फाइबजीलाई पनि हुने गरी गुणस्तरलाई सुधार र मापन गर्ने सिस्टम खरिद गरिँदै

Feb 17, 2021 03:05 PM Merolagani



सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ जेनेरेसनको फाइबजी प्रविधिलाई समेत हुने गरी मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर मापनको लागि पूर्वाधार स्थापना गर्ने भएको छ ।

मोबाइल भ्वाइस तथा डेटा र फिक्सड इन्टरनेट सेवाको गुणस्तरलाई सुधार र मापन गर्ने सिस्टम खरिद गर्न अन्तराष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको हो ।

नेपालमा कारोना भाइरस फैलिएपछि इन्टरनेट र भ्वाइस सेवाको गुणस्तर खस्किदै गएको र उपभोक्ताको पनि गुनासो उत्तिकै आएको कारण नियामक साे प्रणालीको स्थापनामा जुटेको हो ।

दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले हाल नेपालका विभिन्न इन्टरनेट सेवाप्रदायकले दिइरहेको एफटीटीएच,मोबाइल ब्रोडव्यान्ड इनटरनेट,भ्वाइस सेवाको मापान गर्ने गरी काम अघि बढेको बताए । ‘सेवाको गुणस्तर मापनका लागि आवश्यक उपकरण तथा सफ्टवेयरका लागि टेण्डर आह्वान गरिएको हो’ उनले भने ‘प्रणाली विकास भएपछि प्राधिकरणले स्थान अनुसार सेवाको गुणस्तर मापन गर्नेर्छ ।

अहिले नेपाल दूरसञ्चार प्राधिकरणसँग गुणस्तर मापनको लागी कुनै पूर्वाधार छैन । भएको पूर्वाधार पनि काम नलाग्ने अवस्थामा छ । अब भने प्राधिकरण नियामक र अनुगमनलाई व्यापक बनाउने गरी अघि बढेको छ ।

बन्दाबन्दी पनि नेपालको इन्टरनेट सेवा खस्किएको भन्दै सेवाग्राहीको नियामक निकायमा उजुरी नै उजुरी परेका छन । उपभोक्ताको सोही गुनासालाई सम्बोधन गर्न प्राधिकरण गुणस्तर नियमनमा लागि परेको छ ।

त्यसैगरी दूरसञ्चार प्राधिकरणले माग गरेको उक्त सिस्टम प्रस्तावमा बेसिक भ्वाइस कल टेस्ट, टुजी, थ्रिजी, फोरजी, वाईफाई, ईमेलमा आधारित टेष्ट, एफटीटीएच, एचटीटीपीडीएल, यूल सर्भिस तथा नयाँ जेनेरेसनको फाइबजी मुख्य प्राथामिकतामा रहेर परीक्षण गर्न सक्ने प्रणाली राखिने छ ।

त्यस्तै जीपीआरएस,यूएमटीएस, एलटीई सर्भिस, एसएमएस र एमएमएस टेस्ट, आईटीयूको मापदण्ड अनुसार भ्वाइस तथा भिडियो सर्भिसको टेस्ट, वेब ब्राउजिङ टेस्ट, ओटीटी सर्भिस एपको परीक्षण गर्न सक्ने प्रणाली हुनुपर्ने छ ।

प्राधिकरणको उक्त सिस्टम बिकास र सञ्चालन गर्ने कम्पनीलाई प्राधिकरणले टेक्नीकल सर्पोट उपलब्ध गराउने छ । त्यस्तै प्रस्ताव पेश गर्ने कम्पनीका वार्षिक कारोबार १५ लाख डलरभन्दा बढी हुनुपर्ने उल्लेख गरिएको छ ।

दूरसञ्चार सेवाको गुणस्तर मापन गर्ने प्रणाली बिकास र सञ्चालनको लागि दूरसञ्चार प्राधिकरणले १५ करोड बजेट छुट्याएको छ दूरसञ्चार प्राधिकरणले लामोसमयदेखि सेवा गुणस्तर मापन र नियामन गर्न सकेको छैन ।

नियामकको कमजोरीकै करण ग्राहक जस्तो सुकै सेवा उपभोग गर्न बाध्य छन् । अहिले दूरसञ्चार प्राधिकरणमा इन्टरनेट सेवाप्रदायकले भनेबमोजिमको इन्टरनेट व्यान्डवीथ नदिएको मै बढी गुनासो परेको छ ।

यो सिस्टम एक बर्ष अगाडि नै स्थापना गर्न गृहकार्य सुरु भएको थियो । तर, कोरोना भाइरसको कारण रोकिएको थियो । अब भने एक बर्षभित्र यो दूरसञ्चार सेवा मापन गर्ने प्रणाली स्थापना भइ सञ्चालनमा ल्याइसक्ने तयारी छ ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।