ग्राण्डलाई राष्ट्र बैंकले नियन्त्रणमा नलिने, चाडै सुधार ल्याउने प्रमुख कार्यकारीको प्रतिबद्धतामा निमायकको विस्वास

Aug 25, 2014 Mero Lagani



निस्क्रिय कर्जा ह्वात्तै बढेर १ अर्ब ६० करोड रुपैया घाटामा गएको ग्राण्ड बैंकको ब्यवस्थापन नेपाल राष्ट्र बैंकले नियन्त्रणमा नलिने भएको छ ।  

गत आर्थिक बर्षको चौथो त्रैमासिक प्रतिबेदनमा ग्राण्ड बैंकको निस्क्रिय कर्जा झण्डै २० प्रतिशत पुगी सो वापत १ अर्ब ९३ करोड जोखिम ब्यवस्थापन कोषमा राख्दा पुँजीकोष नकारात्मक भएको देखाईएको छ । सो लगत्तै राष्ट्र बैंकले ग्राण्ड ब्यवस्थापनलाई किन कारबाही नगर्ने भनी स्पष्टिकरण सोधेको थियो । त्यस्को जवाफ समेत ग्राण्ड ब्यवस्थापनले राष्ट्र बैंकलाई बुझाईसकेको छ तर त्यसमाथि निर्णय हुन भने बांकी रहेको राष्ट्र बैंकले जनाएको छ ।
 
 राष्ट्र बैकका प्रबक्ता मनमोहनकुमार श्रेष्ठले ब्यवस्थापनले निस्क्रिय कर्जा असुल गरी चाडै बैंकलाई स्वस्थ बनाउने प्रतिबद्धता ब्यक्त गरेको जानकारी दिनुभयो । उहांले ग्राण्डका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्री निकै अनुभवी ब्यवस्थापक रहेको र उहाँप्रति आफुहरुको विस्वास रहेकाले पर्ख र हेरको नीतिमा राष्ट्र बैंक रहेको बताउनुभयो । निस्क्रिय कर्जा धेरै भएको बैंकमा निक्षेप बढाउनु जोखिमपूर्ण हुने तर्फ भने सर्वसाधारण सचेत हुनुपर्ने उहाँको भनाई छ ।