने कुरालाई ध्यानमा राखेको हुन्छ ।

 

१. अत्यधिक आत्मविश्वास : यो ब्यक्तिको स्व-सूचित पूर्वाग्रहसँग सम्बन्धित छ । जसअन्तर्गत ब्यक्तिले आफ्नो सफलताई उसको ज्ञान (Talent) र योग्यताको उपज मानेको हुन्छ भने असफलतालाई दुरभाग्य (Bad Luck)  सँग जोडेर आफूलाई म बढी जान्ने छु भनी प्रस्तुत गरिरहेको हुन्छ ।

विभिन्न अध्ययनले यो तत्वको ब्यक्तिको लगानी निर्णयमा सकारात्मक तथा नकारात्मक दुबै किसिमको प्रभाव पर्ने गरेको देखाएको छ । यस्ता ब्यक्ति आफूमा कतिसम्म विश्वस्त हुन्छ भने बजारमा आएका सूचना, बजारको ट्रेण्ड आदी कुनै कुराप्रति पनि प्रतिक्रिया ब्यक्त नगरी आफूले चाहेको ब्यवहार मात्र गर्छ र कहिले काँही आफ्नो निर्णयको कारणले नराम्रोसँग फस्छ ।

२.  परम्परावादी पूर्वाग्रह : परम्परावादी पूर्वाग्रह भन्नाले लगानीकर्ताले बजारमा देखापरेका विकास तथा सूचनाहरु प्रति छिट्टै प्रतिक्रिया ब्यक्त नगरी विस्तारै आफ्नो सोचलाई परिवर्तन गरि आफूलाई अपडेट गर्छन् ।

यिनले शुरुमा कुनै कम्पनीको बारेमा आएको सूचना तथा हल्ला प्रति न्यून प्रतिक्रिया ब्यक्त गर्छन् अर्थात त्यसको पछाडि तुरून्त कुदी हाल्दैनन् जसको फलस्वरुप त्यस्तो सूचनाको प्रभाव कम्पनी मूल्यमा एकै चोटी नभई विस्तारै मात्र पर्दै जान्छ ।

३. उपलब्धता आधारित पूर्वाग्रह : सजिलै प्राप्त हुने सूचनाको आरधारमा गरिने प्रतिक्रिया उपलब्धता आधारित पूर्वाग्रह (Availability bias) अन्तर्गत पर्दछ । यस्तो तत्वको प्रभाव परेको ब्यक्तिमा समग्र अवस्थाको सट्टामा कुनै निश्चित तथ्यमा आफ्नो ध्यान केन्द्रित गर्ने बानी हुन्छ किनकी यस्ता तथ्य तत्काल प्राप्त भएको हुन्छ । जसले उनिहरुको जानकारीलाई सजिलै अपडेट गर्दछ ।

उदाहरणको लागि कम्पनीको प्रति शेयर आम्दानी, मूल्य आम्दानी अनुपात, नेटवर्थ आदि सजिलै प्राप्त हुने सूचनाको आधारमा उसले बजार मूल्यको विश्लेषण गरेको हुन्छ र बजारमा चल्ने हल्ला प्रति उ सवेंदनशील नभई आफ्ने किसिमले प्रतिक्रिया ब्यक्त गरिरहेको हुन्छ ।

४. अरुलाई पछ्याउने ब्यवहार: नेतालाई पछ्याउ भन्ने मानसिकतालाई अरुलाई पछ्याउने ब्यवहार (Herding behavior) भनिन्छ । यो भनेको भीडलाई पछ्याउने कुनै ब्यक्तिको प्रवृति हो किनकी भीड अथवा समूहले गर्ने निर्णय सधै ठीक हुन्छ भन्ने मान्यताले उसमा बलियोसँग जरो गाडेको हुन्छ ।

यस्ता ब्यक्तीको लगानी निर्णय भीडले खरिद र विक्रि गर्ने निर्णयमा आधारित हुन्छ जसको फलस्वरुप Speculative bubble  को वातावरण सृजना भई स्टक मार्केट स्वभाविक गतिमा अगाडि बढ्न सकिरहेको हुँदैन । यहाँ जान्नुपर्ने कुरा के हो भने भीड जहिले पनि गलत हुन्छ र यसले बजारलाई अत्यधिक चलायमा गराउन मद्दत गर्छ । प्राय: जसो अध्ययनले Herding behavior को लगानी निर्णयमा सकारात्मक प्रभाव परेको देखाएको छ ।

केहि दिन पहिले अर्थमन्त्रीको हल्ला चलाएर बजार १८ बिन्दुसम्म बढाउन लगाई चलाख लगानीकर्ताले यस्तै भीडलाई पछ्याउने प्रकृतिका लगानीकर्तालाई शेयर बिक्री गर्न सफल भएको उदाहरण हाम्रो सामु ताजै छ ।

तर परम्परावादी पूर्वाग्रह (Conservatism bias) र उपलब्धता आधारित पूर्वाग्रह  (Availability bias) को आधारमा प्रतिक्रिया ब्यक्त गर्ने लगानीकर्ताको पर्ख र हेरको रणनितीले बजारमा  खरिद चाप (Buying Pressure) घट्दै जानु र हल्ला सत्य नभएको तथ्य फैलिँदा बजार पुन: तल झर्न गएको दृष्टान्त हामीले बिर्सेका छैनौं । तथापि कतिपय नेतालाई पछ्याउँ भन्ने मानसिकताको अत्यधिक प्रभाव परेका लगानीकर्ताले बिक्री गरि आफ्नो सम्पतीमा संकुचन ल्याए ।

अहिले बजारमा खरिद बिक्री कम हुनुमा अरुलाई पछ्याउने ब्यवहार (Herding behavior) भएका लगानीकर्ताहरु सुस्त हुनु र अन्य लगानीकर्तामा सो बाहेकको मनोवैज्ञानिक तत्वको प्रभाव बढी हुनुलाई लिन सकिन्छ । बजार बढ्नु पर्ने अवस्थामा पनि घटिरहेको परिदृष्यलाई तिनले गभिरतापूर्वक अध्ययन गरि पर्ख र हेरको अवस्थामा रहेकाले नै बजार तथा कारोवार दुबै बढ्न नसकेको हो ।

सारांशमा भन्नुपर्दा विभिन्न अध्ययनले के देखाएको छ भने मनोवैज्ञानिक तत्व र लगानीकर्ताको निर्णय बीच गहिरो सम्बन्छ हुन्छ । त्यस्ता तत्वहरुले उनिहरुको निर्णयमा गहिरो प्रभाव पारिरहेको हुन्छ । त्यसैले यसको बारेमा हाम्रो देशमा पनि अध्ययन अनुसन्धान हुनुपर्छ ।

नियामक निकायले यस सम्बन्धी अध्ययन किन गर्ने ?

१. यस्तो अनुसन्धान शेयर बजारका खेलाडी तथा लगानीकर्ताको लागि महत्वपूर्ण हुन्छ किनकी तिनीहरु आफ्नो लगानी निर्णयमा मनोवैज्ञनिक तत्वको प्रभावको बारेमा सचेत हुन्छन् । यस्तो अनुसन्धानको निष्कर्षको बारेमा जानकार भैसकेपछि लगानीकर्ताले यसलाई आफ्नो लगानी निर्णयमा प्रयोग गरेर आफ्नो निर्णमा असर गर्ने त्यस्ता तत्वहरुको प्रभावलाई रोकी तार्किक निर्णय गर्न सक्षम हुन्छन् ।

२. त्यसैगरी यस्तो अनुस्धान नियामक निकाय र नीति निर्माताको लागि पनि उपयोगी हुन्छ किनकी यसको सहयोगले तिनले लगानीकर्ताको निर्णय प्रक्रियामा असर पार्ने मनोवैज्ञानिक तत्वको बारेमा जानकार हुन सक्छन्  । जसको प्रयोग तिनले लगानीकर्ता सचेतना तथा संरक्षणको लागि उपयोग गर्न सक्छन् ।

comments powered by Disqus

अब निक्षेप सदस्यबाटै घरयासी नामसारी हुने, यस्ता छन् आवश्यक कागजात

Oct 20, 2018

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावलीलाई तेस्रो पटक संसोधन गर्दै शेयर नामसारी प्रणालीलाई सहज बनाएको छ। शेयर लगानीकर्ताले घरयासी र मृत्यु नामसारीका लागि आफूले हितग्राही खाता खाेलेकाे लाइसेन्सप्राप्त निक्षेप सदस्य (डीपी) बाटै आवश्यक प्रक्रिया पूरा गरेर नामसारी सेवा लिनसक्ने सिडिएससीले जनाएको छ ।