असार मसान्तको प्रभावले शेयर बजारमा बिक्री चाप, नेप्सेमा दोहोरो अंकको गिरावट

Jun 30, 2019 04:11 PM merolagani

असार मसान्तमा कर्जाको सावाँ तथा व्याज तिर्नुपर्ने दबाबका बीच शेयर बजारमा बिक्री चाप बढेको छ । त्यससंगै नेप्से दोहोरो अंकले घटेको छ । नेप्से घटेपनि सस्तोमा शेयर उठाउनेहरु सक्रिय रहदा कारोबार रकममा भने सुधार आएको छ ।

साताको पहिलो दिन तथा असारको मध्यमा लगानीकर्ताहरुमा शेयर बिक्रीको मनस्थिति बन्दा कारोबार रकम ६४ करोड रुपैयाँ बढी पुग्यो । अधिकाँश कम्पनीको शेयरमूल्य उल्लेखनिय रुपमा घटेर नेप्से सूचक १२.२७ अंकले ओरालो लागेको छ ।

आइतबार कारोबारमा आएका ११ वटै उपसहुको सूचक नकारात्मक हुदाँ नेप्से दोहोरो अंकले घटेर १२४४.८९ विन्दुमा झरेको हो । यस दिन सबै भन्दा धेरै निर्जीवन बीमा समुहको सूचक ५९.९७ अंकले घटेको छ । यस्तै जीवन बीमाको ५८.२९, उत्पादन तथा प्रशोधन ३६.३८, माइक्रोफाइनान्स १५.३९, हाइड्रोपावर १३.१३, विकास बेंक १२.६९ र वाणिज्य बैंक ११.८५ अंकले नकारात्मक बनेको छ ।
आइतबार १७२ कम्पनीका २३ लाख ६१ हजार ५०० कित्ता शेयर किनबेच भएर ६४ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भयो । गत विहिबार ६२ करोड ७९ लाख रुपैयाँको कारोबार भएको थियो ।
पहिले देखि नै कमजोर देखिएको लगानीकर्ताको मनोबल बिक्री चापले झन कमजोर बनाएपनि सस्तोमा राम्रा कम्पनीहरुको शेयर किनेर लगानी विविधिकरण गर्दै जाने अवसर भने सिर्जना भएको छ ।

आइतबार ग्लोवल आईएमई बैंकको संस्थापक शेयर सबैभन्दा धेरै १० करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै नेपाल बैंकको ६ करोड ३९ लाख, शिवम सिमेन्टको ५ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भयो ।

प्रभु बैंक र एनसीसी बैंकको ३ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुदाँ सिद्धार्थ बैंक, हिमालयन डिस्टीलरी र नविल बैंकको २ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन स्वाभिमान लघुवित्तको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । स्वाभिमानको शेयरमूल्य ९.७१ प्रतिशतले बढेको हो । यस्तै मल्टिपर्पस फाइनान्सको ५.०४, अरुण काबेली पावरको ३.२८ , सिभिल लघुवित्तको २.१९ र युनिलिभर नेपालको शेयरमूल्य २ प्रतिशतले सुधार भएको छ ।

यता रैराङ्ग हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ६.९५ प्रतिशतले घटेको छ । गुराँस लघुवित्तको पनि शेयरमूल्य ५.९२ प्रतिशतले घटेको छ । यस्तै शिवम सिमेन्ट, सिन्धु विकास बैंक, नेपाल एग्रो लघुवित्त लगायतको शेयरधनीले ४ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।

comments powered by Disqus