राष्ट्र बैंककै नयाँ निर्देशनका कारण शेयर बजारमा ठूलो गिरावट आयो भन्न थालिएको छ नि ?
यो कुरै नबुझी गरिएको टिप्पणी हो । हामीले बैंक तथा बित्तीय संस्थाले पूँजी बजारमा लगानी गर्न पाउने जम्मा पूँजीको ३० प्रतिशतको सीमा हटाएका छैनौं । उनीहरुले यो ३० प्रतिशत मध्ये दैनिक शेयर किनबेचमा १ प्रतिशत मात्र परिचालन गर्नु र अरु दीर्घकालीन लगानीमा लगाउनु भनी सिमा तोकिदिएको मात्रै हो । जस्ले १ प्रतिशत भन्दा बढी पूँजी परिचालन गरेका छन् उनीहरुलाई अब नबढाऊ मात्रै भनेर संझाएको हो र तुरुन्तै शेयर बेच्नु भनेर निर्देशन पनि दिएका छैनौं । अहिले किनिएका शेयरहरु दीघकालीन लगानी हो भनेर पनि उनीहरुले यही ३० प्रतिशत भित्रै समायोजन गर्न सक्छन् । तुरुन्तै शेयर बेच्न कुदिहाल्नु पर्ने अबस्था हामीले सिर्जना नगरी दश महिनाको समय दिएका छौ. । त्यसभित्र कुन दैनिक किनबेचका हुन, कुन सिमाबद्ध हुन र कुन दीर्घकालीन हुन् भनेर छुट्याउनुपर्ने हुन्छ । त्यसैले हाम्रो कारणले शेयर बजारमा बेच्नेहरुको बाढी आयो भन्ने आरोप गलत छ । हाम्रो कारणले कुनै बैंक वा बित्तीय संस्थाले शेयर बेच्न हतारिनुपर्ने कुनै कारण छैन् । ३० प्रतिशतको सीमा भित्रै रहेर पूँजी बजारमा संलग्न हुन कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुलाई कुनै बाधा ब्यवधान छैन् ।
उसो भए बजार घटिरहेकै बेला तपाईहरुले किन यस्तो निर्देशन दिनुभयो त ?
हेर्नुस, बैंक तथा बित्तीय संस्थाहरुको उद्धेश्य दीघकालीन लगानी गर्ने हो, आजको भोलि नै नाफा कमाउने, दैनिक शेयर किनबेच गरेर नाफा देखाउने हैन । यहां कस्तो अबस्था देखियो भने कतिपय बित्तीय संस्थाले यही दिनदिनै शेयर किनबेच गरेर उस्को आम्दानीको ९० प्रतिशत रकम कमाएको पनि पाईयो । आज शेयर किन्यो, नाफा भए भोलि बेच्यो गर्ने काममा बैंक तथा बित्तीय संस्थाहरु बढी संलग्न हुन थाले । बिशेष गरी फाईनान्सहरु यसमा बढी देखिए । यसैगरी चल्न दिने हो भने त भोलि वित्त बजारमा ठूलै समस्या आउनसक्छ भनेर हामीले सीमा तोकेका हौं । यसलाई स्वयं बैंकरहरु र वित्त कम्पनीका लगानीकर्ताहरुले राम्रो भनेका छन् ।
त्यसो हो भने पूँजी बजारका लगानीकर्ताहरुलाई यो कुरा स्पष्ट पार्नु पर्दैन त ?
हामीले भनेको कुरा स्पष्ट नै छ नि । हाम्रो सर्कुलरले स्पष्ट रुपमा बोलेको छ । तपाई पत्रकारहरु मार्फत पनि हामीले स्पष्ट पारिरहेका छौं । यो भन्दा बढी कसरी स्पष्ट पार्ने ?
लगानीकर्ताहरु ब्रोकरहरुको कार्यालयमा त्रसित हुँदै जतिमा क्रेता आयो त्यति मै शेयर बेचेर किन भागिरहेका छन् त ? केही दिन यताको नेप्से तीब्र रुपमा ओरालो झरेको अबस्थाबारे के भन्नुहुन्छ ?
हेर्नुस शेयर बेच्नेहरुलाई हाम्रो तर्फबाट भन्नु केही छैन् । त्यो शेयर बजारको कुरा हो । किन मानिसहरु यति धेरै तल झरेर शेयर बेचिरहेका छन्, किन उनीहरुमा त्रास छ त्यो त थाहा भएन तर हामीलाई शंका भने लागेको छ कि राष्ट्र बैंकले जारी गरेको सर्कुलरलाई देखाएर केही पक्षले नाजायज फाईदा लिने काम गरेका हुनसक्छन् । त्यसबारे लगानीकर्ता, शेयर दलालहरु र निमायक निकायहरु नै चनाखो हुनुपर्छ । म फेरि भन्छु – हाम्रो कारणले आकाश खस्ने अबस्था आएको छैन्, कोही आत्तिनु पर्दैन र शेयर बेच्न दौडीहाल्नु पनि पर्दैन । हाम्रो निर्देशन समग्र बैकिङ क्षेत्र र लगानीकर्ताकै हितमा छ, यसले पूँजी बजारलाई झन् स्थायित्व दिन्छ ।
अनत्यमा, यस बर्ष बैंक तथा बित्तीय संस्थाहरुलाई लाभांश तथा बोनस शेयर वितरणमा कस्तो मार्गनिर्देश गर्नुभएको छ ?
हेर्नुस, हामीले स्पष्ट रुपमा भनेका छौं अनिवार्य पूँजी नपु¥याएका संस्थाले नगद लाभांश दिन पाउँदैनन् । उनीहरुको पूँजी पुगेको कुरा २०७१ को ब्यालेन्ससिटमा स्पष्ट रुपमा देखिनै पर्छ । त्यो नदेखिएमा थप ऋण परिचालन, निक्षेप संकलन र शाखा विस्तार समेत रोकिन्छ । यस्तो अबस्थामा उनीहरुले पूँजी पु¥याउन यस बर्षको खुद नाफा र जगेडा कोषको रकम प्रयोग गर्न सक्छन् । पूँजी पुगेका अरु संस्थालाई पनि हामीले पूँजी बढाउन लगानीकर्तालाई बोनस शेयर दिनमै प्रोत्साहित गरेका छौ किनभने पूँजी धेरै भएमा नै संस्था बलियो हुनसक्छ । बढी ऋण प्रबाह गरी बढी नाफा कमाउनसक्छ । पूँजी धेरै भएका संस्थाहरु कम जोखिमपूर्ण हुन्छन । कुनै ठूलो ऋण खराव कर्जामा परिणत भयो भने पनि पूँजी कोष नै नकारात्मक हुने अबस्था आउने संभावना कम हुन्छ ।