अपर तामाकोशीको घाटा बढ्यो

Feb 11, 2021 09:25 AM Merolagani



अपर तामाकोशी हाइड्रोपावर लिमिटेड (UPPER) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको घाटा बढेको देखिएको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३ करोड १५ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नोक्सानी २ करोड ३३ लाख रुपैयाँ रहेको थियो।

आयोजना निर्माण कार्य अझै नसकिएकोले कुनै आम्दानीका श्रोत नभएका कारण कम्पनीको नोक्सानी चुलिँदै गएको हो।

कम्पनीका अनुसार ४५६ मेगावाटका माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

१० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ८२ करोड २० लाख रुपैयाँ ऋणात्मक रहेको छ।

कम्पनीको प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ २४ पैसा रहेको छ।

दोस्रो त्रैमाससम्ममा कम्पनीले नेपाल विद्युत प्राधिकरणमार्फत नेपाल सरकारबाट १२ अर्ब ५० करोड रुपैयाँ र संस्थापक शेयरधनी, नेपाल टेलिकम, नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानबाट १४ अर्ब दीर्घकालिन ऋण प्राप्त गरेको छ। त्यसैगरी, नेपाल विद्युत प्राधिकरणबाट २ अर्ब अल्पकालिन ऋण पनि प्राप्त गरेको कम्पनीले जनाएको छ।