नियामक नेपाल दूरसञ्चार प्राधिकरणले यही फागुनदेखि कन्टेन्ट फिल्टरिङ लागु गर्ने भन्दै चालु आर्थिक वर्षको बजेटमा एक अर्ब रुपैयाँ समेत छुट्याएको थियो।
प्रविधि पत्रकार मञ्च (टीजेएफ) ले आयोजना गरेको ‘इन्टरनेटमा कन्टेन्ट फिल्टरिङ नेपालका लागि कति आवश्यक’ विषयक भर्चुअल कार्यक्रममा बोल्दै प्राधिकरणका निर्देशक विजयकुमार रोयले यस विषयमा अध्ययन भइरहेको बताए ।
‘अहिले हामी नेपालमा विभिन्न नाकाबाट भित्रिने व्यान्डविथको ट्राफिकको अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘त्यसै आधारमा इन्टरनेटमा आउने सामग्री नियन्त्रण गर्ने गरी यो योजना अगाडि बढेको हो ।’
उनले कुनै व्यक्ति वा संस्थाको सामग्रीलाई नियन्त्रण गर्ने यसको उद्देश्य नभएको स्पष्ट पारे । सरोकारवालाहरुले भने सरकारले यसबाट के गर्न खोजेको हो भन्ने विषय नै स्पष्ट नभएको बताए ।
नेपाल इन्टरनेट एक्सचेन्ज (एनपीआईएक्स)का बोर्ड सदस्य इन्डिभर बडालले सरकारले यो कार्य अगाडि बढाउनुभन्दा पहिला फिल्टरिङ के हो र यो सम्भव छ कि छैन भन्नेमा प्रष्ट हुन आवश्यक रहेको बताए ।
उनले गाडी गुड्ने राजमार्गको उदाहरण दिँदै भने, ‘इन्टरनेट सामग्री फिल्टरिङको विषय बाटोमा कुन गाडी कुदिरहेको छ भन्नु र गाडी भित्र के सामग्री छ भनेर चिन्न सक्नु फरक कुरा भएजस्तै हो ।’
इन्टरनेटको प्याकेटमा के आइरहेको छ भनेर चिन्ने र त्यसलाई रोक्ने काम डीएनएस कन्ट्रोल मार्फत गर्न सकिने उनको भनाई थियो । ‘जुन सरकारले अहिलेपनि सेवा प्रदायकमार्फत गरिरहेकै छ,’ उनले भने, ‘तर, सरकारको पछिल्लो प्रयास हेर्दा उसले गाडीमात्र रोक्न नखोजेर गाडीभित्र सामग्री के छ भनेर हेर्न खोजेको जस्तो देखिँदैछ ।’
त्यसका लागि सामग्री चिनेर रोक्न मेटाडेटा र डीपीआई प्रविधि प्रयोग गर्न आवश्यक हुने उनको भनाई थियो । ‘मेटाडेटा र डीपीआई कन्ट्रोल प्रविधि भनेको निकै गाह्रो र खर्चिलो छ,’ उनी भन्छन्, ‘नेपाल जस्तो देशले त्यसो गर्न चुनौतीपूर्ण छ।’
बडालले यस्तै काम गरेका केही छिमेकी देशको उदाहरण समेत प्रस्तुत गरे । ‘जस्तो कि भारतले डीएनएस र डीपीआई मार्फत बेलाबेलामा इन्टरनेटका सामग्री नियन्त्रण गर्दैआएको छ,’ उनले भने, ‘बंगलादेश र पाकिस्तानले पनि त्यस्तै प्रयास गरिरहेका छन् ।’
बडालका अनुसार पाकिस्तानले अर्बौं खर्च गरेर समेत इन्टरनेटका सामग्री नियन्त्रणमा सफल हुन सकेको छैन। चीनले त झन् डीपीआई, मेटाडेटा, आईपी फिल्टरिङ जस्ता सबै किसिमका फिल्टरिङ प्रयोग गरिरहेका छ। त्यसैको लागि उसले हरेक वर्ष अर्बौं डलर खर्च गर्छ । तर, उक्त कार्य पूर्ण रुपमा सफल हुन भने सकेको छैन।
अहिले बाहिरबाट हेर्दा नेपाल सरकारले समेत डीपीआई तहमा पुगेर सामग्री नियन्त्रण गर्न खोजेको जस्तो देखिएको बडालको बुझाई छ ।
उनले अगाडि भने, ‘यसका लागि सरकारले एक अर्ब रुपैयाँ छुट्याएको पनि छ। तर त्यसले डीपीआई प्रविधि मार्फत इन्टरनेट सामग्री नियन्त्रण गर्न एक छेउ पनि पुग्दैन ।’ हेर्न चाहने मान्छेले भीपीएन जस्ता प्रविधि प्रयोग गरेर कन्टेन्ट फिल्टरिङलाई सहजै बाइपास गर्न सक्ने भन्दै उनले त्यसमा गर्ने खर्च इन्टरनेट सामग्री सम्बन्धी जनचेतनामा अभिवृद्धिमा प्रयोग गर्न सुझाव दिए ।
बडालका अनुसार कुनै पनि इन्टरनेट सामग्री तीन ठाउँबाट रोक्न सकिन्छ। सोर्स, ट्रान्जिट र प्रयोगकर्ताको तहबाट। इन्टरनेट सामग्री रोक्ने हो भने सबैभन्दा राम्रो स्थान स्रोत नै हो।
इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकका अध्यक्ष दीलिप अग्रवालले इन्टरनेट सामग्री फिल्टरिङ वा नियन्त्रण गर्ने विषयमा सरकार नै स्पष्ट हुन नसकेको बताए।
‘नेपाल सरकारले गर्न खोजेको के हो त्यो नै स्पष्ट छैन,’ उनले भने, ‘कन्टेन हटाउने हो भने फेसबुकको सामग्री लुकाउन सक्नुपर्छ । तर त्यो फेसबुक आँफैले नगर्दासम्म असम्भव छ।’
कन्टेन फिल्टरिङमा प्राविधिक सीमितता रहेको उल्लेख गर्दै उनले अहिले पनि सरकारले अश्लील सामग्री भएका सयौं साइट ब्लक गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको स्मरण गरे । हाल सेवाप्रदायकले डीएनएस कन्ट्रोल मार्फत त्यस्ता साइटहरुलाई ब्लक गर्दै आएका छन् ।
अर्को तर्फ सरकारले म्यानमारमा जस्तो ठूलो मात्रामा सामग्री नियन्त्रण गर्न खोजेमा यसले मुलुकको इन्टरनेट व्यवसायलाई समेत असर पुर्याउने उनको भनाई छ ।
कार्यक्रममा क्यान फेडेरेसनकी पूर्व उपाध्यक्ष सुनैना पाण्डेले इन्टरनेट सामग्री नियन्त्रण आवश्यक रहेको जिकिर गरिन्। नेपालमा बढ्दो साइबर अपराधको उदाहरण दिँदै उनले सामग्रीहरुको वर्गीकरण गरेर नियन्त्रण गर्नुपर्नेमा जोड दिइन् ।
‘प्रहरीको तथ्यांक हेर्दा २० देखि ३० वर्ष उमेरका व्यक्ति सबैभन्दा धेरै पीडित भएका छन्,’ पाण्डेले भनिन्, ‘कूल पीडितमध्ये यो उमेर समुहका मात्रै ५२ प्रतिशत छन्।’