नेपाल बैंकको जगेडा कोषबाट अर्बौ रुपैयाँ कता हरायो ?

Nov 14, 2018 Merolagani

नेपाल बैंक (NBL) ले जगेडा कोष अर्बौ रुपैयाँले घटाएर प्रकाशित गरेको वित्तीय विवरणले लगानीकर्ता अन्यौलमा परेका छन्। केही समय अघि एफपिओ बिक्री गरेर झण्डै ४ अर्ब रुपैयाँ प्रिमियम संकलन गर्दा समेत बैंकको जगेडा कोषको आकार २४ अर्बबाट १९ अर्बमा झरेपछि लगानीकर्तामा अन्यौलता उत्पन्न भएको हो ।

बैंकले गत आर्थिक वर्षको अन्त्यमा सार्वजनिक गरेको वित्तीय विवरणमा जगेडा कोषको आकार २४ अर्ब ७ करोड रुपैयाँ रहेको देखाएको थियो ।

बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणमा उक्त जगेडा कोषको आकार १९ अर्ब ६० करोड रुपैयाँ मात्र भएको देखाएको छ । यो तीन महिनाको अवधिमा बैंकको जगेडा कोषको आकार ५ अर्ब रुपैयाँ हाराहारीले घटेको देखिएको हो ।

 

उल्लेखित ३ महिनाको अवधिमा बैंकले पौने २ करोड कित्ताभन्दा बढी एफपिओ बिक्री गरेर साढे तीन अर्ब बढी प्रिमियम पनि संकलन गरेको छ । उक्त रकम समेत जोडिँदा बैंकको जगेडा कोषमा किन अस्वभाविक गिरावट आयो भन्ने उत्सुकता बढेको छ ।

सोझो शैलीमा बुझ्दा बैंकले एफपिओ बेचेर आर्जन गरेको प्रिमियम समेत जोड्ने हो भने तीन महिनाको अवधिमा जगेडा कोषको आकार झण्डै ९ अर्ब रुपैयाँले घटेको देखिन्छ ।

बैंकले गत असारमा सार्वजनिक गरेको वित्तीय विबरणमा अघिल्लो आर्थिक वर्षको समाप्तिमा नै जगेडा कोषको आकार २१ अर्ब ६८ करोड रुपैयाँ रहेको उल्लेख छ । त्यस पछिको एक वर्षको समयमा जगेडा कोषको आकार बढ्दै गएकोमा अहिले अचानक कसरी घट्यो भन्ने प्रश्न उब्जिएको हो ।

लाभांश वितरण नै नगरेको अवस्थामा जगेडा कोषको आकार बढ्नुपर्नेमा ठुलो अन्तरले घटेपछि बैंकका शेयरधनी तथा समग्र लगानीकर्ता बैंकप्रति आशङ्का व्यक्त गर्न थालेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले यस सम्बन्धमा शेयर बजारमा आएको गिरावटका साथै रिभ्यालुएशन रिजर्भमा आएको परिवर्तनले जगेडा कोषको आकार घटेको बताए ।

मेरोलगानीसँग कुरा गर्दै उनले भने, ‘असार पछिका दिनमा बजार घटेको छ ।

अर्कातिर राष्ट्रिय बीमा संस्थानको शेयर यस अघि राष्ट्रिय बीमा कम्पनीको शेयरमा मूल्यांकन भएकोमा अहिले संस्थानको अंकित मूल्यमा मुल्यांकन भएको छ । यसले कोषको आकारमा हेरफेर भएको हो ।’

एनएफआरएस प्रणालीमा सम्पत्ती तथा दायित्वको समयानुकुल मुल्याङ्कन गरेर त्यसलाई वित्तीय अवस्थामा समावेश गर्नुपर्ने हुन्छ । तर बैंकका प्रमुख कार्यकारी अधिकृतले भने जस्तै हो भने गत असार पहिले शेयर बजारमा गिरावट नआएको वा राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्यमा गिरावट आएको थिएन र ? भन्ने प्रश्न उब्जिएको छ ।

अर्कातिर बैंकले राष्ट्रिय बीमा संस्थानको शेयरलाई यस अघि किन राष्ट्रिय बीमा कम्पनीको शेयर मान्यो ? अनि अहिले आएर फेरी किन त्यो शेयरलाई संस्थानको शेयरमा मूल्याङ्कन गरियो भन्ने चासो र आशङ्का बढेको छ ।

गत आर्थिक वर्षको असार मसान्तका बेला बैंकको नेटवर्थ ३४ अर्ब हाराहारीमा रहेको थियो । एफपिओको प्रिमियम र पहिलो त्रैमासको कमाई थपिँदा उक्त आकार ३८ अर्ब रुपैयाँ हाराहारीमा पुग्ने अपेक्षा गरिएका बेला नेटवर्थको आकार २८ अर्बतिर झरे पछि लगानीकर्तामा निराशा उत्पन्न भएको हो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।