कुनै वर्ष बोनस र कुनै वर्ष नगद हुन सक्छ, तर सर्वोत्तमले ५५ देखि ६० प्रतिशत भन्दा लाभांश घटाउँदैन्:अध्यक्ष न्यौपाने

Mar 26, 2021 05:13 PM Merolagani

सर्वोत्तम सिमेन्ट बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई सेयर बेच्ने  पहिलो कम्पनी हुदैछ  । कम्पनीले प्रतिकित्ता ७ सय ५० रुपैयाँकाे दरमा सर्वसाधारणलाई सेयर बेच्ने गरी (आईपीओ) प्रक्रिया अघि बढाएको छ । सर्वोत्तमले चुक्ता पुँजीको १५ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

बुक बिल्डिङ विधिबाट पहिलाे पटक सर्वसाधारणलाई सेयर बिक्री गर्न लागिएपछि लगानीकर्तामा धेरै चासाे देखिएकाे छ । शेयर जारी गर्ने प्रकृयादेखि संस्थागत लगानीकर्ता र सर्वसाधारणमा कसरी शेयर  हात पर्छ भन्ने बिषयमा लगानीकर्ताले जानकारी लिन चाहेका देखिएकाे छ । के हाे बुक बिल्डिङ विधि ? यसबाट सर्वाेत्तम सिमेण्टलाई के फाइदा ? संस्थागत लगानीकर्ता र सर्वसाधारणलाई के फाइदा ? शेयरकाे मूल्य किन यति धेरै ? यिनै प्रश्नकाे उत्तर खाेज्न मेराे लगानीका उप सम्पादक सुवास निराैलाले साैरभ ग्रुपका अध्यक्ष विष्णुप्रसाद न्याैपानेसँग जिज्ञासा राखेका छन् ।

 

नेपालमा पहिलो पटक बुक बिल्डिङ विधिबाट शेयर निष्कासन गर्दै हुनुहुन्छ। यस बारेमा केही बताइदिनुस् न।

सबैभन्दा पहिले त बुक भनेको बुझ्न जरुरी हुन्छ। बुक भनेको कम्पनीको खातापाता हाे। खातापातालाई हेरेर त्यसको भ्यालुएसन निकाल्ने प्रक्रियालाई भ्यालुएसन भनिन्छ।संसार भरिनै याे प्रकृया प्रचलित छ। यसका लागि शेयरको भ्यालु निकाल्न कुनै पनि मर्चेन्ट बैंकलाई अप्रोच गर्न सकिन्छ। उसले यति रुपैयाँमा शेयर निकाल्न सकिन्छ वा तिम्रो कम्पनीको शेयर मूल्य यति हुन सक्छ भनेर भ्यालु निकाली दिन्छ। जसलाई भ्यालुएसन प्रोसेस भनिन्छ।

कुनै पनि बिक्री प्रबन्धक वा मर्चेन्ट बैंकले कुनै आधारमा टेकेर कम्पनीको भ्यालु निकाल्छन्। जसमा थुप्रै मेथड प्रयोग गरिन्छ।  सर्वोत्तमको हकमा पाँचवटा मेथडलाई आधार लिइएको छ।  शेयर प्राइस अन नेट एसेट भ्यालु(न्याभ), हिस्टोरिकल अर्निङ बेस्ड भ्यालु, प्रोजेक्टेड अर्निङ बेस्ड भ्यालु, प्राइस टु बुक भ्यालु, भ्यालुएसन विथ रिफ्रेन्स टु एभरेज मार्केट प्राइस सिमिलर स्टक छन्।  यी बाहेक नियामक निकायको गाइडलाइन पनि हुन्छ र कम्पनीले परम्परागत भ्यलुएसन मेथडहरु पनि प्रयोग गर्छन ।

कम्पनीले ती सबै आधारहरूलाई मापन गरेर कम्पनीको भ्यालु निकालिएको छ। हामीले यही पक्रिया पुरा गर्न चारवटा क्यापिटललाई जिम्मा दिएका थियौ। जसमा तीनवटा हाम्रा आफ्नै बिक्री प्रवन्धक थिए भने अर्को एक चाहिँ माछापुच्छ्रे कृति क्यापिटललाई भ्यालु क्रिएट गर्ने जिम्मा दिएका थियौ।जसले अहिले पनि हामीलाई एडभाइजरी सर्भिस दिइरहेको छ।  

बिक्री प्रवन्धक नियुक्त गर्नु भन्दा अघि र आइपिओ निष्कासनको प्रक्रियामा जानु भन्दा पहिले नै कृति क्यापिटलसँग हामीले सम्झौता गरेका थियौ। माथि भनिएकै आधार मानेर उसले हामीलाई एउटा भ्यालु निकालेर दियो। त्यही भ्यालुको आधारमा हामीले प्रति शेयर सात सय ५० रुपैयाँ पाउनु पर्छ भनेर प्रस्तावित मूल्य राखेको हो।

शेयर जारी गर्नु भन्दा अघि कुनै पनि कम्पनीले आफ्नो बिक्री प्रबन्धक पहिले नै तोक्नु पर्छ। जुन हामीले गरिसकेका छौ। 

साधारण भाषामा भन्नु पर्दा मेरो कम्पनीको प्रति कित्ता मूल्य ७५० रुपैयाँ हुन्छ भनेर दाबी गरेँ। 

हामीले ७५० रुपैयाँ तर राख्यौ। तर त्यो मूल्य नै हुनुपर्छ भन्ने आधार पनि चाहिन्छ। किनकि आधार पेश नगरी प्रस्तावित मूल्य राख्न नपाइने प्रावधान छ। कृति क्यापिटलले गरेको भ्यलुसएसन,शिवम् सिमेन्टको आइपिओलाइ आधार मूल्य लिँदा,सर्वोत्तमको सात सय ९० हुने देखिन्छ। तर हामीले ७५० रुपैयाँ राखेका छाैं,किन भन्दा शिवमले तीन वर्ष अघि शेयर निष्कासन गर्दा उसका इन्डिकेटर र हाम्रा इन्डिकेटरहरु भिडाउँदा हाम्रो यति देखिन्छ भनेर संस्थागत लगानीकर्तालाई भन्दै छौ। 

जुन आधारहरू हामीले पेस गर्छौ। ती आधारहरूलाई संस्थागत लगानीकर्ताहरूले पत्याउनु पर्छ। पत्याउने मात्रै होइन कम्तीमा १० संस्थागत लगानीकर्ताले किन्छु नै भनेर तयार नै हुनु पर्छ।

यति बेला धितोपत्र बोर्डमा ७४ संस्थागत लगानीकर्ता दर्ता छन्। ती मध्ये कम्तीमा १० संस्थागत लगानीकर्ताले त्यो भ्यलुएसनलाईआधार मानेर बीड गर्छन्। हामीले दिएको ७५० रुपैयाँलाई प्रस्तावित मूल्य भनिन्छ भने संस्थागत लगानीकर्ताले गर्ने बिडिङ मूल्यलाई आशय मूल्य भनिन्छ।

कम्तीमा पनि १० संस्थागत लगानीकर्ताले यति मूल्य हुन्छ भनेर लेखेर दिएपछि एउटा बेन्ड क्रिएट हुन्छ। मिनिमम बेन्ड भनेको २० प्रतिशत तल हुन्छ भने म्याक्सिमम २० प्रतिशत माथि हुन्छ। जति पनि आशय मूल्य आउँछन् ती फरक फरक हुन सक्छन्। ती मूल्य चाहिँ उनीहरूले हामीलाई भन्दा पनि बोर्डलाई दिन्छन्। उनीहरूले दिएको मूल्यमा कसैले नौ सयमा लिन्छु भनेर आशय मूल्य तोक्न सक्छ भने कसैले ७५० नै तोक्नसक्छ। ती सबै फरक फरक मूल्य भए। तिनैलाई आधार मानेर एक कट अफ प्राइस तोकिन्छ। त्यही आधारमा संस्थागत लगानीकर्ताले र सर्वसाधारणले शेयर किन्छन्। संस्थागत लगानीकर्ताले ४० प्रतिशत र सर्वसाधारणलाई ६० प्रतिशत शेयर जारी हुन्छ।

सर्वसाधारण शेयरको मूल्य चर्को भयो भनिरहेका छन् नि ?

हो । तपाईँले ठीक भन्नु भयो। सर्वसाधारणले सर्वोत्तमले चर्को मूल्यमा शेयर ल्याउने भयो,यसको मूल्य त एक सय वा दुई सय मात्रै हुनु पर्ने हो भनेको मैले पनि सुनिरहेको छु। सबैभन्दा पहिले त बुक बिल्डिङ सर्वोत्तमले ल्याएको हुँदै होइन। यो विधि त नियामक निकाय नेपाल धितोपत्र बोर्डले ल्याएको हो। उसले संसारमा चलेको यो विधि नेपालमा ल्याइएन भने हाम्रो मुलुकमा रियल सेक्टर स्टकमा आउँदैनन् भनेर ल्याएको हो। उसले ल्याएको विधिलाई फलाे गरेर हामीले निष्कासन मात्रै गर्न लागेको हो। यो सर्वसाधारणले सबैभन्दा पहिले बुझ्न जरुरी छ।

किन यति धेरै मूल्य भन्ने सर्वसाधारणको भनाइ छ। यसलाई यसरी बुझाउँदा राम्रो होला। तपाईँको १० कट्ठा जमिन छ। त्यो १० कट्ठा जमिनका लागि १० वटा बिल्डरले आएर तपाइको जमिनको मूल्य यति हुन्छ है भनेर उनीहरूले भन्नु पर्छ। फेरि उनीहरूले मूल्य तोकिदिएर मात्रै हुँदैन । फेरि उसले तोकी दिएको मूल्यमा उसैले पनि चार कट्ठा जमिन किन्नु पर्छ। अनि मात्रै त्यो रियल भ्यालु हुन्छ। उसले किन्न नपरे त जति राखिदिँदा पनि भयो नि। उसले नै किन्न परेपछि त दुई/चार लाख रुपैयाँ लिएर आशय मूल्य तोक्ने भन्ने कुरा हुँदैन। उसैले किन्न तयार भएको मूल्यको बारेमा उसले मालपोत कार्यालयलाई लेखेरै दिनु पर्छ। अनि मात्रै मालपोतले आफैले किन्न परे पनि यति मूल्य हाल्ने रहेछन् भनेर उसले तोकिएको मूल्यमा किन बेच गर्ने अधिकार दिन्छ।

यहाँ फेरि सर्वसाधारणले यो शेयर बिडिङ गर्ने पनि होइन। उनीहरूले त संस्थागत लगानीकर्ताले तोकिदिएको मूल्यको आधारमा छुटमा पाउने मात्रै हो। मूल्यको खोज त संस्थागत लगानीकर्ताले गर्छन्। सर्वसाधारणले त उनीहरूले खोजेको मूल्यमा किन्ने मात्रै हो।

फेरि सर्वसाधारणले उनीहरूलाई चर्को मूल्यमा शेयर भीडाउन खोजेको जस्तो मानिरहेका छन्। हामीले सर्बसाधारणलाई यो शेयर बेच्ने नै होइन। हामीले यो विधिमा सर्वसाधारणसम्म पुग्नै पर्दैन। हामीले सर्बसाधारणलाई कन्भिन्स गर्नै पर्दैन। हामीले बढी भन्दा बढी मूल्य निर्धारण हुनु पर्छ भनेर त संस्थागत लगानीकर्तालाई कन्भिन्स गर्ने हो। उनीहरूलाई चित्त बुझाउनु पर्ने हो। जति बढीमा उनीहरूले लिन्छन् त्यो भन्दा कममा सर्वसाधारणले पाउने हो।

बिडिङमा गई सकेपछि बल्ल सर्वसाधारणको पालो आउने हो। यसमा कम्पनीले सर्वसाधारणसँग कुनै लेना देना नै नहुने ठाउँमा कम्पनीले कसरी सर्वसाधारणलाई बढी पैसा लिने भन्ने हुन्छ ? यो अलि बुझाउन सकिएको छैन। यो पहिलो भएर पनि होला। सर्बसधारणले के बुझ्न जरुरी छ भने तपाइहरू बढी मूल्यमा पर्ने होइन संस्थागत लगानीकर्ता तपाइहरू भन्दा बढी मूल्यमा पर्छन्। उनीहरूले भन्दा १० प्रतिशत सस्तोमा तपाइहरूले शेयर पाउनु हुन्छ।

फेरि नेपालमा लगानीकर्तालाई यति सुरक्षित गरिएको छ। जुन संसारभर कतै पनि यति सुरक्षित गरिएको पाइँदैन। यो नेपालको नियामक निकायले सर्वसाधारण बढी प्राथमिकता दिएको हो। उता भारतमा ६५ प्रतिशत संस्थापक लगानीकर्तालाई दिने भनेको छ भने सर्वसाधारणलाई ३५ प्रतिशत मात्रै भनेको छ। फेरि सर्वसाधारणलाई कुनै छुट पनि छैन। तर नेपालमा ६० प्रतिशत सर्वसाधारण र ४० प्रतिशत मात्रै संस्थागत लगानीकर्तालाई दिने भनेको छ। अनि कुन हिसाबले सर्वसाधारण मर्कामा परेका छन् ? अन्य देशको तुलनामा त नेपालका सर्वसाधारण बढी सुरक्षित छन् होइन र ?  

तपाईँहरूले ती १० संस्थापक लगानीकर्ता तयार गरिसकेको अवस्था हो ?

बुक बिल्डिङ प्रक्रियाको लागि हामीले धेरै पहिले देखिनै एक्सरसाइज गर्दै आएका हौ। जतिबेला यसको निर्देशिका आयो त्यति बेलादेखि नै हामीले यसको एक्सरसाइज गरिरहेका छौ। सुरुदेखि नै हामीले ४० भन्दा बढी संस्थापक लगानीकर्तालाई बोलाएर छलफल गरिसकेका छौ। कयौँ चरणमा उहाँहरूसँग छलफल भइसकेका छन्।

छलफलको एउटै उद्देश्य हुने गरेको थियो। हाम्रो शेयर बिक्छ कि बिक्दैन। उहाँहरूले लिनु हुन्छ कि लिनुहुन्न। हामी अघि बढ्दा हुन्छ कि हुँदैन। लगायतमा केन्द्रित गरेर धेरै छलफल पछि यो पक्रिया अघि बढेको हो।

छलफलमा संस्थागत लगानीकर्ताहरूको एउटै चासो थियो कि कम्पनीले कम्तीमा आठ प्रतिशत रिटर्न दिन सक्छ कि सक्दैन। त्यसमा हामीले उहाँहरूलाई के भनेर आश्वस्त पारेका छौ भने पुरानो इतिहासलाई फर्केर हेर्‍यो भने र अहिलेको वर्तमान अवस्थामा मूल्याङ्कनमा हामी औसतमा ५५ देखि ६० रुपैयाँसम्म रिटर्न दिन सक्छौ। हामीले दिने बोनस शेयरलाई पनि क्यासमा क्यालकुलेट गर्नु भयो भने त्यति रकम पाउनु हुन्छ भनेर कन्भिन्स गरिसकेका छौ। हाम्रो शेयर किन्दा तपाईँलाई फाइदा नै हुन्छ भनेर बुझाउन सक्नु पर्छ। त्यो हामीले उहाँहरूलाई बुझाइसकेको अवस्था छ। मोटामोटी छलफलमा उहाँहरूले शेयर किन्ने तय भइसकेको छ। उहाँहरुसँग एक किसिमको मौखिक अन्डस्ट्यान्डिङ भएपछि नै हामी निष्कासनमा जाने पक्का पक्की भएको हो।

अर्को कुरा, हामीले उहाँहरूले तय गरेको मूल्य दिने होइन कि उहाँहरुले नियामक निकायलाई दिने हो। जहाँसम्म अहिलेसम्मको तयारीमा १० मात्रै के सबै जसोले कुनै न कुनै आशय मूल्य दिनु हुन्छ भन्ने हामीलाई विश्वास छ।

तर उहाँहरूले दिनु भएको मूल्यमा नियामकले पनि चित्त बुझाउन जरुरी हुन्छ। उहाँहरूले दिएको मूल्यलाई थोरै भयो वा बढी भयो भन्ने अधिकार फेरि नियामकलाई हुन्छ।

तपाईँले अघि भन्नु भयो। कम्तीमा आठ प्रतिशत रिटर्न दिन्छौ। तपाईँले तोकेको मूल्य अनुसार कम्तीमा पनि ५६ रुपैयाँ दिनु पर्ने हुन्छ। वार्षिक ५६ प्रतिशत रिटर्न दिन सक्छ कम्पनीले ?

दिन सक्ने भएरै त हामीले यो मूल्य राखेको हो। त्यही भएर त भ्यालुएटरले त्यो मूल्यको भ्यालु गरिदिएको हो। नत्र उनीहरूले कसरी भ्यालु गर्छ ?

आउने वर्ष कति प्रतिफल दिनु हुन्छ ?

आउने वर्ष नै हामी १० प्रतिशत बोनस दिन्छौ। २५ रुपैयाँ हामी नगद दिन्छौ। त्यो भनेको झन्डै एक सय रुपैयाँ भयो। त्यति त अहिले नै दिन्छौ भनेर संस्थागत लगानीकर्तालाई भनि सकेको अवस्था छ। आउने वर्ष मात्रै होइन,आउने पाँच वर्ष हामी औसतमा ५५ देखि ६० प्रतिशत दिन्छौ। कुनै वर्ष बोनस शेयरको रुपमा होला कुनै वर्ष नगद हुन सक्छ। तर औसत ५५ देखि ६० प्रतिशत चाहिँ घट्दैन।

५५ देखि ६० प्रतिशतको रिटर्न भनेको कुनै पनि संस्थागत लगानीकर्ताको लागि निक्कै राम्रो रिटर्न हो। यति रिटर्न दिन सक्ने नाफा सिमेन्ट कारखानाको हुन्छ र भन्या ?

हामीले त्यति रिटर्न दिन सक्नुको मुख्य कारण भनेको रिपलेसमेन्ट भ्यालु राम्रो भएर हो। हाम्रो दुई हजार करोड छ। भन्नुको अर्थ आज यही साइजको कारखाना खोल्नु पर्‍यो भने दुई हजार करोड रुपैयाँ लाग्छ। तर हिजो त हाम्रो कम लागेको थियो। यति बेला नयाँ दुई हजार करोडको कारखाना खोल्नेले कम्तीमा १० प्रतिशत त व्याज नै तिर्नु पर्छ। त्यसको लागि २० करोड त उसले कमाउनै पर्‍यो। त्यो भन्दा बढी कमायो भने मात्रै उसले लाभांश दिन पाउने हो। तर मैले २० करोड नै कमाए भने पनि आठ प्रतिशत लाभांश दिन सक्छु। किनकि मेरो कम्पनीमा अब बैक लोन लगभग सकी सकेको अवस्था छ। कारखानाले जति पनि नाफा गर्छ त्यो शेयर धनीको हुन्छ। त्यसैले हाम्रो नाफा बढी छ।

तपाईँलाई यसरी बुझाउँदा अझै सजिलो होला। मैले यो तीनकुनेमा भएको न्यौपाने टावर बनाएको १७/१८ वर्ष भयो। त्यो बेला मैले १० लाख रुपैयाँ आनामा ४० आना जग्गा किनेको हो। चार करोड रुपैयाँमा यो बिल्डिङ बनाए। जम्मा जम्मी आठ करोड रुपैयाँ लाग्यो। अहिले चार करोड रुपैयाँ भाडा आइ राखेको छ। अहिले यही घर किन्न आउनु भयो भने यति बेला एक करोड ३५ लाख आना भन्दा घटीमा जग्गा पाइन्न। ५० करोड जमिनको भयो। बनायो भने १० करोड रुपैयाँमा बिल्डिङ बन्छ। ६० करोडको हिसाबले हेर्नु भयो भने चार प्रतिशतको रिटर्न छ। तर हिजोको लगानीले हेर्नु भयो भने ५० प्रतिशत रिटर्न छ।

हो  यही अवस्था मेरो कम्पनीमा छ। हिजोको लागत कम थियो। तर आज मूल्य बढ्दै गएको छ। मेरा शेयर धनीले हिजोको इन्भेस्टमेन्टको आधारमा लाभांश पाउँछन् भने अरूले आजको आधारमा लाभांश दिनु पर्छ। त्यही कारण मेरो कम्पनीले बढी लांभाश दिन सक्ने क्षमता राख्छ। तर यही क्षमताका कम्पनीले मैले जति रिटर्न दिन सक्दैनन्।

तर अहिलेकै मूल्यमा कसैले न्यौपाने टावर किन्यो भने चार प्रतिशत मात्रै रिटर्न पाउँछ। चार प्रतिशत रिटर्नको लागि कसैले किन्दैन। हो यही अवस्था नआओस् भनेर हिजोको खरिद मूल्य,आजको कम्पनीको वास्तविक मूल्य बिच आउने फरकमा पनि किन्नेलाई चार प्रतिशत भन्दा बढी कमसे कम आठ प्रतिशत आओस् भन्ने हिसाबले कम मूल्य निर्धारण गरिएको छ। किनकि आज किन्नेलाई पनि कम्तीमा राम्रो रिटर्न आओस् भन्ने हाम्रो उद्देश्य हो। 

तपाईँको कम्पनीमा ऋण पनि छ। त्यो पनि त तिर्नु पर्ला ?

ऋण छ। टु हन्ड्रेड करोड जति हाेला। तर आइपिओ आउँदासम्म त्यो क्लियर भईसक्छ होला। दुई हजार करोडको सम्पत्तिमा १० प्रतिशत ऋण छ। त्यो भनेको नोमिलन ऋण हो। किन नोमिनल भन्दै छु भने रिटर्न ५५ देखि ६० प्रतिशतको छ भने त्यसमा १० प्रतिशत घटाए भने  म ऋण मुक्त यही वर्ष हुन सक्छु। त्यही भएर मैले नोमिनल ऋण भनेको हो।

सर्वसाधारणले यो पनि बुझ्न जरुरी छ की ऋण भनेको जुन सुकै कम्पनीमा हुन्छ। तर सर्वसाधारणलाई लागिरहेको छ यो ऋणमा डुबेको कम्पनी हो कि ? फेरि यसले आइपिओ निकालेर ऋण तिर्न लागेको हो कि ? हो उहाँहरूले सोचेको कुरा ठिक हो। कम्पनीमा ऋण छ। तर कति छ भन्ने कुरा बुझ्नु पर्‍यो। कम्पनी स्थापना गर्दा हामीले ८० देखि ९० करोड रुपैयाँ व्याज मात्रै बुझाउँथ्यौ भने अहिले १० करोड पनि बुझाउनु पर्दैन। भनेको अर्थ जति व्याज तिर्न पहिले खर्च हुन्थ्यो त्यो रकम त नाफामा गइरहेको छ।

मैले ऋण तिर्नकै लागि आइपिओ निकाल्दा झन् महँगो पर्छ। बरु बैकबाट लोन लिँदा सस्तो पर्छ। यो सर्वसाधारणले बुझ्न जरुरी छ।   

मैले कम्पनी स्थापना गर्दा ३० लाख रुपैयाँ बिघामा किनेको थिए। अहिले आफैले त्यही छेउमा २० लाख रुपैयाँ कट्ठामा किन्दै छु। भनेको अर्थ मेरो कम्पनीको भ्यालु कसरी बढिरहेको छ भनेर हेर्नु पर्ने हुन्छ।

तपाईँले आइपिओ निष्कासन गर्नुकाे कारण चाहिँ के हो ?

यसमा थुप्रै कारण छन्। मैले सिमेन्ट कारखाना चलाइको २७/२८ वर्ष भयो। मेरा थुप्रै डिलर छन्। खै तपाईको समान बेचेको यतिका वर्ष भई हामीलाई केही भएन भन्छन्। मैले चार सय करोडको कारखाना खोल्दै छु। उहाँहरूलाई पनि १० लाख कित्ता राखौँ भनेर सम्भव हुँदैन। अहिले नै हामी संस्थापक ५२ जना छौ। त्यो भन्दा बढाएर लैजान सक्ने अवस्था छैन। बरु कम्पनीको शेयर जारी गरिदिएर उहाँहरूलाई पनि सहभागिता जनाउन सक्ने वातावरण तयार गर्न लागेको हो।

अर्को चाहिँ सर्वसाधारणले बैंकमा पैसा राख्छ भने उसले सात देखि आठ प्रतिशत ब्याज पाउँछ। बरु त्यो भन्दा आठ प्रतिशत प्रतिफल आउने कम्पनीमा लगानी गर्छ। वार्षिक आठ प्रतिशत पनि आउने भयो। शेयर भ्यालु बढ्ने र बोनस शेयर पाइने। पछि बिक्रि गर्न परे बढी पैसा पनि आउने। त्यो अलग्गै एडभान्टेज होला भनेर हो।

मुख्य कारण चाहिँ २५ औ वर्ष देखि मेरो समान बेचिरहेका डिलरहरूलाई कुनै न कुनै हिसाबले कम्पनीमा आबद्ध गर्न पनि यो शेयर निष्कासन गर्न लागिएकाे हो। उनीहरूलाई मैले हाम्रो कम्पनीको शेयर किन्नुस्। भोलि शेयर धारक भनेर कुनै स्किम पनि दिउला भनेको छु। त्यसले शेयर होल्डर पनि हुने। केही छुट पनि पाउने भएपछि कम्पनी प्रति अपनत्व थप बढ्छ भन्ने पनि हो।

भनेको अर्थ यो कम्पनीको शेयर जो सँग हुन्छ त्यसले यो कम्पनीको प्रडक्टमा पनि केही छुट पाउँछ भन्ने हो ?

म अहिले नै त्यो चाहिँ भन्दिन। अहिले जनरल पब्लिकलाई भनेका छैनौ। तर पटक पटक किन्ने पसले,बिल्डर,कन्ट्याक्टर लगायतलाई भने त्यस्तो स्किम ल्याउन खोजिरहेका छौ। त्यसले के फाइदा गर्छ भने उसले लामो समयसम्म मेरै सिमेन्ट बिक्री गर्छ। उ अर्को ब्रान्ड प्रति जाँदैन।

उ तपाईँको कसरी शेयर होल्डर हुन सक्छ ? उसले त शेयर पाउन पनि सक्छ नपाउन पनि सक्छ। हैन र ?

उसले मार्केटबाट किन्छ भन्या। पाइए प्राइमरीबाट किन्छ। नपाइए सेकेन्डरीबाट किन्छ। हामीले त अवसर दिने हो। त्यो त पर्ने नपर्ने,किन्ने नकिन्ने उसको निर्णय हो। उसले  सेकेन्डरीबाट किन्दा पनि सिमेन्ट बेच्दा मलाई यति फाइदा हुन्छ भन्ने सोच्यो भने किन्छ। नत्र किन्दैन।

तपाईँका त अरू पनि कम्पनीहरू छन्। तीनकाे पनि साधारण शेयर जारी गर्ने योजना छ ?

पहिले त यसको आइपिओ आउँछ। यो ल्याइ सकेपछि बल्ल हामीलाई थाहा हुन्छ। तर अहिले नै त्यस्तो कुनै योजना छैन। तर यही साइजका हाम्रा थुप्रै कम्पनी छन्।

फेरि हाम्रो स्टक मार्केट अहिले लगभग ३० बिलियन डलरको छ। बङ्गलादेशको ४० बिलियन डलरको छ। त्यहाँ चाहिँ संस्थागत लगानीकर्ता साढे १२ सय छन्। हाम्रोमा ७४ जना मात्रै छन्। त्यसमा पनि ग्रुप ग्रुप छ। भारतमा ५८ हजार छन्। त्यहाँ चाहिँ संस्थागत लगानीकर्तालाई र पब्लिकलाई एउटै रेट हुन्छ। यहाँ संस्थागत लगानीकर्तालाई तोकिसके पछि फेरि १० प्रतिशत छुट दिनु पर्ने भनेको छ। यी प्रावधानहरूले कस्तो रियाक्सन दिन्छ। हेरेर मात्रै भन्न सकिन्छ।

फेरि सबै कम्पनीमा मैले यसो गरौँ भनेर पनि हुँदैन। यो कम्पनी स्थापना हुने बेलामा ४५ प्रतिशत विदेशी लगानीकर्ता थिए। त्यो अहिले नेपालीमा कन्भर्ट भएको छ। भन्नुको अर्थ विदेशी लगानीकर्ताका नेपाली प्रतिनिधि छन्। त्यस कारण बोर्डले डिसाइड गर्नु पर्छ। 

आइपिओ निष्कासन गरेर आउने पैसा के मा युज गर्नु हुन्छ ?

हरेक कम्पनीको आ आफ्नै प्रोजेक्सन हुन्छ। पहिले त थोर बहुत रहेको ऋण नै हामी तिर्छौ। लगभग १० प्रतिशत जति ऋण होला। त्यो क्लियर गरिदिन्छौ। बचेको पैसाले हामी अर्को काम गर्छौ। किनकि हामीसँग ९० वर्षलाई पुग्ने चुन ढुङ्गाको रिजर्भ छ।

भन्नुको अर्थ ९० मेगावाट बिद्युत् उत्पादन गर्न सक्ने खोला तपाइसँग छ। तर तलाईले ३० मेगावाट मात्रै निकाल्नु भएको छ भने सबैभन्दा पहिला त तपाईले उत्पादन क्षमता नै बढाउनु हुन्छ। हामी प्रोजेक्ट नै नयाँ पनि लगाउन सक्छौ। यसैको क्षमता पनि बढाउन सक्छौ।

हाम्रा थुप्रै योजनाहरू छन्। तिनमा पनि लगानी गर्न सक्छौ। जस्तै,अर्को तीन हजार टनको कारखाना बनाउने भन्ने योजना पनि छ। मिनरल बेस इन्डस्ट्रीमा सबैभन्दा पहिले तपाईसँग खानी हुनु पर्छ। जुन हामीसँग अलरेडी छ। त्यो भएपछि हामी जे पनि गर्न सक्छौ। ९९ प्रतिशत त हामी युनिट टु लगाउँछौ । किनभने अहिले भएको ठाउँमा जग्गा साँघुरो हुन सक्छ। त्यसको लागि जग्गा खोज्ने कार्य गरिसकेका छौ। पाँच/सात बिघा जग्गा किनी पनि सकेका छौ। सबै कुरा अहिले नै डिटेलमा भन्न पनि मिल्दैन।  

शेयर निष्कासन प्रक्रिया नेप्सेले गर्छ। उसले म्यनुअल्लि गर्छ किन अनलाइन हुन्छ ?

यसको निर्धारण बिक्री प्रबन्धक र नेप्सेबीच हुने कुरा भयो। यो हामीले भन्ने कुरा होइन। अब बिक्री प्रबन्धकहरूले भन्नु पर्ने हुन्छ। यो भन्दा अघि नै बिक्री प्रबन्धकहरूले यही विषयमा दुई/तीन पटक बैठक पनि गरिसकेका रहेछन्। तर यति बेलासम्मको कुराकानीमा उहाँहरुले म्यानुअल्ली नै गर्ने  भन्नु भएको हो। तर तपाईको एक डेढ महिनासम्म लाग्ने भयो भने अनलाइन पनि गर्न सक्ने हुन सक्छ भन्नु भएको अवस्था हो। हाम्राे यस  बिषयमा नेप्से,  बिक्री प्रबन्धक र निष्कासन एडभाइजरसँग छलफल भइरहेकाे छ ।

तपाइले १० प्रतिशत मात्रै किन शेयर किन जारी गर्नु भएको  ?

यसमा अलिकति क्लियर गरिदिन्छु मैले। पहिले हामीले १० प्रतिशत मात्रै निकाल्ने भनेका हौ। १० प्रतिशत निकाल्दा संस्थागत लगानीकर्ताले पाउने शेयर भन्दा सर्वसाधारणले पाउने शेयर एकदमै कम भयो। त्यसपछि हामीले त्यसलाई बढाएर १५ प्रतिशत गरेका छौ। १५ प्रतिशतमा दुई प्रतिशत प्रभावित क्षेत्रलाई दिन्छौ। त्यो चाहिँ दिनै पर्ने भएकोले दिन लागिएको हो। चार सय करोडको पूँजीमा ६० लाख कित्ता हो। ६० करोड रुपैयाँ बराबरको निष्कासन गर्दै छौ। १५ प्रतिशत गर्दा पनि सर्वसाधारणको हिस्सामा र कर्मचारीको हिस्सामा २८ लाख कित्ता परेको छ।  त्यो पनि कुल निष्कासनको साढे ६ प्रतिशत मात्रै हुन्छ।

तपाईँलाई जति पैसाको आवश्यकता हुन्छ त्यति नै रकमको निकाल्ने हो नि। त्यो भन्दा बढी त निकाल्ने होइन नि। चाहिने भन्दा बढी कित्ता त निकाल्नु हुन्न।

अर्को कुरा तपाईले साउदी अरेबियाको सरकारी स्वामित्व भएको कम्पनीले २०१९ मा शेयर जारी गर्‍यो । यही विधिबाट शेयर जारी गरेको थियो। त्यति बेला संसारको सबैभन्दा ठुलो आइपिओ थियो। त्यति बेला कम्पनीले कति शेयर जारी गर्‍यो भने जम्मा १.५ प्रतिशत मात्रै। त्यो कम्पनीले पूँजीको लागि शेयर निकालेको होइन। यस्तै हामीले पनि पूँजी बढाउन शेयर निकालेको होइन।

जनतामा जागरण आउँछ। पूँजी बजारको विकास हुन्छ। ब्रान्ड भ्यालु बढ्छ। कम्पनीको फ्याक्ट भ्यालु आउँछ। त्यसले के पाइदा गर्छ भन्दा भोलि शेयरको मूल्य बढ्दै जान्छ। मूल्य बढ्दै जाँदा मैले कुनै बहुराष्ट्रिय कम्पनीसँग टाई अफ गर्नु पर्‍यो भने उनीहरूले लगाउने मूल्य नै फरक हुन्छ। फेरि उनीहरूले लिष्टेड कम्पनीलाई हेर्ने दृष्टिकोण नै फरक हुन्छ।

हामी पनि न्यू जेनेरेसनमा आयौ। हाम्रा छोराहरू पनि अमेरिकाबाट पढेर आए। उनीहरू कर्पोरेट सेक्टरलाई कर्पोरेट कल्चरमै लैजान चाहन्छन्। कम्पनी अटो पाइलटमा चल्नु पर्छ भन्ने मान्यता राख्छन्।

अर्को कुरा जब सम्म कुनै पनि कम्पनीमा पब्लिक र संस्थागत लगानीकर्ताले बजार मूल्य तोक्दैनन् तब सम्म कम्पनी रियल भ्यालु पनि थाहा हुँदैन। त्यही भएर पनि थोरै भए पनि शेयर जारी गर्न लागिएको हो।

अर्को कारण के हो भने, हामी स्टक लिष्टेड नै किन हुने त ? त्यसको प्रमुख कारण भनेको कुनै पनि बेदेशी कम्पनीसँग लगानीको लागि कुरा राख्यो भने उनीहरूको एउटै प्रश्न हुन्छ। के तिम्रो कम्पनी लिष्टेड छ?  पब्लिक कम्पनीप्रति कन्ट्याक्टरहरुलाई बढी विश्वास हुन्छ। हाम्रो एकाउन्टिङ प्रोसेस पनि राम्रो हुन्छ।

जुन कम्पनी चलेका छैनन्। जसको नाफा नै छैन। कम्पनी चल्नै धौ धौ छ। त्यस्ता कम्पनीले हो ४९ प्रतिशत शेयर जारी गर्ने। मैले किन दिन्छु ? मेरो बस चलेको भए १० प्लस दुई भन्दा बढी दिँदै दिन्न थिए। १० त दिनै पर्छ भनेर कुनले बनाएको छ। दुई प्रतिशत स्थानीयलाई दिनै पर्छ भनेको छ। त्यति गर्दा जनताले पाउने त असाध्यै थोरै भयो भनेर मायाले तीन प्रतिशत त अझ बढाएको हो।  

हो यही कुरा पब्लिकले गरिरहेका छन्। तपाईँलाई बढी फाइदा छ। सर्वसाधारणलाई कम हुन्छ। आफ्नो रियल भ्यालु निकाल्न मात्रै पब्लिकमा जान लागेको भनिरहेका छन् नी ?

ए बाबा मैले मेरो धेरै शेयर बेचेको भए पो मलाई बढी फाइदा हुन्थ्यो। मैले त जम्मा १५ प्रतिशत शेयर मात्रै बेच्दै छु। ८५ प्रतिशत शेयर त मै सँग छ। यसमा जसले शेयर पायो उसको पनि त त्यस अनुसार नै बढ्छ नि । मेरो मात्रै बढ्ने हो र भन्या। मैले नाफा खानलाई शेयर बेचेकै छैन। मैले दोस्रो बजारमा शेयर बेचेर फाइदा लिन शेयर जारी गरेकै होइन। सेकेन्डरी मार्केटमा कति प्राइस पुग्छ भन्नेले मेरो बार्गेनिङ क्यापेसिटि मात्रै बढाउने हो। मर्जर वा टाई अपको लागि। तर मेरो इन्भेस्टमेन्टको रिटर्न त वार्षिक कति दिन्छ यसले भन्ने मै बढी कर्नसन हुन्छ। जब अहिले नै मैल बढी रिटर्न पाइ रहेको छु भने मैले किन साधारण शेयर जारी गर्ने ? तर पनि म साधारण शेयर जारी गर्दै छु। मैले लगानी गरेको छु भने न्याचुरल्लि मलाई बढी फाइदा हुन्छ नै।

 

कम्पनीले धरै अघि नै शेयर जारी गर्न सक्थ्यो तर गर्नु भएन। आज आएर तपाईँ किन आइपिओमा जन खोज्नु भएको  ?

हिजो हामीले राइट प्राइस पाइ रहेका थिएनौ। त्यही भएर गएनौ। त्यति बेला सस्तोमा बेच्नु पर्ने अवस्था थियो। जुन मूल्यमा हामी बेच्न चाहँदैन थियौ।  हामीले सन् २०१९ को २५ अप्रिलमै शेयर निष्कासन गर्ने तयारी गरिरहेका थियौ। २५ लाख रुपैयाँ दिएर ग्लोबल आइएमइ क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा सम्झौता पनि गरेका थियौ। तर सम्झौता गरेर पनि हामी चुप लागेर बस्याैं।  किन भन्दा क्यापिटलले  भन्छ शिवम् कै मूल्य तीन सय रुपैयाँ छ। म भन्छु ६ सय रुपैयाँमा निकालाैं। उसले भन्छ अहिलेको नियमले कुनै पनि हालतमा ६ सय रुपैयाँमा शेयर निकाल्नै पाइन्न। तलाईको बुक भ्यालु कति छ दुई सय पाँच रुपैयाँ। नियमले त्यसको दुई गुणा भन्दा जानै पाइन्न। फेरि त्यो पनि बिक्नु पर्‍यो भन्ने कुरा आयो। त्यसपछि मैले भने मलाई शेयर बेच्नु छैन ।

अन्तिम प्रश्न तपाईँ बुक बिल्डिङमा जाँदै हुनुहुन्छ। अरू रियल सेक्टरका कम्पनी किन स्टकमा नआएका होलान् ?

उनीहरू नआउनुको मुख्य कारण भनेको संस्थागत लगानीकर्ता नै कम भए। अर्को चेतना छैन। अर्को सही मूल्य नपाएर पनि हो। मेरै उदाहरण लिनुस् न। मैले २०१९ बाट शेयर निष्कासन गर्ने भनेको हो। तर त्यति बेला मैले चाहेर पनि निकालिन। कारण थियो मैले भने जस्तो मूल्य नपाउनु। अहिले पाए,त्यही भएर अघि बढ्दै छु। भनेको अर्थ शेयरको वास्तविक मूल्य नआई कसले शेयर निष्कासन गर्छ ? 

अघि नै मैले तपाईँलाई भने नि मेरो यो न्यौपाने टावर आठ करोडमा बनेको हो। यति बेला मलाई ६० करोड नदिई मैले बेच्छु त भन्या। कसैले परल मूल्य नपाइ शेयर बिक्री गर्छ त ? यी नै कारणले गर्दा नआएका हुन्। तर अब आउँछन् होला । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।