सूचीकृत कम्पनीहरू लक्षित वर्गमा सूचना पुगाेस् भन्ने चाँहदैनन्,चाहेकाे भए उपेक्षा किन ?

Feb 06, 2021 10:16 AM Merolagani

सुवास निरौला

यो लेखको सुरुवात एक स्मरणबाट गर्दैछु। आज भन्दा करिब २० वर्ष अघि २०५७/५८ साल तिरको कुरा हो। विराटनगरमा कार रेस प्रतियोगिता आयोजना हुँदै थियो।

त्यो कार्यक्रमकाे आयोजक मध्ये एक थिए सुरेन्द्र गोल्छा। कार्यक्रमकाे प्रस्ताेताकाे रूपमा छानिँए म । काेशी एफएफमा समाचारवाचक भएकाे हुनाले मेराे त्यहाँ सिफारिस भएकाे रहेछ । 

कार्यक्रम चलाउने भएपछि म गाेल्छालाइ भेट्न गोल्छा हाउस पुगे। गोल्छालाई भेट्न त्यति सजिलो थिएन। केहीबेरकाे प्रयासपछि गाेल्छासँग कुराकानी भयाे तर उनले सिफारिस भएका अाधारमा प्रस्ताेताकाे जिम्मेवारी दिएनन् ।

उनी कामको सिलसिलामा सिफारिस सहित आएका मानिसको कामको काबुलियत नगरी कसैलाई पनि कुनै कामको जिम्मेवार नदिने खालका प्रोफेसनल बिजनेस म्यान रहेछन्। मैले कार्यक्रम प्रस्तुतिकाे डेमाे पाे देखाउनु पर्ने भयाे । मलाइ दिइएकाे पाँच मिनेटमा मैले डेमाे प्रस्तुत गरें । म रेडियाे कार्यक्रम प्रस्ताेता भएकाेले डेमाे बनाउने कुराे ठूलाे थिएन । मेराे प्रस्तुतिलाइ बिचमै राेकेका गाेल्छाले साे कार्यक्रमकाे जिम्मेवारी र पारिश्रमिक दुवै तोकिदिए।

यो प्रसङ्ग यहाँ जोड्नुको अर्थ हो,बिजनेस म्यानले काम गर्दा सिफारिसलाई मात्रै आधार मानेर काम गर्नु हुँदैन भन्ने गाेल्छाकाे सन्देश पनि हाे ।

गोल्छासँग दोस्रो पटक भेटहुँदा एक स्थानीय एफएमका बजार प्रतिनिधि गोल्छासँग विज्ञापनको विषयमा कुराकानी गर्न आएका थिए। 

ती बजार प्रतिनिधि र गोल्छाको कुराकानी म ध्यानपूर्वक सुन्दै थिए। बजार प्रतिनिधिले विज्ञापन दिन अनुरोध गरे। गोल्छाले "कति ठाउँमा तपाइको रेडियो सुनिन्छ" भने। उनले विराटनगर सहित आसपासका यति जिल्लामा रेडियो सुनिने जानकारी दिए। त्यसपछि गोल्छाले भने "कति छ रेट"। उनले आफ्नो रेट सुनाए। गोल्छाले छेउमै रहेको क्यालकुलेटर थिचे र महँगो भएको जानकारी दिए।

कसरी ? भनेर प्रतिनिधिले सोधे। उनले भने "तपाइको सात जिल्लाको जनसङ्ख्या यति छ। ती जनसङ्ख्यामा भाग लगाउँदा सबैले रेडियो सुने भने प्रति व्यक्ति यति खर्च लाग्दो रहेछ। त्यही विज्ञापन देशै भरी सुनिने रेडियोमा मैले बजाउँदा यति पैसा तिरिरहेको छु। त्यसको कभरेज एरियामा भाग लगाउँदा तपाइको महँगो भयो ।"

बजार प्रतिनिधिले तर्क पेस गरे "जुन रेडियोको तपाई कुरा गर्दै हुनुहुन्छ त्यसकोमा दिनु र हाम्रोमा दिनु निक्कै भिन्नता छ" ।

गोल्छाले जबाफ फर्काए "म बिजनेस म्यान हो। त्यसको भन्दा बढी फाइदा हुने तर्क पेश गर्नुस्। फाइदाको लागि हुन्छ भने म पछि हट्ने छैन। तर फाइदा मलाइ हुनै पर्छ" ।

उनले तर्क पेस गरे "जुन रेडियोको कुरा गर्दै हुनुहुन्छ त्यो रेडियोको टिआरपी भन्दा हाम्रो धेरै छ। अर्को त्यो रेडियो जहाँ सुनिदैन त्यहाँ हाम्रो सुनिन्छ। त्यसले गर्दा पनि ती मानिसलाई कभर गर्न पनि हामीलाई दिनै पर्ने बाध्यता तपाइलाई छ ।"  खासमा उनको रेडियो पूर्वी पहाडमा बढी सुनिने दाबी थियो। गोल्छा थोरै कन्भिन्स भए। रेटमा थोरै मोलमोलाइ चल्यो। पछि विज्ञापन दिन उनी राजी भए तर उनले एउटा विज्ञापन मात्रै दिने बताए। बजार प्रतिनिधिले सबै प्रडक्टको दिनु पर्ने भन्दै फेरि जोड गरे। गोल्छाले पुन: उनलाई सम्झाउँदै एउटै प्रडक्टको बिज्ञापन दिनुको अर्थ सम्झाए।

"तपाइले जुन जिल्लामा रेडियो सुनिन्छ भन्ने दाबी गर्नु भयो। त्यो क्षेत्रको लागि यही प्रडक्ट बढी सुहाउँछ। किनकि मरो प्रडक्टहरू मध्ये सबैभन्दा बढी उपयोग गर्ने जिल्ला तिनै हुन्। अरू प्रडक्ट ती जिल्लाले खपत गर्दैनन्। जसले गर्दा त्यहाँ विज्ञापन गर्नु अहिलेकोलागि कुनै फाइदा हुँदैन ।"

उनले छेउमै रहेको एक भारतीय अग्रेजी अखबारमा छापिएको एक विज्ञापन देखाउँदै  भने "म यति सम्मको बढी पैसा भएको व्यक्ति होइन । "त्यो अखबारमा एक बिँडीको विज्ञापन थियो। उनले त्यसलाई देखाउँदै भने। "हेर्नुस् जसले बिँडी पिउँछ उसले कमै अङ्ग्रेजी बुझ्छ। जसले अङ्ग्रेजी बुझ्छ उसले कमै मात्र बिँडी पिउँछ। बिजनेसमा एक दुई र अपवादलाई टार्गेट गरिँदैन। मास टार्गेट हुन्छ। यो अङ्ग्रेजी अखबारमा बिँडीको विज्ञापन दिनु मेरो नजरमा पैसाको बर्बादी हो।

अखबारको मामलामा एक भनाइ छ। जसले अखबार पढ्दैन उसले फोटो भएपनि हेर्छ। त्यही कारण अखबारमा फोटो राखिन्छ। एक वर्ग अखबारमा फोटो मात्रै हेर्ने पनि हुन्छन् भन्ने अध्ययनले देखाएको पनि छ। उसले सोही आधारमा अङ्ग्रेजी नजान्नेले पनि फोटो हेर्छ भन्ने तर्कले दिएको हुन सक्छ। तर फोटो हेर्नकै लागि अखबार किन्ने मानिस कति होलान् ?

हो यही कारणले मैले पहाडी जिल्लामा अहिलेको अवस्थामा जस्तापाताको मात्रै दिएको हो। जुन दिन अरू प्रडक्ट ती जिल्लाले खपत गर्लान् त्यही दिन बढाउँला। उनले दिएको विज्ञापन हुलास जस्ता पाताको थियो।

गोल्छाले दुई दशक अघि विज्ञापनको विषयमा दिएका तर्कले मलाइ पनि घोत्लिन बाध्य बनायो। उनले जसरी विज्ञापनको रणनीति सुनाए त्यसले धेरै कुरा मलाइ जानकारी गरायो। उनले भनेको कुराको सांरश मैले यस्तो बुझे। विज्ञापन दिँदा कति मानिसले हेर्छन् र तिनको भागमा कति पैसा खर्च हुँदो रहेछ भन्ने कुरा विज्ञापन दाताले पहिले हिसाब गर्नु पर्ने रहेछ। आफ्नो प्रडक्टको लक्षित वर्गको आधारमा विज्ञापन दिइँदो रहेछ। विज्ञापनमा गरिएको खर्चले व्यापार वृद्धि हुनै पर्ने रहेछ। विज्ञापन सही ठाउँ र लज्ञित वर्ग सम्म पुग्ने गरी मात्रै दिनु पर्ने रहेछ।

लज्ञित वर्गमा विज्ञापन दिनै पर्ने रहेछ भन्ने अर्को उदाहरण ब्लु फिल्ममा आउने विज्ञापनले पुष्टि गर्छन्। तपाइले लुकी छिपी इन्टरनेटमा ब्लु फिल्म हेर्नु भएको छ भने त्यहाँ बेला बेलामा नेपालीमा लिङ्गको आकार बढाउने, घटाउने,स्तन घटाउने बढाउने लगायतका यौनसँग सम्बन्धित लगायतका विज्ञापन आउँछन्। जसले त्यस्ता सिनेमा हेर्छन्,तिनैले ती प्रडक्टका माग गर्छन्। सोही कारण ती बस्तुको विज्ञापन त्यहाँ दिइएको हो। त्यो विज्ञापन दातामा भएकाे ज्ञानको दख्खल  हो।

सूचना वा विज्ञापनको बढी प्रभावकारिताका लागि पछिल्लो समय विज्ञापन दाता र सूचना दिनेले नयाँ नयाँ क्षेत्रको पहिचान गर्न थालेका छन्। यही कारण पछिल्लो समय विज्ञापनको क्षेत्र पनि फराकिलो बन्दै गएको छ। सामाजिक सञ्जाल र इन्टरनेटमा आधारित सामग्रीमा विज्ञापनदाता फोकस हुन थालेका छन्। विज्ञापन दाताले समेत त्यस्ता क्षेत्रमा विज्ञापन गर्दा बढी लाभ पाइरहेको देखिन्छ। जुन हिसाबले विज्ञापन आइरहेका छन् त्यसले तीनै कुराको पुष्टि गर्छ।

ती क्षेत्रमा विज्ञापन बढ्नुको कारणको रुपमा मानिसको संलग्नतालाई लिन सकिन्छ। मानिस हिजो आज टेलिभिजन र पत्र पत्रिका भन्दा बढी इन्टरनेटमा आधारित सामग्रीमा बढी भुलिन थालेका छन्। इन्टरनेटमा आधारित सामग्रीले मानिसलाई बढी भुलाउने भएकै कारणले विज्ञापन दाताको रोजाइमा इन्टरनेटमा आधारित सामग्रीमा बढ्दै गएको हो।

पत्र पत्रिकाकाे घट्दै गएको सर्कुलेशनले पनि यही कुरा पुष्टि गर्छन्। एक दशक अघिसम्म दैनिक,साप्ताहिक र मासिक जति पत्र पत्रिका निष्कासन हुन्थे। हिजो आज ती सबै पत्र पत्रिका पसलमा पाइन छाडेका छन्। कतिले प्रकाशन बन्द गरेका छन् भने धेरैको प्रकाशन भएपनि दैनिक सर्कुलेशनमा कमी आउँदै गएको छ। २० औ वर्षदेखि पत्रिका बेचिरहेका केही व्यवसायीहरूले  व्यवसाय परिवर्तन गर्न बाध्य भएका छन् ।मानिसहरूले पत्रपत्रिकामा भन्दा बढी समय इन्टरनेटलाई दिन थालेका छन्। त्यही कारण सूचना र विज्ञापन दाताको फोकस इन्टरनेटमा आधारित सामग्रीमा बढेको हो। 

विशेष गरेर मैले पूँजी बजारको विषयमा कलम चलाउँदै आएको छु। यो क्षेत्रमा लाग्ने मानिस दैनिक बढ्दै गएका छन्। दैनिक बढ्दै गएका लगानीकर्तालाई मध्यनजर गर्दै यही क्षेत्रमा आधारित रहेर पत्रिका र अनलाइन पत्रिका समेत प्रकाशन हुँदै आएका छन्। तीनका पाठक पनि त्यही अनुरूप बढ्दै गएका छन्। शेयर कारोबार गर्ने मानिसले निश्चित अनलाइन पोर्टल हेरेकै हुन्छन्। उनीहरुको लागि नियमित सूचनाको स्रोत नै इ पोर्टल हुन थालेको छ। तर अचम्म लाग्दो कुरा के छ भने पोर्टलमा आउने विज्ञापन भने पूँजी बजारसँग जोडिएका भन्दा अन्य क्षेत्रका बढी देखिन्छन्।

पूँजी बजारमा सूचीकृत कम्पनीहरूलाई आफ्ना शेयधनीलाई दिनु पर्ने सूचना खासमा त्यस्ता पोर्टलमा दिए सबैभन्दा बढी प्रभावकारी हुने देखिन्छ। तर सूचीकृत कम्पनीहरूले आफ्ना शेयर धनीलाई दिने विज्ञापन ती बाहेकका पत्रपत्रिकामा बढी आउँछन्। जसले लक्षित वर्ग भन्दा बाहिर कम्पनीहरूले विज्ञापनमा खर्च गरिरहेका छन्। जसले ती सूचनाको प्रभावकारिता तुलनात्मक रुपमा कम देखिन थालेको छ।

एक दिन रिपोर्टिङकै क्रममा नबिल बैकले गत बर्षहरूमा कति बोनस दिएको थियो भनेर नबिल इन्भेस्टमेन्टसँग सूचना मागेको थिए। त्यहाँका एक अधिकारीले "यस्तो सूचना पनि के हामीसँग माग्नु' पर्छ ? मेरो लगानी पोर्टलमा हेर्नुस् न त्यहाँ कम्पनीका प्रत्येक महिनाका वासलात देखि कति कारोबार कति लाभांश सबै इतिहास देखिन्छ" भन्ने जबाफ दिए। संयाेगले मैले काम गर्ने पाेर्टलकै नाम दिए ।

सूचिकृत कम्पनीका सबै विवरण राख्ने नेपालमा केही अनलाइन पोर्टल छन्। कम्पनीले पैसा तिरेर छपाउने ती सूचना र विज्ञापन भने ती पोर्टलहरूले सित्तैमा सङ्ग्रह गरिदिन्छन्। 

तर दुर्भाग्य कम्पनीले आफ्ना शेयर धनीलाई लक्षित गरेर विज्ञापन वा शेयर धनीलाई कुनै सूचना दिनु परे ती साइटलाई भने दिने गरेको देखिँदैन। त्यस्ता सूचनाको प्रभावकारिता ती पोर्टलमा बढी हुन्छ भन्ने हेक्का कम्पनीलाई नभएको हो ? या दिन नखोजिएको हो ? यो प्रश्न बिज्ञापनदातालाइ नै थाहा हाेला ।

या त सूचीकृत कम्पनीलाई लक्षित वर्गमा सूचना वा विज्ञापन दिनु पर्छ भन्ने अझै ज्ञान छैन वा उनीहरू आफ्नो सूचना वास्तविक वर्गमा पुगोस् भन्ने चाहदैनन्। दुइटा मध्ये एउटा कारण त अवश्य हाेला ।

यस्तै खालको अवस्था धेरै क्षेत्रमा देखिन्छ। विज्ञापन दाताले आफूले दिने विज्ञापनको लक्षित वर्ग अझै पहिचान गर्न सकिरहेका छैनन्। तर केही विज्ञापन दाताले भने त्यसको पहिचान गर्न सुरु गरिसकेका छन्। पहिचान गर्न नसक्नेले भने आँखा खोल्न जरुरी देखिन्छ।  

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।