सानिमा बैंक र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण

Jan 15, 2020 08:33 AM Merolagani



सानिमा बैंक लिमिटेड (SANIMA) र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ।

उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई प्रतिव्यक्ति २० हजारसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनःनवीकरण गरिएको हो। सानिमा बैंकले प्रत्येक “नारी बचत खाता” बापत बैंककोतर्फबाट मासिक १ रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ। उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता गरेको हो।

सानिमा बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतापत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल र पाटन अस्पतालका तर्फबाट निर्देशक डा. विष्णु प्रसाद शर्माले हस्ताक्षर गरेका थिए।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई उपलब्ध गराउने सो सहयोग रकमले निम्न आयस्तर भएका महिलाहरुको उपचारमा राहत पुग्नुका साथै बैंकको सो कदम प्रशंसनीय रहेको पाटन अस्पतालका निर्देशक शर्माले बताए।