बाेनस शेयर पठाउन किन ढिला ? नियामकले डण्डा लगाउनु पर्ने हो ?

Jan 15, 2020 06:31 PM Merolagani



  • नेपाल बैकले गत पुस २५ गते साधारण सभा गर्‍यो । सोही साधारण सभाले बैंकले घोषणा गरेको २५ प्रतिशत लाभांश पारित गर्‍यो । उसले साधारण सभा सकिएको दुई घण्टामै शेयरधनीको खातामा १० प्रतिशत नगद लाभांश जम्मा गरिदिएको छ । शेयरधनीको खातामा सबैभन्दा छिटो नगद लाभांश पठाइ दिएको यो नै पहिलो पटक हो ।

  कम्पनीले घोषणा गरेको बोनस समेत छिटो भन्दा छिटो पठाइदिने शेयरधनीलाई साधारण सभामै      बचन दिएको छ ।

  • छिमेक लघुवित्त वित्तीय संस्थाले गत २०७६ वैशाख ३० मा साधारण सभा गर्‍यो भने जनउत्थान लघुवित्तले २०७६ साउन ३० मा साधारण सभा गरेको हो । दुवैले घोषणा गरेको बोनस शेयर भने गत पुसको हिलो हप्ता मात्रै लगानीकर्ताको खातामा पठाए । छिमेकले बोनस शेयर पठाउन आठ महिना लगायो भने जनउत्थानको पाँच महिना लाग्यो ।

 

सुवास निरौला

दोस्रो बजारमा सूचीकृत केही कम्पनीहरूले बोनस शेयर पठाउन असाध्यै ढिलो गर्नेगरेका छन् । उनीहरूको ढिलासुस्तीले दोस्रो बजारका लगानीकर्ता हैरान भएका छन् । नगद लाभांश पठाउन कन्जुस्याइँ नगर्ने कम्पनीहरू बोनस शेयर पठाउन भने अल्छी देखिने गरेका छन् । उनीहरूले अल्छी गर्दा तरल सम्पत्ति बर्षौ बन्धक हुने गरेको लगानीकर्ताको गुनासो छ । कम्पनीहरूले यतिसम्म ढिलो गर्ने गरेका छन् कि उनीहरूले बोनस शेयर पठाउन अढाई वर्ष भन्दा बढी लगाउने गरेका उदाहरण भेटिएका छन् ।बजारमा सूचीकृत प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले २०७४ चैत ४ गते साधारण सभा गर्‍यो । उसले बोनस भने अढाई वर्षपछि गत मंसिरमा पठायो ।

यति धेरै समय बाेनस शेयर पठाउन विलम्ब हुँदा नियामकले केही भूमिका नखेलेको गुनासो लगानीकर्ताको छ । लामो समयसम्म बोनस शेयर नपठाउने कम्पनीहरूलाई सचेत गराउनु पर्ने माग लगानीकर्ताहरूको छ । 'लामो समय सम्म लगानीकर्ताको खातामा बोनस शेयर नपठाउने कम्पनीहरूलाई नियामकले नियम दायरामा ल्याउन पहल गर्नै पर्छ' नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष तुलसीराम ढकालले भने । नियमको दायरामा ल्याउनेसँगै समय समेत छोट्ट्याउनु पर्ने उनको जिकिर छ । 'पहिलो कुरो त नियमको दायरामा ल्याउन नियामकले पहल गर्नु पर्छ नै त्यसका अतिरिक्त अब समय समेत छोट्ट्याउनु पर्छ ' ढकालले भने । त्यसकालागि नियामकले सम्बन्धित निकायहरूसँग समन्वय गर्नु पर्ने उनको सुझाव छ ।

समयमा बोनस शेयर नआउँदा लगानीकर्ताको तरल सम्पत्ति बन्धक हुने गरेको शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले बताए । जसले छिटो छिटो कारोबार गरेर चाँडै नाफा गर्नु पर्ने बजारमा यसले लगानीकर्तालाई अप्ठ्यारोमा पार्ने गरेको उनको गुनासो छ ।नियम अनुसार कम्तीमा पनि ६० दिन भित्रै लगानीकर्ताको खातामा शेयर पठाउने व्यवस्था गर्नु पर्ने उनको भनाई छ । 'अझै सकिन्छ भने यो सीमा समेत घटाउन पहल गर्नु पर्छ' अर्यालले भने ।

बोनस शेयर सबैभन्दा छिटो पठाउनेमा वाणिज्य बैकहरू अघि देखिएका छन् । आर्थिक वर्ष २०७४/७५ मा सबैभन्दा छिटो एनसिसि बैंकले साधारण सभा गरेको २२ दिनमै शेयरधनीको खातामा बोनस शेयर पठाएको थियो । सोही वर्ष सेन्चुरी बैंकले सबैभन्दा ढिलो बोनस शेयर खातामा पठाएको हो । उसले साधारण सभा सकिएको एक सय १० दिनमा बोनस शेयर पठाएको थियो । आर्थिक वर्ष ७४ /७५ मा वाणिज्य बैकहरूको बोनस शेयर खातामा आउन औसत ६३ दिन लागेको थियो ।

आर्थिक वर्ष २०७५/७६ मा वाणिज्य बैकहरू मध्ये सबैभन्दा छिटो ग्लोबल आइएमइ बैकले बोनस शेयर पठाएको छ । उसले ३६ दिनमा शेयर पठाएको हो । सिटिजन्स बैकले ८३ दिन लगाएको छ भने केही बैक अझै शेयर पठाउने तयारीमा छन् । यस वर्षको तथ्याङ्क अनुसार यति बेलासम्म औसत ६२ दिन लागेको छ

  •  बोनस शेयरका लागि प्रकृयै लामाे

नगद लाभांश पठाउन कुनै समस्या नभए पनि बोनस शेयर खातामा पठाउने प्रकृयानै लामो भएकोले तत्कालै पठाउन नसकिएको एक वाणिज्य बैकका कम्पनी सचिवले भने  । उनका अनुसार सबैभन्दा पहिले कम्पनीले साधारण सभा मार्फत लाभांश पारित हुन्छ । उक्त लाभांश पारित भएपछि माइन्युटमा सबै संचालकको हस्ताक्षर लिन एक साता भन्दा बढी लाग्ने गर्छ । उक्त प्रस्ताव पुन संचालक समितिको बैठकले कम्पनी रजिष्ट्रार र नेपाल राष्ट्र बैक पठाउने अख्तियारी दिन्छ ।

नेपाल राष्ट्र बैकमा निवेदन दिएको सात दिन भित्रै केन्द्रीय बैकले निर्णय गरिदिन्छ । केन्द्रीय बैकको निर्णय सहितको पत्र लिएर कम्पनी रजिस्ट्रार कार्यालय जानु पर्छ । किनकि बोनस शेयर जारी भएपछि कम्पनीको चुक्ता पूँजी वृद्धि गर्नु पर्ने हुन्छ । जसकालागि कम्पनीको प्रबन्ध पत्र वा नियमावली संशोधन गर्नु पर्छ । त्यसका लागि कार्यालयमा थप केही समय लाग्ने गर्छ । कम्पनी एन २०६३,को दफा २१ को प्रबन्ध पत्र वा नियमावली संशाेधन व्यवस्थाको उपदफा १ मा साधारण सभा सकिएको तीस दिन भित्र निवेदन दिनु पर्ने र उक्त निबेदन परेको सात दिन भित्र कार्यालयले अभिलेख गरी जानकारी दिनु पर्ने भनेको छ । सोही व्यवस्था अनुसार कम्पनीहरू रजिष्ट्रारको कार्यालय जाने गरेका हुन् । कम्पनी रजिष्ट्रारपछि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र केन्द्रीय निक्षेप प्रणालीमा बोनस शेयर दर्ता गराउनु पर्छ । यही कारण समय लाग्ने गरेको सचिवको भनाई छ ।

  • 'हामीबाट ढिला हुन्न'

तर केन्द्रीय बैक र कम्पनी रजिष्ट्रार कार्यालयले भने उनीहरूको कारण ढिलो नभएको बताएका छन् । केन्द्रीय बैकले जति सक्दो चाँडै निर्णय गरिदिने गरेको जनाएको छ । 'हामीले बढीमा सात दिन लगाउने हो त्यसमा पनि अहिले त झन् छिटो हुने गरेको छ । हाम्रा कारणले शेयरधनीको खातामा वोनस शेयर ढिलो गएकै होइन' केन्द्रीय बैक स्रोतले भन्यो ।

उता कम्पनी रजिष्ट्रारको कार्यलयले त दुई दिनमै गरिदिने गरेको दाबी गरेको छ । 'जतिसुकै भीड भाड भएपनि हामीले बोनस शेयर अभिलेख गर्न दुई दिन भन्दा बढी समय लगाएकै छैनौ' कम्पनी रजिष्ट्रार कार्यालयका प्रवक्ता सन्तोष दाहालले भने । अझै कार्यालयले नियम अनुसार नै सात दिन समय पाउने गरेको छ। तर कम्पनीको सुबिधाको लागि फास्ट ट्रयाकमा काम गरिदिने गरेको उनको भनाई छ । अझै कम्पनी छिटो गरिदिन अनुरोध गरे बोनस शेयर अभिलेखको हकमा थप व्यवस्था गरिदिने उनले बताए ।   

 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।