त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हाे।
कम्पनीको आइपीओमा छिटोमा फागुन २६ गते आवेदन दिन सकिनेछ। त्यस अवधिमा पर्याप्त आवेदन नपेरमा चैत ६ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
इच्छुक आवेदकले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयरको वेब तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब २० करोड र चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। सर्वसाधारणलाई आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ भने धितोपत्र प्रत्याभुत गर्ने संस्थामा लक्ष्मी क्यापिटल रहेको छ।
कति कित्ता शेयर खरिदको लागि दिने आवेदन?
कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ।
पछिल्लो समय आइपीओमा १५ लाखभन्दा बढी लगानीकर्ताले आवेदन दिन थालिसकेका छन्। कम्पनीले सर्वसाधारणमा ६६ करोड रुपैयाँको ६६ लाख कित्ता शेयर मात्र बिक्रीमा ल्याएको छ। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार हरेक आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गर्दै जानुपर्ने हुन्छ। यसअनुसार गोलाप्रथाबाट ६ लाख ६० हजार जनाले न्यूनतम १० कित्ता शेयर पाउनेछन्। बाँकी आवेदकको हात खाली हुनेछ।
यसकारण कम्पनीको शेयरमा पनि १० कित्ता शेयर खरिदको लागि नै आवेदन गर्नु बुद्धिमानी हुनेछ।
तीन वर्षमा सञ्चित नाफा करिब ८० करोड पुर्याउने
इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० सम्ममा सञ्चित नाफा ७९ करोड ९६ लाख ८७ हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ। आर्थिक वर्ष २०७४/७५ मा सञ्चित नाफा ११ करोड ५९ लाख ९९ हजार रुपैयाँ, आर्थिक वर्ष २०७५/७६ मा १९ करोड ७८ लाख ३८ हजार रुपैयाँ रहेको थियो।
आर्थिक वर्ष २०७६/७७ को अपरिष्कृत वित्तीय विवरण अनुसार सञ्चित नाफा २८ करोड ६४ लाख रुपैयाँ रहेको कम्पनीले सार्वजनिक गरेको विवरण पत्रमा उल्लेख छ। चालु आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले सञ्चित नाफा ४२ करोड ३५ लाख रुपैयाँ, आर्थिक वर्ष २०७८/७९ मा ५९ करोड ७४ लाख रुपैयाँ सञ्चित नाफा पुर्याउने कम्पनीको प्रक्षेपण छ।
यस्तै, आर्थिक वर्ष २०७९/८० सम्ममा कम्पनीले प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ४९ पैसा र प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८९ पैसा पुग्ने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विरण अनुसार इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ९४ पैसा र वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६४ पैसा रहेको छ।
चालु आर्थिक वर्षमा कम्पनीको वार्षिक प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ २६ पैसा र प्रतिशेयर आम्दानी १२ रुपैयाँ २० पैसा हुने प्रक्षेपण गरिएको छ।
कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एक अर्ब ३९ करोड ६७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी १० करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। त्यस अवधिमा कम्पनीको जगेडा कोषमा ४८ करोड २४ लाख रुपैयाँ, जीवन बीमा कोषमा २ अर्ब ९१ करोड ७९ लाख रुपैयाँ सञ्चित छ।
औसत जोखिम जनाउने रेटिङ्ग
कम्पनीलाई क्रेडिट रेटिङ्ग नेपालले २०७७ असार २५ गते ‘केयरएनपी-आइआर बीबी प्लस’ रेटिङ्ग प्रदान गरेको छ। यसले समय नै कम्पनीको दायित्व पुरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित रहेको जनाउछ।
उक्त रेटिङ्गको अवधि जारी गरेको मितिबाट एक वर्षसम्मको हनेछ।
कस्तो कम्पनी हो?
ज्योति लाइफ इन्स्योरेन्स जीवन बीमा व्यवसाय गर्ने कम्पनी हो। २०७४ बैशाख २४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो।
कम्पनीले बीमा समितिबाट भने २०७४ असार २० गते जीवन बीमा सम्बन्धी व्यवसायिक कारोबार गर्न स्वीकृती तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०७४ कार्तिक २२ गते कारोबार सञ्चालनको अनुमति पाएर जीवन बीमासम्बन्धी व्यवसायिक कारोबार गर्दै आइरहेको छ।
कम्पनीको रजिष्टर्ड (प्रधान कार्यालय) पोखरा महानगरपालिका, वडा नं. ९, कास्कीमा रहेको छ। कम्पनीको कारोबार गर्ने मुख्य स्थान भने काठमाडौं महानगरपालिका वडा नं. ३० ज्ञानेश्वरमामा रहेको छ।
कम्पनीले सात वटा प्रदेश कार्यालयहरु सहित ११८ वटा शाखा तथा उपशाखा कार्यालयहरूबाट सेवा प्रदान गर्दै आइरहेको छ।
सञ्चालक समितिमा काे काे छन्?
कम्पनीको सञ्चालक समितिमा ७ जना सदस्यहरु रहनेछन्। त्यसमध्ये संस्थापक शेयरधनीहरु मध्येबाट ४ जना, सर्वसाधारण शेयरधनीहरुबाट २ जना र एक जना स्वतन्त्र सञ्चालक हुनेछन्।
हाल कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण समूहका दुई जनाकाे पद रिक्त रहेको छ। कम्पनी सञ्चालक समितिको अध्यक्ष नन्द किशोर शर्मा रहेका छन्। लामो समय बैंक तथा वित्तीय संस्थामा आवद्ध रहेका शर्मा सूर्या लाइफ इन्स्योरेन्सको पूर्व सञ्चालक समेत हुन्।
यस्तै, सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट आकाश गोल्छा, शर्मिला श्रेष्ठ, जयन्त कुमार अग्रवाल रहेका छन् भने स्वतन्त्र सञ्चालकको रुपमा दिपक कुमार अग्रवाल रहेका छन्।
भावी योजना तथा रणनीति
हाल ११८ वटा शाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आइरहेको कम्पनीले सेवाको गुणस्तर समय सापेक्ष सुधार गरी बीमितलाई यथाशिघ्र दाबी फछ्र्यौट गरी प्रतिस्पर्धी बीमा सेवा उपलब्ध गराउने रणनीत लिएको छ। यस्तै प्रस्तावित बीमा ऐन बमोजिम चुक्ता पूँजी वृद्धि गरी पूँजीको संरचना मजबुत बनाउने उद्देश्य राखेको छ।
कम्पनीले बीमा गरिएको व्यक्तिहरुको उपयुक्त र समयमा नै सेवा उपलब्ध गराउने, भविष्यमा ग्राहकहरुको माग अनुसार नयाँ सुविधा उपलब्ध गराउने, ग्रामिण क्षेत्रका आर्थिक रुपमा कमजोर रहेका मानिसहरुमा बीमा सेवा पुर्याउने र जीवन बीमा सेवालाई समाजका सबै वर्गलाई समेट्ने गरी बीमा योजनाहरु तर्जुमा गरी गुणस्तरीय बीमा सेवा प्रदान गर्ने रणनीति रहेको छ।