म्यादी जीवन बीमामा विषेशगरी मृत्यु लाभको सुविधा मात्रै उपलब्ध गराएको हुन्छ । तर त्यसमा थप केहि शुल्क बुझाएपछि मृत्यु लाभसंगै स्वास्थ्य उपचारखर्च समेत उपलब्ध हुने भएपछि म्यादी जीवन बीमामा सर्वसाधारणहरुको आकर्षण बढ्दै गएको हो ।
विश्वभर फैलिएको कोभिड १९ ले अार्थिक गतिविधि सुस्त भएकाे अवस्थामा ठुलो बीमाशुल्क भुक्तानी गरेर सावधिक तथा आजीवन बीमालेख खरिद गर्न सकिने अवस्था सबैको छैन् । त्यसैले न्युन रकममा जोखिम बहन हुने म्यादी जीवन बीमा जोखिम हस्तान्तरणको राम्रो विकल्प बन्दै गएको हो ।
यस्तै गरी न्युन आय भएकाहरु अझैपनि जीवन बीमा पहुँच बाहिरनै रहेको छ । यस्तो अवस्थामा पनि म्यादी जीवन बीमा उनीरुको लागि भरपर्दो विकल्प बनेको छ । म्यादी बीमा गर्नको लागि ठुलो रकमको आवश्यकता हुदैन् । दैनिक चिया खर्चले समेत स्वस्थ्य लाभ सहितको जीवन बीमा योजन खरिद गर्न सकिन्छ । अर्थात कम बीमाशुल्क तिरेरपनि मृत्यु जोखिम वहन गर्न सकिन यसको विशेषता हो ।
म्यादी जीवन बीमा चालू रहेको अवस्थामै बीमितको मृत्यु भएमा परिवारका हकवालाले मृत्यु लाभ वापतको रकम भुक्तानी प्राप्त गर्नेछन । बीमितको निधन नभए मृत्यु लाभको भुक्तानी पाउने छैन् भने बीमाशुल्कको रकम समेत फिर्ता पाउदैनन् ।
यस्तो योजनाले निश्चित अवधिसम्मको लागी जोखिम बहन सुविधा उपलब्ध गराउछ । सामान्यता १ देखि ३० वर्षसम्मको लागी म्यादी जीवन बीमा गर्न सकिन्छ । म्यादी बीमामा विषेशगरी मृत्यु लाभको लागि ल्याएको हो । खासगरी घरमूलीको निधन भएको अवस्थामा परिवारका आश्रितहरुको आर्थिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले यो बीमा योजना सार्वजनिक गरेको हो ।
बैंक तथा वित्तीय संस्थाहरुमा ऋण लिए पश्चात ऋणीको अचानक मृत्यु भएमा परिवारका सदस्याहरुको उक्त ऋण चुक्ता गुर्नपर्ने हुन्छ । यदि ऋण चुक्ता गर्न नसकेमा घर जायजेथा नै लिलाम हुने स्थिति आउन सक्छ । तर लिएको ऋण रकमको म्यादी जीवन बीमा गरेको छ भने बीमितको मृत्यु भएमा बीमा कम्पनीले नै ऋण लिएको रकम भुक्तानी गर्छ । जसले गर्दा परिवारका सदस्यहरुलाई ऋणको भार समेत पर्दैन् ।
थप बीमाशुल्क बुझाएर सुबिधा पनि थप्न सकिने
म्यादी जीवन बीमा विशेषगरी मृत्यु लाभको लागि तयार गरिएको योजना हो । तर यसमा थप बीमाशुल्क भुक्तानी गरेपछि थप सुविधा समेत लिन सकिन्छ ।
कुनै कुनै म्यादी बीमा योजनामा मृत्यु दाबी भुक्तानी नभएको अवस्थामा बीमा अवधिपछि बीमाशुल्क फिर्ता गर्ने विकल्प पनि उपलब्ध गराइएको हुन्छ । तर सामान्य म्यादी बीमा योजनाको तुलनामा बीमाशुल्क फिर्ता गर्ने विकल्प सहितको योजनामा तुलनात्मक रूपमा धेरै बीमाशुल्क तिर्नुपर्ने हुन्छ ।
यस्तै बीमामा थप रकम भुक्तानी गरेपछि बीमितको मृत्यु लाभसंगै उपचार खर्च समेत पाउन सकिन्छ । मृत्यु लाभ बाहेक आंशिक वा पूणर् स्थायी अपाङता, घातक रोग उपचार खर्चको सुविधा समेत समेटिएको योजनाहरु बिक्रीमा छन् ।
आंशिक वा पूणर् स्थायी अपाङता सुविधा सहितको म्यादी बीमामा दुर्घटनाको कारण बीमितको कुनै अंग आंशिक वा पूणर्रुपमा क्षति पुगेमा बीमितलाई निश्चित रकम क्षतिपूर्ती उपलब्ध गराइन्छ ।
घातक रोगको उपचार सुविधा सहितको म्यादी बीमामा बीमा अवधि भित्र बीमितलाई पूर्व निर्धारितमध्ये कुनै एउटा रोग लागेमा उपचार खर्चवापत बीमांक बराबरको रकम भुक्तानी दिइन्छ ।
कति लाग्छ शुल्क ?
म्यादी जीवन बीमा गर्ने समयमा बीमितको स्वास्थ्य स्थिति र उमेरको आधारमा बीमाशुल्क निर्धारण गरिन्छ । बिग्रँदो स्वास्थ्य अवस्था वा बढ्दो उमेरसँगै म्यादी जीवन बीमा गर्न कठिनाई हुने वा ज्यादै महँगो हुने सम्भावना पनि हुन्छ ।
लामो अवधिको लागी गरिने सावधिक बीमा योजनाको तुलनामा म्यादी जीवन बीमाको शुल्क भने न्यून हुन्छ । उदाहरणको लागी ३० वर्ष उमेरको युवकले वार्षिक ३ हजार ५०० रुपैयाँ भुक्तानी गरेरै १० लाख रुपैयाँ बराबरको मृत्यु लाभ सुविधा भएको म्यादी बीमा खरिद गर्न सकिन्छ ।
म्यादी जीवन बीमाको शुल्क बीमा कम्पनीको बीमा योजना तथा त्यसमा प्राप्त हुने सुविधा अनुसार फरक हुनेछ ।