प्रतिहजार बीमाङ्कमा ७० प्रतिशत बोनस ग्यारेन्टी सहित नयाँ बीमा योजना "सानिमा जीवन श्री " सञ्चालक समितिका अध्यक्ष कुमार प्रसाद कोइरालाद्धारा सार्वजनिक गरिएको हो ।
सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिहजार ७० रुपैयाँ बोनसको ग्यारेन्टी सहित नयाँ जीवन बीमालेख योजनाको घोषणा गरेको हो । यस योजना अन्तर्गत इन्स्योरेन्सले नोक्सानको अवस्थामा समेत प्रतिहजार बीमाङ्कमा ७० रुपैयाँ बोनस प्रदान गर्ने जनाएको हो ।
यस योजनामा १६ वर्ष देखि ६० वर्ष उमेर सम्मका व्यक्तिहरुले न्यूनतम ५ लाख रुपैयाँ वा सो भन्दा बढी रकमको बीमा गर्न सकिन्छ । यस योजनाका लागि बीमा अवधि १०, १५, २०, २५ वर्ष र बीमा शुल्क भुक्तानी अवधि क्रमश: ६ , १० ,१५ , १८ निर्धारण गरिएको छ । बीमितले बोनस भने बीमा अवधि बराबरकै प्राप्त गर्ने इन्स्योरेन्सले जनाएको छ ।
यस योजनाले जीवन बीमाको क्षेत्रमा ग्राहकहरुका लागि उत्कृष्ट आर्थिक तथा बचत योजना सावित हुने कम्पनीको विश्वास छ ।
सानिमा लाइफ गैर आवासीय नेपालीहरुद्धारा प्रवद्धित संस्था हो । इन्स्योरेन्स कम्पनीले २०७४ साल कात्तिकमा बीमा समितिबाट इजाजत प्राप्त गरी गत मंसिर २२ गते देखि व्यवसायिक कारोबार शुरु गरेको थियो ।
एक वर्षको अवधिमा कम्पनीले कूल ७ हजार ३ सय ३२ बीमालेखबाट १९ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।
देशभरमा २५ शाखा कार्यालयहरु रहेको सानिमाले हालसम्म ८ ओटा बीमा योजनाहरु जारी गरेका छन् । कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब र चुक्ता पूँजी १ अर्ब ४० करोड रूपैयाँ छ ।
कम्पनी ६० करोड रुपैयाँ बराबरको सर्वसाधारणलाई आईपिओ जारी गर्ने तयारीमा छ ।