शेयर बजारमा कहिले आउला नवयुग ?

Nov 29, 2018 Merolagani

शेयर बजारको घट्दो क्रमले यसलाई २०१६ को पुष महिनाको न्यूनतम बिन्दुको आसपास लैजानाले विगत दुई बर्षदेखि लगानीकर्ताहरुले आर्जन गरेको कमाई करिब शुन्य भईसकेको छ। यस तर्फ सबैको ध्यान जान आबश्यक छ । बजारमा नयाँ युग कहिले शुरू होला भनेर लगानीकर्ताहरु पर्खीरहेका छन ।

 

यो फेसवुक स्टाटस हो, अनलराज भटराईको । सामाजिक सुरक्षा योजना लागू भएको सन्दर्भमा नया युगको शुरुवात भएको भन्ने सरकारको दावीसहित प्रधानमन्त्रीको फोटो बिजुलीको पोल पोलमा टाँसिएको बेला सेयर बजार राम्ररी बुझेका भटराईले यो स्टाटसमार्फत सेयर बजारको बर्तमान अवस्थालाई उजागर गरेका हुन । उनले भनेजस्तै आर्थिक अवस्थाको महत्वपूर्ण सूचक सेयर बजार गिर्दो अवस्थामा रहेर मुलुकमा नव युग आउला ? सबै लगानीकर्ता भन्छन् , आउँदैन ।

शेयर बजारमा नवयुग आउन अनलाइन प्रणाली अनिवार्य शर्त हो । विश्व बजारका स्टक मार्केटहरु अनलाइनमा गइसकेको बर्षौ भईसक्यो । तर, नेपालमा अनलाइन सिस्टम लागू गराउनु भालूको कन्पट जस्तो भएको छ । लगानीकर्ता अनलाइन प्रणालीमा जान आतुर छन् ।

तर, तीन बर्षदेखि अनलाइनको तयारी गर्दापनि ५० बटा ब्रोकरलाई चलाउन पनि हम्मे पर्ने सफ्टवेयर आएको छ । यही सफ्टवेयरले नेपाली लगानीकर्ताको माग सम्वोधन गर्ला ? स्वयं नियामक निकायसँगै यसको उत्तर छैन । कतै सफटवेयर निर्माणका क्रममा गलत दुरासय त राखिएन ? निरास लगानीकर्ताले त्यता प्रश्न तेर्साउन पाउने कि नपाउने ?

धितोपत्र बोर्ड र नेप्सेले गलत ब्रिफिङ्ग अर्थ मन्त्रालयलाई गराएर पानी माथिको ओभानो बनेका छन । मार्केट ग्रोथ र सहजीकरणमा यी दुबै निकायले परिवर्तित सन्दर्भको पूँजी बजारलाई नेतृत्व गर्न सक्दैनन् ।

अनलाइन प्रणाली प्रयोग गर्ने नाममा जसरी १४ खर्वको पूँजीबजारमाथि हेलचेक्रयाई गरियो, २० करोडको कारोवार भैरहेको बजार ७ करोडमा झर्दापनि कुनै प्रतिक्रिया जनाइएन, सूचकहरुमा व्यापक गडबढी हुँदापनि नेप्सेको साइटमा राखेर लगानीकर्तालाई अन्यौलमा पारियो , यी सबै उदाहरणले नियामक निकायको चरम लापरबाही प्रस्ट हुन्छ । यो नव युगको संकेत होइन । 

दैनिक कारोबार रकम खुम्चिनु, नयाँ लगानीकर्ता बजारमा आउन डराउनु र पुराना पनि भाग्ने तरखरमा भएको अवस्थामा लगानीकर्ताको मनोवल कसरी उठ्न सक्छ । यसतर्फ कसैको ध्यान पुगेको देखिदैन ।

पूँजी बजारका सर्बज्ञ ठान्ने अर्थमन्त्रीले पूँजी बजार उकास्ने दीर्घकालीन रणनीतिका बारेमा धेरै पटक प्रवचन दिएपनि सुधारको संकेत देखिएकाे छैन । पूँजी बजारलाई सेवा र उत्पादनशील क्षेत्रसँग जोड्ने भनिएपनि त्यसतर्फ ती क्षेत्रहरु आकर्षित भएका छैनन् ।

गैर आवासीय नेपालीहरुलाई पनि पूँजी बजारमा प्रबेश गराउने भनिएपनि त्यो नीति तथा कार्यक्रममा सिमित भएको छ । बैकहरुलाई ब्रोकर लाइसेन्स दिने भन्ने सन्दर्भ अनलाइन प्रणलीमा देखिएको अन्यौलसँगै ओझेलमा परेको छ । पूँजी बजारलाई नवयुगमा लाने अभियानमा नियामक निकायहरु कुम्भकर्ण बनेका छन् ।

पूँजी बजारलाई नवयुगमा लान भूमिका खेल्न सक्ने मार्केट मेकरको भूमिकाको बारेमा बहस हुन छाडेको छ । नागरिक लगानी कोष र सन्चयकोषलाई मार्केट मेकर लगिने भनेर पटक पटक सरकारको नीति तथा कार्यक्रममा परेपनि त्यो बिषय अगाडि नबढ्नु उदेकलाग्दो बिषय बनेकाे छ ।

 

सरकारी नियन्त्रणमा रहेको नेपालको एक मात्र पूँजी बजार नेपाल स्टक एक्सचेन्जको पुर्नसंरचना वा निजीकरण तत्काल गर्नुपर्ने भनिएपनि यो बिषयमा सिन्को भाँचिएको छैन । अर्थ मन्त्रालय र राष्ट्र बैंकको स्वामित्वमा पूँजी बजारलाई राखेर नेपालको पूँजी बजार नवयुगमा जाला ? बिश्लेषकहरु प्रश्न गर्न थालेका छन् ।

अर्थतन्त्रका बिज्ञ अर्थमन्त्री भएपनि उनकै पालामा पूँजी बजार नवयुगमा जाला त ? सरोकारवाला बिश्वस्त छैनन । बिना कुनै तयारी पूँजीगत लाभकरमा गरिएको एउटा हचुवा निर्णयले सेयर बजारमा कति खैलावैला भयो, कसरी निर्णयबाट सरकार पछि हट्नु प¥यो ? यस दृष्टान्तले अनुभवले पाका भएपनि दृष्टिकोणका आधारमा अर्थमन्त्री डा युवराज खतिवडा पनि पूँजी बजारको हकमा कच्चा हुने हुन् कि भन्ने उदाहरण धेरै अाउन थालेका छन् ।

अहिले मुलुक नवयुगमा प्रबेश गरेको भनेर सरकारले प्रचार गर्दैछ । सामाजिक सुरक्षा योजना लागू हुदैमा मुलुक नयाँ युगमा जानेपनि होइन । जनताको हातमा पूँजी नभई सामाजिक सुरक्षा हुनै सक्दैन । जनताको हातमा पूँजी बनाउने भरपर्दो श्रोत भनेकै पूँजी बजार हो । राज्यले स्पष्ट नीति बनाइ हरेक नागरिकलाई पूँजी बजारमा प्रवेश गराउने वातावरण बनाउनु पर्छ । बैदेशिक रोजगारी र बिप्रेषणले नवयुग ल्याउन सक्दैनन ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।