सोमबार ३२.६७ अंकले घटेर २६०७.६७ अंकमा ओर्लिएको बजार मंगलबार पून २१.१६ अंक घटेर २५८६.५१ विन्दुमा झरेको छ। फराकिलो अंकले शेयर बजार घट्नुको प्रमुख कारणको रुपमा राजनैतिक किचलोको बिचमा आउने सर्वोच्चको फैसलालाई औँल्याइएको छ। सर्वोच्चको फैसला के आउने हो भन्ने दुबिधाकै बिचमा बजार घटेको सबैजसो लगानीकर्ताको भनाई छ।"जसरी बजार घटिरहेको छ। यसमा सबैभन्दा बढी राजनैतिक किचलोलाई नै प्रमुख कारणको रुपमा लगानीकर्ताहरूले लिइरहेका छन्। यस बाहेक अरू कुनै बजार घट्नु पर्ने आधार छैनन्" इन्भेष्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकालले भने।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेका थिए। सोही विघटनका बिरुद्ध मुलुक दुई भागमा विभाजित छ। प्रधानमन्त्रीको कित्तामा हुनेहरुले यसलाई संवैधानिक भनिरहेका छन् भने उनका विपक्षमा हुनेहरुले यसलाई असंवैधानिक भनिरहेका छन्। अदालती प्रक्रियामा रहेको उक्त विषयको छिनोफानो एक दुई दिन भित्रै आउने हल्ला बजारमा चलेको छ। उक्त फैसलाले के गर्ने हो भन्ने अन्योल सर्वसाधारणमा छ। सोही फैसलालाई शेयर बजारका लगानीकर्ताले समेत कुरिरहेका छन्। जुन सुकै फैसला आए पनि देश एक किसिमको मुठभेडमा जाने अनुमान लगानीकर्ताले गरिरहेका छन्। सोही अनुमानको आधारमा लगानीकर्ताले भटाभट शेयर बिक्री गर्न थालेका छन्। उनीहरूले सेलिङ प्रेसर बढाएकै कारण शेयर बजार घट्दो लयमा देखिएको अर्का लगानीकर्ता राजन लम्सालको भनाई छ। तर, अदालतले संसद पुनर्स्थापना गरेपनि या चुनावै भएपनि लगानीकर्ता यसरी त्रसित नै हुनु नपर्ने अबस्था रहेको लम्सालको भनाई छ।
फैसलाकाे हल्ला बिस्तारै बजारमा चल्दै गर्दा सर्वाेच्चले त्याे मुद्दालाइ हेर्दा हेर्दैमा राखेपछि लगानीकर्ता झनै सेन्सेटिभ भए। जग्गा प्रकरणमा प्रधान सेनापतिले प्रधानन्यायाधीशलाइ भेटेपनि साे भेटपछि संकटकाल लगाइने सम्मकाे अनुमान भाइरल बनाइयाे। खास प्रयाेजन बेगर मंगलवार बसेकाे सुरक्षा परिषदकाे बैठकले बजार शुरू हुनु पूर्व नै लगानीकर्ता भयभीत बने। केही केहीले त प्रधानमन्त्रीले प्रधानन्याधीशलाइ पनि भेटेकाे खवर बजारमा फैलाइ दिए। भयकाे आगो लागि सकेकाे लगानीकर्ताकाे मनाेभावनामा यी परिघटनाले थप मट्टीतेलकाे काम गर्याे ।
संवेदनशील बजारमा जस्ता सुकै हल्लाले पनि बजारलाई प्रभावित पार्दै आएको छ। लगातार बढिरहेको बजारले एक पटक करेक्सन लिएर अघि बढ्छ भनेर बसिरहेका लगानीकर्ताको मनोबल पछिल्लो हल्लाले कमजोर बनाएको कारण बजार घटेको शेयर बजार दबाब समूहका एक सदस्य नयन बास्तोलाले बताए। उनका अनुसार लगातार बढिरहेको बजारमा करेक्सन आउनु स्वभाविक हो। "सेक्टर वाइज करेक्सन हुँदै अघि बढी रहेको बजार ठुलो अंकले घट्न मानिरहेको थिएन। लगानीकर्तालाई करेक्सन हुन्छ भन्ने अनुमान पहिले देखिनै थियो। त्यसैमा आएको पछिल्लो हल्लाले काम गर्यो" बास्तोलाले भने।
तर बढिरहेको बजारले जसरी घट्न मानिरहेको छैन बजारले घट्ने आधारहरूको रुपमा यिनै हल्लाको साथ लिन थालेको छ। हल्लाकै साथमा बजार केही अंकले घट्ने र हल्ला निराधार हुने बित्तिकै पुन: बजार अर्को ऐतिहासिक बिन्दुमा फड्किने गरेको बाँस्तोलाको भनाइ छ। सधैँ बजार बढी रहँदैन बजार घट्न कुनै आधार चाहिन्छ। आधार बिना बजार कहिल्यै घट्दैन। त्यही आधारको रुपमा बजारले हल्लालाई प्रयोग गर्न थालेको छ। जुन गिरावटले लगानीकर्तालाई धेरै दिन निराश नबनाउने बाँस्तोलाले बताए।
"मौद्रिक समीक्षा अघि पनि बजार लगातार बढ्ने क्रममा देखिएको थियो। तर बजारमा एकाएक मार्जिन सीमा घट्छ भन्ने हल्ला फिँजाइयो। जसले बजारलाई केही दिन सुस्त हुन बाध्य बनायो। तर मौद्रिक समीक्षाले ती हल्ला निराधार भएको पुष्टि गरेपछि बजार पुन: ठुलो अंकले माथि उक्लिएको थियो" बाँस्तोलाले भने। सोही विषयको विश्लेषणले अदालतको फैसलापछि बजार पुन: बढ्ने बाँस्तोलाको दाबी छ।
राजनैतिक हल्ला र सर्वोच्चको फैसलामा के आउने भन्ने अन्योलका बीचमा बजार प्रेसरमा देखिएको भएपनि बजार घट्ने अन्य आधार पनि बिस्तारै अघि आउन थालेको लगानीकर्ता प्रकाश तिवारी बताउँछन्। घट्दै गएको तरलता र बिमा कम्पनीलाई गरिएको कडाइ र ब्याजदर बढ्ने सम्भावनाले पनि बजार घटाउन टेवा पुर्याएको तिवारीको भनाई छ।