हकप्रदको जालमा यसरी फस्छन् सर्वसाधारण नयाँ लगानीकर्ता

Apr 07, 2021 08:04 AM Merolagani

तिलक कोइराला

शेयर लगानीकर्ता शेयर बजार हकप्रदको हल्लाले फेरि गर्माएको छ। शेयर बजारमा प्रवेश गरेका नयाँ लगानीकर्तालाई बाठा लगानीकर्ता र खेलाडीहरुले हकप्रदको हल्लामा महंगोमा शेयर भिडाउँदाका २०७२/०७३ सालतिरका दृश्यहरु फेरि देखिन थालेका छन्।

शेयर बजारमा थामिनसक्नु गरी सर्वसाधारण लगानीकर्ताको भीड लागेको बेला कामै नलाग्ने कम्पनीहरु समेतले सकेसम्मको हकप्रद बिक्रीमा ल्याएर सर्वसाधारण लगानीकर्ताहरुबाट पैसा धुतिरहेका छन्। यही मौकामा चलाख लगानीकर्ता र खेलाडीहरुले अनेक हल्ला समेत चलाएर हकप्रद ल्याउने कम्पनीको मूल्य उचाली नाफा कमाईरहेका छन्।

 
खेलाडीहरुलाई सजिलो के छ भने हकप्रद निकाल्ने भनेपछि जस्तोसुकै पत्रु कम्पनीको शेयर पनि दोब्बर तेब्बर मूल्य बढेको अवस्थामा किन्ने लगानीकर्ताहरुको कुनै कमी छैन। जति खराब कम्पनी, त्यति नै धेरै प्रतिशत हकप्रद र उति नै धेरै मूल्य उचालिने सम्भावना भएकाले खेलाडीहरुले हकप्रद बिक्रीमा ल्याउने कम्पनीको शेयरबाट अकुत सम्पति कमाईरहेका छन्। हकप्रद भनेको दोस्रो बजारबाट भाउ बढाएर शेयर किन्नु अनि हकप्रदका लागि पैसा थप्नु हुँदै हैन, यो त हाल कायम रहेका शेयरधनीबाट कम्पनीले थप रकम संकलन गर्न बजार मूल्यभन्दा सस्तोमा शेयर दिएर शेयरधनीलाई मनाउनु मात्र हो।
 
हाल कायम सर्वसाधारण शेयरधनीलाई हकप्रद किन्नैपर्छ भन्ने बाध्यता सिर्जना गरिएको पनि हुन्न। हाल कायम शेयरधनीलाई अंकित मूल्य वा प्रिमियममा थप शेयर किनेर आफ्नो स्वामित्व बढाउने अवसर भए पनि यसलाई कम्पनीको थप पूँजी संकलनको बाध्यताको रुपमा नै बुझ्नुपर्छ।
 
खेलाडीहरुको चलाखी र सर्वसाधारण लगानीकर्ताहरु मुर्गा बन्ने क्रम
 
कुनै कम्पनीले कति हकप्रद ल्याउने भन्ने बाध्यता त्यो कम्पनीका सञ्चालक, कर्मचारी र ठूला खेलाडीहरुलाई पहिले नै थाहा हुन्छ। कम्पनीको सञ्चालक समितिमा छलफल हुने बेलासम्म नै बजारका ठूला खेलाडीहरुसम्म हकप्रदको सूचना चुहिईसकेको हुन्छ। सर्वसाधारण लगानीकर्ताले थाहा पाउने गरी सूचना सार्वजनिक हुनु अगाडि नै चलाख लगानीकर्ता र खेलाडीहरुले अरुले थाहा नपाउने गरी आफुले सक्ने जति शेयर उठाईसकेका हुन्छन्।
 
जब यो कुरा बजारमा हल्ला चल्न थाल्छ, शेयरको भाउ विस्तारै माथि लैजाने प्रयास हुन्छ। माग पक्ष बलियो देखिएपछि शेयरको मूल्य बढ्न थाल्नु स्वभाविक पनि हुन्छ। जब कम्पनीले हकप्रद निकाल्ने भनेर सञ्चालक समितिको निर्णय नेप्सेको वेबसाईटमार्फत सार्वजनिक गर्छ, त्यो भन्दा अगाडि नै प्रायः सबै ब्रोकर, ठूला खेलाडीहरुसम्म सूचनाको पहुँच पुगिसकेको हुन्छ। नेप्सेमार्फत सूचना सार्वजनिक भएपछि भने सर्वसाधारण लगानीकर्ताहरु मैले पहिले सुचना थाहा पाएँ भन्ने भ्रममा पर्दै उचालिएर शेयर किन्न आउँछन्। शेयरको मूल्य ह्वात्तै बढेर बिक्री गर्ने कोही नहुँदा दैनिक १० प्रतिशतले सर्किट लाग्छ। शेयर दलालको कार्यालयदेखि चियापसलसम्म यही हकप्रद बिक्री गर्ने कम्पनीको चर्चा हुनथाल्छ। अनि झन् सर्वसाधारण लगानीकर्ताहरु ओईरिन्छन्।
 
लगानीकर्ताको हात हातमा अनलाईन युजर आईडी पुगेर स्वचालित हुँदै गर्दा थरि थरिका अनलाईनहरुले पस्कने सूचना र समाचार, सामाजिक सञ्जाल अनि लहडी प्रवृत्तिले बजार तरंगित हुँदै आएको छ। यी माध्यमले सर्वसाधारण लगानीकर्तामा छिटो प्रभाव छाड्ने र त्यसको सिधा असर बजारमा पर्ने गरेको छ। यही मौकामा पहिले नै सस्तोमा शेयर किनेर बसेका चलाख र पहुँचवाला लगानीकर्ताले ठूलो संख्यामा शेयर बेचेर नाफा सुरक्षित गर्छन। सर्वसाधारण नयाँ लगानीकर्ताहरु लर्को लागेर हकप्रदको लोभमा शेयर किनिरहेको बेला चलाख र खेलाडीहरु भने धमाधम शेयर बिक्री गरिहेका हुन्छन्। सूचना सार्वजनिक भएकोलाई खेलाडीहरुले मूल्य बढाएर ठूलो संख्यामा शेयर बिक्री गर्ने मौकाको रुपमा सदुपयोग गर्छन्। जब खेलाडीहरुले शेयर बिक्री गरिसक्छन्, हकप्रद ल्याउने कम्पनीको शेयरमूल्य घट्न थाल्छ वा स्थिर रहन्छ। अनि त्यसमा फसेका लगानीकर्ताहरु हकप्रद आउने दिन कुर्दै र मूल्य घटेकोमा पश्चाताप गर्दै बस्छन्।
 
हकप्रद दिने हो कि बिक्री गर्ने हो?
 
सर्वसाधारण लगानीकर्ताहरु फलानो कम्पनीले यति प्रतिशत हकप्रद दिने भयो भन्दै हकप्रदको पछि कुद्छन्। हकप्रद शेयर कम्पनीले आम सर्वसाधारण लगानीकर्तालाई माया गरेर दिने नभई आफ्नो पूँजी बढाउनु पर्ने बाध्यताले बिक्री गर्ने हो र लगानीकर्ताबाट पैसा धुत्ने हो। कुनै पनि कम्पनीले आफ्ना शेयरधनीलाई माया गरेर सित्तैमा हकप्रद दिने हैन, पैसा लिएर शेयर भिडाउने हो। तर सर्वसाधारणहरु फलानो कम्पनीले हकप्रद दिने भयो भन्दैै भ्रम पाल्छन्। कम्पनीले तोकेको निश्चित मितिसम्म कायम शेयरधनीले प्रतिकित्ता १०० रुपैयाँमा हकप्रद शेयर किन्न पाउने भए पनि यससम्बन्धी लम्बे प्रक्रिया हुन्छ र हकप्रद बापतको शेयरको मूल्य शेयरधनीले धारण गरेको माउ शेयरको मूल्यसँग जोडिएको हुँदा त्यसको वास्तविक लागत धेरै नै हुन्छ।
 
लामो हुन्छ प्रक्रिया, सूचना निकाल्दैमा हकप्रद बिक्रीमा आउँछ भन्ने हैन
 
कतिपय लगानीकर्ताहरु के सोच्छन् भने कुनै कम्पनीले हकप्रद निकाल्ने भयो भने भोलि नै शेयर भर्न पाईन्छ, मालामाल भईहालिन्छ। तर त्यस्तो हुँदै हैन। कुनै कम्पनीले सञ्चालक समितिबाट निर्णय गराएर हकप्रद बिक्री गर्ने प्रस्ताव गर्यो भने पनि शेयरधनीले हकप्रद किन्ने तहसम्म आइृपुग्न धेरै प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ र लामो समय लाग्नसक्छ। कम्पनीले सञ्चालक समितिबाट गरेको प्रस्ताव सम्बन्धित निमयनकारी निकायबाट पूर्व स्वीकृत भएर साधारण सभामा प्रस्ताव लैजानु पर्ने हुन्छ। साधारण सभाले पारित गरेपछि रेटिङ एजेन्सीबाट रेटिङ गराएर धितोपत्र बोर्डमा आवेदन दिनुपर्छ। त्यहाँ पनि चरण चरणका प्रक्रियाहरु पुरा गर्न समय लाग्छ। संस्थापकहरुको तर्फबाट हकप्रदका लागि आवश्यक रकम संकलन नभईकन धितोपत्र बोर्डबाट हकप्रद स्वीकृति प्राप्त हुनसक्दैन।
 
कतिपय कम्पनीहरु त सञ्चालक समिति र साधारण सभाबाट हकप्रद पारित गरे पनि धितोपत्र बोर्डमा नै नगई हकप्रदको प्रस्ताव रद्द गरेर अर्के बाटो लाग्ने गरेका पनि छन्। रिलायबल डेभ्लपमेन्ट बैंक जस्ता कम्पनीहरुमा ठूला काण्डहरु नै भई लगानीकर्ताहरु हकप्रद माग्दै आन्दोलनमा गएका थिए। धितोपत्र बोर्डबाट हकप्रद प्रस्ताव स्वीकृत भयो भने पनि कम्पनीले शेयरधनी किताब बन्दको सूचना निकाल्न कम्तिमा एक साता समय दिएर निश्चित मितिसम्म शेयरधनी बन्नेलाई मात्र हकप्रद बापतको शेयर किन्ने व्यवस्था मिलाउँछ। त्यसपछि कुनै निश्चित मितिदेखि ३५ दिने अवधि तोकेर हकप्रद बिक्री गरिन्छ। पुरै शेयर बिकेन वा कुनै कारण पर्यो भने मिति थप पनि हुनसक्छ।
 
मूल्य समायोजन र घट्ने सम्भावना
 
हकप्रदको हल्लामा खेलाडीहरुले शेयर बिक्री गरेपछि घट्ने मूल्यको असर त छदैछ, हकप्रद बिक्रीको लागि बुक क्लोजको समय घोषणा हुँदाको बेला पनि चलाख लगानीकर्ताहरुले बाँकी शेयर बेचेर सुरक्षित हुन्छन्। हकप्रद थप लगानीका लागि बोझ हो, मूल्य घट्छ र लामो समय पैसा फस्छ भन्ने बुझेकाहरुले आफु निस्कने प्रयास गर्छन्। यसो हुँदा बिक्री चाप नै देखिन्छ। एकातिर मूल्य घटेको अवस्था र अर्कोतर्फ हकप्रदको लागि थप पैसा जोहो गर्नुपर्ने बाध्यता हुँदा लगानीकर्ताहरु दोहोरो चापमा पर्छन्। त्यसपछि हकप्रद बापत मूल्य समायोजन हुँदा शेयरको मूल्य स्वतः घट्छ। त्यही क्रममा शेयरधनीले हकप्रद बापतको रकम जम्मा गरी आवेदन गर्नुपर्दा शेयरधनीलाई पैसाको जोहो गर्नुपर्ने चाप पर्छ। आवेदन गरिएको हकप्रद शेयर सूचीकृत भएर सम्बन्धित शेयरधनीको खातामा आउन कम्तिमा तीन महिना लाग्ने हुँदा मूल्य घटाईसँगै थप शेयर प्राप्त गर्न प्रतीक्षा गर्नुको विकल्प हुन्न।
 
हकप्रदमा नबिकेको शेयर लिलाम मार्फत समयमै बिक्री भएन भने सूचीकरणमा थप समय लाग्न पनि सक्छ। जब हकप्रद शेयर सूचीकृत भएर बजारमा आपुर्ति थपिन्छ, त्यो बेला माग पक्ष कमजोर भयो र शेयर बजारमा संकट देखा पर्यो भने लगानीकर्ताले अभुतपूर्व क्षति ब्यहोर्नुपर्छ। शेयर कित्ता धेरै, पैसा भने आफुले दोस्रो बजारबाट शेयर किनेको भन्दा आधा कम हुने अवस्थाको पनि सामना गर्नु पर्नसक्छ।
 
लाभांश दरमा संकुचन आउँछ
 
कम्पनीले जुन अनुपातमा हकप्रद जारी गरेर पूँजी बढाएको हो, तत्कालै त्यही अनुपातमा प्रगति गरेर नाफा बढाउँन सक्दैन। कम्पनीको आम्दानी स्थिर वा झिनो रुपमा मात्र बढेको तर शेयर संख्या भने ह्वात्तै बढेको अवस्थामा प्रतिशेयर आम्दानी घटेर जान्छ। प्रतिशेयर आम्दानी घट्नु भनेको शेयरधनीले पाउने लाभांश दर पनि घट्नु हो। लाभांश दर घटेपछि शेयर बजारमा कम्पनीप्रति वितृष्णा जाग्न सक्छ र मूल्य अरु घटाईदिन्छ। त्यसमाथि शेयर आपुर्ति बढेर मूल्य घटेको असर त रहन्छ नै। यद्यपी कतिपय कम्पनीले हकप्रद जारी गर्दा नबिकेका शेयरहरु लिलाममार्फत बेचेर लाभांश दरमा सन्तुलन कायम गरेका उदाहरण पनि छन्। 
 
हकप्रदको लोभमा महंगोमा शेयर किन्ने, हकप्रद भर्न छुटाउने प्रवृत्ति
 
दोस्रो बजारका कतिपय लगानीकर्ताहरु हकप्रदको लोभमा महंगोमा शेयर किन्ने गर्छन् तर हकप्रद भर्नुपर्ने बेलामा भने आवेदन गर्न छुटाएर घाटामाथि घाटा खाने गर्छन्। हकप्रदको लोभमा महंगोमा शेयर किनेकाहरुले हकप्रद भरेको अवस्थामा घाटा कम हुन वा नहुन पनि सक्छ तर निर्धाारित मिति भित्र हकप्रद आवेदनै गर्न छुटाएको अवस्थामा घाटा बढी हुन्छ।
 
सधैं उस्तै हुन्न अवस्था
 
२०७२, ०७३ सालमा शेयर बजारमा गिरावट आउँदा हकप्रद बिक्रीमा ल्याउन घोषणा गर्ने कम्पनीको शेयर मूल्य बढ्ने हैन, उल्टो घट्ने गरेको थियो। कुनै कम्पनीले हकप्रद बिक्रीको घोषणा गर्यो भने त्यो दिन त्यस कम्पनीको शेयरमूल्य सर्किट लागेर नै घट्ने गर्दथ्यो। राम्रै कम्पनीलाई पनि हकप्रद बिकाउन हम्मे हम्मे पर्दथ्यो। कतिपय लगानीकर्ताले जानी जानी नै हकप्रद भर्न छुटाउँथे। पहिले नै शेयरधनी बनेकाहरुले आफ्नो हकप्रद सित्तैमा अरुलाई भर्न दिएर आफ्नो बोझ कम गर्थे। हकप्रद भर्ने लगानीकर्ता नभएर कम्पनीहरुले लिलाम मार्फत साधारण शेयर बिक्री गर्न खोज्दा समेत प्रतिकित्ता १०० रुपैयाँमा सकार्ने नभएर पटक पटक लिलामको सूचना निकाल्नु परेको थियो। त्यो बेला बैंक र बीमाहरुले निकालेको ठूलो संख्याकोे हकप्रदले पुरै शेयर बजारलाई बिरामी बनाईदिएको थियो। तर अहिले अवस्था फेरिएको छ। खराब कर्जाले थलिएको, कम्तिमा पाँच वर्षसम्म लाभांश दिन नसक्ने, केही महिना अघि १०० रुपैयाँभन्दा तलको मूल्यमा पनि कसैले नकिन्ने कम्पनीको शेयरको भाउ हकप्रदको बहानामा एकाएक उचालिएको छ र शेयर खोसाखोस भएको छ।
 
अपवाद छन् केही कम्पनी
 
केही कम्पनीको शेयरधनी भने हकप्रद किनेरै पनि अहिले नाफामा देखिएका छन्। समग्र शेयर बजारमा आएको खरिद चाप र नयाँ कुराहरुको कारणले उनीहरुलाई फाईदा भएको देखिन्छ तर हकप्रदको उचालिएर शेयर किन्दाको जोखिम भने आम रुपमा उही नै हो।
 
विश्वव्यापी प्रवृत्ति के छ?
 
दी ईकोनोमिक टाईम्समा डीके अग्रवाल लेख्छन् कि हकप्रद कम्पनीका विद्यमान शेयरधनीलाई बजारको भन्दा सस्तो मूल्यमा शेयर किनेर आफ्नो हक हिस्सा कायम गर्ने अवसर त हो तर यसबाट बजारमा शेयर आपुर्ति बढ्न गई मूल्य घट्ने सम्भावना भने धेरै हुन्छ। विश्वका शेयर बजारसँग सम्बन्धित अध्ययनहरु हेर्दा हकप्रद घोषणापछि शेयरको मूल्य घट्ने प्रवृत्ति नै देखिएको छ। साना कम्पनीहरुको मूल्य कम घट्ने र ठूला कम्पनीहरुमा बढी असर पर्ने गरेको देखिन्छ। तर, नेपालको सन्दर्भमा भने शेयर बजारमा मूल्यमा उछाल ल्याउने एउटा अस्त्रको रुपमा हकप्रद घोषणालाई प्रयोग गरिदै आएको छ।
 
(कोइराला पूँजी बजार बिकास अभियानका संयोजक हुन्, यसमा उल्लेख भएका कुराहरु निजको व्यक्तिगत हो)
comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।