शेयर बजारमा लगानी गर्दा पोर्टफोलियो व्यवस्थापक मार्फत गरिएको लगानी बढी फाइदाजनक हुन सक्छ

Apr 04, 2021 06:43 PM Merolagani

दामोदर रायमाझी

हाल नेपालमा २८ वटा मर्चेन्ट बैंकहरुले पोर्टफोलियो व्यवस्थापन सेवा र १२ वटा मर्चेन्ट  बैंकहरुले २२ वटा सामूहिक लगानी कोष योजनाहरु संचालन गरिरहेका छन । आगामी दिनमा सामूहिक लगानी कोष योजना संचालन गर्ने मर्चेन्ट बैंकहरुको संख्या बढ्दै जाने देखिन्छ । 

हाल मर्चेन्ट बैंकहरुले म्युचुअल फण्ड अन्तर्गत २१ अर्ब ४५ करोड रूपैयाँ भन्दा बढी र लगानी व्यवस्थापन सेवा अन्तर्गत अनुमानित ८ अर्ब रूपैयाँ गरि जम्मा २९ अर्ब ४५ करोड रूपैयाँ भन्दा बढी फण्ड म्यानेज गरिरहेका छन् । आजको बजार मुल्यको आधारमा उक्त रकम गणना गरि हेर्ने हो भने मर्चेन्ट  बैंकहरुले फण्ड म्यानेज गरेको रकम ४५ अर्ब रूपैयाँ भन्दा माथि देखिन्छ ।

मर्चेन्ट बैंकहरु मार्फत सञ्चालित म्युचुअल फण्डहरु कहिले बजारमा भित्रिन्छन् र कहिले बजारबाट बाहिरिन्छन् भन्ने बारेमा बजारमा धेरै चासोको रुपमा लिएको पाईन्छ । मर्चेन्ट बैंकहरुले धितोपत्रमा लगानी गर्ने सम्बन्धी निर्णय लिदा समग्र बजारको बारेमा राम्रोसँग अध्ययन गरेर मात्र गरेका हुन्छन् । कम्पनीहरुको बारेमा आधारभूत र प्राविधिक विषयको अध्ययन गरेर मात्र थप लगानी गर्ने वा बिक्री गर्ने भन्ने बारेमा योजना बनाएका हुन्छन् । तसर्थ मर्चेन्ट बैंकरहरुले लगानी सम्बन्धी निर्णयमा आम लगानीकर्ताहरुको चासो रहनु स्वभाविक नै हो ।

पछिल्लो एक बर्ष देखि नेप्से परिसूचक बढ्दो क्रममा रहेको छ । समान्यतया नेपालमा नेप्सको बुलिस प्रबृति साइकल तीन बर्ष भन्दा बढी अवधी रहेको देखिन्छ । तर्सथ, नेप्से परिसूचक अझै केहि समय बढ्दो क्रममानै रहने अनुमान लगाउन सकिन्छ । नेप्से परिसूचक बढेसँगै सूचिकृत कम्पनीहरुको बजार मुल्य समेत बृद्धि भएको छ । सूचिकृत कम्पनीको बजार मुल्य तथा समग्र दोश्रो बजार बृद्धि हुँदै जादा आफुसँग रहेको शेयरको बिक्री गर्ने र थप लगानी गर्ने सम्बन्धी निर्णय लिन आम लगानीकर्ताहरुलाई निकै गाह्रो भइरहेको देखिन्छ ।

पछिल्लो समयमा सूचिकृत हुने कम्पनीको संख्या निरन्तर बृद्धि हुनुको साथै शेयर बजारको आकार समेत बढेर गएको छ । जसले गर्दा लगानीकर्ताहरुलाई कुन कम्पनीको शेयरमा लगानी गर्दा भविष्यमा राम्रो प्रतिफल लिन सकिन्छ भन्ने निर्णय लिन निकै गाह्रो भएको हुनसक्छ । अहिलेको समयमा नेप्से परिसूचक कुन बिन्दुमा पुगेको छ भन्दा पनि कुन कम्पनीमा लगानी गर्दा सुरक्षित रुपमा उच्च लाभ लिन सकिन्छ भन्ने विश्लेषण गरेर लगानी गर्नुपर्ने देखिन्छ । अर्थात, नेप्से परिसूचक भन्दा सूचिकृत कम्पनीहरुको प्रफमेन्सको राम्रो अध्ययन गरेर लगानी सम्बन्धी निर्णय लिनु पर्दछ ।

हाल नेपालमा सूचिकृत कम्पनीहरुको स्वतन्त्र रुपमा विश्लेषण गर्ने कुनै आधिकारीक संस्था नभएको हुँदा आम लगानीकर्ताहरुले विभिन्न सामाजिक संजाल तथा साथी भाई वा पुराना लगानीकर्ताहरुको राय सुझावको आधारमा शेयरको खरिद बिक्री गर्ने सम्बन्धी निर्णय लिएको पाइन्छ । जुन निकै जोखिम पू्र्ण हुन सक्छ । शेयर बजारमा लगानी गर्दा साधारणतया अल्पकालिन र दिर्घकालिन रुपमा प्रतिफल प्राप्त हुने शेयरहरुमा लगानी गर्नु उचित देखिन्छ । शेयर बजारबाट सबै लगानीकर्ताहरुले राम्रै मुनाफा आर्जन गर्न सक्छन भन्न सकिदैन । बजारमा सबै लगानीकर्ताहरुले नाफा आर्जन गर्नको लागि सधै शेयर बजार बढ्दो क्रममा हुन पर्दछ जुन असम्भव देखिन्छ । शेयर बजारमा कसैले गुमाउने हो भने कसैले कमाउने हो ।

शेयर बजारमा गरिने लगानी जोखिम रहित नहुने हुँदा लगानी सम्बन्धी निर्णय लिन निकै सुज बुझका साथ लिनु पर्दछ । लगानी गर्न लागिएको कम्पनीको बारेमा राम्रो अध्ययन गरेर मात्र लगानी सम्बन्धी निर्णय लिनु पर्दछ । सूचिकृत कम्पनीहरुको शेयरको बजार मुल्य प्रभाव पार्ने धेरै तत्व हुन्छन् जुन आम लगानीकर्ताहरुलाई राम्रोसँग ज्ञान नहुन सक्छ । तसर्थ, व्यक्तिगत रुपमा गरिएको लगानीमा अलि बढी जोखिम हुन सक्दछ ।

नेप्से परिसूचक बढ्दैमा सम्पूर्ण सूचिकृत कम्पनीहरुको बजार मूल्य बढ्छ भन्न सकिदैन । पछिल्लो समयमा हेर्ने हो भने पनि नेप्से परिसूचक १,६०० बिन्दुको आसपास हुँदा कायम भएको मुल्य भन्दा नेप्से परिसूचक बृद्धि भई २,६०० भन्दा माथि रहदा समेत कुनै कम्पनीहरुको बजार मूल्य झन तल रहेको देखिन्छ । धितोपत्रको दोश्रो बजारमा लगानी गर्दा निकै चनाखो र राम्रोसँग बुझेर लगानी गर्नु पर्ने हुन्छ । शेयर बजारमा अल्पकालिन लगानी भन्दा दिर्घकालिन रुपमा गरिएको लगानीबाट बढी फाइदा लिन सकिन्छ । तर कस्तो कम्पनीमा लगानी गर्दा भविष्यमा राम्रो लाभ लिन सकिन्छ भन्ने बारेमा जानकारी प्राप्त गर्न सर्वसाधारण लगानीकर्ताहरुलाई निकै गाह्रो विषय हुन सक्छ ।

नेपालमा संचालिन अधिकाशं मर्चेन्ट बैंकरहरुले लगानी व्यवस्थापन सेवा संचालन गरिरहेका छन । मर्चेन्ट बैंकहरुले कुनै व्यक्ति तथा संस्थाको नाममा पोर्टफोलियो व्यवस्थापन गरिदिँदा लगानी व्यवस्थापन सेवा लिने सम्बन्धित सेवाग्राहीहरुको रिस्क ब्यारिङ्ग क्यापसिटी हेरेर लगानी सम्बन्धी निर्णय लिने गरेका हुन्छन् । मर्चेन्ट बैंकर अर्थात पोर्टफोलियो म्यानेजरबाट लगानी सम्बन्धी निर्णय गर्दा लगानी गर्नको लागि छनौट गरिने कम्पनीहरुको विगत, बर्तमान तथा भविष्यको समेत राम्रोसँग अध्ययन गरेको लगानी सम्बन्धी निर्णय गर्ने भएकाले लगानीकर्ताहरुको लगानी अझ सुरक्षित र राम्रो प्रतिफल प्राप्त हुन सक्छ ।

नेपालको सन्दर्भमा लगानी व्यवस्थापन सेवा नयाँ भएको हुँदा आम सर्वसाधरण लगानीकर्ताहरुलाई त्यति धेरै जानकारी नरहेको हुन सक्दछ । उक्त सेवाको प्रचार प्रसार नभएको हुँदा सेवा लिने लगानीकर्ताहरुको संख्या निकै कम रहेको देखिन्छ । पोर्टफोलियो व्यवस्थापक मार्फत गरिने लगानीमा व्यक्तिगत रुपमा गरिने लगानी भन्दा कम जोखिम हुन्छ ।

पोर्टफोलियो व्यवस्थापकहरुले लगानी सम्बन्धि निर्णय लिदा लगानी गरिने कम्पनीको आधारभूत तथा प्राविधिक पक्ष, उक्त कम्पनीको विगत, वर्तमान र भविष्यमा गर्न सक्ने व्यवसायीक प्रगतीको प्रक्षेपण, वितण गर्न सक्ने लाभाशं क्यापसिटी, समग्र बजारका अवस्था साथै शेयर बजारलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभाव पर्ने अन्य बाह्य तत्वहरुको बारेमा राम्रोसँग अध्ययन अनुसन्धान गरेर मात्र लगानी सम्बन्धी निर्णय लिइने हुँदा पोर्टफोलियो व्यवस्थापक मार्फत गरिने लगानी अलि सुरक्षित र बढी फाइदाजनक हुन सक्छ । पोर्टफोलियो व्यवस्थापकहरुले लगानी सम्बन्धी निर्णय गर्दा आफ्ना ग्राहकहरुलाई कम जोखिम बहन गरि कसरी बढी प्रतिफल प्रदान गर्न सकिन्छ भनि कार्य योजना बनाई काम गरिरहेका हुन्छन ।

पोर्टफोलियो व्यवस्थापकहरुसँग बजारको राम्रो ज्ञान भएको विशेषज्ञहरुको टिम हुन्छ । जसले निरन्तर रुपमा सूचिकृत कम्पनीहरुको शेयर मूल्यलाई सकारात्मक र नकारात्मक प्रभाव पर्ने तत्वहरु तथा समग्र शेयर बजारलाई प्रभाव पर्ने तत्वहरुको सम्बन्धमा निरन्तर अध्ययन अनुसन्धान गररहेको हुन्छन । एक्सपोर्टहरुको राय सुझाव तथा रिकमेन्डेसनको आधारमा लगानी सम्बन्धी निर्णय लिइने हुँदा पोर्टफोलियो व्यवस्थापक मार्फत गरिने लगानीमा कम जोखिममा उच्च प्रतिफल प्राप्त गर्न सकिन्छ ।

साधारणतय शेयरमा गरिने लगानीबाट प्राप्त हुने प्रतिफल भनेको लगानी गरिएको कम्पनीबाट वार्षिक रुपमा वितरण गरिने लाभांश वा आफुले खरिद गरेको मुल्य भन्दा माथी बिक्री गरि प्राप्त हुने क्यापिटल गेन हो । आम लगानीकर्ताहरुमा लाभांश प्रतिफल प्राप्त गर्न कस्ता कम्पनीमा लगानी गर्ने तथा क्यापिटल गेन प्राप्त गर्नको लागि कस्ता कस्ता कम्पनीहरुमा लगानी गर्दा उपयुक्त हुन्छ भनी छनौट गर्न निकै दुविधामा परेको पाईन्छ ।

तर पोर्टफोलियो व्यवस्थापकहरुले लाभांश गेन तथा क्यापिटल गेनको गणना गरि लगानी गर्ने समयमा नै कुन कम्पनी लाभांश खाने उद्देश्यले लगानी गर्ने कुन कम्पनी क्यापिटल गेनका लागि लगानी गर्ने भन्ने सहजै छुट्टाई लगानी सम्बन्धी निर्णय लिएका हुन्छन् । फलस्वरुप लगानी व्यवस्थापन सेवा लिने ग्राहकहरुले बजार बढेको बेलामा क्यापिटल गेन प्राप्त गर्दछन भने बजार घटे पनि लाभांश गेन प्राप्त गर्ने हुँदा समग्रमा ग्राहकको पोर्टफोलियो सकारात्मक हुन्छ ।

शेयर बजारमा लागेका अधिकाशं लगानीकर्ताहरुले धितोपत्रको दोश्रो बजारमा सूचिकृत धेरै जस्तो कम्पनीहरुको शेयर खरिद गरेर तथा आईपिओमा परेको सम्पूर्ण शेयरहरु होल्ड गरेर बसेको पाइन्छ । होल्ड गरेका कम्पनीहरु मध्ये कुन कम्पनीको प्रफोमेन्स राम्रो छ र कुन कम्पनीको नराम्रो छ त्यसको लेखा जोखा नगरि होल्ड गरिरहेको पाइन्छ ।

जसले गर्दा आफुसंग भएकै शेयरहरुको तुलान्तमक अध्ययन गरि नराम्रो कम्पनीको शेयर बिक्री गरि राम्रो कम्पनीको शेयरमा लगानी गर्दा भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ । पोर्टफोलियो व्यवस्थापकहरुले ग्राहकहरु संग भएको शेयरहरुलाई समेत लगानी व्यवस्थापन सेवामा लिने गरेको हुँदा नगद रकम नभएका तर आफुसंग भएको शेयरहरु समेत पोर्टफोलियो व्यवस्थापकलाई जिम्मा दिई उक्त सुविधा लिन सकिन्छ । जसबाट पोर्टफोलियो व्यवस्थापकले ग्राहकसंग भएको शेयरलाई रिब्यालेन्सिङ्ग गरि शेयरको खरिद बिक्री गर्ने कार्य गरिदिन्छन् । जसले गर्दा आफुसंग फ्रिज भएर बसेको शेयरहरुबाट समेत लगानीकर्ताहरुले लाभ लिन सक्दछन् ।

धितोपत्रको दोश्रो बजार बढेसंगै दोश्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुको संख्या समेत दिन प्रति दिन बढ्दै गईरहेको पाइन्छ । बजारमा भित्रने अधिकाशं लगानीकर्ताहरुको मनोविज्ञन शेयरमा लगानी गर्दा तुरुन्त फाइदा हुन्छ भन्ने देखिन्छ । जुन बुझाई गलत पनि हुन सक्छ । शेयर बजारमा लगानी गर्दा लगानी गर्ने कम्पनीको राम्रो संग अध्ययन गरेर मात्र लगानी सम्बन्धी निर्णय लिन उचित हुन्छ । नेप्से परिसूचक पछिल्लो समयको न्युनतम बिन्दु ११ सय देखि बृद्धि भई २६ सय भन्दा माथि पुगेको छ ।

नेप्से परिसूचक बृद्धि हुनुमा सूचिकृत कम्पनीको शेयरको मूल्य बढेर मात्र नभई पछिल्लो समयमा सूचिकृत कम्पनीहरुको संख्यमा बृद्धि हुँदै जादा पनि नेप्से परिसूचक बढ्न सहयोग पुगेको देखिन्छ । तसर्थ, अहिलेको समयमा शेयरमा लगानी गर्ने लगानीकर्ताहरुले नेप्से परिसूचक भन्दा पनि आफुले लगानी गर्न लागेको कम्पनीको बारेमा राम्रो अध्ययन गरेर मात्र लगानी गर्दा भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ ।

सूचिकृत कम्पनीको बजार मूल्य बढेसंगै बजारमा जोखिम पनि बढ्दै गइरहेको हुन्छ । शेयर बजारमा प्रवेश गर्न चाहने नयाँ लगानीकर्ता तथा शेयरमा लगानी गर्न मन भई विभिन्न कारणले गर्दा बजारमा प्रवेश गर्न नसक्नु भएका व्यक्तिहरुले पोर्टफोलियो व्यवस्थापक मार्फत लगानी गर्न राम्रो मानिन्छ । बजार बढेको समयमा आधारभुत र प्राविधिक रुपमा कमजोर भएका कम्पनीहरुको शेयर मुल्य पनि बढेका हुन्छन । यस्तो अवस्थामा लगानी गर्नु पूर्व गहन रुपमा अध्ययन गरेर लगानी गर्नुपर्ने हुन्छ । व्यक्तिगत रुपमा गरिने लगानीमा यस्तो समयमा बढी जोखिम हुन सक्दछ ।

हाल नेपालमा लगानी व्यवस्थापन सेवा लिनको लागि ग्राहकहरुले कम्तीमा ३ लाख रूपैयाँ वा सो रकम बराबरको शेयर पोर्टफोलियो व्यवस्थापकलाई उपलब्ध गराउनु पर्ने छ र पोर्टफोलियो व्यवस्थपन शुल्क समेत आजको मितिमा निकै कम रहेको पाइन्छ । बजारमा चल्ने अनेक हल्लाको पछाडी लागेर लगानी गर्दा उच्च जोखिम हुने हुँदा पोर्टफोलियो व्यवस्थापक मार्फत शेयर बजारमा लगानी गर्दा प्राप्त मात्रमा लाभ लिन सकिन्छ ।

(लेखकः एनआईसी एशिया क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ्ग हुन्)

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।