केन्द्र र प्रदेश दुबैमा एकैपटक नयाँ ब्रोकर लाइसेन्स खुल्दै,बैंकका सहायक कम्पनीले पनि पाउने बाेर्डकाे प्रस्ताव

Apr 07, 2021 06:50 PM Merolagani

सुवास निरौला

बैकका सहायक कम्पनी सहित प्रदेश र केन्द्रमा नयाँ ब्रोकर लाइसेन्सका लागि खुल्ला गरिने भएको छ। नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स खुल्ला गर्न लागेको हो। नेपाल धितोपत्र बोर्डका अनुसार पूँजी बजार बिस्तारको लागि ब्रोकर सङ्ख्या बढाउनु पर्ने देखिएको छ।

सोही कारण सबै क्षेत्रमा बजार बिस्तारकालागि नयाँ ब्रोकर लाइसेन्स खुल्ला गर्न लागिएको हो। "बजार विकासको लागि पनि नयाँ ब्रोकर आवश्यक देखिएकोले नयाँ ब्रोकर लाइसेन्स खोल्न लागिएको हो" नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले मेरो लगानीसँग भने।

नयाँ ब्रोकर लाइसेन्स खोल्ने प्रक्रिया अघि बढाएको भएपनि उक्त विषयको निर्णय भने बोर्डले सञ्चालक समितिबाट गराइ सकेको छैन। उसले सबै प्रस्ताव तयार गरिसकेको र त्यस विषयलाई छिटै बोर्ड बैठकमा छलफलका लागि लैजाने तयारी भइरहेको ढुङ्गानाले बताए। "हामीले एक किसिमको प्रस्ताव तयार गरिसकेका छौ।तयार भएको प्रस्तावलाई छलफलका लागि बोर्ड बैठकमा चाडै लैजादै छौ" ढुङ्गानाले भने। बोर्डले छलफल गरी स्वीकृति दिए लगत्तै नयाँ लाइसेन्स प्रक्रिया अघि बढ्ने ढुङ्गानाको भनाई छ।

बोर्डले नयाँ ब्रोकर लाइसेन्स खोल्ने भने पनि कतिको सङ्ख्यामा खोल्ने भन्ने खुलाएको छैन। उसले राष्ट्रिय स्तरदेखि प्रदेश स्तरमा खोलिने नयाँ ब्रोकर कम्पनीको मापदण्ड के हुने भन्ने विषयमा समेत केही बताएको छैन। "हामीले नयाँ ब्रोकरको आबश्यकता रहेकोले नै लाइसेन्स खुल्ला गर्न लागिएको हो। तर कति सङ्ख्यामा थप्ने र मापदण्ड कस्तो हुने बिषयमा भने बोर्ड बैठकले स्वीकृत गरेपछि मात्रै यकिनका साथ भन्न सकिन्छ" ढुङ्गानाले भने।

बोर्डले नयाँ लाइसेन्सकालागि तयार गरेको प्रस्तावमा वाणिज्य बैंकका सहायक कम्पनी,राष्ट्रिय स्तरमा काम गर्ने नयाँ कम्पनी र प्रादेशिक स्तरमा काम गर्ने गरी छुट्टै ब्रोकर कम्पनीहरुका लागि लाइसेन्स खोल्नु पर्ने उल्लेख गरेको छ। यसअघि बोर्डले बैंकका सहायक कम्पनीलाई लाइसेन्स दिने विषयमा आनाकानी गर्दै आएको थियो। तर यति बेला भने बोर्ड बैकका सहायक कम्पनीलाई पनि ब्रोकर लाइसेन्स दिनु पर्ने पक्षमा देखिएको छ। धेरैजसो बैंकहरुले सोही कार्यको लागि कम्पनी नै खडा गरिसकेको र ती कम्पनी नै खुलिसकेको अवस्थामा उनीहरूलाई लामो समयदेखि बोर्डले झुलाउँदै आएको भन्दै वाणिज्य बैकहरूको साझा संस्था नेपाल बैकर एसोसिएसनले पछिल्लो समय अर्थमन्त्रीलाई नै भेटेर गुनासो गरेपछि अर्थ मन्त्रालयकै चाहना अनुरुप बैंकका सहायक कम्पनीलाई पनि लाइसेन्स दिनु पर्ने पक्षमा बोर्ड देखिएको बुझिएको छ।  

उता प्रदेश स्तरमा पनि कारोबार बढाउनु पर्ने र सबै ब्रोकर कम्पनी केन्द्रमा थुप्रिएको र प्रदेशमा कम भएकै कारण त्यहाका लगानीकर्ताको सहभागिता बढाउनु पर्ने भन्दै उसले निश्चित प्रदेश नै तोकेर कार्यस्थल सहितको ब्रोकर लाइसेन्स खोल्नु पर्ने बोर्डले तयार गरेको प्रस्तावमा छ।

यता, मुलुकमा पूँजीका हिसाबले ठुला ब्रोकरको आवश्यकता रहेको र प्रविधिमा समेत राम्रो लगानी गर्न सक्ने खालको मापदण्ड तयार गरी केन्द्रमै कारोबार गर्न दिने गरी राष्ट्रियस्तरकै ब्रोकर लाइसेन्स खोल्ने बोर्डको योजना छ।

हाल दोस्रो बजारमा कारोबार गर्ने गरी ५० वटा ब्रोकर कम्पनीले धितोपत्र दलालको काम गर्ने लाइसेन्स पाएका छन्। तिनै ५० वटा ब्रोकर कम्पनीले अन्य प्रदेशमा समेत शाखा कार्यालय मार्फत सेवा दिँदै आएका छन्।  

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।