समितिले बीमा कम्पनीहरूलाई पत्र काट्यो,पूर्वाधार र बीमा लेख ऋणमा नियम अनुसार किन काम भएन ?

Feb 21, 2021 12:17 PM Merolagani

सुवास निरौला

बीमा कम्पनीहरूमा बढ्दै गएको बेतिथिमा बीमा समितिले लगाम लगाउन शुरु गरेको छ। पूर्वाधारमा लगानी र बीमा लेखमा बैंकहरूले दिइरहेको ऋणको विषयमा पत्र काट्दै समितिले बेतिथिमा लगाम लगाउन सुरु गरेको हो।

आफ्नो कार्यकालमा बीमा व्यवसायमा देखिएका बेतिथिको शुद्धीकरण गर्ने प्रतिबद्धता जाहेर गरेका नव नियुक्त अध्यक्ष सूर्य प्रसाद सिलवालले उक्त शुद्धीकरणको थालनी गरेका छन्। उनले आइतबार बिमा कम्पनीहरूलाई लगानी निर्देशिका अनुसार लगानी भए नभएको विषयमा पत्र काटिएको बताएका छन्। "लगानी निर्देशिका अनुसार पूर्वाधार क्षेत्रमा तत्कालै तोकिए अनुसारको लगानी बढाउन भन्दै आज पत्र लेखेका छौ" समिति अध्यक्ष सिलवालले मेरो लगानीसँग भने। गत मंगलबार नै समितिले नेपाल राष्ट्र बैंकलाई समेत अनुरोध पत्र लेखेको थियो। बैक वित्तीय संस्थाहरूले बिमा लेखमा ऋण प्रवाह गरिरहेकोले उक्त ऋण प्रवाह रोकिदिन भन्दै समितिले पत्र लेखेको सिलवालले जानकारी दिए।

बिमा कम्पनीहरूले आर्जन गरेको रकमबाट विविध क्षेत्रमा लगानी गर्नुपर्ने नियम छ। उनीहरूले ‘बीमकको लगानी निर्देशिका २०७५’ अनुसार लगानी गर्नु पर्ने प्रावधान छ। तर, उनीहरूले निर्देशिका जारी भएको दुई वर्ष बितिसक्दा सम्म निर्देशिका अनुसार लगानी नगरेकोमा गत फागुन चार गते मंगलबार मेरोलगानीले "बीमा कम्पनीहरूको शेयर र निक्षेपमा हुने लगानीमा कडाइ, लगानी निर्देशिका नै परिवर्तन गर्ने तयारी" शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो। सोही सन्दर्भमा समितिले उनीहरूलाई पत्र काटेको हो।

कृषि,पर्यटन जलस्रोत लगायतका पूर्वाधारमा गरिएको ऋण वा पूँजीमा २० प्रतिशत लगानी गर्नु पर्ने सीमा तोकिएको छ। तर, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जम्मा दुई कम्पनीले मात्रै उक्त क्षेत्रमा लगानी गरेका छन्। नेपाल लाइफ र प्राइम लाइफले मात्रै यसमा लगानी गरेका हुन्। नेपाल लाइफले यो क्षेत्रमा एक अर्ब ८६ करोड रुपैयाँ लगानी गरेको छ भने प्राइम लाइफको लगानी १५ करोड ५९ लाख छ। जुन दुवै कम्पनीको कुल लगानीमा ०.६६ प्रतिशतको मात्रै हिस्सा देखिन्छ। अरू कम्पनीको लगानी शून्य देखिएपछि समिति पत्र काट्न बाध्य भएको सिलवालले बताए।

निर्देशिकामा सीमा तोकिएको भएपनि धेरै जसो बिमा कम्पनीहरूले मुद्दती र शेयरमा बढी लगानी गरेका छन्। पहिलो त्रैमासको लगानी विवरण अनुसार १९ वटा जीवन बीमा कम्पनीहरूले तीन खर्ब ५४ अर्ब रुपैयाँ लगानी गरेका छन्। जसमा मुद्दतीमा मात्रै उनीहरूको दुई खर्ब २६ अर्ब रुपैयाँ लगानी छ। जुन ७४.१४ प्रतिशत छ।

उता बीमा लेख धितो राखेर बैंक वित्तीय संस्थाले भटाभट ऋण दिन थालेपछि समितिले यसमा पनि कडाइ गर्ने भएको छ। बीमालेख धितो राखेर बैक वित्तीय संस्थाले ऋण दिएकोमा  ध्यानाकर्षण गराउँदै समितिले उक्त क्रियाकलाप रोकिदिन भन्दै केन्द्रीय बैंकलाइ पत्र लेखेको छ।

जबकि बीमा लेख धितो राखेर बीमा कम्पनीहरूबाटै ९० प्रतिशत सम्म ऋण लिन पाइन्छ। तर बैंक वित्तीय संस्थाले नै उक्त प्रकृतिको ऋण प्रवाह गर्न थालेपछि त्यो कानुन विपरीत भएको भन्दै समितिले केन्द्रीय बैकलाई अनुरोध गरेको हो।

समितिले केन्द्रीय बैंकलाइ पत्र लेख्नुको साथै बीमा कम्पनीहरूसँग समेत त्यस्तो ऋणको विवरण माग गरेको छ। बीमा कम्पनी र बैंक वित्तीय संस्थाले एक आपसमा मिलेमतो गर्दै ऋण प्रवाह गरिरहेकोले उक्त विवरण बीमा कम्पनीहरूसँग माग गरिएको हो। उक्त ऋण बीमा कम्पनीहरूले आफै दिनु पर्नेमा पछिल्लो समय कम्पनीहरूले बैंक वित्तीय संस्थासँग मिलेर उनीहरूबाटै उक्त ऋण दिलाउने व्यवस्था गर्दै आएका थिए। सोही कारणले यकिन तथ्याङ्क र छानबिनका लागि ऋणको विवरण माग गरिएको समितिले जनाएको छ।

बीमा कम्पनीहरूबाट तथ्याङ्क आएपछि त्यो दुवै विषयमा के कसरी अघि बढ्ने भन्ने निर्णय गर्ने तयारीमा समिति देखिएको छ। समितिको नियामक क्षमता कमजोर भएकै कारणले बीमा व्यवसायमा विकृति बढ्दै गएको थियो। बजारमा कम्पनीहरूको बारेमा प्रशस्त गुनासो आए पनि समितिले ती विषयलाई गम्भीरतापूर्वक लिने गरेको थिएन। उसको नियामक कमजोरीको फाइदा उठाउँदै बिमा कम्पनीहरूले बेतिथि बढाउँदै लगेका थिए। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।