बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा शेयर बजारमा जीवन बीमा कम्पनीहरुले ५१ अर्ब २२ करोड ६६ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब ३० करोड रुपैयाँ लगानी गरेका हुन्।
शेयर बजारमा बीमा कम्पनीहरुको कुल लगानीको १५.७४ प्रतिशत लगानी भित्रिएको छ। जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कुल ३ खर्ब ७१ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ लगानी गरेका छन्।
बीमा कम्पनीहरुले शेयर बजारसँग सम्बन्धित क्षेत्र सूचीकृत पब्लिक कम्पनीहरुको साधारण शेयरमा, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर तथा ऋणपत्र, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेन्चर र म्युचुअल फण्ड र नागारिक लगानी कोषमा गरिएको लगानी समेटिएका छन्।
यस अवधिमा जीवन बीमा कम्पनीहरुले ५१ अर्ब २२ करोड रुपैयाँ शेयर बजारमा लगानी गरेका छन्। बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीहरुको साधारण शेयरमा १८ अर्ब ७३ करोड ३१ लाख, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर तथा ऋणपत्र २९ अर्ब ५२ करोड ४९ लाख, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा २ अर्ब ९६ करोड ८५ लाख रुपैयाँ गरी सो बराबरको लगानी गरेका हुन्।
जीवन बीमामा एलआईसी नेपालको मात्रै करिब ९ अर्ब लगानी
जीवन बीमा अन्तर्गत एलआईसी नेपालले सबैभन्दा धेरै ८ अर्ब ८३ करोड ७९ लाख रुपैयाँ शेयर बजारमा लगानी गरेको छ। एलआईसीले सूचीकृत कम्पनीको साधारण शेयरमा २ अर्ब ५९ करोड, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा ४ अर्ब ८९ करोड र म्युचुअल फण्ड र नागरिक लगानी १ अर्ब ३४ करोड रुपैयाँ लगानी गरेको छ। राष्ट्रिय बीमा संस्थाले पनि ८ अर्ब १५ रुपैयाँ शेयर बजारमा लगानी गरेको छ।
यस्तै, नेशनल लाइफले पनि ७ अर्ब १९ करोड रुपैयाँ, एशियन लाइफले ५ अर्ब ९९ करोड रुपैयाँ, नेपाल लाइफले ५ अर्ब ८९ करोड ६१ लाख रुपैयाँ लगानी गरेका छन्।
शेयर बजारमा सबैभन्दा कम लगानी गर्ने जीवन बीमा कम्पनीमा मेट लाइफ इन्स्योरेन्स रहेको छ। मेट लाइफले यस अवधिमा सूचीकृत कम्पनीको साधारण शेयरमा १० लाख रुपैयाँ मात्रै लगानी गरेको छ।
निर्जीवन बीमामा राष्ट्रिय बीमा कम्पनीको शेयर बजारमा एक अर्ब बढी लगानी
निर्जीवन बीमा कम्पनीमा राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा धेरै रकम शेयर बजारमा लगानी गरेको छ। कम्पनीले सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ८५ करोड, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा १५ करोड रुपैयाँ, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा २ करोड ९९ लाख रुपैयाँ गरी एक अर्ब ३ करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ।
यस्तै, शिखर इन्स्योरेन्सले ९६ करोड ६९ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले ६० करोड ७७ लाख रुपैयाँ, सगरमाथा इन्स्योरेन्सले ५४ करोड ५ लाख र एनएलजी इन्स्योरेन्सले ५० करोड ५२ लाख रुपैयाँ शेयर बजारमा लगानी गरेका छन्। बाँकी कुनै पनि कम्पनीको लगानी ५० करोड नाघेको छैन।
सबैभन्दा कम सानिमा इन्स्योरेन्सले ८७ लाख रुपैयाँ मात्रै शेयर बजारमा लगानी गरेको छ।